एभरेष्ट दैनिक

इमरान खान प्रधानमन्त्रीमा निर्वाचित, भोलि सपथग्रहण

काठमाडौं, भदौ १ । पाकिस्तानी संसदले नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानलाई निर्वाचित गरेको हो । इमरानले १७६ मत पाएर पाकिस्तानको २२ औं प्रधानमन्त्रीमा चयन भएका हुन् । टेलिभिजनहरूबाट प्रत्यक्ष प्रसारण भएको निर्वाचनपछि सभामुख असद क्विजेरले भने, “इमरान खानले १७६ मत आफ्नो पक्षमा सुरक्षित गर्नुभएको छ ।” खानलाई प्रधानमन्त्री बन्नका लागि सामान्य बहुमत १७२ मतको आवश्यकता पर्नेमा १७६ मत पाएपछि सरकार बनाउन बाटो खुलेको छ । खानका प्रतिस्पर्धी तथा पाकिस्तान मुस्लीम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बने शाहबाज शरीफले भने ९६ मत मात्रै मत पाएको सभामुख क्विसेरले संसदमा घोषणा गरे । उनी पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । सन १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि दिलाएरमा चर्चित बने इमरानले शनिबार प्रधानमन्त्रीको सपथग्रहण गर्ने कार्यक्रम छ । खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने जनाएका छन् । गत जुलाई २५ मा भएको निर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११४ स्थानमा जित हासिल गरेर सबैभन्दा ठूलो पार्टी बनको हो । विपक्षीहरूले निर्वाचन परिणाममा धाँधली भएको विचार राख्दै नतिजा अस्वीकार गरेकाकाले विवादकाबीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजा अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् । सरकार गठनका लागि आफूले मात्रै बहुमत प्राप्त नगरेकाले उनले साना दललाई लिएर मन्त्रिपरिषद गठन गर्ने छन् । क्रिकेटबाट मुलुकलाई विश्वकपको उपाधि दिलाएका खानले क्रिकेटबाट सन्यास लिएर ४३ वर्षको उमेरमा सन् १९९६ मा पाकिस्तान पीटीआई गठन गरेर औपचारिक रुपमा राजनीतिमा प्रवेश गरेका थिए । भ्रष्टाचारविरोधी अभियान र विभिन्न सामाजिक मुद्दालाई उठाएका इमरानलाई शुरुमा धेरैले विश्वास नगरेपनि अहिले भने पाकिस्तानी जनताले मौका दिएका छन् । स्वच्छ सरकार, भ्रष्टाचार विरोधी कानून, स्वतन्त्र न्यायपालिका, चुस्त सुरक्षा व्यवस्था, आतंकवाद विरोधी पाकिस्तानलगायतका कार्यसूचीहरूलाई मुख्य चुनावी कार्यसूची बनाएर निर्वाचन जितेका इमरानलाई आफ्ना कार्यसूची कार्यान्वयन गर्ने मौका र चुनौती एकैचोटी आइलागेको छ ।