एभरेष्ट दैनिक

रसिया विश्वकममा बियरको चरम संकट

काठमाडौं । गर्मी मौसममा बियर नरुचाउने सायदै होलान त्यसमा पनि फुटबलको महाकुम्भ विश्वकपको चलिरहेको अवस्था । ठूलो स्क्रीनको टेलिभिजन होस वा पर्दामा बियरको चुस्की सँगै विश्वकप हुर्नुको मज्जा नै बेग्लै । तर विश्वको २१ औं संस्करण आयोजना भइरहेका रसियामा भने अवस्था विल्कुलै फरक छ । र हुँदै छ । गएको जुन १४ वाट रसियामा शुरु भएको विश्वकपमा आउने फुटबलका फ्यानले दिल खोलेर बियर पिउन नपाउने भएका छन् । सरकारको नीतिका कारण नभइ बियर अभावका कारण । विश्वकप चलिरहेको अवस्थामा रुसमा वियरको संकट देखिएको छ । अत्यधिक मागको कारण अबको केही दिनमा नै रुसमा वियरको ठुलो संकट आउनसक्ने बताइएको छ । रुसको राजधानी सहरका आपूर्तिहरुसँग अब केही दिनका लागि मात्र पुग्ने वियर रहेको छ भने केही भागहरुमा पूर्णरुपमा वियर सकिइसकेको समाचारमा बताइएको छ । बेलायती अनलाइन पत्रिका द सनका अनुसार गर्मी मौसमको कारण फ्यानहरुको लागि वियरको माग अत्यधिक रहेको देखिएको हो । विश्वकपलाई मध्यनजर गर्दै धेरै मानिसहरु अहिले रुसमा रहेको र उनीहरुको अत्यधिक माग वियर पिउनु रहेको कारण यो समस्या समाधान गर्नेमा अहिले रुसको ध्यान केन्द्रित रहेको अधिकारीहरुले बताएका छन् । फुटबल हुनु र गर्मीको मौसम पनि हुनु यसको महत्वपूर्ण कारण रहेको अधिकारीहरुको भनाइ छ । पछिल्लो एक दशकयता रुसको वियरको व्यापारमा एक तिहाइ गिरावट आइसकेको थियो । मुलुकमा गरिएको कडाइको कारण रुसको वियरको व्यापारमा व्यापक गिरावट आएको देखिएको थियो । यस वर्ष भने वियरको व्यापारमा व्यापक सुधार आउनसक्ने बताइएको छ । यद्यपि रुसका केही आपूर्तिकर्ताहरुले भने आफूहरुको व्यापारमा भने कुनै किसिमको नकारात्मक प्रभाव नपर्ने दाबी गरेका छन् । उनीहरुले पछिल्लो समय वियरको माग अत्यधिक रहेको कारण केही समस्या हुने संकेत देखिए पनि आफूहरु मागअनुसारको आपूर्तिको लागि तयार रहेको बताएका छन् । यस विषयमा फिफाको आधिकारिक आपूर्तिकर्ता कम्पनी एन्हेयुजर–बुस्क इन्बेभले भने यस विषयमा कुनै जानकारी दिएको छैन । विश्वकपको सुरुवाती तीन दिनमा नै आठ सय लिटर वियरको खपत भएको बताइएको छ । जसमा निकै सस्तोदेखि सबैभन्दा महँगो वियरहरु पनि रहेका छन् । अहिले वियर आपूर्तिकर्ता कम्पनीका कर्मचारीहरु वियर आपूर्तिको समय मिलाउनमा नै व्यस्त देखिन्छन् ।