एभरेष्ट दैनिक

फेरि बढ्यो चिनीको मूल्य

विराटनगर । नेपाल सरकारले स्वदेशी चिनी उद्योगको प्रवद्र्धनका लागि भन्दै चिनीको सन्दर्भ मूल्य सूचीप्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेपछि विराटनगरका व्यवसायी आक्रोशित भएका छन् । सरकारको पछिल्लो कदमले चिनीको भन्सार महशुल पनि दोब्बर बढेको छ । यसले गर्दा चिनीको लागत खर्च प्रति किलोग्राम ७२ रुपैयाँ पुगेको छ । यो मूल्यमा नेपालमा चिनीको आयात गर्ने र विक्री गर्न नसकिने भन्दै व्यवसायीले सरकारको आलोचना गरेका छन् । स्वदेशी उद्योगको प्रवर्द्धन गर्नुपर्ने माग गर्ने उद्योगी व्यवसायी चिनी उद्योगलाई सरकारले गरेको मायाप्रति भने असन्तुष्ट बनेका हुन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले चिनी आयातमा सरकारले गरेको निर्णयको विरोध गरे । संघका अध्यक्ष पवनकुमार सारडाले सरकारले गैरकानूनी तरिकाले पद्धति मिचेर चिनीको मूल्यांकन बढाएको, चिनीको भन्सार महसुल पनि दोब्बर पारिएको भन्दै आक्रोश व्यक्त गरे । उनले यही अवस्था कायम हुने हो भने उद्योगी व्यवसायी धरासायी हुने र टाँट पल्टने बताएका छन् । पूरानो मूल्यका आधारमा विक्री गर्न आयात गरिएको चिनीको दर एक्कासी बढाएर व्यवसायी डुबाउने काम गरेको भन्दै आयातकर्ताले अर्थमन्त्री डा.युवराज खतिवडाप्रति असन्तोष व्यक्त गरेका छन् । संघका पूर्व अध्यक्ष शंकरलाल अग्रवालले भन्सार विन्दुमा चिनीको कारोबार मूल्यमा भन्सार महशुल तिर्न नपाए चिनी छुटाएर नल्याउने चेतावनी दिए । उनले राज्य आफैंले कालोबजारी गरेको भन्दै रोष प्रकट गरेका छन् । यस्तै व्यवसायी खेमचन्द्र जैनले किसानको मूल्य नदिएर शोषण गर्ने चिनी मिललाई सरकारले सजिलो बनाएको भन्दै विरोध गरेका छन् । कुनै उद्योगलाई प्रमोट गर्ने नाममा आम जनतालाई मार पर्ने गरी चिनीको मूल्य बढाएको जैनको भनाइ छ । अनावश्यक वस्तुको आयातमा रोक लगाउनुको सट्टा चिनी उद्योगको सिफारिसमा जथाभावी मूल्याङ्कन बढाउनु गलत भएको उनले बताएका छन् । चिनीमा लाग्ने १५ प्रतिशत भन्सार महशुललाई सरकारले गत हप्ता दोब्बर बनाएर ३० प्रतिशत कायम गरेको छ । चिनी उत्पादक सङ्घले गत भदौ महीनादेखि नै चिनीको भन्सार महशुल ५० प्रतिशत गर्नुपर्ने माग गर्दै आएको थियो । सरकारले चिनी उद्योगलाई संरक्षण गर्नुपर्ने तर्क दिँदै भन्सार महशुल वृद्धि गरेको हो । खतिवडा अर्थमन्त्री भएपछि सरकारले भन्सार प्रयोजनका लागि चिनीको सन्दर्भ मूल्य सूची प्रति टन ४ सय ६० अमेरिकी डलर कायम गरेको छ । तर, पैठारी भइरहेको चिनी प्रति टन ३ सय २० देखि ३ सय ६० डलरसम्म परेको व्यवसायीको दाबी छ । व्यवसायीले चिनीको मूल्य बढेसँगै कालोबजारी बढ्ने, नेपालका बिस्कुट, चकलेट, जुसलगायतका उत्पादनमा लागत बढ्ने र उद्योग टाट पल्टने भन्दै विरोध गर्दै आएका छन् । विराटनगर भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको चैत मसान्तसम्ममा उक्त नाकाबाट १ करोड ७ लाख मूल्यको १ सय ६९ टन चिनी पैठारी गरिएको थियो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा दुई अर्ब मूल्यको ४२ हजार ५ सय २४ मेट्रिक टन चिनी आयात गरिएको छ । नेपाली चिनी उद्योगबाट वार्षिक २ लाख ५० हजार टन चिनी उत्पादन भएपनि माग भने ३ लाख ५० हजार टनभन्दा बढी रहेको व्यापारीको दाबी छ । अार्थिक अभियानबाट