बैतडीका आधा जसो वडा सचिवविहीन, सेवा प्रभावित
२० चैत, २०७४
बैतडी, २० चैत (रासस): स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दा समेत बैतडीका स्थानीय तहमा कर्मचारी अभावका कारण सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो महसुस गर्न थालेका छन् । बैतडीका ८४ वडामध्ये ४२ वडा सचिवविहीन रहेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाका छवटै वडामा सचिव नभएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले बताउनुभयो । उहाँले भन्नुभयो “वडामा सचिव नहुँदा व्यक्तिगत घटना दर्ताका काम रोकिएका छन् ।” यस्तै, पञ्चेश्वर गाउँपालिकाका छ वडामध्ये तीन वडामा मात्रै सचिव रहेका र भएका सचिव पनि सदरमुकाममै बस्ने गरेको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कर्मचारीको अभावमा आफूहरुले चाहेअनुसारको काम गर्न सकेका छैनौँ ।” सिगास गाउँपालिकाका ९ वडामध्ये ७ मा सचिव नभएको गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले बताउनुभयो । उहाँले भन्नुभयो “सचिवको अभावमा साह्रै समस्या भएको छ।” उता पुरचौडी नगरपालिकाका १० मध्ये सात वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले बताउनुभयो । यस्तै, डिलासैनी गाउँपालिका–७ वडामध्ये चार वडामा सचिव छैनन् भने सुर्नया गाउँपालिकाका तीन वडामा सचिव छैनन् । पाटन नगरपालिकाका ३ वडा, मेलौलीका पाँच वडा र दशरथचन्द नगरपालिकाका दुई वडामा सचिव नभएका सम्बन्धित स्थानीय तहले जनाएका छन् । दोगडाकेदार गाउँपालिकाका पनि दुई वडामा सचिव नभएका गाउँपालिकाका अध्यक्ष चक्रसिंह कार्कीले जानकारी दिनुभयो । वडामा भएका सचिवलाई पनि गाउँपालिकामा काजमा राख्नुपर्ने अवस्था आएको छ उहाँले भन्नुभयो “वडा तहबाट हुने काम प्रभावित हुँदै आएका छन्” वडामा सचिव नहुँदा आफूहरुले सेवा नपाएको सेवाग्राहीले गुनासो गरेका छन् । देश संघीय संरचनामा गइसकेपछि पनि नागरिकले पाउनुपर्ने सेवा सुविधा नै नपाउनु गम्भीर कुरा भएकाले सरकारले कर्मचारी पदपूर्ति गर्नु जरुरी देखिएको छ ।
एकता मञ्चको रजौरी गार्डनमा महिला समिति गठन
२० चैत, २०७४
दुर्घटनामा वडाध्यक्षसहित पाँच गम्भीर घाइते
२० चैत, २०७४
मदनकृष्ण श्रेष्ठकि पत्नी यसोदाको निधन
२० चैत, २०७४
कतै कण्डम किन्दा यस्तो गल्ती त गर्नुहुन्न ?
१९ चैत, २०७४