एभरेष्ट दैनिक

खानेपानी मन्त्री बीना मगरको क्षेत्रमा पाठेघरको मुख र स्तन क्यान्सर जाँच शिविर

पुनर्वास, चैत्र १८ । खानेपानी मन्त्री बिना मगरले प्रतिनिधिसभा सदस्यमा निर्वाचन जित्नुभएको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका महिलाका लागि पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरबारे प्रारम्भिक जाच शिविर सुरु गरिएको छ । पुनर्वास नगरपालिका ३ कालिका बजारको श्री जनकल्याण माविमा आईतबार सुरु गरिएको शिविर १ नम्बर निर्वाचन क्षेत्रकै बेलौरी र बेल्डाडीमा समेत भोलि र पर्सि सञ्चालन गरिने छ । शिविर उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बिना मगरले क्यान्सरबाट आफ्नो क्षेत्रका महिलाले अकालमै ज्यान गुमाउनु नपरोस् भनेर स्वास्थ्य अवस्थाबारे जान्न शिविर सञ्चालन गरिएको बताउनुभयो । ‘हामी स्थानीय चुनाव लगत्तै शिविर सञ्चालन गर्न चाहन्थ्यौ । तर, व्यवस्थापन नमिलेका कारण मिति सर्दै गयो,’ उहाँले भन्नुभयो, ‘एक पटक जाच गरे ५ वर्ष ढुक्क बस्न सकिन्छ । फेरि यस्ता स्वास्थ्य शिविर सञ्चालन गरिने छन् ।’ दुर्गम क्षेत्रमा आएर शिविर सञ्चालनमा सहयोग गरिरहेको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको टिमलाई मन्त्री मगरले धन्यवाद दिनुभयो । मन्त्री मगरको परिवारकै दिवङ्गत सदस्य प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा क्रान्तिकारी महिला सञ्जालले शिविर आयोजना गरेको हो । ‘क्यान्सरबाट ज्ञानु दिदीको निधन भएपछि हाम्रा प्रीय प्रकाश दाहालले यस्ता शिविर सञ्चालन गर्नुपर्छ भन्ने योजना बनाउनुभएको थियो’, मन्त्री मगरले भन्नुभयो, ‘उहाँको सपना पूरा गर्न र महिलालाई अकाल मृत्युको मुखबाट बचाउन यस्ता शिविर देशैभरी सञ्चालन गर्ने सोच छ ।’ शिविर सञ्चालन समितिकी संयोजक सरु दाहालले क्यान्सरको संक्रमण देखिएका महिलालाई निशुल्क औषधिको समेत व्यवस्था रहेको बताउनुभयो । ‘पोखरा र काठमाडौबाट औषधि संकलन गरेर ल्याएका छौ,’ उहाँले भन्नुभयो, ‘जटिल अवस्था भएका बिरामीलाई सेती अञ्चल अस्पताल र भरतपुर क्यान्सर अस्पतालमा उपचारका लागि समन्वय गरिने छ ।’ शिविरमा एकै पटक ४ ठाउँमा जाचको व्यवस्था गरिएको र दैनिक ६/७ सय महिलाको जाँच गरिने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्नुहुदै क्यान्सर अस्पतालका निर्देशक डा विजय चन्द्र आचार्यले पाठेघरको मुख र स्तनको क्यान्सर हुनुअघि नै जाच गरेर सावधानी अपनाउन सके अकाल मृत्युबाट वचन सकिने बताउनुभयो । ‘अहिले कुनै समस्या नदेखिएपनि भोलि ज्यान जान सक्छ, त्यसैले समय(समयमा जाच गरेर सावधानी अपनाउनुपर्छ’ उहाँले भन्नुभयो । शिविर सञ्चालनमा अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटा, नेकपा माओवादी केन्द्र कञ्चनपुरका संयोजक वीरबहादुर थापाको समेत सहभागिता छ । पुनर्वास, बेलौरी नगरपालिका र बेल्डाडी गाउँपालिकामा हुने शिविरमा २ हजारभन्दा बढी महिलाले क्यान्सर जाच गर्ने अनुमान गरिएको छ । शिविरबाट लाभ लिन बिहानैदेखि महिलाहरु स्कुलमा जम्मा भएका छन् ।