एभरेष्ट दैनिक

समीक्षा– ‘हिचकी’ अर्थात् ‘बाडुली’, रानी मुखर्जीको नयाँ फिल्म

रानी मुखर्जी, बलिउडकी उत्तम कलाकार । उनका चलचित्रहरु हेर्दा बेग्लै आनन्द आउँछ दर्शकहरुलाई । अहिले यिनै रानी मुखर्जीको नयाँ चलचित्र निकै चर्चामा छ । चलचित्रको कथाबस्तु सामान्य छ । हिन्दीमा हिचकी अर्थात् बाडुली । भनिन्छ, कसैले सम्झिँदाखेरि बाडुली लाग्छ रे । विज्ञानले नमानेपनि हामीकहाँ बाडुली लागे आफूभन्दा टाढा भएका आफन्तलाई सम्झिने कोशीस गरिन्छ । हो, यही बाडुलीको वरिवरि घुमेको चलचित्र हो – “हिचकी” शिक्षक र विद्यार्थीको कथा । शिक्षक अर्थात् गुरुजी । कोही पढाउँन् मात्र, कोही राम्रोसँग बुझाउँछन् तर कोही शिक्षक भने हाम्रो जीवनकै प्रेरणा बन्छन् । यस्ता गुरुलाई हामी जीवनभरी बिर्सिन सक्दैनौं । यस्तै प्रेरणा दिने आफ्ना शिक्षक मिष्टर खानबाट प्रेरित नैना माथुरको कथाको कथा हो हिचकी । नैना माथुर अर्थात् चलचित्रमा रानी मुखर्जीको चरित्र । रानी मुखर्जी ‘टोरेन्ट सिन्ड्रोम’बाट पीडित छिन् । यसका कारण उनलाई बारम्बार बाडुली लागिरहन्छन् । यही बाडुली उनको समस्या बन्छ । १८ वटा स्कूलले उनलाई भर्ना लिन मान्दैनन् । तर जिद्दी नैना, उनी भने शिक्षण पेशामा आफ्नो भविष्य खोज्ने धूनमा हुन्छिन् । सबैतिरबाट अस्वीकृत नैनालाई अन्तमा एउटा स्कूलमा गरिब बच्चाहरुलाई पढाउने चुनौतीपूर्ण काम दिइन्छ । तर यो त्यति सहज काम भने हुन्न । नैनाको मजाक उडाउ खप्पिस हुन्छन् केटाकेटी । नैनाको कोशीस भने उनीहरुलाई मनाउने हुन्छ । चलचित्रमा यसपछि के हुन्छ त्यो हेरेर मात्र थाहा हुन्छ । तर चलचित्रले बाडुलीका कारण भोग्नुपर्ने समस्यालाई निकै सुन्दर ढंगले चित्रण गरेको छ । चलचित्रमा रानी अर्थात नैनाको चरित्र अमेरिकन मोटिभेसनल स्पीकर र टीचर ब्रेड कोहिनबाट प्रेरित छ । ब्रेड कोहिन पनि टोरेन्ट सिन्ड्रोमबाट पीडित थिए । तर एउटा सफल शिक्षक भइ छाडे । कोहिनले एउटा पुस्तक पनि लेखे । उक्त पुस्तकमा आधारित भएर २००८ मा ‘फ्रन्ट अफ त क्लास’ नामक चलचित्र पनि बन्यो हलिउडमा । रानी मुखर्जीको चलचित्र यसबाट प्रेरित देखिन्छ । बिहे अनि छोरी पाएकी रानी ४ वर्षपछि पर्दामा फर्किएकी हुन । यो चलचित्रले उनको पुनः प्रवेश झन सशक्त भएको टिप्पणीकारहरुले लेखेको पाइन्छ । चलचित्रमा रानीको उत्कृष्ट अभिनय छ । यसअघि यस्तै प्रकृतिको ब्ल्याक चलचित्रमा उनले दमदार अभिनय गरेकी थिइन । चलचित्रको निर्देशन सिद्धार्थ पी मल्होत्राले गरेका छन् ।