एभरेष्ट दैनिक

सेनाका १३ महासेनानीको पदावधि थप

काठमाडौं । मन्त्रिपिरषद् बैठकले रक्षा मन्त्रालयको प्रस्तावमा १३ महासेनानीको म्याद २ वर्ष थप गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै मन्त्रिपरिषदले निर्वाचनपछि दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम तय भएको यो पहिलोपटक हो । बालुवाटारमा सम्पन्न बैठकपछि सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो। यसैगरी बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा डा कुन्दन अर्याल र जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय भएको छ । यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका सम्बन्धमा सञ्चारकर्मीले जिज्ञासा राख्दा राज्यमन्त्री बाँस्कोटाले सो विषयले आजको मन्त्रिपरिषद् बैठकमा प्रवेश नपाएको प्रष्ट पार्नुभयो ।