एभरेष्ट दैनिक

अस्ट्रेलियाली क्रिकेट कप्तान र उपकप्तान अपदस्थ

काठमाडौँ । अस्ट्रेलियाको टेस्ट क्रिकेट टिमबाट कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई उनीहरुको जिम्मेवारीबाट मुक्त गरिएको छ। दक्षिण अफ्रिका विरुद्ध केपटाउनमा जारी तेस्रो टेस्टका क्रममा बल टेम्परिङ गरेको स्वीकार गरेपछि दुवैलाई पदबाट हटाइएको हो। अब विकेटकिपर टिम पेनले टेस्ट खेलको बाँकी दुई दिन अस्ट्रेलियाको नेतृत्व गर्नेछन्। स्मिथ र वार्नरसँगको छलफलपछि उनीहरु टेस्टको बाँकी समयका लागि आफ्नो पदबाट हट्न सहमत भएको कुरा क्रिकेट अस्ट्रेलियाका प्रमुख ककार्यकारी जेम्स सटरल्याण्डले बताए। सटरल्याण्डले यो टेस्ट निरन्तर चल्ने र घटनाको अनुसन्धान पनि जारी रहने बताए। यसका साथै स्मिथलाई आइपिएलका लागि राजस्थान रोयल्सको कप्तानबाट पनि हटाउनुपर्ने माग उठिरहेको भारतीय समाचार माध्यमहरूले जनाएका छन्।