एभरेष्ट दैनिक

तयारी अवस्थामा रहन सेनालाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, चैत ११ । प्रधानमन्त्री केपी ओलीले मुलुकमा आउन सक्ने जस्तोसुकै चुनौती सामनाका लागि तयार रहन नेपाली सेनालाई निर्देशन दिएका छन् । व्यक्ति र दल उही भए पनि अहिलेको परिस्थिति फरक रहेको भन्दै प्रधानमन्त्रीले सेनालाई सम्भावित चुनौतीप्रति सतर्क गराएका हुन् । राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका ओली शुक्रबार साँझ परिषद् सदस्यहरू रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री युवराज खतिवडासहित सैनिक मुख्यालय पुगेका थिए । टोलीमा सुरक्षा परिषद्का सदस्यसचिव एवं रक्षा सचिव विनोद केसी पनि थिए । मुख्यालयमा सुरक्षा परिषद् सदस्यसमेत रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले टोलीलाई ‘ब्रिफिङ’ गरेका थिए । परराष्ट्र सम्बन्ध र कूटनीतिक मामिला थप बलियो र प्रभावकारी बनाउन राष्ट्रिय सुरक्षा सल्लाहकार युनिट बनाएर अघि बढ्ने अवधारणा अघि सारेका प्रधानमन्त्रीले सेनाको पछिल्लो अवस्थाबारे जानकारी पनि लिए । ‘मुलुकमा आइपर्न सक्ने जस्तोसुकै चुनौती सामना गर्न सक्ने गरी तयार रहनुपर्छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै सेनाले जानकारी दियो, ‘नेपाली सेना आफ्नो मूल्यमान्यतामा कायम रही कर्तव्य पूरा गर्नेमा म पूर्णरूपले विश्वस्त छु ।’ कान्तिपुर दैनिकमा खबर छापिएको छ