एभरेष्ट दैनिक

भारतले बनाउँदै गरेको बाँधका कारण नेपालनका १० भन्दा बढी गाउँ डुबानमा पर्ने

नवलपरासी, चैत १० । भारतले नारायणी नदीमा बनाउँदै गरेको बाँधका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका १० भन्दा बढी गाउँ डुबानको जोखिममा परेका छन् । एकतर्फी रुपमा भारतीय पक्षले नारायणी नदी छेउमा ठूलो बाँध बनाउँदा वर्षायाममा सुस्ता गाउँपालिकाका ६० हजार बढी जनसंख्या विस्थापित हुने खतरा बढेको हो । निर्माण तत्काल रोक्न स्थानीयले नेपाल सरकारमार्फत् भारतको धयानाकर्षण गराएका छन् । नेपालको सरकारी निकायले निर्माण रोक्न गरेको आग्रह भारतीयले बेवास्ता गर्दै निर्माण गरिरहेका छन् । सुस्ता गाउँपालिकाअन्तर्गतको नर्सहीस्थित १२ नं. ठोकरको पारी पट्टी बाँध बनाइरहेका हुन् । भारतले बिहार प्रदेशमा पर्ने बाल्मिकी नगरको तिलभठ्ठा जंगलको नारायणी किनारमा ३ सय मिटर थप बाँध निर्माण गरिरहेको हो । ठूलो बाँध बनाउँदा नारायणी नदीको धार परिवर्तन भई नेपाली भूभाग डुबानमा पार्ने भएकाले स्थानीय त्रसित बनेका हुन् । पाँच वर्षअघि गण्डक ब्यारेजदेखि ३ किलोमिटर बाँध बनाएको भारतले अहिले मर्मतका नाउँमा फेरि नयाँ बाँध बनाउन थालेको हो ।