एभरेष्ट दैनिक

अब रेल गुड्छ र आफ्नै पानी जहाजले नेपालको सामान बोक्छ : प्रधानमन्त्री

काठमाडौं, चैत्र ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना अगाडि यति बेला सम्भावना र चुनौति दुबै रहेको बताउँदै नेपाली जनताको विकासको सपना साकार पार्न र चुनौती सामाना गर्न सरकार लागि पर्ने बताए । शुक्रबारदेखि राजधानीमा शुरु २९ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रर्दशनीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक र जनताको आर्थिक विकासको सपना पूरा गर्न दृढ रहेको बताए । साथै प्रधानमन्त्री ओली मुलुक र जनताको आर्थिक विकासका लागि आफू प्रतिवद्ध रहेको बताउनु भएको छ । मुलुकमा सकारात्मक परिर्वतन ल्याउन प्रयास भइरहेको भन्दै उनले सरकारले नयाँ नयाँ अभियान सञ्चालन गर्दै जाने बताए । प्रधानमन्त्री ओलीले अबको दुई वर्ष पछि नेपालमा रेल गुड्ने र आफ्नै पानी जहाज हुने दाबी गर्नुभयो । प्रधानमन्त्रीले भने, ‘रेल ल्याउनु भन्दा दुई वर्ष अघि मजाक उडाएका थिए, अबको दुई वर्ष पछि रेल गुड्छ आफ्नै पानी जहाजले नेपालका लागि सामान बोक्छ ।’ देशको विकासका लागि आफू प्रधानमन्त्री भएको भन्दै उनले भने, ‘अब कृषि आधुनिकीकरण हुन्छ र बजारिकरण हुन्छ साना, घरेलु तथा लघु उद्योगको लहर चल्छ मुलुकमा ।’ प्रधानमन्त्री ओलीले अब योजना, सीप धरौटी राखेर ऋण लिने ब्यवस्था गर्नेसमेत बताए । हिमाल पहाड तराई जहा जे उत्पादन हुन्छ त्यही वस्तुको उत्पादन र प्रर्वद्धन गरी अघि बढ्ने उनले बताए । कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले उद्योग क्षेत्रको बिस्तार तथा निजी लगानी आर्कषित गर्ने विषयमा तीब्र रुपमा तयारी गृहकार्य भइरहेको बताउनुभयो । घरेलु तथा साना उद्योग विकास समितिका अध्यक्ष नविन झाले लघु, घरेलु तथा साना उद्योगको बिस्तार तथा संरक्षणको आवश्यकता रहेको बताउनुभयो ।