एभरेष्ट दैनिक

स्वदेशमा रोजगारी सरकारको प्राथमिकताः मन्त्री विष्ट

काठमाडौं । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना आफ्नो प्राथमिकतामा भएको बताउनुभएको छ । उहाँले यसका लागि सरकार, रोजगारदाता र ट्रेड युनियन मिलेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले श्रम क्षेत्रमा गर्नुपर्ने सुधार र तत्काल गर्नुपर्ने कामका बारेमा आफूले सबैको सल्लाह लिएर उचित निर्णय गर्ने जानकारी गराउनुभयो । मन्त्री विष्टलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तथा श्रम क्षेत्रमा गर्नुपर्ने कामका बारेमा सुझाव दिन गएको नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का पदाधिकारी तथा प्रतिनिधिहरुको टोलीसँग उहाँले यस्तो बताउनुभयो । भेटघाटमा जिफन्टका तर्फबाट श्रम ऐन वमोजिम तत्काल गर्नु पर्ने कामहरु, सामाजिक सुरक्षा अन्तरगत तत्काल गर्नुपर्ने काम, अन्य कानूनी व्यवस्थामा गर्नुपर्ने सुधारहरु, संस्थागत विकास सम्बन्धमा थप सुझावहरु र रोजगारी सिर्जनाका सम्बन्धमा सुझावहरु दिइएको थियो । जिफन्टका सचिव रमेश बडालले श्रम ऐनबमोजिम केन्द्रिय श्रम सल्लाहकार समिति गठन गर्न तथा हाल कानून मन्त्रालयमा पुगेको श्रम नियमावली छिटो पारित गर्न आग्रह गर्नुभयो । यसैगरी स्थायी न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न र वैशाख १ गतेदेखि काम सुरु गरी असार मसान्तभित्र घोषणा गर्न सुझाव दिनुभयो । नयाँ दर साउन १ बाट लागु हुने व्यवस्था मिलाउन पनि बडालले आग्रह गर्नुभयो । श्रम मध्यस्थता ट्राईव्युनल गठन गर्न, कार्यस्थलमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति बनाउन पनि जिफन्टले श्रम तथा रोजगारमन्त्री विष्टलाई सुझाव दिएको छ । योगदान आधारित सामाजिक सुरक्षा ऐन आएपनि नियमावली तयार नभएको भन्दै जिफन्टले नियमावली तुरुन्त तयार गरी यस अन्तर्गतको सुरक्षा योजना अर्थात स्कीमहरु तयार गर्नुपर्ने मन्त्री विष्टलाई अवगत गराएको छ । सामाजिक सुरक्षा कोषलाई निजामती कर्मचारीबाट नभई विज्ञमार्फत नेतृत्व गर्न कार्यकारी निर्देशक, निर्देशकहरु र केही कर्मचारी तुरुन्त नियुक्ती गर्न आवश्यक रहेको भन्दै प्रत्येक प्रदेशमा सामाजिक सुरक्षा कार्यलय स्थापना र सञ्चालन तत्काल गर्न आवश्यक रहेको पनि सचिव बडालले जानकारी गराउनुभयो । श्रमिक दर्ता गरी राष्ट्रिय परिचयपत्रसँग जोडेर वा तत्काल आफ्नो सामाजिक सुरक्षामा रोजगारदाता र श्रमिक दर्ता हुने प्रणाली ऐन वमोजिम सुरु गर्नु आवश्यक रहेको उहाँको भनाई थियो ।