एभरेष्ट दैनिक

रोनाल्डोले गरे चार गोल, रियल मड्रिडले जिरोनालाई ६-३ ले हरायो

काठमाडौं, चैत ५ । रोनाल्डोको चार गोल मद्दतमा स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जिरोनालाई ६-३ गोलले हराएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन रोनाल्डोले चार गोल गरे । १० औं मिनेटमा नै रोनाल्डोले गोलबाट रियलले अग्रता लिएको थियो । तर २९ औं मिनेटमा जिरोनाका स्तुएनीले गोल गरेर खेललाई १-१ को बराबरीमा ल्याए । ४८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरे भने ५८ औं मिनेटमा वाज्क्वेजले पनि एक गोल थपे । ६४ औं मिनेटमा फेरि रोनाल्डोले गोल गर्दै ह्याट्रिक पूरा गरे । यो उनको खेल जीवनको ५० औं ह्याट्रिक हो । खेल ४-१ को स्थितिमा रहेका बेला ६८ औं मिनेटमा जिरोनाका स्तुएनीले व्यक्तिगत दोस्रो गोल गरेर खेललाई ४-२ को अवस्थामा ल्याए । रियलका लागि ८६ औं मिनेटमा बेलले एक गोल गरे । त्यसको तीन मिनेटपछि जिरोनाका लागि लोपेजले हेडमार्फत् गोल गरेपछि खेल ५-३ को अवस्थामा थियो । रोनाल्डोले खेलको इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै रियल मड्रिडलाई ६-३ को जित दिलाए । जितपछि रियल मड्रिड २९ खेलबाट ६० अंक बटुल्दै अंकतालिकाको तेस्रो स्थानमा छ ।