एभरेष्ट दैनिक

प्रदेश नं. एक कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा कार्की चयन

काठमाडौँ, चैत ६ । युवा नेता केदार कार्की मंगलबार नेपाली कांग्रेसको प्रदेश नं. १ को संसदीय दलको प्रमुख सचेतकको रूपमा चयन भएका छन् । यसका साथै प्रदेश नम्बर एकको संसदीय दल कार्य समितिले पूर्णता पाएको छ। कार्की सहित कार्यसमितिको उपनेतामा उदयपुरका हिमाल कार्कीलाई चयन गरिएको छ भने सचिव शिवनारायण सिंह, कोषाध्यक्ष लीला सुब्बा, सदस्यहरुमा चुमनारायण तबदार, ओमप्रकाश सरावगी, ज्योती सुब्बा, नवोदिता चौधरी र बिन्दिया कार्की चयन भएका छन् । संसदीय दलको प्रमुख सचेतकका लागि गत फागुन २५ गते नै कांग्रेस संसदीय दलको कार्यालयले पत्र काटे पनि त्यसले मंगलबारमात्र संसद सचिवालयमा औपचारिकता पाएको हो । यसक्रममा प्रतिपक्षी दलका नेता राजीव कोइरालाद्धारा हस्ताक्षरित पत्र सभामुख प्रदीपकुमार भण्डारीलाई जानकारी गराइएको संसदीय दलको नेतामा चयन भएका कार्कीले जानकारी दिए। कोइरालाले कांग्रेस संसदीय दलको विधान २०७४ अन्तर्गत प्रदेश सभा संसदीय दलको सचेतक पदमा कार्कीलाई चयन गरेका हुन्। मोरङ क्षेत्र नम्बर ६ को ‘ख’ वाट प्रदेशसभा सदस्यमा निर्वाचित कार्की नेपाल विद्यार्थी संघका केन्द्रीय नेता समेत हुन् । कांग्रेस नेता डा. शेखर कोइराला निकट कार्कीले यसअघि कांग्रेसको संसदीय दलको नेता पदमा समेत उम्मेदवारी दर्ता गराएका थिए। तथापि अन्तिम समय सुनसरीका राजीव कोइरालालाई छोडेका कार्की प्रमुख सचेतक बनेका हुन्।