एभरेष्ट दैनिक

कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, चैत ४ । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याकेज नै रद्द गर्ने तयारी गरेको छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्याएको थियो । प्याकेजमा एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पीएन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन तयार भए । जबकी यी कर्मचारीलाई बिदाइ गर्दा कम्तीमा ३० अर्ब आर्थिक भार पर्ने सरकारी अनुमान छ ।