एभरेष्ट दैनिक

दिनानुदिन बढ्दैछ बलत्कारको घटना, किन चुपचाप छन् सम्बन्धित निकाय ?

राजविराज । सप्तरी जिल्लामा दिनानुदिन समाजमा बलात्कार जस्ता घटना बढिरहेको छ । एकपछि अर्काे महिला तथा किशोरीहरु बलात्कृत हुने गरेको घटना दोहोरिएका छन् । प्रहरीले बलात्कार घटनामा संलग्न अपराधीहरु पक्राउ गर्दै मुद्दा दर्ता गरिरहे पनि बलात्कारको श्रृंखला भने अझै रोकिएको छैन । फागुन पहिलो साता प्रहरीले खडक नगरपालिका ९ लालपत्ताका १८ वर्षीय राजदेव मण्डललाई पक्राउ गर्यो । १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका उनी मृतक बालिकाकै ठुलोबुबाका छोरा हुन् । आफ्नै कोठामा सुतिरहेकी बहिनीलाई बलात्कार गरिसकेपछि कुर्ताको तुनाले घाँटी बाँधेर हत्या गरेको प्रहरीले जनाएको छ । ‘बालिका चिच्याएपछि घटना सार्वजनिक हुने डरले लुकाउन खोज्दा अर्को घटना घट्यो,’ एसपी मुकेशकुमार सिंहले घटना अनुसन्धानको स्मरण गर्दै भने, ‘त्यसपछि पनि परिवारका सबै मिलेर घटनालाई दबाउने प्रयास भइरहेको छ।’ सोही दिन तिलाठी–कोइलाडी गाउँपालिका ७ मन्सापुरकी ११ वर्षीया एक बालिका बलात्कारको शिकार भइन्। आरोपीलाई भोलिपल्टै पक्राउ गरी मुद्दा दर्ता गरिएको छ। यसैगरी, फागुन २७ मा १७ वर्षीया किशोरीको सामूहिक बलात्कार भयो। आरोपी शम्भुनाथ नगरपालिका ३ का २० वर्षीय एटलान्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। अन्य आरोपितहरू सोही ठाउँका २२ वर्षीय अर्जुनकुमार साह, २१ वर्षीय मनोजकुमार साह, २० वर्षीय बबी चौधरी र नाम नखुलेका अन्य दुई जना फरार छन्। प्रहरीले उनीहरुको खोजी गरिरहेको छ। बलात्कारको आरोपमा पक्राउ परेका सबै पीडित युवतीका छिमेकी हुन्। त्यसको एकदिन अघिमात्रै २५ वर्षीया महिलाको सामूहिक बलात्कार भयो। आरोपीहरु विष्णुपुर गाउँपालिका ५ का ३५ वर्षीय जिवछ राम र ३ का २८ वर्षीय इसराइल मियाँ विरुद्ध प्रहरीले उजुरी दर्ता गरेको छ। फागुन २३ मा ९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दर्ता छ । फागुन २५ मा उजुरी दर्ता भएदेखि नै आरोपी फरार छन् । यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन्। पछिल्लो पटक गत शुक्रबार मात्रै लिफ्ट मागेर माइक्रोमा चढेकी एक युवतिलाई माईक्रोबसका चालक र सहचालकले नै सामूहिक बलात्कार गरे। छिन्नमस्ता–काठमाडौं चल्ने बा.५.प ३१४१ नम्बरको माइक्रो बसभित्रै १७ वर्षीय ती किशोरीको बलात्कार भएको प्रहरीले जनाएको छ। घटनाका आरोपी सिरहाको भगवानपुर ९ घर भएका चालक वैजनाथ दास र बाँकेको राप्ती सोनारी ५ का सहचालक खेमराज वैस्यलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विगत एक महिनाभित्रै सप्तरीमा बलात्कारका ९ वटा घटना भएका छन्। अधिकांश घटनामा परिवारका सदस्य र छिमेकीहरु संलग्न पाइएको छ भने केही घटनामा मात्रै बाहिरी व्यक्तिहरु संलग्न भएको प्रहरीको भनाइ छ। एसपी सिंहका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा २१ वटा बलात्कार र १० वटा बलात्कार उद्योगका घटना भएका छन्। जसमा १८ जनालाई पक्राउ गरिएको र अन्य आरोपीको खोजी भइरहेको छ। जिल्लामा बढ्दो बलात्कारका घटनालाई न्यूनीकरण गर्न सामाजिक सचेतना आवश्यक रहेको उनले बताए। ‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ एसपी सिंहले भने, ‘जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले अझै भयावह रुप लिन सक्छ ।’