एभरेष्ट दैनिक

समान हैसियत पार्टी एकताको मुख्य आधार हुनुपर्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समान हैसियत पार्टी एकताको मुख्य आधार हुनुपर्ने बताउनु भएको छ । साथै एकीकृत पार्टीमा एमाले र माओवादी केन्द्रका समान हैसियत हुनुपर्ने बताउनु भएको हो । गृह जिल्ला चितवनको भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै उहाँले सो कुरा वताउनुभएको हो । पार्टी एकता प्रतिशतका आधारमा नहुने बताउदै उहाँले भन्नु भयो, ‘पार्टी एकता सिद्धान्तत प्रतिशतका आधारमा हुँदैन । चुनाब जस्तो होईन भन्न खोजिएको मात्रै हो ।” “बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।”, अध्यक्ष प्रचण्डले भनु भयो । तपाईको यो भनाइले एकता अप्ठारोमा पारेको हो भन्ने पत्रकारको प्रश्नमा उहाँले यसले पार्टी एकतामा अफ्ठ्यारो पर्ने स्थिति नभएको भन्दै एक पटक छलफल गरेपछि सबै कुरा टुङ्गिने बताउनु भयो । प्रधानमन्त्रीको भारत भ्रमण अघि पार्टी एकता सम्भब भने नभएको अध्यक्ष दाहालले बताउनु भयो । उहाँले कार्यदलले दिएको रिपोट अनुसार नै २२ अप्रिल अर्थात बैशाख ९ गते पार्टी एकता हुने बताउनु भयो । प्रचण्डले भोलि पार्टी एकता संयोजन समितिको बैठक वसी दुई वटै कार्यदलको प्रतिबेदन औपचारीक ढङ्गले प्रस्तुत हुने बताउनु भयो । संयोजन समितिमा भोलिबाट नै त्यो प्रतिबेदनलाई अन्तिम रुप दिनका लागि छलफल सुरु हुने उहाँले बताउनु भयो । एक ÷दुई दिनमानै टुङ्गिन सम्भब नभएकाले केहिदिन लाग्ने दाहालले बताउनु भयो । फरक प्रसंगमा उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा केहि छलफल भएको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यस बारेमा पनि भोलि संयोजन समितिमा छलफल हुन्छ । तपाईको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नु भयो, ‘यो वायात फेन्टास्टिक र सिल्ली कुरा हो, जवाफ दिन चाहान्न प्रश्न पनि नगर्नुहोस ।’