एभरेष्ट दैनिक

अमेरिकामा बन्दुक बहस, राष्ट्रपति ट्रम्प बन्दुक नियंत्रणको विपक्षमा

अमेरिकाको फ्लोरिडा राज्यको  एउटा विद्यालयमा गत हप्ता भएको गोलीकाण्डमा १७ जनाको मृत्यु भएपछि त्यहाँ बन्दुक नियन्त्रणमा व्यापक बहस सुरु भएको छ । त्यहाँस्थित बन्दुकको वकालत गर्दैआएको शक्तिशाली संस्था राष्ट्रीय राइफल संघ (एनआरए)ले बन्दुक विरोधीहरूले घटनाको निहुँ पारेर बन्दुक नियंत्रण गराउन खोजेको आरोप लगाएको छ । एनआरएका प्रमुख वेइन लापेरले १४ फेब्रुअरीको घटनालाई प्रयोग गरेर केही ‘अवसरवादी’हरूले अमेरिकी नागरिकहरूको बन्दुक राख्न पाउने अधिकार खोस्न चाहेको आरोप लगाए । उता राष्ट्रपति ट्रम्पले विद्यालयका शिक्षकहरूलाई बन्दुक खरिद गर्न अतिरिक्त पैसा दिनुपर्ने बताएका छन् । एनआरए प्रमुख वेइन लापेरेले भने, “केही अवसरवादीहरूले आफ्नो राजनीतिक फाइदाको लागि घटनाको प्रयोग गर्न एक सेकेंड पनि बिराएनन् ।” उनले थपे, “तिनीहरू राइफल संघलाई घृणा गर्छन् । उनीहरू संविधानमा भएको दोस्रो संशोधनको विरोध गर्दछन् र वैयक्तिक स्वतंत्रताको विरोध गर्दछन् । अमेरिकी संविधानमा गरिएको दोस्रो संशोधनमा आम जनतालाई बन्दुक राख्ने अधिकार दिइएको छ । लापेरेले विद्यालयमा भएको घटनामा एफबीआइ चुकेको बताए । उनले अमेरिकामा “युरोपेली शैलीको समाजवाद”को आलोचना गर्दै भने, “उनीहरू कानुन बनाएर जनतालाई नियंत्रण गर्न चाहन्छन् । उनीहरुलाई कानुन काम कसरी गर्छ भएर वास्ता छैन । तर राइफल संघ यस कुरामा गम्भीर छ ।” उता यस घटनाका पीडितहरू बन्दुक राख्न पाउने कुरामा कडा कानुन बनाउने माग गर्दैछन् । यसका लागि राष्ट्रव्यापी अभियान नेभर अगेन चलाउँदै हेका छन् । लापेरेले डेमेक्रेटहरूमाथि राष्ट्रिय राइफल संघलाई बदनाम गाडेको आरोप लगाए । उनले संघले कुनै पनि विद्यालयको सुरक्षाका लागि निःशुल्क मद्दत गर्ने बताए । उता अमेरिकी शिक्षक एकता महासंघकी अध्यक्ष ऱ्याण्डी वाइनगर्टनले राइफल संघको कुरामा असहमति जनाएकी छन् । उनी भन्छिन् “विद्यालय भित्र बन्दुक लग्न दिएको अवस्थामा स्थिति कस्तो होला भन्ने कल्पनासम्म उनीहरूले गराएका छैनन् । अवस्था झन् भयावह हुन सक्छ ।” राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयका शिक्षकहरूसँग पनि बन्दुक हुनु पर्ने बताएका छन् । मंगलवार घटनाका पीडितहरूसँगको साक्षात्कारमा उनले यस्तो भनेका थिए । अधिकारीहरूसँग विद्यालय सुरक्षाबारे चर्चा गर्दै उनले भने, “यदि विद्यालय भित्र २० प्रतिशत मान्छेहरूसँग पनि बन्दुक भयो भने हमलाकारी भित्र पस्ने आँट गर्न सक्दैन ।” उनले अगाडि भने,”यदि उनीहरूले बन्दुक राख्न चाहेको खण्डमा हामी उनीहरुलाई अतिरिक्त पैसा दिनेछौं । राष्ट्रपतिले बन्दुक किन्न पाउने उम्र १८ वर्षबाट बढाएर २१ वर्ष गर्ने कुरामा भने आफू सकारात्मक रहेको बताए । उनले राइफल संघलाई पनि यस कुराको समर्थन गर्न आग्रह गरे । बन्दुकको वकालत गर्ने राइफल संघलाई ‘राम्रा मान्छे’ रहेको भन्दै ट्रम्पले आफू उनीहरू विरुद्ध नजाने बताएका छन् ।