एभरेष्ट दैनिक

पौडेल पक्षको बहिष्कार गर्ने चेतावनीले कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबारका लागि बोलाएको पार्टीको केन्दीय कार्यसम्पादन समितिको बैठक वरिष्ठ नेता रामचनद्रपौडेल पक्षले बहिष्कार गर्ने चेतावानी दिएपछि स्थगित भएको छ । सरकारबाट बाहिरिएसँगै देउवा पार्टीको आन्तरिक झमेलामा नराम्रोाँग फसेको उनी निकट श्रोतले बताएको छ । वरिष्ठ नेता पौडेल र पार्टी महामन्त्री शंशाङ्क कोइराला लगायतले विधानलाई टेकेर केन्द्रीय कार्यसम्पादन र संसदीय बोर्डको वैधानिकतामाथि नै प्रश्न उठाएपछि सभापति देउवालाई सकस परेको छ । पौडेल पक्षले बिहीबारको बैठक बहिष्कार गर्ने बताएपछि उनले आफू निकटका नेताहरुसँग परामर्श गरेर बैठक स्थगित गरेका हुन् । पौडेलपक्षका नेताहरुले विधान विपरीत बनाइएको कार्यसम्पादन समितिको बैठकमा नआउने बताएपछि कांग्रेसमा आन्तरिक कलह बढ्को हो । उनीहरुले भनेका छन्, ‘अब फेरि पनि गल्ती गरिँदैन । विधानभन्दा बाहिर गएर बनाएको कार्यसम्पादनमा उपस्थित भएर पटक–पटक त्यसलाई अनुमोदन गरिँदैन । बरु, केन्द्रीय कार्यसमितिको बैठक बोलाइनु पर्दछ ।’ देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने सुइँको पाएपछि पौडेललगायत महामन्त्री कोइराला निवास पुगेर आन्तरिक छलफल गरेको बताइएको छ । पौडेल समूहको बैठक बसेको थाहा पाएपछि देउवाप्रति असन्तुष्ट अन्य नेताहरुले पनि फोन गरेर केन्द्रीय समितिको बैठक बोलाउनका लागि दबाब सृजना गर्न आग्रह गरेको बताइएको छ । पौडेल पक्षधरहरुले देउवा फेरि पनि पूरानै शैलीले कार्यसम्पादनबाट धेरै कुरा अनुमोदन गराउन खोजिरहेको आरोप लगाएका छन् । नयाँ संविधान अनुसार भएका सबै निर्वाचनमा काँग्रेसको कमजोर उपस्थिति हुनुको कारण देउवाकै कार्यशैली जिम्मेवार रहेको आवाज चर्को रुपमा उठेका बेला विधि र विधानको विषय अझ जोडतोडका साथ उठेको छ । त्यसका साथै कांग्रेसभित्र पछिल्लो समय संगठन शुद्धिकरण पार्टी नेतृत्वबारे पुनःविचार गर्नुपर्ने आवाज समेत उठिरहेको छ ।