एभरेष्ट दैनिक

चिनियाँ प्रतिनिधि र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् । बूढानीलकन्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र सम्बन्धमाबारेमा विचार–विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक बीपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए । सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाइ दिँदै कांग्रेसका संस्थापक बीपी कोइरालाको पालादेखि नै कांग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे । उनले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको परराष्ट्र सल्लाहकार डा। भट्टराईले बताए । रासस