एभरेष्ट दैनिक

मकवानपुरको कुन्छाल गाउँलाई पर्यटन गन्तब्य बनाउने प्रतिबद्धता, ‘घरमै बसेर डलर कमाउने अवसर !

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका १ कुन्छाल गाउँ पर्यटकिय र ऐतिहासिक दृष्टिले निकै महत्वपूर्ण थलो हो । कुन्छाल गाउँलार्इं पर्यटकिय गन्तव्य बनाउने सरोकारवालाहरुले प्रतिबद्धता जाहेर गरेका छन् । आईतबार गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)ले आयोजना गरेको ‘कुन्छाल गाउँ अवलोकन भ्रमणमा उपस्थित सरोकारवालाहरुले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । भिटोफ नेपालका अध्यक्ष राम सापकोटा ‘कमल’ले मकवानपुरको थाहा नगरपालिका ‘थाहा’ अभियानता रुपचन्द्र विष्टको कारण ऐतिहासिक रुपले चिनिएको बताए । ‘विश्व पर्यटन दिवसको अवसरमा हामीले कुन्छाल गाउँलाई पर्यटन गन्तव्यको रुपमा घोषणा गरेका हौँ । यहाँको इतिहास र संस्कृति हो । यो काठमाडौंबाट चन्द्रागीरि नजिकै रहेको होमस्टे ट्रेकिङको संभावना बोकेको क्षेत्र हो,’ उनले भने,‘गोपालीहरुको ऐतिहासिक बस्ती, यहाँको एकरुपता पूर्वक लगाईएका घरमा छानो यहाँको विशेषता रहेछ । एक हिसाबले भन्ने हो भने यहाँ समाजवादको पूर्वाभ्यास भएको देखिन्छ ।’ होमस्टेका लागि ठूलो लगानी गर्नु नपर्ने बताउँदै उनले आफूसँग जे छ त्यही सफा पूर्वक पर्यटकलाई खुवाउँदा पर्यटक आकर्षित हुने र प्रसस्त आम्दानी गर्न सकिने सापकोटाले बताए । ‘होमस्टे भनेको घरमै बसेर डलर कमाउने सवर्ण अवसर हो । यहाँ पनि यो अवसरको शुरुवात भएको छ । यो गाउँलाई पर्यटकीय गाउँ बनाउन पहल गरौँ । विस्तारै पर्यटकीय गाउँ बन्नसक्छ,’ उनले भने,‘नेपालमा सगरमाथा र बुद्धको माध्यमबाट मात्रै होइन अन्य माध्यमबाट पनि पर्यटक आकर्षण गर्न सकिन्छ । पर्यटनको माध्यमबाट नै जीवनस्तर उकास्न सकिन्छ । पर्यटनमा छिटो लगानी गर्नुस् । भोली नाम्चे गाउँ र जस्तै कुन्छाल गाउँ हुनेछ ।’ नेपाल ट्रेकिङ एजेन्सीज एशोसियशन नेपाल (टान)का अध्यक्ष नवराज दाहालले कुन्छाल गाउँ आफूले सोचेको भन्दा निकै सन्दर पाएको बताए । ‘यहाँ साँच्चै थुप्रै संभावना बोकेको रहेछ । इतिहास, कृषि, प्राकृतिक सुन्दरता, सांस्कृतिक सुन्दरताले पर्यटकलाई लोभ्याउन सक्छ,’ उनले भने,‘यहाँ बाह्य मात्रै होइन आन्तरिक पर्यटक पनि आउँछन् । साइकलिङ, हाईकिङ र २÷३ दिन ट्रेकिङ गर्न सकिन्छ ।’ होमस्टेका लागि पूर्वाधार विकासको तालिम दिनुपर्ने भन्दै उनले पर्यटन बोर्ड, टान लगायत पर्यटन सम्बद्ध संस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । त्यस्तै दाहालले आफू नेतृत्वको टानले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए । थाहा नगरपालिकाका मेयर लभेश्वर विष्टले आफूहरुले पर्यटनलाई थाहा नगरपालिकाको प्रमुख आधारको रुपमा विकास गर्ने बताए । ‘कृषि पर्यटन र पूर्वाधार थाहा नगरको पूर्वाधार भन्ने हाम्रो नगरपालीकाको नारा नै छ,’ उनले भने,‘प्रचार प्रसारको कमीले कुन्छाल गाउँ पछाडी परेको हो ।’ उनले राजधानी काठमाडौंको उकुशमुकुशपूर्ण जीवन विताइरहेकाहरुलाई एक दिन कुन्छाल र चित्लाङ ल्याउन सकिने बताए । ‘काठमाडौं भित्र उकुशमुकुश छ । एक घण्टा मात्रै बाहिर निस्कन पाउने ठाउँ छैन । यदि काठमाडौं चित्लाङको बाटो बन्यो भने एक घण्टामा हामी काठमाडौंबाट यहाँ आईपुग्छौँ,’ उनले भने,‘हामी एक वर्ष भित्र यसलाई कुन्छाललाई पर्यटकीय गाउँ बनाउने छौँ । होमस्टेमा हामी बजेट खर्च गर्छौं । यो मेरो दायीत्व हो ।’ जिल्ला समन्वय समितिका अध्यक्ष रघुनाथ खुलालले कुन्छालबासी अत्यन्तै मिलेर बसेको र यहाँको पर्यटकीय विकास गर्न आफूले सक्दो पहल गर्ने बताए । उनले आफूहरु पूर्वाधार विकास गर्ने योजनामा रहेको बताए । त्रिभूवन विश्व विद्यालयका प्राध्यापक डा प्रेम शर्माले कुन्छालमा पद यात्राको संभावना रहेको बताए । उनले पर्यटनको बजेट पर्यटनमै खर्च गर्नुपर्ने बताए । पर्यटन बोर्डका सिनियर निर्देशक मणि लामिछानेले कुन्छाल गाउँलाई बोर्डले सन् २०११ देखि पर्यटकीय गन्तव्यको रुपमा अघि सारेको बताए । उनले थाहानगरपालिकाको उत्तरी क्षेत्र रहेकाले चित्लाङमा आउने पर्यटक कुन्छाल गाउँ अवश्य आउने बताउँदै होमस्टे ट्रेकिङ ट्रेल संभावना औँल्याए । थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपालीले आफूृ खेलेको हुर्केको ठाउँमा पर्यटकीय गन्तव्य बनाउने कुराले आफूलाई अत्यन्त खुसी लागेको बताए । उनले कुन्छाल गाउँको विशेष परम्परा र संस्कृति रहेकाले ढुक्क भएर पर्यटक पठाउन पर्यटन व्यावसायीलाई आग्रह गरे । कुन्छाल गाउँ होमस्टे समितिका अध्यक्ष सानुकाजी गोपालीले कुन्छाल गाउँमा तरकारी खेती हुने र गाउँमै बचार रहेको बताए । गोपालीहरुको मौलिक परम्परामा पर्यटक रमाउने उनको विश्वास थियो । विश्व पर्यटन दिवसको अवसरमा सन् २०१८ को पर्यटकीय गाउँको रुपमा घोषणा भएको कुन्छाल गाउँमा करिब २ सय परिवार गोपालीहरु बसोबास छ । गोपालीहरुको आफ्नै भाषा र मौलिकता रहेको छ । कुन्छाल गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको टोली शनिबार कुन्छाल गाउँ पुगेको थियो । कार्यक्रमको संयोजन जोस्फा पाण्डेले गरेकी थिइन् ।