एभरेष्ट दैनिक

छुर्पीको मूल्यमा गिरावट, जापान र अमेरिका निर्यात हुन छाड्यो

इलाम, फागुन ७ । छुर्पीको मूल्यमा गिरावट आएपछि इलामका व्यापारी तथा किसान मारमा परेका छन् । जापान, अमेरिकालगायतका मुलुकमा निकासी हुने गरेको छुर्पीबाट मनग्य आम्दानी गर्दै आएका व्यवसायीहरु मूल्यमा गिरावट आएपछि मारमा परेका हुन् । अमेरिका, जापान जस्ता देशमा कुकुरलाई खुवाउन प्रतिमहिना तीन टन नेपालको छुर्पीको माग हुने गरेको थियो । विगतमा यसको माग धान्न नै धौ–धौ पर्ने गरेका डेरी उद्योगलाई अहिले भने सुक्खा लागेको छ । हिमालय डक च्यु कलेक्सन सेन्टर काठमाडौं र सिल्भर लिंक आइएनसी प्रालि कलेक्सन सेन्टर काठमाडौंले इलामको छुर्पी खरिद गरेर निकासी गर्दै आएका थिए । उनीहरुले केही महिनाअघिसम्म प्रतिकेजी एक हजार रुपैयाँले छुर्पी खरिद गर्ने गरेका थिए । तर अहिले छुर्पीको मूल्य घटेर प्रतिकेजी ७ सय रुपैयाँमा झरेको छ । नेपालको छुर्पी गुणस्तरहीन भएको भन्दै अमेरिका र जापानले लिन आनाकानी गर्न थालेपछि मूल्यमा गिरावट आएको हो । छुर्पी खाएपछि कुकुरको रौं झर्ने, विरामी हुने जस्ता समस्या देखा परेको भन्दै अमेरिका, जापान जस्ता देशले नेपालको छुर्पी लिन नमानेकाले केही समय अघिबाट छुर्पी निकासीमा समस्या आएको व्यापारीहरुको भनाइ छ । बजारीकरणमा प्रतिस्पर्धा भएपछि व्यापारीले गुणस्तरहीन छुर्पीसमेत संकलन गरी निकासी गरेकाले मागमा गिरावट आएकोे इलामका छुर्पी ब्यापारी ईश्वरी अधिकारीले जानकारी दिए । इलाममा ५६५ वटा दुग्द्यजन्य डेरी, चिज उद्योग दर्ता रहेको घरेलु तथा साना उद्योग विकास समितिले जनाएको छ ।