एभरेष्ट दैनिक

बैंकहरुको लगानी चालू आर्थिक वर्षको ६ महिनामा १९ खर्ब ११ अर्ब

काठमाडौ, माघ २२ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ। बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन्।गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन्। गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ। ‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो। नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो।’ अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ। गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए। गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए। हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो। – अन्नपुर्ण पोष्टमा खबर छ ।