एभरेष्ट दैनिक

टिप्पणीः माओवादीको बटमलाइन– समाजवादी कार्यदिशा र दुबै अध्यक्ष कार्यकारी भूमिकामा

गोकर्ण भट्ट । काठमाडौं, नेकपा (एमाले) र माओवादी केन्द्रबीच बहुप्रतिक्षित एकता संयोजन समितिको बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्केपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग दुई चरणको वार्ता भएको थियो । उक्त वार्ता र दुबै दलको आन्तरिक छलफलपछि आज संयोजन समितिको बैठक बस्न थालेको हो । सरकार गठन अघि नै एकता गर्नुपर्ने दबाबमा रहेका दुबै दलमा नेतृत्व र कार्यदिशाको विषयमा अझै मतैक्यता रहेको छैन् । माओवादीमा एकमत माओवादी केन्द्रभित्र भने एकताको विषयलाई कुनै विवाद देखिँदैन । सैद्धान्तिकरुपमा एमालेसँग एकता गर्न नहुने भन्दै केही नेता र कार्यकर्ताले असन्तुष्टि जनाएर पार्टीबाट सम्बन्ध तोडेबाहेक सिँगो पार्टीभित्र एकताको पद्धती, प्रक्रिया, सिद्धान्त, कार्यविधि, नेतृत्व लगायतका विषयमा समान धारणा देखिन्छ । माओवादीले बिभिन्न चरणमा कार्यालय, स्थायी समिति र अन्य विस्तारित बैठकमार्फत वर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा पुरानै कार्यदिशा समातेर जान नसकिने र विचारको संश्लेषणसहित नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने कुरा सार्वजनिक गरेको छ । यसको अर्थ नयाँ जनवादी क्रान्ति या एक्काइसौं शताब्दीको जनवादलाई या बहुदलीय जनवादलाई मात्रै टेकेर अगाडि बढ्न नसकिने निष्कर्शमा माओवादी पुगेको स्पष्ट देखिन्छ । बहुदलीय जनवादको निर्माण हुने बेलाको बस्तुगत अवस्था, उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको परिवर्तन, पूँजिवादी जनवादी क्रान्तिका कैयन उपलब्धि पुरा भएको अवस्थामा नयाँ ढंगले नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने विचार कतिपय नेताहरुले अघि सारेका छन् । त्यसैले पार्टी एकताको प्रक्रियामा एमालेले अँगाल्दै आएको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको नयाँ जनवादका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको कार्यदिशाबारे छलफल गरेर प्राप्त उपलब्धिहरुको जगमा समाजवादी क्रान्तिको कार्यदिशा अपनाउनुपर्नेमा माओवादी नेताहरु एकमत देखिन्छन् । यो समाजवादी क्रान्तिको कार्यदिशा के हुने, कस्ते हुने ? यसका कार्यनीतिक चरण के कस्ता रहने, सत्ता, व्यवस्थालाई कसरी उपयोग गर्ने जस्ता विषयमा छलफल चलाएर कार्यदिशा निर्माण गर्नुपर्ने माओवादी नेताहरु बताउँछन् । अर्कोतर्फ नेतृत्वको हकमा समेत माओवादीमा मतान्तर देखिन्न । माओवादीले पार्टी एकतापछि दुबै नेता कार्यकारी भूमिकामा रहने र सरकार र पार्टीको नेतृत्वमा दुबै नेतालाई भूमिका दिनुपर्ने अडान राख्दै आएको छ । एमालेभित्र चरम विवाद तर, माओवादी जस्तो एमालेभित्र भने पार्टी एकताको प्रक्रिया र कार्यदिशाका विषयमा एकमत हुन सकेको छैन । एमालेभित्र अध्यक्ष ओली समर्थित केही नेताहरुले बहुदलीय जनवादलाई नै पार्टीको आगामी समाजवादी क्रान्तिको कार्यदिशा बनाउनुपर्ने अडान अघि सारेका छन् । उनीहरुका अनुसार, बहुदलीय जनवादको औचित्य नसकिएको र खुला संसदीय प्रतिष्पर्धाबाट नै समाजवादमा पुग्न सकिन्छ । यसका लागि नयाँ कार्यदिशा आवश्यक नभएको उनीहरुको ठम्याई छ । तर एमालेभित्रै अर्कोथरिले भने बहुदलीय जनवादको कार्यदिशाले अबको राजनीतिक गोरेटो छिचोल्न नसकिने भएकोले यसलाई समेत परिमार्जन र संश्लेषण गर्नुपर्ने बताएका छन् । बहुदलीय जनवादको निर्माण हुने बेलाको बस्तुगत अवस्था, उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको परिवर्तन, पूँजिवादी जनवादी क्रान्तिका कैयन उपलब्धि पुरा भएको अवस्थामा नयाँ ढंगले नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने विचार कतिपय नेताहरुले अघि सारेका छन् । एमाले नेतृत्वले बहुदलीय जनवाद नै बटम लाईन भएको र पार्टी अध्यक्ष पनि आपैmले भन्ने कुरा झिकेपनि यो झनै प्रत्युपादक हुने छ । खासगरी नेता माधव नेपाल, वामदेव गौतम समर्थित अन्य नेता, कार्यकर्ता तथा विचारकहरु यो बिन्दूमा भने माओवादी केन्द्रसँग सामिप्यता राख्न पुगेका छन् । उनीहरुले पनि माओवादीले भनेजस्तै नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन र विचारको संश्लेषण गरि कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् । यसो भएको खण्डमा बहुदलीय जनवाद र माओवादीको नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तितर्फ अघि बढने कार्यदिशाबीच छलफल चलाएर नयाँ कार्यदिशा बनाउन सकिने उनीहरुको तर्क छ । नेतृत्वको हकमा समेत एमालेभित्र ठूलो विवाद देखिन्छ । एकथरिले पार्टी नेतृत्व र सरकारको नेतृत्व एमालेले नै लिनुपर्ने तर्क अघि सारेका छन् । तर एउटा ठूलो पंक्तिले भने पार्टी नेतृत्व प्रचण्ड र सरकार ओलीले चलाउनुपर्ने कुरा सार्वजनिक रुपमा नै व्यक्त गरेका छन् । एमालेको विवाद मुख्य समस्याः आज बस्ने संयोजन समितिका अगाडि समेत मुख्यरुपमा यिनै विषयमा सहमति जुटाउने चुनौती रहेको छ । एमालेभित्र एकमत हुन नसक्दा र उनीहरु नै आपसमा फरक मतसहित प्रस्तुत हुने अवस्थाले अहिले एकता प्रक्रियामा समेत ढिलाई हुन गएको देखिन्छ । त्यसैले संयोजन समितिमा माओवादीले अघि सार्ने न्यूनतम बटमलाईनमा एमालेका ओली इतरका नेता कार्यकर्ताको सहमति भएको अवस्थामा एमाले नेतृत्वले के कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले एकता प्रक्रिया कति चाँडो हुन्छ भन्ने कुरा निर्भर हुने छ । तर सत्य के हो भने, एकता प्रक्रियाबाट पछाडि फर्किने अवसर र बाटो दुबै पार्टीलाई छैन । एमाले नेतृत्वले बहुदलीय जनवाद नै बटम लाईन भएको र पार्टी अध्यक्ष पनि आपैmले भन्ने कुरा झिकेपनि यो झनै प्रत्युपादक हुने छ । एकताको हुटहुटी जागेको बेला आजको संयोजन समितिले कम्तीमा यो न्यूनतम आधारमा सहमति जुटाउन सके यसले भावी बन्ने सरकार र अन्य कतिपय विषयमा समेत निर्णायक भूमिका खेल्ने देखिन्छ ।