एभरेष्ट दैनिक

चीनमा कपाल उमार्ने नक्कली औषधि बेच्ने ८५ जनालाई जेल हालियो

काठमाडौँ- चीनमा कपाल उमार्ने नक्कली औषधि बेच्ने एउटा कम्पनी सम्बद्ध ८५ जनालाई कारावासको सजाय सुनाइएको छ । युवान स्नेक ओइल योजना चलाएको आरोपमा उनीहरूलाई यस्तो सजाय सुनाइएको हो । उक्त तेल बेच्ने द रिंग भन्ने संस्थाका तीन जना संस्थापक र सो संस्थामा काम गर्ने कर्मचारीहरूलाई इनर मंगोलियाको आर्डोस अदालतले धोखाधडीको मुद्दामा दोषी पाएको थियो । चिनियाँ मिडियाहरूले जनाए अनुसार द रिंगका तीनै संस्थापकहरूलाई ११ देखि १३ वर्षको र अन्यलाई १ देखि ६ वर्षको कैद सजाय सुनाइएको छ । संस्थापकहरूले कर्मचारीहरूलाई विशेष तरिकाले झुटो बोल्न प्रशिक्षित नै गरेका थिए । उनीहरू आफुलाई को स्वास्थ्य सल्लाहकार या डाक्टरका रुपमा प्रस्तुत गर्दथे र मानिसहरूलाई फोन गरेर यस्ता औषधि किन्न फकाउँथे । उनीहरूले विशेष गरेर कपाल झरिसकेका या झर्न लागेका मानिसहरूलाई आफ्नो शिकार बनाउने गरेको खुल्न आएको छ ।