एभरेष्ट दैनिक

बालिकाको मुखमा ३०० ग्रामको ट्यूमर, ७ घण्टा लगाएर शल्यक्रिया

मुम्बइ, माघ ३ । भारतको मुम्बैस्थित बम्बइ अस्पतालमा न्यूरो सर्जन सहितको पाँच जना चिकित्सकको टोलीले ७ घण्टा लगाएर बालिकाको मुखमा भएको ट्यूमरको शल्यक्रिया गरेका छन् । भारतको सिंगरौलीकी १५ वर्षीया बालिकको मुखमा भएको ट्यूमर ३०० ग्रामको रहेको थियो ।  मुखमा ट्यूमर भएपछि परिवारले छोडेका थिए । मन्दिरमा गएर दिन बिताउने ति बालिका बाल सखा आश्रममा बस्दै आएकी थिइन् । शल्यक्रिया सकेको केही घण्टापछि होस आएकी बालिका रुन थालेकी थिइन् । “अब तिमी असाध्यै सुन्दर देखिएकी छौं” अस्पतालमै रहेकी आश्रमकी काउन्सलर बबीता खरारेले भनिन् । उनले यस्तो भन्दा बालिका शान्त रहेकी थिइन् । उनको अनुहारमा पट्टी बाँधिएको छ । पट्टीको छेउबाट एक आँखाले सबैलाई हेरेर बालिका हास्न थालिन् । उनलाई हाँसेको देखेपछि चिकित्सक, अस्पताल कर्मचारी र आश्रमका व्यक्तिले खुशी साँटे । बम्बइ अस्पतालका न्यूरोसर्जन डा.राघवन अयंगर र डा.प्रशान्त निवारकर, प्लास्टिक सर्जरी विशेषज्ञ डा.योेगेश तंदवाडे, नाक, कान तथा घाटी रोग विशेषज्ञ डा. अनिल ग्वालियरकर सहितको टोलीले माघ २ गते बिहान १० देखि साँझ ५ बजेसम्म शल्यक्रिया गरेका थिए ।