एभरेष्ट दैनिक

६ नं प्रदेश प्रमुखको कार्यालय स्थापना, शपथको भव्य तयारी

सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । मध्यपश्चिम क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतले क्षेत्रीय वन तालिम केन्द्रको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरेको हो । शनिबार अपरान्ह प्रदेश प्रमुखको कार्यालयको बोर्ड राखिएको हो । संघीय संरचना अनुसार यस प्रदेशका प्रदेश प्रमुखको कार्यालय र आवास क्षेत्र सोही कार्यालयमा हुने क्षेत्रीय प्रशासक सुरेश प्रधानले बताए । सरकारले अर्को व्यवस्था नगरेसम्मका लागि प्रदेश प्रमुखले तालिम केन्द्रबाटै आफ्ना कामकारवाही अगाडि बढाउने छन् । ६ नम्बर प्रदेशको अस्थायी राजधानी सुर्खेतमा प्रदेशसभा निर्वाचनबाट विजयी प्रदेश सदस्यको सपथका लागि सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । क्षेत्रीय प्रशासक प्रधानका अनुसार आइतबार बिहान १० बजे प्रदेश प्रमुखले पदभार ग्रहण गरेपछि ११ बजे प्रदेश सांसदलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । प्रदेश सांसदलाई जिल्ला समन्वय समितिको सभा हलमा सपथ खुवाइने तयारी रहेको उनले बताए । ६ नम्बर प्रदेशका दश जिल्लाबाट २४ जना प्रत्यक्ष र १६ जना समानुपातिक गरी ४० जना प्रदेशसभा सांसदले आइतबार प्रमाण पत्र पाउनेछन् । प्रदेश नम्बर ६ को प्रमखमा सरकारले नेपाली कांग्रेसका नेता एवं पूर्व राष्ट्रियसभा सदस्य दुर्गाकेशर खनाललाई नियुक्त गरेको छ । खनाल सुर्खेतको बीरेन्द्रनगर नगरपालिका ७ इत्रामका स्थायी बासिन्दा हुन ।