आकाशबाट ठूलो आवाजकासाथ बडेमानको ढुंगा खसेपछि हेर्नेको भिड !
काठमाडौं । नेपालको सीमावर्ती क्षेत्र भारत विहारको मधुवनीमा एक अचम्मको घटना भएको छ । जसलाई सुन्दा एकादेशको कथा जस्तै लाग्छ तर यो वास्तविक हो । विहारको मधुवनीमा एउटा बडेमानको ढुंगा आकाशबाट खसेको स्थानीयबासीले बताएका छन् । त्यस क्षेत्रमा आकाशबाट करिब १० किलोको ढुंगा खसेपछि हेर्नेहरूको भीड लागेको छ ।
मधुवनी जिल्लाअन्तर्गत लौकहीको कौरियाही ककहिया बधारमा खसेको सो ढुंगा हेर्न सरकारी अधिकारीहरु पनि पुगेका छन् । सो ढुंगामा चुम्बकीय शक्ति रहेको अधिकारीहरूले बताएका छन् । ढुंगामा चुम्बक लगाउँदा त्यसमा टाासिने प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
हिन्दूस्तान दैनिकका स्थानीय संवाददाता रोशन कुमारले सोमबार नेपाली समयअनुसार मध्यान्ह १२ बजेर १५ मिनेटमा ढुंगा खसेको बताए । ढुंगा खस्दा ठूलो आवाजसँगै धुँवा पनि देखिएको थियो । खेतमा काम गर्ने मजदूरहरु डरले भागेका थिए । धुवाँ बन्द भएपछि श्रवण यादव नाउँका एक मजदूरले आकाशबाट खसेको वस्तु ढुंगा भएको थाहा पाए ।
ढुंगा ५ फिट माटोमा भासिएको थियो । घटनाको जानकारी पाउनसाथ सो क्षेत्रका सीओ त्रिपुरारी श्रीवास्तव र प्रखण्ड प्रमुख वरुण कुमार बिहारी पनि घटनास्थल पुगेका थिए । अहिले सो ढुंगालाई प्रहरीले राखेको छ । मधुवन्नीका डिएम कपिल अशोकले ढुंगा अहिले प्रहरीसँग रहेको र छिट्टै सम्बन्धित विशेषज्ञकहाँ पुर्याइने जानकारी दिए ।
जीवनमा यस्तो ढुंगा आफूले कहिले नदेखेको महराज महेश ठाकुर कलेज दरभंगाका प्राध्यापक चन्द्रमोहन झा पडवाले बताए । ढुंगा खसेको जानकारी पाउनसाथ आफू ढुंगा रहेको क्षेत्रमा गएको उनले बताए ।
मधुवन्नीमा रहेका सरकारी क्याम्पसका भूगोल विभागका अध्यक्ष डा. शशी भूषण प्रसादका अनुसार यो समान्य ढुंगा होइन । यति ठूलो, त्यसमा पनि चुम्बकीय गुण हुनुले ढुंगालाई असामान्य देखाएको उनको भनाइ छ । यो ढुंगालाई अनुसन्धानका लागि दिल्ली प्रयोगशालामा पठाउन उनले अधिकारीहरुसँग माग गरे । यसैगरी बीआरए विश्वविद्यालय भौतिक विभागका विभागाध्यक्ष डा. विजय कुमारले म्याग्नेटिक प्रपर्टी हुनसक्ने बताए ।
भाषण गर्दागर्दै नेताको पाइन्ट खुस्किएपछि….. (भिडियोसहित)
एजेन्सी । केही दिनदेखि सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । एक जना भीड माझ भाषण गरिरहेका हुन्छन् । बोल्दाबोल्दै उनको पाइन्ट खुस्किन्छ, सबै मानिस गलल हाँस्छन् । फेसबुक ट्वीटरमा भाइरल भइरहेको यो भिडियोलाई लिएर विभिन्न किसिमका अफवाह फैलिरहेको छ । भाजपा र काँग्रेस समर्थक भारतीयले एकअर्को पार्टीलाई व्यंग्य गर्न यो भिडियो प्रयोग गरिरहेका छन् । भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुस् कतिपयले व्यक्ति भाजपा नेता तथा राजस्थानको अजमेरका उम्मेद्वार राकेश परिख भएको दाबी धेरैले गरेका छन् भने भाजपा समर्थकले काँग्रेस उम्मेद्वार राकेश पारिखको भिडियो भन्दै शेयर वा पोष्ट गरिरहेका छन् । तर, यो भिडियोको वास्तविकता भने अर्कै छ । खासमा यो पुरानो भिडियो हो । भिडियोमा भएका व्यक्ति हुन् उत्तराखण्डको जसपुरका नगर परिषद अध्यक्ष मोहम्मद उमर सिद्धकी । नगरपालिका निर्वाचनका दौरान भएको एक कार्यक्रममा उनको पाइन्ट खुस्किएको थियो । उनी न काँग्रेसका नेता हुन्, न भाजपा । आफू त्यसबेला बहुजन समाजवादी पार्टीमा भएको र चुनावी अभियानका दौरान आफ्नो पाइन्ट खस्किएको उनको भनाई छ । पारिख र उनको अनुहार करिब मिल्छ । र, वास्तवमा पारिख भाजपा उम्मेद्वार नभएर काँग्रेसका उम्मेद्वार हुन् ।
खाने तेलभन्दा खानेपानी महंगो
रामेछाप, फागुन २५। तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ। यर्थाथ यही हो। महिनाको ३ सयले भान्सामा तेल पुर्याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ। जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन्। बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको छ ।जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको मासिक शुल्क न्यूनतम ६ सय छ । ‘मेरो परिवारमा ३ जना छौँ, पानी महिनाको ६ सयको लाग्छ, जब कि ३ सयको खाने तेलले महिना गुजार्छु,’ मन्थलीका टेकबहादुर भुजेलले भने। भुजेलजस्ता सामान्य आय नभएका परिवारालाई मुख रसाउने कुरा असामान्य बन्दै गएको छ। बिजुलीको भाउ महंगो भएकाले पानीको महसुल बढाउनु परेको खानेपानीका व्यवस्थापक जगदीश सुवेदीले बताए।
घुस्याहा कर्मचारीलाईलाई भैंसी घुस!
एजेन्सी । भारतमा एकजना घुस्याहा कर्मचारीलाई सवक सिकाउनका लागि एक व्यक्तिले अनौठो उपाय अपनाएका छन् । घुस माग्ने सरकारी अधिकारीलाई घुस स्वरुप ती किसानले एउटा भैँसी दिए । भैँसी दिएनन् मात्र, त्यो भैँसीलाई ती सरकारी कर्मचारी चढ्ने गाडीमै लगेर बाँधिदिए । मध्य प्रदेशको टिकमगढस्थित खडगपूरका तहसीलदार सुनिल बर्माले एकजना किसानको जग्गाको दाखेल खारेज गर्नका लागि एक लाख भारु घुस मागेका थिए । ५० वर्षका लक्ष्मी बर्मा नामका ती किसानले तहसीलदारले मागेको एक लाख भारु घुस नगदमै दिन सकेनन् । उनले ५० हजार त नगदै दिएका थिए । तर बाँकी रकम नभएपछि उनले आफ्नो घरको भैँसी लगेर उनको गाडीमा बाँधिदिए । किसानले घुस स्वरुप तहसीलदारको गाडीमा ल्याएर भैँसी बाँधिदिएपछि त्यसले तहल्का नै मच्चायो । धेरै मानिसहरु त्यहाँ जम्मा भए । अन्ततः तालुक निकायका अधिकारीले ती किसानलाई तहसीलदार विरुछ उजुरी दर्ता गर्न भने बमोजिम उनले उजुरी दर्ता गरेसँगै हाल उक्त भैँसी घुस काण्डको छानविन भैरहेको बताइएको छ ।
नक्कली भनेर किनेको हिराको औंठीले बनायो करोडपति !
एजेन्सी । एउटी बेलायती महिलाको हिरा लागउाने औधी रुचि थियो । तर उनीसँग हिरा किन्न पर्याप्त पैसा थिएन । उनले हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि बजारमा गएर हिराजस्तै देखिने नक्कली औंंठी किनिन् । ३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो । ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्, आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् । उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुको कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे । व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन ।
जेल परेका पत्रकारले मोबाइलबाट लेखेको पुस्तक पुरस्कृत
बीबीसी । अस्ट्रेलियाले प्रशान्त क्षेत्रको एउटा टापुमा वर्षौँदेखि थुनामा राखिएका एक इरानी पत्रकारले सबैभन्दा ठूलो धनराशिको साहित्यिक पुरस्कार प्राप्त गरेका छन्। शरणार्थी बन्न अस्ट्रेलिया जान खोज्दा समातिएका बेहरुज बोचानीले थुनाबाट ह्वाट्सएपमा सन्देश पठाउँदै ‘नो फ्रेन्ड बट द माउन्टेन्स: राइटिङ फ्रम मानुस प्रिजन’ लेखेका थिए। त्यो पुस्तकले एक लाख अस्ट्रेलियन डलर (नेरु ८२ लाख ६० हजार बराबर) राशिको सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन पुरस्कार जितेको छ। बोचानी अझै पपुवा न्यू गिनीको मानुस टापुमा छन् र उनीसँग अस्ट्रेलिया छिर्ने अनुमति छैन। मानुस टापुमा भएको हिरासत सन् २०१७ मा बन्द गरिएको थियो र बोचानीसहित त्यहाँ भएका कैदीहरूलाई वैकल्पिक आवासमा सारिएको थियो। अस्ट्रेलियाले समुद्रमा डुङ्गा चढेर शरणार्थी हुन खोज्नेलाई कुनै हालतमा शरण नदिने नीति लिएको छ। समुद्रबाट ज्यानको जोखिम मोलेर आउने कार्यलाई निरुत्साहित गर्न यस्तो नीति लिइएको अस्ट्रेलियाको दाबी छ। सहित्यतर्फको पुरस्कारबाहेक बोचनीको पुस्तकले २५ हजार अस्ट्रेलियन डलर (नेरु २१ लाख बराबर) राशिको गैरआख्यानतर्फको भिक्टोरियन पुरस्कार पनि जितेको छ। अन्य पुरस्कार विजेताले मेल्बर्न सहरमा पुरस्कार थापेर रमाइलो मनाइरहेको बेला बोचानीले बीबीसीसँग कुरा गर्दै पुरस्कारले आफूलाई ‘विरोधाभाषपूर्ण अनुभूति’ दिएको बताए। “केही कुराले म धेरै खुसी छु किनभने मेरो दु:खबारे धेरैले थाहा पाए…। तर अर्कोतर्फ मलाई खुसी मनाउने अधिकार नभएको अनुभूति भयो किनभने यहाँ दु:ख पाइरहेका मेरा साथीहरू छन्। “हाम्रो लागि पहिलो कुरा स्वतन्त्रता सहित यो टापुबाट मुक्त हुनु र नयाँ जीवन आरम्भ गर्नु हो।” बोचानीले हिरासत केन्द्रमा रहँदा आफ्नो अनुवादकलाई फारसी भाषामा ह्वाट्सएपमार्फत् सन्देश पठाउँदै किताब लेखेका थिए। “ह्वाट्सएप मेरो कार्यालयजस्तो हो,” उनले भने। “मैले कागजमा लेखिनँ किनभने प्रत्येक हप्ता सुरक्षाकर्मीले हाम्रो कोठामा छापा मार्थे। मलाई आफ्नो लेखन हराउने डर थियो। त्यसलै मलाई ह्वाट्सएपमा लेख्दै पठाउँदै गर्न सजिलो थियो।” बोचानीलाई सन् २०१३ मा डुङ्गाबाट आएका कारण हिरासतमा लिइएको थियो र उनी अस्ट्रेलियाको विवादास्पद हिरासत केन्द्रभित्रको सबैभन्दा परिचित व्यक्ति बने। उनले ब्रिटेनको गार्डियन समाचारपत्रका नियमित लेख्थे र मानुस टापुको जीवनको बारेमा ट्वीट गर्थे। उनले आफ्नो फोनमात्रै प्रयोग गरेर हिरासतमा ‘चौका, प्लीज टेल अस द टाइम’ भन्ने डकुमेन्ट्री पनि बनाएका थिए। बोचानीलाई पपुवा न्यू गिनीले शरण दिए पनि उनी त्यहाँ बस्न चाहँदैनन्। आफ्नो पत्रकारिताका कारण सरकारको आँखीमा परेपछि इरानबाट भागेको बताउने बोचानीले भने,”म इरानको जेल जान नचाहेका कारण भागेँ, तर अस्ट्रेलियाले मलाई वर्षौँ जेलमा हाल्यो।” साहित्य पुरस्कारका निर्णायकहरूले उनको पुस्तक ‘साधारण विवरणभन्दा माथि उठेको कला र क्रिटिकल थिअरीको अविश्वसनीय कार्य’ भएको बताएका छन्। सो पुरस्कारका लागि अस्ट्रेलियन नागरिक वा त्यहाँको स्थायी बासिन्दा हुनुपर्ने तोकिएको भए पनि बोचानीका लागि निर्णायकहरूको अनुरोधमा अपवादको रूपमा पुरस्कार दिइएको बताइएको छ।
टर्कीमा महिलालाई आइसक्रिम खान प्रतिबन्ध !
अंकारा, टर्की । टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एउटा नगरपालिकाले सभ्य महिलाले आइसक्रिम खान नहुने भन्ने नियम जारी गरेपछि विवाद सुरु भएको छ । नगरपालिकाले महिलाहरूलाई कसरी ‘सुसंस्कृत’ बन्ने भनेर केही नियमहरू जारी गरेको छ, जसमा उनीहरूले चाट्दै आइस्क्रीम खान नहुने बताइएको छ । नियममा भनिएको छ, “यस्तो गर्नु भद्दा लाग्दछ ।” उता सामाजिक संजाल प्रयोगकर्ताहरूले यस नियमलाई महिलाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन् । दुई महिने पाठ्यक्रम तैयार इस्तान्बुल्को बागसिलर नगरपालिकाले महिलाहरूलाई ‘संस्कार’ सिकाउने दुई महिने पाठ्यक्रम समेत सार्वजनिक गरेको छ । यसमा युवतीहरूलाई सार्वजनिक स्थलहरूमा कस्तो व्यवहार गर्ने भन्नेबारे प्रवचनहरूको शृंखला राखिने बताइएको छ । नगरपालिकाका अनुसार इस्तान्बुलका सभ्य महिलाहरूलाई पारम्परिक लोकाचार आउनु पर्दछ । उनीहरूलाई विनम्र रहन, भान्साघरको काममा निपुण रहन जस्ता कामहरू समेत यस पाठ्यक्रममा सिकाइने बताइएको छ । साथै उक्त पाठ्यक्रममा महिलाहरूले पुरै मुख खोलेर कुरा गर्न नहुने भन्ने समेत सिकाइने बताइएको छ । सामाजिक संजालमा प्रश्न- आइसक्रिम चाट्न नहुने भए खाने तरिका के ? नगरपालिकाले प्रस्तावित गरेका नियमहरूबारे सामाजिक संजालमा बहस सुरु भएको छ । एउटा ग्रुप ‘लेडीज गाइडमा लेखिएको छ, “ठीक छ, महिलाहरूले आइसक्रिम चाट्नु हुँदैन । तर यसो गर्नु खराब कसरी भयो भन्नेबारे पनि केही भन्नु नि !” ग्रुपमा एक जनाले लेखेका छन्, “अचम्मको कुरा केही मानिस महिलाले आइसक्रिम खाएको देखेर पनि भयभीत छन् ।” ट्विटरमा एक जनाले लेखेका छन्, “आइसक्रिम चाट्नु हुन्न भने यसलाई खाने सही तरिका पनि त भन्नु पऱ्यो ।” एक अर्को प्रयोगकर्ताले लेखेका छन्, “त्यसो भए पुरै आइसक्रिम मुखभित्र कोच्ने या अरु कुनै तरिका छ ? भनिदिनु पऱ्यो ।” एक जना भन्छन्, आफू त आइसक्रिम चाटेरै खाने हो, कृपया यस विषयमा ज्ञान नदिनु होला ।” बस यात्रामा धेरै नबोल त्यस्तै नगरपालिकाले जारी गरेको अर्को नियम अनुसार महिलाहरूले चुइङ्गम चपाउनु र बस यात्राको क्रममा फोनमा लामो वार्तालाप गर्नुलाई समेत ‘असभ्य’ कामको श्रेणीमा राखेको छ । उनीहरूलाई फोहोर शब्द उच्चारण नगर्न भनिएको छ । त्यसका साथै महिलाहरूलाई पहिलो पटक कुनै पुरुषलाई भेट्दा उनको विवाह भए नभएको या बच्चा कति छन् जस्ता प्रश्न समेत सोध्न नहुने भनिएको छ । महिलाहरूलाई ‘सुसंस्कृत’ बन्ने तालिम दिन गणितकी प्राध्यापक आरजु अरदालाई आमन्त्रित गरिएको छ । अरदा भन्छिन्, “हाम्रो धर्म, परम्परा र संस्कृतिमा निरन्तर ह्रास आइरहेको छ । समाजबाट शिष्टाचार र विनम्रता कम हुँदै गइरहेको छ । आशा छ स्थितिमा परिवर्तन आउनेछ ।”
नाङ्गै भएर खान पाइने विश्वकै पहिलो रेस्टुरेन्ट बन्द हुँदै
फ्रान्सको राजधानी पेरिसमा रहेको संसारकै पहिलो नांगै खाना खान पाउने (न्युडिस्ट) रेस्टुरेन्ट ‘ओ’नेचुरल’ ग्राहक नपाएर बन्द हुने भएको छ । ‘ओ नेचुरल’ व्यवस्थापनले आउँदो महिना रेस्टुरेन्ट बन्द हुने जनाएको हो । यो रेस्टुरेन्ट १५ महिनाअघि खुलेको थियो । सन् २०१६ मा रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमी अर्थात नग्नता प्रेमीहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए । अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नु पर्ने बेला आएको उल्लेख गरेको छ । स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरेको द गार्जियनले जनाएको छ । यस्तै मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको हो । यो रेस्टुरेन्ट खुल्ने बेला देखि नै यसको व्यापक आलोचना हुन थालेको थियो । यस रेस्टुरेन्टको प्रमुख विशेषता भनेको यहाँ चेन्जिङ रुम र लकर सुविधा रहेको छ जहान सेवाग्रहिउइले आफ्ना लुगा तथा अन्य मूल्यवान वस्तु राख्ने गर्दछन् । यस रेस्टुरेन्टमा क्यामेरा तथा मोबाइल खाना खाने टेबलमा प्रतिबन्धित रहेका छन् । यहाँ आउने ग्राहकहरूलाई रेस्तुरेंतले भित्र लगाउन आफ्नै चप्पल दिने गरेको छ । यसका सीमित ग्राहकहरू भने यो बन्द हुने समाचारले दुःखित भएका छन् । एजेन्सी
यो तस्वीरमा फोन लुकेकाे छ, के तपाई पत्ता लगाउन सक्नुहुन्छ ?
एजेन्सी । सामान्य देखिने यस तस्वीरले इन्टरनेटमा धेरैको दिमाग रिंग्याएको छ । यो फोटोलाई फेसबूकमा फिलिपिनो महिला जेया मे क्रुजले शेयर गरेकी थिइन् । उनले तस्वीरमा लुकेको कुरालाई खोज्ने चुनौती समेत दिएकी थिइन् । फोटोमा फोन लुकेको छ भन्ने जोयाको दाबी छ ।
नशाले मात्तिएक बृद्धले काटे आफ्नै पुरुष अङ्ग
नयाँ दिल्ली । मानिसहरु सनकमा के सम्म गर्दैनन् । यस्तै अचम्मको घटना भएको छ भारतमा । भारतको बैङ्गलोर निवासी एकजना ५७ वर्षीय व्यक्तिले आफ्नै लिङ्ग छेदन गरेको समाचार यतिखेर भाइरल बनेको छ । बैङ्गलोरको सोनादेवानाहाली निवासी ती वृद्धले लिंगछेदनकै कारण जीवन गुमाएका छन् । नानजप्पा नाम गरेका ती व्यक्ति पेशाले एक मजदूर हुन् । उनी एकदमै पियक्कड थिए । नशामा धूत् बनेपछि उनले बेलुका आफ्नै लिंग काटेका थिए । खबरका अनुसार, अस्पताल पुग्नुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको थियो । लिङ्ग छेदन भइसकेपछि उनी घरमै भुईंमा लडेका थिए । उनका छोरा उक्त समयमा बाहिर काममा थिए । उनका छोराले आफ्नो बाबुले यस्तो कदम किन उठाएको भन्ने बारेमा थाहा नभएको बताएका छन् । यस घटनाबारे प्रहरीमा कुनै जाहेरी नपरेको प्रहरी अधिकारीले बताएका छन् । Feature Image: Symbolic only
एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री !
टोकियो, पुष २१ । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर .रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । “यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए । “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । एजेन्सी
ओठ सुन्दर बनाउने चक्करमा लाग्दा अस्पतालको बेडमा !
एजेन्सी । संसारमा समयसमयमा अलि अचम्मका घटना सुनिदै आएका छन् । आज पनि एक अलि अचम्मको घटना जानकारी गराउँदै छौं । ओठ सुन्दर बनाउने चक्करमा लागेकी एक युवती अस्पतालको बेडमा पुगेकी छन्। २९ वर्षीया रच्यल न्यापेर नामकी युवतीले ओठको आकार मोटो बनाउने इन्जेक्सन दिएपछि दुखाइ सहन नसकेर उनी अस्पतालको बेडमा पुगेकी हुन्। समाचारमा बताइएअनुसार ओठ मोटो बनाउन इन्जेक्सन लगाएकी थिइन्। इन्जेक्सन लगाइसकेपछि उनलाई सही नसक्नु पीडा मात्र भएन ओठको आकार ३ गुणा मोटो भएको थियो। पीडा सहन नसकेर उनी ब्युटिसियनकहाँ गइन् । ब्युटिसियनले ओठमा एलर्जी भएको भन्दै वरफले सेकिदिइन्। यसो गर्दा पनि दुखाइ र ओठको मोटाइ नघटेपछि अन्त्यमा उनी अस्पताल जान बाध्य भइन्। लन्डनको एक क्लिनिकमा उपचार गरेको ७२ घन्टापछि उनको ओठको आकार सामान्य अवस्थामा आएको छ । उनी अहिले पूर्व अवस्थामा फर्किएकी छन्। सुन्दर बन्ने बाहनामा आफूले पाउनुसम्म दुख पाएपछि अरु महिलालाई सौन्दर्यको पछाडी नलाग्न सल्लाह दिएकी छन्।
महिलाद्वारा २७ वर्षीय युवकको लिङ्ग छेदन
नयाँ दिल्ली, पुस १३ । भारतको महाराष्ट्र राज्यको थाने भन्ने सहरमा एक महिलाले अन्य दुई जनासँग मिलेर २७ वर्षीय एक युवकको लिङ्ग काटिदिएकी छिन् । ती महिलाले ती युवकले उनलाई सधैँ पछ्याएर हैरान पार्न थालेपछि उनले उक्त कदम चालेको बताएकी छिन् । उनले उक्त युवकले आफुलाई उत्पीडित गरेको आरोप लगाएकी छिन् । बिहिबार सार्वजनिक भएको उक्त घट्ना थाने जिल्लाको मानपाडा क्षेत्रको नान्दिवली गाउँमा भएको प्रहरीले जनाएको छ । प्रहरीले ती युवक र घटनामा संलग्न ४२ वर्षीय महिला एउटी टोलमा बस्ने जनाएको छ । महिलाका अनुसार उक्त युवकले गत केही हप्तादेखि उनलाई पछ्याउने र अभद्र टिप्पणी गर्ने गरेका थिए । प्रहरीलाई दिएको बयानमा ती महिलाले आफूले कुनै प्रतिक्रिया नजनाएपछि झनै हौसिएका ती युवकले महिलाका पतिलाई समेत, ‘म तिम्री स्वास्नीलाई मन पराउँछु’ भन्दै हैरान पार्ने गरेका थिए । यस कुरामा पति-पत्नी बीच झगडा समेत भएको थियो । उक्त महिलाले ती युवकलाई ‘पाठ’ सिकाउँ आफूले उक्त कदम चालेको बताएकी छिन् । प्रहरीले उक्त महिला र उनका दुवै सहयोगीहरूलाई हिरासतमा लिएको बताएको छ । घटनामा संलग्नहरूको पहिचान भने गोप्य राखिएको छ ।
कुखुराको खुट्टा भाँचेपछि चार दिनदेखि हिरासतमा !
बाँके, पुष १० । कुखुराको खुट्टा भाँचेको अभियोगमा बाँकेमा एक जना प्रहरी हिरातमा छन् । नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका हुन् । गत म्रसिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा लिएर जिल्ला प्रहरी कार्यालय बाँके पुगेर उनकै छिमेकी मोहम्मद रफिकले उजुरी दर्ता गराएका थिए । पटक–पटकको छलफलपछि पनि उनीहरूबीच कुरा मिल्न सकेको थिएन । प्रहरी कार्यालयमा भएको छलफलअनुसार मुद्दा दिने रफिकलाई कुखुराको मूल्य लिएर मिल्न र अकबाललाई कुखुराको मूल्य तिरेर लैजान सुझाव दिए पनि दुवैजनाले सुझाव अस्वीकार गरेपछि अकबालमाथि मुद्दा चलाइएको थियो । घटनाको दुई सातापछि अकबाल शनिबारदेखि जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा छन् । तर जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले कुखुराको खुट्टा भाँचेको आरोपमा नभई अभद्र व्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरी मुद्दा चलाइएको बताए । प्रहरीले दुवै पक्षलाई पटक-पटक राखेर मिलाउने प्रयास गरे पनि सहमति हुन सकेको थिएन । नागरिक अगुवाहरूले स्थानीय तहको न्यायिक समितिले हेर्नुपर्ने विषयमा प्रहरी अनावश्यक रूपमा फँसेको टिप्पणी गरेका छन् ।
‘फोन नचलाउनुस्, १ लाख डलर जित्नुस्’ प्रतियोगिता, यस्तो छ भाग लिने तरिका
कठमाडौं, पुष ७ । यदि तपाई एक वर्षसम्म बिना स्मार्टफोन रहनुसक्नु हुन्छ भने तपाईका लागि मौका छ करोडपति बन्ने । यो खबर साँचो हो । भिटामीनवाटरले तपाईका लागि करोडपति बन्ने अवसर ल्याएको हो । भिटामिन वाटर प्रसिद्ध कोकाकोला कम्पनीकै उत्पादन हो । कम्पनीले भारतमा एउटा प्रतियोगिता शुरु गरेको छ । यो प्रतियोगिता अन्तर्गत विजेतालाई १ लाख डलर दिइने छ । यो प्रतियोगितामा भाग लिने प्रतिष्पर्धिहरुले एक वर्षसम्म स्मार्टफोनको प्रयोग गर्न पाउने छैनन । स्मार्टफोनको साटो कम्पनीले प्रतियोगीहरुलाई कतै कल गर्नका लागि सन् ९६६ मा बनेको एउटा हेण्डसेट दिनेछ । सिएनबिसीसँग कुरा गर्दै भिटामिनवाटर का एशोसिएट ब्राण्ड म्यानेजर नतालिया सुरजले भने, “हामीलाई लाग्छ, यो नै एउटा मौका हो एक लाख जित्ने ।” रोचक त के छ भने यो प्रतियोगितामा भाग लिन तपाईले जागिर छोडनु पर्दैन । जागिर या काम गरिरहेकै अवस्थामा प्रतियोगितामा भाग लिन सकिने छ । प्रतियोगिताको नियम अनुसार, तपाईले ल्यापटप या डेस्कटप कम्प्युटर भने प्रयोग गन सक्नुहुन्छ तर यसमा कम्पनीबाट दिने फोनमात्रै प्रयोग गर्न सकिने छ । कसरी भाग लिने त ? यो प्रतियोगितामा भाग लिन नाम दर्ता गर्ने अन्तिम समयसीमा ८ जनवरी २०१९ सम्म मात्र रहेको छ । प्रतियोगितामा भाग लिन आफ्नो विवरणसहित एकवर्षसम्म स्मार्टफोन प्रयोग नगर्दा तपाई के गर्नुहुनेछ ? भन्ने प्रश्नको समेत उत्तरसहित हैशटैग #nophoneforayear र #contest लेखेर ट्विटर या इन्स्टाग्राममा पठाउनु पर्ने छ । प्राप्त आवेदन र उत्तरका आधारमा भिटामीन वाटरले कुनै एकजनालाई चयन गर्ने छ । र, २२ जनवरीका दिन प्रतियोगीलाई पुरानो हेण्डसेट कम्पनीका तर्फबाट दिइने छ । एक वर्षसम्म स्मार्टफोन चलाउँदिन भन्ने लागेको छ भने तपाई पनि यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।
नेपालमैं अप्रेसनबाट कृतिम याेनी, पाेखराकी यी युवतीले पाइन् नयाँ जीवन !
काठमाडौंः महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन । इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरी, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो । उपचारमा संलग्न डा. सिंहले समान्यतया १२ वर्षदेखि महिनावारी हुने गरे पनि ती युवतीको २६ वर्षसम्म पनि महिनावारी नभएको जानकारी दिए । यो अत्यन्त जटिल शल्यक्रिया हो, उनले भने,“योनी नभएको महिलाको शरीरमा योनी बनाउनु ठूलो चुनौती थियो ।” पेशाले एयर होस्टेज ती युवतीको योनीको कृत्रिम रुपमा शल्यक्रिया गरी बनाइएको छ । डा. आरपी चौधरीले ती युवतीमा पिसाब फेर्ने मात्रै प्वाल रहेको भन्दै शल्यक्रियाका माध्यमबाट कृत्रिम योनी बनाइएको बताए । उनले यस्तो समस्या दुर्लभ मात्रै देखापर्ने बताए। युवतीले योनीको समस्याका बारेमा आफ्नो प्रेमीलाई समेत भनिसकेको र अबको केही महिनाभित्रै विवाह गर्ने तयारीमा रहेकी छन् । शल्यक्रिया गरी बनाइएको योनीले महिनावारी हुने र यौन सम्पर्क गर्न पनि सकिने डा. चौधरीले बताए । चौधरीले पाठेघर नभएका कारण सेरोगेसीको माध्यमबाट बच्चा पाउनसक्ने जानकारी दिए । अति नै दुर्लभ र जटिल शल्यक्रिया भएको दाबी गर्दै उनले ती युवतीको शारीरिक तथा जैविक बनौट र बाहिरी यौनाङ्ग महिलाको भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको जानकारी दिए । त्यस किसिमको दुर्लभ समस्या चारदेखि पाँच हजार जनामध्ये एक जनामा देखिने भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको अवस्था भने अति दुर्लभ रहेको चिकित्सकहरूको भनाइ छ । साधारणतया यस किसिमको समस्या किशोर अवस्थामा रजस्वला सुरु हुने बेलामा मात्रै पहिचान हुने गर्दछ । युवतीले महिला तथा प्रजनन् विशेषज्ञ कन्सल्ट्यान्ट डा.आशा सिंहसँग परामर्श लिएर शल्यक्रियाको लागि योजना बनाउनुभएको थियो । शल्यक्रिया अघि युवतीको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । युवतीको बाहिरी यौनाङ्ग र शारीरिक बनौट महिलाको भएता पनि समस्याको बारेमा परीक्षणपछि मात्र दुर्लभ र जटिल स्थिति रहेको पत्ता लागेको थियो । युवतीलाई यस शल्यक्रियाको जटिलताको बारेमा परामर्श तथा जानकारी गराई शल्यक्रियाको लागि तयार गरिएको थियो । शल्यक्रियामा आन्द्राको सानो भागलाई निकालेर यौनाङ्ग सोही भागबाट बनाई शल्यक्रिया गरिएको जानकारी दिइएको छ । क्रियाशील नभएको दुई गर्भाशय भने अनुमति लिएर शरीरबाट निकालिएको थियो । डा. सिंहले ती युवतीलाई शल्यक्रिया पछि सातौँ दिनमा घर फर्काइएको जानकारी दिँदै यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकसंँग ‘फलोअप’मा बस्नुपर्ने बताए । गोरखापत्र दैनिकमा सराेज ढुंगेलकाे रिपाेर्ट साभार गरिएकाे आवरण तस्वीर: यस्तै प्रकृतिकाे उपचारबाट नयाँ जीवन बाँचिरहेकी एक अमरकी युवती, डेलिमेलबाट