प्रचण्ड भन्छन्– हामीलाई एक ठाउँमा आउन अझै दुख पाउनुपर्ने हो कि !

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डले पूर्व माओवादी आन्दोलनका सबै समूहलाई नेकपामा आउन अपील गरेका छन् ।

प्राप्त उपलब्धिको रक्षा गरेर समाजवादको आधार तयार गर्न कुनै कुराले नरोकेको भन्दै अध्यक्ष प्रचण्डले एकबछ नभए ठूलो क्षति हुने समेत बताएका हुन ।

एभरेष्टदैनिकसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले तत्कालिन माओवादीमा भएको फूटले कसैलाई पनि लाभ नभएको बताए । विगतका समीक्षा गरेर नयाँ ढंगले अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

के यो सम्भव छ ? भन्ने प्रश्नमा प्रचण्ड भन्छन्

असम्भव भन्ने कुरा राजनीतिमा केही पनि हुँदैन । किनभने राजनीति भनेकै सम्भावनाको क्षेत्र हो । यसका साथै सम्भावनाको खोजी गर्ने कुरा पनि हो । पहिला दुई फरक वैचारिक स्कूलिङबाट विकास भएका यी दुई पार्टी एकता हुन्छ भन्ने पनि कसैले सोच्दैनथ्यो तर सम्भव भयो । अरु पनि धेरै त्यस्ता कुरा भए । संविधानसभा कसैलाई सम्भव लाग्दैनथ्यो तर भयो, गणतन्त्र यति छिटो आउला भनेर सोचेका थिएनन्, तर आयो । माओवादी पार्टी यति छिटै फुटला भन्ने कसैले सोचेका थिएनन तर फुट्यो । फेरी जुट्यो पनि । अब बाँकी रहेका सबै माओवादी फेरी जुट नसक्ने भन्ने छैन ।

प्रचण्ड भन्छनः हामीले धरातल बिर्सियौं

मैले कहिलेकाहिँ के भन्ने गर्छु भने हामीले शायद अझै दुख पाउन पुग्या छैन कि ? किनभने एकचोटी माओवादीले युद्धले जुन ठूलो प्रभाव पार्यो, उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग र समुदायमा अधिकारका लागि विद्रोह गर्ने आन्दोलन गर्ने चेतना र जागरण लिएर आयो । संविधान र लोकतान्त्रिक गणतन्त्रको निर्माणमा सिंगो राष्यट्रलाई ल्याउने ठाउँमा माओवादीको अहम र प्रमुख भूमिका रह्यो । यसमा द्विविधमा बस्नुपर्ने कुरै छैन । त्यही कारणले हामीले यो सफलता पाएका हौं । शान्ति सम्झौता हुँदै हामी जहाँ गयौं त्यसले यो सफलता प्राप्त गर्यो । पहिलोपटकको चुनावमा पनि हामी एक्लै माओवादी प्रत्यक्ष निर्वाचनमा बहुमतमा आयौं । माओवादीले नै समानुपातिक भनेको हुनाले मात्रै अरु पार्टीको अस्तित्व त्यतिबेला बच्यो । तर त्यसबाट हिजोका हामी माओवादी भन्नेहरु सबैले धर्ती छोडियो भन्ने मलाई लाग्छ । ‘अझै धेरै हुन्थ्यो, मुख्य नेता प्रचण्डले बिगार्यो’ भन्ने कसैलाई लाग्यो । अब कसैलाई चाहि‘ अरुले अप्ठ्यारो पारेर गर्न सकेन’ भन्ने लाग्यो । तर जे होस चुनाव जितेर सरकार बनेपछि हामी पार्टीका नेता भन्नेहरुले धर्ती छोडियो । जनताको भावनालाई, जनताको आवश्यकतालाई कहिँ न कहिँ हामीले बुझनौं । राष्टिय र अन्तराष्टिय परिस्थितिको मागलाई बुझेनौं र विभाजनतर्फ गयौं ।

प्रचण्डको ठम्याईः अझै दुख पाउन पुगेको छैन कि ?

यहाँसम्म आउँद के देखियो भने हामी विभाजित भएर न देशलाई फाइदा भएको छ, न विभाजित हुनेलाई नै फाइदा भएको छ । म समेत कसैलाई पनि फाइदा भएको छैन । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन पनि त्यसले मद्दत पुर्याएको छैन । बरु धेरै दुख कष्ट पाएको जस्तो मैले अनुभूति गर्छु । त्यसैले साथीहरुलाई मैले कहिलेकाहिँ भन्छु– हामीले अझै दुख पाउन पुगेको छैन कि ? हामीलाई एक ठाउँमा आउन, एकता हुन अझै दुख पाउनुपर्ने हो कि ? अझै दुख, अझै क्षति भएपछि चेत आउने होला । त्यतिबेलासम्म त हामी पुरानो पीढिका नेताहरु रहन्छौं कि रहँदैनौं भन्ने चिन्ता पनि हुन्छ ।

प्रचण्ड प्रश्न गर्छनः एक हुन के ले रोकेको छ ?

यस हिसाबले मैले किरणजी, बाबुरामजी र अहिले भूमिगतरुपमा गतिविधि गरिराख्नु भएको विप्लवजीहरुलाई आजभोली अलि बढी नै सम्झिन थाल्छु । हामी एक हुन केले रोकेको छ त ? यो परिस्थिति त एक्लैले गरेर हुने परिस्थिति त छैन । यही परिवर्तनलाई संस्थागत गर्न पनि बरु एक ठाउँमा भए पो हुन्थ्यो । हामी सँगै बसेर एक अर्कालाई कहाँ कसले कति गल्ती गरियो भनेर आलोचना आत्मालोचना गर्ने र फेरी यो जनयुद्द र जनआन्दोलनले ल्याएका उपलब्धि बचाउने अनि समाजवादको तयारी गर्नेतिर छलफल गर्न के ले रोक्या होला भन्ने लाग्न थालेको छ साँच्चै । त्यसैले म वहाँहरुसँग कुनै कृत्रिम कुरा भन्न खोजिरहेको होइन । यो देशको निम्ति, परिवर्तनका निम्ति, संघीय लोकतन्त्र संस्थागत गरेर सफल पार्नका निम्ति, अगाडि कम्युनिष्ट यात्र या समाजवाद या साम्यवादतर्फको यात्रा अगाढि बढाउन पनि सबै एक ठाउँमा उभिनु जरुरी छ । त्यसकारण मैले अलि बढी अपील गरेको कारण पनि यो हो ।

प्रचण्डको बुझाईः पूर्व एमालेभित्र पनि विशाल क्रान्तिकारी पंक्ति छ

मैले पूर्व एमालेभित्र विशाल पंक्ति हिजो पनि देशप्रति, राष्ट्रिय स्वाधिनता, जनतन्त्रप्रति लडेका, दुखकष्ट भोगेका हजारौं हजार नेता कार्यकर्ता छन भनेरै एकता गर्दाखेरि पनि सोचेको हो । अहिले पनि मेरो अनुभव त्यही छ । त्यहाँ क्रान्तिकारी भावना भएका, कम्युनिष्ट पार्टी निर्माणका लागि गम्भीर भएका नेता कार्यकर्ताको कमी छ भन्ने होइन रहेछ भन्ने अहिले पुष्टि नै भएको मैले देख्छु । त्यसकारण यहाँ कोही पनि रहेनछन त्यसैले उही पुराना साथीहरुको साथ खोजेको होइन । मैले त वहाँहरुलाई पनि यही जोडन खोजेको हो । सबै जुटेर नयाँ समाजवादको मोडेलको खोजी गरौं र कम्युनिष्ट अन्दोलनलाई नयाँ शीराबाट अगाडि बढाऔं भन्न खोजेको हो । अहिले जुन नेकपाको अध्यक्ष म आफै पनि छु, यसप्रति, यो पार्टीप्रति भरोसा गरेर मैले सबै एक ठाउँमा आउनुपर्छ भन्न खोजेको हो ।

किन मनपर्याे बाबुरामलाई ‘जात्रा’ ?

मंसिर १७ । दर्शकको मायाका कारण नेपाली चलचित्र ‘जात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । दर्शक र समिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले समेत उत्कृष्ट फिल्मको उपमा दिएका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट फिल्म मध्येको एक रहको प्रतिक्रिया दिएका हुन् । प्रदीप भट्टराई निदेर्शित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताएका छन् । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउन लायक सिनेमा रहेको उनको भनाई छ । यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।