आजदेखि निर्वाचन सुरक्षाका लागि ८० हजार सेना परिचालन
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।
स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारद्वारा स्वीकृत प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ अनुरूप चारवटै सुरक्षा निकाय आजदेखि एकीकृत रूपमा परिचालित भएका हुन् ।
निर्वाचनका क्रममा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत ढङ्गले परिचालन गरिएको हो । एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ पनि सुरक्षामा खटिनेछन् ।
सुरक्षा व्यवस्थापनअनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा गर्नेछन् भने दोस्रो तहको जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ । सो बलले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै सुरक्षा व्यवस्था मिलाउनेछ । नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही निर्वाचन सुरक्षाको महत्वपूर्ण जिम्मेवारीमा रहनेछ ।
नेपाली सेनाका अनुसार आजदेखि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालित गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गरेका थिए ।
निर्वाचन सुरक्षालाई केन्द्रमा राख्दै आवश्यकताअनुसार सेनाका ‘बेस’ खडा गरिने तथा संयुक्त गस्ती सञ्चालन गरिने नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिए । उनका अनुसार निर्वाचनका लागि करिब ८० हजार सैनिक जनशक्ति परिचालन गरिएको छ ।
एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचनभन्दा एक महिना अघिदेखि नै सेना फिल्डमा खटिएको हो । सेनाले निर्वाचन सुरक्षामा तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्व मतपत्र छपाइ र ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षासम्मको जिम्मेवारी सेनाले सम्हाल्नेछ । साथै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा विमानस्थल, कारागारलगायत महत्वपूर्ण संरचनाको सुरक्षा पनि सेनाले गर्नेछ ।
मतदानका दिन नेपाली सेना तेस्रो घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रत्याभूति दिलाउनेछ ।
आसन्न निर्वाचनमा ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन् । देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन् ।
निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीतर्फ ७७ हजार जनशक्ति परिचालन गरिनेछ । विद्यमान जनशक्तिले अपुग हुने भएकाले थप १ लाख ३३ हजार ‘निर्वाचन प्रहरी’ भर्ना गरिएको छ । मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरेर सोहीअनुसार सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० मतदानस्थल अतिसंवेदनशील सूचीमा छन् । सोहीअनुसार नियमित प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालतर्फ ३४ हजार ५७६ जना र १५ हजार ११० निर्वाचन प्रहरी गरी कुल ४९ हजार ६८६ जनशक्ति परिचालित हुनेछन् । निर्वाचनका क्रममा कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यकता परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
उदयपुर प्रतिनिधिसभा–२ का उम्मेदवार सुरेशकुमार राई को हुन् ? के छन् उनका एजेन्डा
उदयपुर । उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका सुरेशकुमार राई उर्फ हिमाल यतिबेला चुनावी मैदानमा सक्रिय छन् । उदयपुरको बेलका नगरपालिका–रामपुरका स्थायी बासिन्दा राई प्रतिनिधिसभा–२ बाट दोस्रो कार्यकालका लागि संसद् बन्ने लक्ष्यसहित जनतामाझ मत मागिरहेका छन् । २०४९ सालदेखि खम्बुवान मुक्ति मोर्चाबाट राजनीतिक यात्रा सुरु गरेका राई जनयुद्धकालीन कमाण्डरसमेत हुन् । २०६० सालमा माओवादीको केन्द्रीय सदस्य बनेका राई हाल पनि नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीलाई चुनाव जिताउने कमाण्डरका रूपमा परिचित राई २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उदयपुर क्षेत्र नं.–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए । त्यतिबेला उदयपुरमा तीन निर्वाचन क्षेत्र रहेका थिए । २०७४ सालदेखि उदयपुर दुई संघीय निर्वाचन क्षेत्रमा विभाजन भएपछि राई तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र–२ मा उम्मेदवार बनेर फराकिलो मतान्तरले विजयी भएका थिए । उक्त निर्वाचनमा राईले २२ हजार ५५१ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वीले १५ हजार ४५५ मत मात्रै पाएका थिए । २०७९ सालको निर्वाचनमा उम्मेदवार नबनेका उदयपुरका लोकप्रिय नेतामध्ये एक राई अहिले २०८२ को निर्वाचनमा पुनः जनताको मत मागिरहेका छन् । उनी भन्छन्, “२०७४ मा सांसद हुँदा सुरु गरेका र त्यसपछि सरकार बनेपछि अघि बढाइएका धेरै काम अझै अपुरा छन् । ती अधुरा काम पूरा गर्नकै लागि फेरि जनताको साथ चाहिएको हो ।” राईले २०७४ मा सांसद हुँदा गरेका प्रमुख कामहरू – सिद्धिचरण लोकमार्गको मर्मतसम्भारका लागि कटारीमा मिर्चैया–कटारी–घुर्मी सडक योजनाको कार्यालय स्थापना, जसबाट वार्षिक करिब एक अर्ब रुपैयाँ बजेट विनियोजन हुने व्यवस्था । – प्रतिनिधिसभा क्षेत्र–२ अन्तर्गतका पाँच पालिकाका ४० वटै वडामा विद्युत् विस्तार । – निर्वाचन क्षेत्रभर ग्रामीण सडक तथा ट्र्याक खोल्ने र निर्माण भएका सडकको मर्मतसम्भार । – कटारी नगरपालिका–१ अन्तर्गत तिम्नाइ–सिस्नेरी ग्रामीण सडक निर्माण । – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकको ट्र्याक खोल्ने तथा स्तर उन्नति (निर्वाचन क्षेत्रस्तरीय रिङरोड)। – मुकुर्ची–नेपालटार–कटारीबजार हुँदै बेतेनी जोड्ने सडक सुधार। – डिल्लीबर–मार्झखर्क–बराह हुँदै हलेसी जोड्ने सडकको स्तर उन्नति। – सामरिक महत्त्वको मुकुर्ची–रौतामाई सडकको स्तरोन्नति। – ओख्लेको शाहीडाँडा हुँदै माझखर्क जोड्ने सडकको स्तरोन्नति। – कटारी देउलीकुना–बाहुनीटार–बर्रे–जरुवा हुँदै रुन्चेभञ्ज्याङ सडकको नयाँ ट्र्याक खोल्ने र स्तरोन्नति। – मदन भण्डारी लोकमार्गको उदयपुर खण्ड समयमै सम्पन्न गर्न सहजीकरण। – निर्वाचन क्षेत्रभर गुम्बा, मन्दिर, साकेला थान र चर्च निर्माणमा सहयोग। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना (ताप्ली–लिम्चुङबुङ–रौतामाई–उदयपुरगढी), जसबाट करिब २६ हजार घरधुरी लाभान्वित। – सुनकोशी लिफ्टिङ खानेपानी आयोजना लेखानी, जहाँ १२ हजार घरधुरी लाभान्वित। – करिब पाँच दर्जन विद्यालय भवन निर्माण तथा नमूना विद्यालय स्थापना। – दर्जनौँ सिँचाइ आयोजना। – दर्जनौँ स्वास्थ्य चौकी भवन निर्माण। राईले अघि सारेका प्रमुख एजेन्डा – प्रतिनिधिसभा क्षेत्र–२ मा सिँचाइ व्यवस्थालाई थप मजबुत बनाउने। – सुरु भइसकेका खानेपानी योजनालाई पूर्णता दिने र आवश्यक स्थानमा नयाँ आयोजना सुरु गर्ने। – टोलबस्तीका मुख्य सडक पक्की बनाउने। – बेतेनी–राउतखर्क–ओख्ले–मादले–रुपाटार–ठाँनागाउँ–खोलागाउँ–लिम्चुङबुङ–बाराह–ताम्लीछा–बलम्ता–जाँते–लाफागाउँ–भुटार–मुकुर्ची सडकलाई पूर्ण रूपमा पक्की बनाउने। – चारवटै पालिकामा १४–१४ शय्याको अस्पताल निर्माण तथा ४० वटै वडाका स्वास्थ्य चौकीलाई व्यवस्थित गर्दै दक्ष जनशक्ति व्यवस्थापन। – कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन र बजार व्यवस्थापनमार्फत रोजगारी सिर्जना। – जडीबुटी प्रशोधन केन्द्र स्थापना। – साना तथा मझौला घरेलु उद्योग प्रवर्द्धन। – सरकारी नीतिअनुसार चुनढुंगा खानी क्षेत्रलाई व्यवस्थित रूपमा सञ्चालन गरी स्थानीय जनतालाई लाभान्वित बनाउने तथा त्यसका लागि आवश्यक नीति निर्माणमा पहल।
आज राष्ट्रियसभा सदस्य निर्वाचन: १८ पदका लागि सातै प्रदेशमा मतदान हुँदै
काठमाडौँ । राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका लागि आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म मतदान हुने भएकाे छ । मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज निर्वाचन हुन लागेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । कोशी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका हुन् । बाँकी १७ पदको मतदानका लागि सातै प्रदेशका मतदानस्थल तथा मतदान केन्द्र निर्धारण गरिएको छ । कोशी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर उपमहानगरपालिका–४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय हेटौँडा उपमहानगरपालिका–४ मकवानपुरमा मतदान केन्द्र निर्धारण गरिएको हो । त्यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र घोराही दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर धनगढी कैलालीमा मतदान हुने तय भएको प्रवक्ता भट्टराईले जानकारी दिए । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगरप्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ ।
आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले शुक्रबार दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । यस्तै आजै दिनको १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । आयोगका अनुसार अपराह्न ४ देखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो । त्यस दिन बिहान १० देखि दिउँसो ३ बजेसम्मका लागि समय तोकिएको छ । सोही दिन दिउँसो ३ बजेदेखि बिहीबार बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ । देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ । यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो । कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन् । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन् ।
मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका
मुस्ताङ। आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन प्रहरी भर्ना आवेदन माग गरिएकामध्ये यहाँ ८० प्रतिशत जिल्ला बाहिरका रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली क्षेत्रको प्रतिकूल मौसमका बाबजुद जिल्ला बाहिरबाट उल्लेख्य सङ्ख्यामा युवायुवती निर्वाचन प्रहरीमा भर्ना हुन आएका छन् । यसअघि जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त कार्यविधि २०८२ अनुसार यहाँ निर्वाचन प्रहरी छनोट, नियुक्ति तथा परिचालनका लागि योग्यता पुगेका नेपाली नागरिकबाट एकीकृत रूपमा दरखास्त आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा माघ २ गतेसम्म आवेदन खुल्ला गरिएकामा आवश्यक सङ्ख्या नपुगेपछि थप दुई दिन समय थपिएको थियो । यहाँ नेपाल प्रहरीलाई २६६ जना र सशस्त्र प्रहरी बल नेपाललाई ४६ जना गरी ३१२ जना निर्वाचन प्रहरी सङ्ख्या माग गरिएकामा ३२३ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालले जानकारी दिए । यहाँ आवेदन दिन म्याग्दी, बागलुङ, पर्वत, धादिङ, रुकुम, रोल्पा र गोर्खालगायत जिल्लाबाट आएका उनले बताए ।
आज उम्मेदवारको नामावली प्रकाशन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । उम्मेदवारी दिएका पाँच उम्मेदवारविरुद्ध उजुरी परेको छ । निर्वाचन आयोगका अनुसार, भक्तपुर, सुनसरी, रौतहट, कैलालीबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध उजुरी परेको छ । माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसै दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ । आयोगमा अहिलेसम्म प्राप्त जानकारीअनुसार पुरुष ३०८९, महिला ३९६ र तेस्रो लिङ्गी एक गरी ३४८६ को उम्मेदवारी दर्ता भएको छ ।
देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुम पूर्वले जवाफ दिन्छ: प्रचण्ड
रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको राजनीति बाह्य शक्तिहरूको हस्तक्षेपतर्फ धकेलिन थालेको आरोप लगाउँदै त्यसविरुद्ध निर्णायक जवाफ रुकुम पूर्वबाटै दिने घोषणा गर्नुभएकाे छ । रुकुम पूर्वमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले स्पष्ट शब्दमा भन्नुभयाे, “देश चलाउन विदेशी शक्ति सक्रिय भएको देखिन्छ । त्यसको जवाफ म यहीँबाट दिन्छु ।” उनको यो अभिव्यक्तिले राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयको सवाललाई पुनः केन्द्रमा ल्याएको छ । प्रचण्डले दाङ–रोल्पा हुँदै रुकुम पूर्वको हुकाम र मैकोटलाई डोल्पाको सहरतारासँग जोडेर चीनसम्म पुग्ने ऐतिहासिक व्यापारिक मार्ग निर्माण गर्ने पनि बताउनु भएकाे छ । यो मार्गले कर्णाली–मध्यपहाड हुँदै राष्ट्रिय अर्थतन्त्रमा नयाँ आयाम थप्ने उहाँकाे भनाइ छ । हिमाली जिल्लाको हैसियत पाएको रुकुम पूर्वलाई ‘विशेष स्वायत्त प्रदेश’ बनाउने पहल गरिने बताउँदै उनले यो क्षेत्रलाई विकासको नयाँ मोडलको प्रयोगशाला बनाइने आश्वासन दिनुभयाे । “जहाँबाट लडाइँ सुरु भयो, त्यहीँको मुहार फेरिएको छ,” भन्दै उहाँले विरोधीहरूलाई भाषण होइन, कामबाटै जवाफ दिने दृढता व्यक्त गर्नुभयाे । देशको जटिल राजनीतिक अवस्थालाई निकास दिन आफू पुनः जनयुद्धको आधारभूमि रुकुम फर्किएको उल्लेख गर्दै प्रचण्डले आफ्नो उम्मेदवारी केवल संसद् प्रवेशका लागि नभई देशलाई नयाँ राजनीतिक दिशातर्फ लैजानका लागि भएको स्पष्ट पार्नुभयाे । “म रुकुम आउनुको अर्थ केवल सहर निर्माण र ग्रामीण सडक स्तरोन्नति होइन,” उहाँले भन्नुभयाे, “यो समग्र देशलाई शान्तिपूर्ण अठोट, स्थायित्व र समाजवादको यात्रातर्फ अघि बढाउने ऐतिहासिक कदम हो ।” जेनजी भदौ २४ को आन्दोलनपछि सिर्जित परिस्थितिमा भदौ २६ गते रातभरको छलफलपछि संसद् विघटन गरी निर्वाचनमा जाने निर्णय लिइएको स्मरण गर्दै उहाँले त्यो निर्णय देशलाई ठूलो दुर्घटनाबाट जोगाउन र ताजा जनादेशमार्फत राजनीतिक निकास खोज्न अनिवार्य भएको दाबी गर्नुभयाे । जनयुद्धकाे समाय चुनबाङ बैठकले शान्ति प्रक्रियाको ऐतिहासिक यात्रा सुरु गरेको स्मरण गराउँदै प्रचण्डले अब रुकुम पूर्वले समाजवादको यात्राको नेतृत्व गर्ने विश्वास व्यक्त गर्नुभयाे ।
आज उमेदवारविरुद्ध उजुरी दिन पाइने
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दिएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उमेदवारको विरोधमा आज उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ । आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उमेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उमेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उमेदवारी परेको छ । उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उमेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उमेदवार ३३६ र पुरुष दुई हजार ५८९ जना रहेका छन् । अपांगता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १३८ जनाको उमेदवारी परेको आयोगले जनाएको छ ।
रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेकपामा प्रवेश, प्रचण्डलाई समर्थन
रुकुम पूर्व । रुकुम पूर्वमा पूर्व नेकपा एमालेको ठूलो समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेको छ । आसन्न २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै उक्त समूहले नेकपाका संयाेजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहयाेग गर्न अपील पनि गरेकाे छ । पार्टी प्रवेश गर्ने समूहले जनआन्दोलन, जनविद्रोह तथा जेन्जी विद्रोहका क्रममा सहादत प्राप्त गरेका सम्पूर्ण शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै ती बलिदानकै जगमा आजको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् । उनीहरूले भ्रष्टाचारविहीन, सुशासनयुक्त र रोजगारमुखी विकासको आवश्यकता औँल्याउँदै नेकपाकाे राजनीतिक धारासँग आफूहरू एकमत हुँदै समाहित भएकाे स्पष्ट पारेका छन् । पार्टी प्रवेशसँगै सार्वजनिक गरिएको अपिलमा रुकुम पूर्वको विकास र समृद्धिका लागि विशेष पहल गर्न प्रचण्डसँग आग्रह गरिएको छ । दुर्गम भूगोलका कारण पछाडि परेको जिल्लाको जीवनस्तर परिवर्तनका लागि प्रभावकारी बजेट व्यवस्थापन र दीर्घकालीन योजनाको कार्यान्वयन आवश्यक रहेको उनीहरूको भनाइ छ । पार्टी प्रवेश गर्ने समूहले सात बुँदे मागसमेत अघि सारेको छ । जसमा राष्ट्रिय गौरवको सहिद मार्ग (होलेरी–घर्तीगाउँ–थवाङ–काँकी–तकसेरा–हुकाम–मैकोट–डोल्पा हुँदै चीन सीमा) को स्तरोन्नति तथा कालोपत्रे, देउखोला–जामाबगर–ढोरपाटन–म्याग्दी–मुस्ताङ हुँदै चीन सीमासम्म सडक निर्माण, रुकुमकोट–पोखरा–प्वाड–सिस्ने हुँदै डोल्पासम्म सुरुङमार्ग निर्माणको पहललगायतका माग छन् । त्यसैगरी भूमे–१ लुगुममा निर्माणाधीन बहुप्राविधिक शिक्षालय सञ्चालन, रुकुमकोटमा बी.एस्सी. कृषि अध्ययन सुरु गर्ने, राउण्ड पर्यटन मार्ग विकास, वृहत लिफ्ट सिँचाइ आयोजना, फलफूल खेती तथा चौरीगाई र भेडापालनलाई व्यवसायीकरण गरी स्वरोजगार सिर्जनामा जोड दिनुपर्ने माग गरिएको छ । नेकपामा प्रवेश गर्नेहरूमा पूर्व नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष टोपबहादुर ओली, लुम्बिनी प्रदेश सभा (ख) का पूर्व स्वतन्त्र उम्मेदवार नरहरि खड्का, एमाले जिल्ला उपसचिव केशकुमारी तुलाचनलगायत विभिन्न स्थानीय तहका नेता, कार्यकर्ता तथा युवाहरू रहेका छन् ।
आज उम्मेदवारी दर्ता : मनोनयनका लागि के–के कागजात चाहिन्छ ?
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। सम्बन्धित जिल्ला तथा निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयले तोकेको स्थानमा आज मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। मनोनयनका लागि उम्मेदवारले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। साथै, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्ने आयोगले स्पष्ट पारेको छ। आयोगले अन्य आवश्यक सरकारी कागजातसमेत साथमा ल्याउन आग्रह गरेको छ। राजनीतिक दलको तर्फबाट उम्मेदवारी दिएको भए, उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्न अधिकारप्राप्त दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिको पदाधिकारीले जारी गरेको प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य हुनेछ। एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा भने प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र पनि पेस गर्नुपर्नेछ। प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारले रु १० हजार धरौटी रकम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरेको रसिद वा भौचर पनि बुझाउनुपर्नेछ। महिला, दलित, अल्पसंख्यक समुदाय वा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा उक्त धरौटी रकममा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ। आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट आर्थिक विपन्न भएको सिफारिस पत्र पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ। साथै, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र पनि बुझाउनुपर्नेछ। उम्मेदवारले आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, धितोपत्र, सेयर, ऋणपत्र, कसैलाई दिएको वा लिएको ऋणसम्बन्धी सम्पूर्ण विवरण उल्लेख गरी सिलबन्दी रूपमा सम्पत्ति विवरण पेस गर्नुपर्नेछ। वैयक्तिक विवरण फाराम पनि भर्नुपर्ने व्यवस्था छ। यसैगरी, उम्मेदवारले निर्वाचित, मनोनीत वा नियुक्त भएको कुनै निकायबाट कुनै प्रकारको पेस्की लिएको भए सो पेस्की फछ्र्योट गरेको निस्सा उपलब्ध गराउनुपर्नेछ। लेखा परीक्षणबाट उम्मेदवारको नाममा किटानीसाथ असुल उपर गर्नुपर्ने बेरुजु कायम भएको भए त्यसको फछ्र्योटको निस्सा पनि अनिवार्य गरिएको छ। उम्मेदवारी मनोनयन दर्ताका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म समय तोकिएको छ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ता प्रक्रिया सञ्चालन गरिरहेको जनाएको छ।
आजदेखि लागू हुने निर्वाचन आचारसंहिता कस्तो छ ?
काठमाडाैं । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि आज सोमबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबार सरकारलाई आचारसंहिता लागू गर्ने तयारीबारे जानकारी गराएको थियो । आयोगको बैठकले सोमबार राति १२ बजेदेखि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँग भएको छलफलमा आयोगले आचारसंहिताबारे प्रस्तुतीकरण गरेको थियो । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूको टोलीले आचारसंहिताका मुख्य प्रावधानबारे जानकारी गराएको थियो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आचारसंहितालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्वाचन सफल बनाउनु आयोग, सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैको साझा दायित्व भएको बताए । कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको समेत सहभागिता थियो । कस्तो छ आचारसंहिता ? आचारसंहिताअनुसार कुनै पनि व्यक्ति, दल वा उम्मेदवारले निर्वाचनमा पक्ष वा विपक्षमा स्रोत–साधन र सम्पत्ति प्रयोग गर्न पाउने छैनन् । निर्वाचन व्यवस्थापनसम्बन्धी कार्यमा अवरोध पुर्याउन, सरकारी तथा सार्वजनिक संस्था र विद्यालय क्षेत्रभित्र निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न निषेध गरिएको छ । त्यसैगरी दल वा उम्मेदवारको चुनाव चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी, गम्छा, मास्क, लकेट, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण वा प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । स्वीकृति नलिई निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न पनि रोक लगाइएको छ । चरित्रहत्या हुने गरी प्रचार गर्न, बालबालिकालाई निर्वाचन प्रचारमा प्रयोग गर्न, निषेधित समय र स्थानमा जुलुस, आमसभा, कोणसभा वा भेला गर्न पाइने छैन । सार्वजनिक यातायात अवरुद्ध हुने गरी जुलुस वा सभा गर्नसमेत रोक लगाइएको छ । सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न, झुटा खाता वा वेबसाइट सञ्चालन गर्न, होच्याउने, दुष्प्रचार गर्ने, अपमानजनक तथा द्वेषपूर्ण (हेट स्पिच) टिप्पणी गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवारको मनोनयन दर्ता भएदेखि मतदान सम्पन्न नभएसम्म मत सर्वेक्षण गर्न वा मतपरिणाम सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको छ । मतदाताको गोप्यता भंग गर्न, मतदानमा खटिएका कर्मचारीलाई हतोत्साहित गर्न वा निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि गतिविधि गर्न नपाइने उल्लेख छ । चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने उद्देश्यले विचार व्यक्त गर्न, प्रचार गर्न, विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन, सेयर वा प्रतिक्रिया दिनसमेत निषेध गरिएको छ । निर्वाचन आयोगले आइतबार राजनीतिक दलहरूले पेस गरेका समानुपातिकतर्फका बन्दसूची सार्वजनिक गर्दै उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको योग्यतामाथि दाबी–विरोध गर्न चाहने मतदाताले आगामी माघ १० गतेभित्र निवेदन दिन सक्नेछन् ।
मतदान अधिकृतले के-के गर्न पाउँछन ?
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा खटिइ जाने मतदान अधिकृतको काम, कर्तव्य के–कस्ता हुन्छन् भन्ने आममानिसमा चासो हुनु स्वाभाविक हो । त्यसका लागि निर्वाचन आयोगले प्रष्ट रुपमा मतदान अधिकृतको काम, कर्तव्य र अधिकारसमेत निर्धारण गरेको छ । आयोगले तय गरेको ‘प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२’ अनुसार मतदान अधिकृतमा नियुक्त भएपछि निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा भाग लिन, निर्वाचन सामग्री रुजु गरी बुझिलिनुपर्नेछ । अधिकृतले मतदाता परिचयपत्र तथा मतदान केन्द्रसम्बन्धी अन्य निर्वाचन सामग्री रुजु लिई बुझिलिनेजस्ता काम गर्नुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ । आफूलाई तोकिएको मतदान केन्द्रमा खटाइएका सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गर्ने, मतदान केन्द्रमा पुग्नुपर्नेछ । तोकिएको समयमा पुगी मतदान केन्द्र निर्माण गर्ने, सुरक्षा, भौगोलिक कठिनाइ तथा अन्य कुनै मनासिव कारणले तोकिएको मतदान केन्द्रमा निर्वाचन गराउन नसकिने भई तत्काल अर्को मतदान केन्द्र स्थापना गर्नुपर्ने अवस्था भएमा त्यस्तो जानकारी तुरुन्त निर्वाचन अधिकृतलाई गराउने प्रबन्ध निर्देशिकामा गरिएको छ । मतदान केन्द्रमा गएर मतदान हुने दिनभन्दा अगावै मतदाता परिचयपत्र वितरण गर्नुपर्नेछ । मतदान केन्द्रमा खटाइएका कर्मचारी तथा स्वयंसेवकलाई कामको बाँडफाँट गरी मतदानको काममा लगाउनुपर्नेछ । मतदातालाई मतपत्र दिनुअघि मतपत्रमा हस्ताक्षर गर्ने, मतदान कार्यलाई प्रभावकारी तरिकाले अघि बढाउन चनाखो भई मतदान कार्यको निरन्तर अनुमगन गर्ने, मतदानको दिन मतदान कार्यको गतिविधिबारे समयसमयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने व्यवस्था निर्देशिकाले गरेको छ । मतदानको दिन मतदान केन्द्रमा आउने विभिन्न घुम्ती टोली, पर्यवेक्षक, पत्रकार, अनुमगनकर्ता र सुरक्षाकर्मीलाई मतदानको अवस्थाका बारेमा जानकारी गराउने, निर्वाचन आचारसंहिताको पूर्ण रूपमा परिपालना गराउने, कुनै गैरकानुनी गतिविधि हुन नदिनेजस्ता काम मतदान अधिकृतले गर्नुपर्नेछ । मतदान हुनुअघि तथा मतदान सम्पन्न भएपछि मुचुल्का गराई शिलबन्दी मतपेटिका तथा अन्य निर्वाचन सामग्री सुरक्षित तरिकाले निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिमको अधिकार प्रयोग गर्ने तथा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको कर्तव्य हुने निर्देशिकामा उल्लेख छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा दुई लाख सुरक्षाकर्मी परिचालन हुने
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मंसिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मंगलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । संघीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ । मंगलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरिहत वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयमा ल्याएको छ । निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदैछन् । नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।
निर्वाचन सुरक्षामा केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीतिबारे छलफल गर्दै प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएका छन् । लुम्बिनी प्रदेशको रुपन्देहीबाट गत मङ्सिर ९ गतेदेखि सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठी मङ्गलबार मधेस प्रदेशको जनकपुरमा पुगेर सम्पन्न भएको हो । सङ्घीय सरकारअन्तर्गतको गृह मन्त्रालय र प्रदेश सरकारको संयुक्त आयोजनामा हरेक वर्ष प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै आएको छ । यस वर्षको प्रदेश सुरक्षा गोष्ठीमा आन्तरिक सुरक्षाका साथै निर्वाचन लक्षित सुरक्षाबारे बढी केन्द्रित भएको जनाइएको छ । मङ्गलबार जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले तोकिएको मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउने बताए । उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याएको छ । यस्तै, निर्वाचन प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचालनसम्बन्धी कार्यविधि, २०८२ स्वीकृति भई कार्यान्वयनको चरणमा रहेको छ । सोहीअनुसार नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० निर्वाचन प्रहरी छनोटको प्रक्रिया अघि बढेको छ । यसपटकको निर्वाचनमा ८८ हजार नेपाली सेना, ७७ हजार नेपाल प्रहरी र ३४ हजारको हाराहारीमा सशस्त्र प्रहरी खटिँदै छन् । नेपाल प्रहरीले दुई हजार ८४५ वटा मतदानस्थललाई सामान्य, चार हजार ४४२ वटा मतदानस्थललाई संवेदनशील र तीन हजार ६८० मतदानस्थललाई अति संवेदशनील मतदानस्थलका रूपमा वर्गीकरण गरी सोही अनुसारको सुरक्षा प्रबन्ध गरिएको जनाएको छ ।
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज (साेमबार) अपराह्न ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम सम्बन्धित उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् । आयोगले सम्बन्धित सबै उम्मेदवारलाई सो सम्बन्धमा जानकारी गराएको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले जानकारी दिनुभयो । आयोगको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० देखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची १८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछन् । कुनै कारणवश सम्बन्धित उम्मेदवार उपस्थित हुन नसक्ने भएमा वारेसमार्फत पनि नाम फिर्ता लिन निवेदन दिन सकिने आयोगले जनाएको छ । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।
राजनीतिक दललाई देशभरका मतदाताको विवरण लिन निश्चित शुल्क लाग्ने
काठमाडौं । निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परे निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ । आयोगले तयार पारेको प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिकाअनुसार देशभरका मतदाता नामावलीका लागि १० हजार रुपैयाँ तिरेर लिन सकिनेछ । त्यसका लागि आयोगमा निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई दलको औपचारिकपत्रको आधारमा उपलब्ध गराइने व्यवस्था गरिएको छ । आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकको विवरण विद्युतीय रूपमा उपलब्ध गराउनेछ । आयोगले हार्डड्राइभ वा पेनड्राइभमा त्यस्तो विवरण उपलब्ध गराउनेछ । एउटा प्रदेशको मात्र विवरण चाहिएको खण्डमा पाँच हजार तिरेर लिन सकिनेछ । निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उमेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउनेगरी हेर्न वा सार्न दिनुपर्नेछ । फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले र फोटोबाहेकको मतदाता नामावली जोसुकैले हेर्नसक्ने कुराको जानकारी मतदाता, दल र उमेदवारलाई दिनुपर्नेछ । कुनै मतदाताले आफ्नो मतदाता नमावली लिन चाहेमा निर्वाचन कार्यालयले १० हजार शुल्क लिई त्यस्तो मतदाताको मात्र विवरण आउनेगरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउनुपर्नेछ । आयोगमा दर्ता भएका राजनीतिक दललाई त्यस्तो दलको पत्रको आधारमा र स्वतन्त्र उमेदवारलाई उसको निवेदनका आधारमा निर्वाचन कार्यालयले तोकिएको दस्तुर लिई जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बरबाहेकको मतदाता नामावलीको विद्युतीय रूपमा उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि जिल्लाभरको मतदाता नामावलीका लागि तीन हजार र निर्वाचनको कुनै एक निर्वाचन क्षेत्रका मतदाता नामावलीका लागि तीन हजार लिनुपर्नेछ । त्यस्तो विवरण उपलब्ध गराउँदा मतदाताको जन्ममिति, मोबाइल नम्बर र नागरिकताको विवरण भने दिन पाइनेछैन ।

