आठ जनाको हातमा संसारको आधा सम्पत्ति, गरीब झनै गरीब हुँदै

साँझ बिहान ‘के खाऔं, के लाऔं’ भन्ने समस्याले आक्रान्त छन् संसारका करोडौ जनता । गरिबहरुको अवस्था झनै दयनीय भएको छ तर यसै संसारमा औलामा गन्न सकिने केही धनीहरुको हातमा भने संसारको आधाभन्दा बढी सम्पत्ति रहेको छ । हालै मात्र सार्वजनिक भएको एक अध्ययनले संसारमा धनी र गरिबबीचको खाडल बढ्दै गएको र केही सीमित व्यक्तिहरुको हातमा मात्रै सम्पत्ति थुप्रिएको तथ्य सार्वजनिक गरेको छ ।

विश्व आर्थिक मञ्चको वार्षिक वैठकअघि ‘अक्सफाम’ले सार्वजनिक गरेको प्रतिवेदनमा संसारका आधा जनसंख्यासँग भएको सम्पत्तिभन्दा ८ जना धनी व्यक्तिहरुको सम्पत्ति बढी रहेको अध्ययनमा उल्लेख छ । यी धनीहरुमा ६ जना अमेरिकाका रहेको र स्पेन र मेक्सिकोका एक एक जना गरी आठ जना रहेका छन् ।

अक्सपामले फोब्र्सको धनी व्यक्तिहरुको सूचीका आधारमा यी आठ जना धनी व्यक्तिहरुसँग संसारका आधा जनसंख्यासँग भएको सम्पत्तिभन्दा बढी सम्पत्ति रहेको जनाएको छ । वर्ष २०१६ मा फोब्र्सको सूचिमा बिल गेट्स, अमान्सिया ओर्टेगा, वारेन बफेट, जेफ बेजोज, चाल्र्स कोच, डेभिड कोच, कार्लोस स्लिम, मार्क जुकरबर्गलगायत संसारका मुख्य धनी व्यक्तिका रुपमा गणना गरिएका थिए ।

“An economy for the 99 percent” शीर्षकमा अक्सफामले विश्वमा बढ्दै गएको गरिवी र असमानताको विस्तृत विवेचना गरेको हो । खास गरी पश्चिम पूँजीवाद (क्रोली क्यापिटलिजम्), राजनीतिक द्वन्द्व, धनीहरुको स्वार्थमा बन्ने विश्वनीतिहरु यसका लागि मुख्य जिम्मेवारी रहेको रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा पछिल्ला वर्षहरुमा गरिवहरुको आम्दानी वर्षमा तीन डलरले बढेको छ भने धनीहरुको आम्दानी भने १८२ गुणाले बढेको छ । यसैगरी आगामी २० वर्षमा संसारका सीमित मानिसहरुसँग २.१ त्रिलियन बराबरको सम्पत्ति थुप्रिने अध्ययनले देखाएको छ । अध्ययनमा छिमेकी भारतमा मात्रै १ प्रतिशत धनीहरुले कुल सम्पत्तिको ५८ प्रतिशत ओगटेको जनाइएको छ ।

धनी र गरीबबीचको असमानताको सबैभन्दा ठूलो मार मजदूर, किसान र महिलाहरुले खेप्नु परेको छ । संसारमा महिलामाथि हुने हिंसा, बेचबिखन र आर्थिक क्षेत्रमा लैंगिक विभेद झनै चर्केर गएको छ ।

नाफाका लागि करका दायरा पूँजिपतिहरुको पक्षमा गरिनु, राष्ट्र राज्यहरुमा मजदूरविरोधी श्रम ऐन लागु हुनु, कर्पोरेट स्वार्थमा विश्वका सरकारहरुले निर्णय गर्नु र पछिल्लो चरणमा बे्रक्जिटदेखि डोनाल्ड ट्रम्पको अन्ध राष्ट्रवाद र नश्लवादले विश्वमा प्रभुत्व कायम गर्नुले स्थिति भयावह भएको अक्सफामको ठहर छ । यो अवस्थाले धनीहरुको धनसम्पत्ति बढ्दै गएको रिपोर्टमा उल्लेख छ । धनीहरुले कर छलेर राजनीतिलाई नै किन्ने गरेको रिपोर्टमा उल्लेख छ । यसका लाग उनीहरुले पनामा पेपरदेखि स्थानीय राजनीतिलाई नै किन्ने गर्दछन् । अझ कतिपय देशहरुले आफ्नो सार्वभौमसत्तालाई नै दाउमा राखेर यी धनीहरुलाई आफ्नो देशमा लगानीका लागि आमन्त्रण गर्छन् । यसले गर्दा उनीहरुले कर छल्ने, गलत तथ्यांक प्रस्तुत गर्ने र पैसा तिरेर नागरिकता समेत किन्ने गरेको रिपोर्टमा उल्लेख छ ।

यस्ता धनीहरुले देशहरुको राजनीतिलाई प्रभावमा पार्ने, आफ्नो हित अनुरुपका आर्थिक र वित्तिय नीतिहरु लागु गराउने, कर तिर्न नपर्ने अवस्था सिर्जना गर्ने र अधिकतम नाफाका लागि जे पनि गर्ने गरेको रिपोर्टले जनाएको छ ।

देशाटन, तिर्थाटन र पर्यटनको पर्याय– सिरूबारी

गाउँ पर्यटनमा “होमस्टे अर्थात घरबास” को उद्गमस्थलको रुपमा परिचित स्याङ्जाको सिरूबारी आज नमूना गाउँको नामबाट प्रशिद्ध छ । बास बस्ने शब्द र प्रयोग पुरातन भएपनि व्यवस्थित बसोबासको अध्र्वव्यवसायीक यात्रा यहिँबाट सुरु हुनु यस ठाउँको चिन्हारी हुन पूगेको छ । सिरूबारी आज “ब्राण्ड” भएको छ । पञ्चमूल गाविसको वडा नम्बर ४ मात्र हो सिरूबारी । सहरी स्थानमा बनेको तिनतारे होटलको क्षेत्रफल पनि छैन यहाँ । ३९ घर भएतापनि जम्मा २२ घरमा होमस्टे सञ्चालन गर्दै आएको यो स्थान गाउँले रहनसहन, शैली, परम्परा, खानपान, उत्पादन, लाहुरे सभ्यता, आतिथ्य सत्कार, सामुदायिक नर्सरी, बुबा, आमा र युवा समुहको सकृयता, ठुम्रोजुरो अवलोकन बिन्दु आदिबाट धनी भएतापनि हिमाली सौन्दयर्ताको सहज दृश्यावलोकनबाट भने पिछडिएको छ । होमस्टेको कार्यविधि र नियम वि.सं. २०६७ सालमा मात्र बनेतापनि यस गाउँमा २०५४ सालबाटै यस यात्राको सुरुवात भएको थियो । स्थानीय प्रशासनमा दर्ता छ, पर्यटन विकास व्यवस्थापन समिति सिरुबारी । यसमा योगदान दिएका थिए तत्कालिन सांसद रुद्रमान गुरुङ्गले । स्थानीय पर्यटन घरको निर्माण पश्चात उद्घाटन भने २०५६ सालमा गाउँ पर्यटन महोत्सव गर्दै तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले गरेका थिए । यो सत्र वर्षको अवधिमा आन्तरिक र बाह्य गरेर करिब २० हजार बढीको संख्यामा पर्यटकहरूको जमघट् भएको छ । भ्रमण गरेका पर्यटकहरूमध्ये सबैको रोजाइमा पर्न सफल यस ठाउँमा गाउँघरको आतिथ्यपनलाई व्याख्या गर्न नसकिने बताइरहँदा यूवाको सक्रियता खुम्चँदै गएको स्थानीयहरूलेनै महशुष गरेका छन् । तर, यस अभावबाट कुनै कमी महशुष हुन नदिन पर्यटन विकास व्यवस्थापन समिति सिरूबारी दत्तचित्त छ । गाउँ पर्यटनको सवालमा कुनै कमी नगर्न अभावलाई अवसरमा बदल्दै निरन्तर कार्यरत् छन् । नौडाँडाबाट करिब डेढघण्टाको पदयात्रा अथवा गाडिको घल्च्याकघुल्चुक यात्राबाट झण्डै ४ घण्टाको दुरीमा छ सिरूबारी । गाडिमा घुमाउरो बाटो, वर्षामा धेरै गाह्रो अझ भनौँ गुड्न नसकिने । तर, यात्राको दौरानमा देखिने गुराँस, दृश्य, जँगली जनावरहरू र गाउँ अविस्मरणीय सारथीहरूभित्र पर्दछन् । थकाइ त्यतिबेला मेटिन्छ जब स्थानको सुरुवातीमा बाजागाजासहित माला लगाएर स्वागत गरिन्छ । त्यसपश्चात पर्यटन घरमा प्रवेश गराएर सामान्य परिचय पश्चात घरबासतिर प्रवेश गराइन्छ । २ रातको बसाइ हो भने अर्कोदिन साँस्कृतिक प्रदर्शनी गरिन्छ नत्र पुगेको रात नै सो नृत्यको आयोजना गरिन्छ । यसले पर्यटक बसाइमा बेग्लै आनन्द र अनुभूतिलाई थप मोज गराउँदछ । रात बितेको पत्तै नपाई बिहानी नास्ता पश्चात गाउँको भ्रमण गरिन्छ । त्यहिँबाट हिमाल नदेखिएपनि हेर्नै जाने हो भने केहि कष्ट चाहिँ गर्नैपर्ने हुन्छ । स्थानीयको संरक्षित वन, नर्सरी घरमा निर्माण गरिएका परिकारहरूलाई स्वीकार गर्दै थप जानकारीका लागि पर्यटन विकास व्यवस्थापन समिति सत्कारमा लागिपर्छ । त्यसपश्चात खाना खाएर यात्रा लम्बिने भए त्यहिअनुसार नत्र जहाँबाट आतिथ्य गर्दै गृहस्थान प्रवेश गराइएको हुन्छ त्यहिँबाट स्मरण केन्द्रीत बनाउँदै बिदा गरिन्छ, पुनः भ्रमणको निम्तो गर्दै । पर्यटन नीति २०६५ र नेपाल पर्यटन वर्ष २०११ ले होमस्टेलाई व्यवस्थित गर्न व्यवसाय सञ्चालन विधि ल्याएको छ । होमस्टे कार्यविधि २०६७ ले व्यवसाय दर्ता गर्दा व्यक्ति वा समुदायले पुरा गर्नुपर्ने, आधारभूत पूर्व सर्तहरू र पूर्वाधारहरू, मापदण्ड र आचारसंहितालाई महत्व दिइ विभिन्न ध्यान दिनुपर्ने कुराहरू उल्लेख गरेको छ । यस विधिमा जिल्ला स्थित होमस्टे व्यवस्थापन समितिहरू बीच समन्वय र सहजीकरण गर्ने, पर्यटकीय पूर्वाधारको विकास गर्ने, क्षमता अभिवृद्धि सम्बन्धी कार्य, आकस्मिक स्वास्थ्य र थप स्वास्थ्य सम्बन्धी जनचेतना फैल्याउने, पर्यटकीय सम्पदाहरूको विवरण तयार गर्ने, आदि कार्यविधि तोकिएको छ । त्यस्तै कार्यविधिमा होमस्टे सञ्चालनका आधारभूत मापदण्डहरूमा कम्तिमा ५ घरधनीहरूको साक्षीमा स्तरीय स्थानमा ४ कोठाको प्रयोग, प्रतिकोठा बढीमा दुई शैया हुनुपर्ने, बिछ्यौनाको ३ गुणा ६.५ लम्बाई चौडाइ साइज, भूइँमा गुन्द्री वा कार्पेट, राडीको व्यवस्था, ढोकामा डोरम्याट, ओड्ने—ओछ्याउने कपडाको स्तर, कोठाभित्र बिजुली, टुकी वा बत्तीको व्यवस्था, धुँवारहित कोठा, फोहोर व्यवस्थापन, ऐना, चप्पल, चियाटेवल, कुर्सी, शौचालय र स्नानघर, भान्साकोठा र खाने व्यवस्था, सरसफाइको व्यवस्था जस्ता विविध न्यूनतम स्तरहरूको व्यवस्था गरिएको छ । तर, सिरूबारी यो विधानबाट धेरै चरण अगाडि छ, उसलाई यसका नियमहरू पछ्याउनु आवश्यक देखिँदैन । यसको मतलव सो स्थानको यत्तिका समयको अनुभव कानुनभन्दा माथि हुन पुगेको छ । आवश्यकताभन्दा बढीनै सामान तथा सेवाको उपलब्धता छ, सिरूबारीमा । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र मर्ने बेलामा गाउँमै मर्ने इच्छा राखेका हुन्छन् अधिकांशले । त्यो पुरा गरिदिन्छ सिरूबारीले । होमस्टे गराउने व्यक्ति वा समुदायले आतिथ्य सत्कारका फुलमाला, अबिर, खादा, सर्वत, सगुन, बाजा—गाजा, आदिबाट सुरुवात गर्दछन् । यी र यस्ता अन्य कुराहरूमा परिपक्व यस ठाउँमा गुनासो कतै सुन्न पाइँदैन । स्थानीय भेषभूषा लगाएर सत्कारबाट सुरु गरिने यस होमस्टेमा सीपवान हातहरूद्वारा निर्माण गरेको खानाले पर्यटकलाई पस्किइन्छ । यसका साथै साँस्कृतिक कार्यक्रमहरू गर्ने, पर्यटन गाइड, विभिन्न सूचनाका ब्रोचरहरू बाँडेर तथ्यांक दिने गर्दछन् । यो प्रकृया पर्यटक त्यो ठाउँमा बसुन्जेल निरन्तर चलिरहन्छ । यसले के स्पष्ट गर्दछ भने गाउँको अमिश्रित पर्यटन हो होमस्टे, जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यहि होमस्टेले कहिँ र कतै धितमार्न नसकेको प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र मर्ने बेलामा गाउँमै मर्ने इच्छा राखेका हुन्छन् अधिकांशले । त्यो पुरा गरिदिन्छ सिरूबारीले । गाउँ पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तीनले पकाएका गाउँका उत्पादनको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा गाउँ पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । यहि कुरालाई समयमै आत्मसात गर्नाले आज सिरूबारी नमूना गाउँ बन्न सकेको छ । भन्न त लाहुरेले प्रशस्त पैसा कमाएर सौख गरेको भन्ने जमात छ तर सो कुरा आज व्यवहारीक कार्यका पछाडि मनगढन्ते हल्लामा परिणत भएको छ । सिरुको बारी बाट शब्दको तोडमोड हुँदै सिरूबारी आज पूर्ण व्यवसायीक गाउँ पर्यटन नभएपनि त्यसको स्तरन्नोतिमा अग्रसर छ । अब कुनैदिन यस्तो समय आउँछ जहिले व्यवसायीकताले अग्रस्थान पाउँछ, सम्झनुस् त्यसदिन विश्वको ध्यान सहजै केन्द्रित गराउनेछ । गाउँ पर्यटन प्रवद्र्धनले स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको पहिचान र प्रवद्र्धन, चेतनामा वृद्धि, उत्पादनको खपत, रोजगारीको अवसर, गाउँ उद्योगको विकास, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, प्राकृतिक वातावरणको संरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी, अनुशासन र व्यवस्थापनमा उन्नती आदिमा स्थानीय क्षेत्रमा सकारात्मक परिवर्तनहरू सम्भव गराएको छ । तर, अर्कोतिर यूवा जनशक्तिको अभाव, बसाइँसराइ, दृश्यावलोकनमा टावरको अभाव, मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी यस स्थानमा देखिएका वाधाहरू हुन् । यस स्थानका सवल र दुर्वल पक्षहरू दुबै देखिएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गरेको कुरा असत्य भन्ने कुनै ठाउँ छैन । गाउँ पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावना बोकेको सिरूबारीको विकास हुँदै गर्दा सम्पूर्ण गाउँहरूमा सरकार, स्थानीय जनता, सरोकारवालाहरूले बढाएको सक्रियता निकै सराहनिय छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको उचित परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्ने कुरालाई यस ठाउँले उजागर गरेको छ । यो सफल उदाहरणलाई समय सापेक्ष अन्य स्थानहरूमा पनि विकास गर्न सकियो भने मात्रपनि अधिकांश गाउँहरू आफैँ सम्पन्न बन्न सक्छन् । सबै बन्न नसकेपनि यस नमूना गाउँले देखाएको बाटो दिर्घकालीन पर्यटन विकासको गत्तिलो साथी बन्ने कुरामा कसैको विमत्ती रहँदैन । यसको लागि देशको जडिबुटी, जंगल, जमीन, जल, खनीज लगायत गाउँका उत्पादनहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको संरक्षण र विकासको लागि थप लगानी बढाउनु अपरिहार्य छ । यसको लागि गाउँ पर्यटनको इतिहास “सिरूबारी” को नम्बरी पर्यटन गतिविधिलाई सहयोग पु¥याउँदै बृहत्तर योजनाभित्र पार्नुपर्ने देखिएको छ ।

संघर्ष आफ्नो घर बनाउन

आफ्नो घर, सबैको सपना हुन्छ । तर यो सपना सबैको कहाँ पुरा हुन्छ र ? कतिपय देशमा जग्गा जमिन सस्तो हुने या आर्थिक अवस्थ राम्रो हुनेहरुले समयमा नै घर बनाउन सफल हुन्छन् तर यो सपना सबै देशका नागरिकलाई भने सहज हुन्न । खासगरी अमेरिका र ब्रिटेनमा त यो एउटा सपना नै हो । यही सपना पुरा गर्न मानिसहरुले केसम्म गर्दैनन् ? कष्टपूर्ण काम गरेर पैसा जुटाउनुदेखि अचम्म लाग्ने काम समेत उनीहरुले गर्छन । त्यसो त एउटा कल्याणकारी राज्यका लागि आफ्नो नागरिकलाई बस्न घर र खान खानेकुरा उपलब्ध गराउनु पर्ने जिम्मेवारी हुन्छ । तर यो आदर्श सरकारको परिभाषा दिने पुस्तकका पानामा मात्रै सीमित भएको छ । अमेरिका हरेकको सपना हुन्छ, तर त्यही अमेरिकामा घर किन्न भने सबैको सपनाले पुरा हुन्न । एउटा तथ्यांकले भन्छ– अमेरिकामा ३५ वर्ष उमेर भएका करिब ७७ प्रतिशतले आफ्नो घर किन्न सकेका हुँदैनन् । किनकी अमेरीकामा जग्गा निकै महँगो छ । आम मानिसहरुले जीवनभर कमाएको पैसा बचाएर मात्र आफू बस्न लायकको घर किन्न सफल हुन्छन् । अमेरीकामा आफ्नो घर बनाउने हो भने जागिरको मात्र भर नपरेर बैकल्पिक स्रोतको खोजी गर्न अहिले मानिसहरु सिपालु भइसकेका छन् । अमेरीकाका क्रिस्टोफर गिरहार्ट जब ३३ वर्षका थिए, उनी आफ्नो घर किन्ने सपना पुरा गर्न अरकंसास शहरको जेल परिसरभित्र २५ डलरमा एउटा कोठा भाडामा लिए । जहाँ उनीसँग अरु धेरै मानिसहरु मिलेर बस्थे । घरको लागि चाहिने आवश्यक सामान पनि उनी सस्तोमा जेलबाट लिने गर्थे । यसरी उनले आफू केही समय कष्टकर जीवन विताएर भएपनि आफ्नो घर किन्नको लागि आवश्यक पर्ने पैसा बचाएका थिए । टेक्सासमा बस्ने डेनियल हेम्स र उनको श्रीमान दुवैको फुल टाइम जागिर थियो । उनीहरुले १८ महिनामा आफ्नो घरको लागि पुर्व भुक्तानीको पैशा जम्मा गरेका थिए । उनीहरु पाँच वर्ष सस्तो भाडाको घरमा बसे । उनीहरुले जागिरको सट्टा अर्को पनि काम सुरु गरे । उनीहरुले कुकुर स्याहार गर्ने काम गर्न थाले । उनीहरु अझै घर किन्ने सपनाले यही दुईवटा काम गर्दै आएका छन् । यो कामले परीवारलाई समय दिन नसकेपनि उनीहरुले यसलाई केही समयको सम्झौता सम्झिएका छन् । अर्को वर्ष घर किन्न सक्ने उनीहरुले अनुमान गरेका छन् । सबैजना जेलमा जस्तो सस्तो कोठामा बस्न सक्दैनन् उनीहरु कमाउनको लागि अर्को विकल्प पनि खोजिरहेका हुन्छन् । रियल स्टेट फाइनान्स कंपनीको सह–संस्थापक इवान हैरिसको भनाईमा उनको धेरै ग्राहक उवर क्याव चलाएर ६ देखि ७ महिनामा १७ हजार डलर कमाउँछन् । जुन पैसाले एउटा सानो घर किन्नको लागि पुर्व भुक्तानीको लागि धेरै हुन्छ । आरामदायक जीवन हरेक व्यक्तिले चाहेको हुन्छ । तर त्यसको लागि मिहेनत निकै गर्नुपर्छ । जर्जिया कैनयोन र उनको साथी २००९ मा भाडाको घरमा बस्थे । भाडा तिर्दा तिर्दै उनीहरुसंग पैसा जम्मा नै हुँदैनथे । त्यसपछि उनीहरु भाडा तिर्न पनि असमर्थ हुन थाले । यसैले उनीहरुले आफ्नो घर किन्ने हो भने भाडाको घर छोड्नुपर्ने सोचे । उनीहरु स्कुलको होस्टेलमा बस्न थाले । जहाँ कुनै सुविधा थिएन । तैपनि सम्झौता गर्दै उनीहरु एक वर्षसम्म त्यहाँ बसेर आफ्नो घर किन्न पैसा बचाए । कोही कोही पैसा बचाउन आफ्नो दैनिक जीवनको खर्च कटाएर सम्झौता गर्छन भने कसैले घुम्न, पार्टी गर्न छाडेर खर्च कटौती गर्छन । कोही कोही घर किन्नको लागि निकै मिहेनत गर्छन र साथीहरुसँग मिलेर पार्टनरमा घर किन्छन् । यसरी उनीहरुलाई भाडामा बस्न पर्दैन । तर जो साथीसंग मिलेर घर किनेको हुन्छ उसंग सधैै सम्वन्ध राम्रो नहुन सक्छ । घर बेच्न परेमा पनि समस्या हुन सक्छ । यसैले यो तरिकाले घर किन्न उनीहरु निकै सचेत हुन्छन् । बीबीसीबाट

युद्धमा पति गुमाएपछि एकल जीवनमै रमेका रोल्पाली महिलाहरु

रोल्पा, पुस १४ । माओवादीको जनयुद्ध बामे सर्दै थियो । उमेर २२ वर्ष । त्यही मेसोमा श्रीमान् गङ्गाराम पुन वर्ग संघर्ष भनेर एकाएक भूमिगत पस्ने निर्णयमा पुगे । प्रसशस्त्र युद्धका सुरुआतीका ती दिन । प्रहरीको आँखा छलेर बच्दै गङ्गाराम घर आउने जाने चलिरहेको थियो । जसले गर्दा उनलाई श्रीमान विहीनताको अनुभूति भएन । २०५८ साल मङ्सिर ११ गते सरकारले सङ्कटकालको घोषणा गर्यो तब, सुरु भए धनमायाका दुःखका दिन । श्रीमान्सँग भेट हुने त कहाँ हो कहाँ आफू र साना छोराछोरीसमेत असुरक्षित भएको महसुस हुँदै गयो । धनमायासँग पनि एउटै मात्र विकल्प भयो भूमिगत हुनु । श्रीमानको कार्यक्षेत्र प्यूठान आफू भने रोल्पामै । शान्ति सम्झौता हुनुभन्दा करिब दुई वर्ष पहिले सेनाको घेराबन्दीमा परी श्रीमान् गङ्गारामको निधन भयो । धनमायाका जीवनमा एउटा वर्ग संघर्षलाई माया गर्ने वर्गीय पक्षधरहरुको साइनो त थियो, तर, जीवनसाथीका लागि सधैं उनी एक्लै भइन् । माओवादी सशस्त्र युद्धताका रोल्पामा मात्रै पति गुमाएका ३ सय ६८ जना एकल महिला तथ्याकंले देखाएको छ । धनमाया त्यसको प्रतिनिधि पात्र हुन धवाङ–२ रोल्पाकी धनमाया पुन । २२ वर्षकै कलिलो उमेरमा देश बदल्न हिँडेका गङ्गारामले न देश बदलिएको देख्न पाए न त आफ्नो परिवार नै बदल्न सके । श्रीमानको सेनाद्वारा हत्या भएपछि साना छोराछोरीको संरक्षणमा जुटेकी धनमाया देवर तुकमान पुनको समेत युद्धमै मृत्यु हुँदा थप पीडित भइन् । उनले हार नखाएर कर्तव्य पूरा गरिरहिन् । पार्टीको गाउँस्तरीय कार्यकर्ताका साथै घरको गृहिणीको समेत भूमिका निर्वाह गर्दै गइन् । “सङ्घर्षका बीचमा बाँच्न सक्नु जिन्दगीकै फरक अनुभूति रहेछ” अचेल साथीभाइसँग अनुभव बाँड्दै धनमायाले भन्छिन् । स्थानीय शान्ति समिति रोल्पाको तथ्याङ्कअनुसार रोल्पामा २०५२ फागुन १ देखि २०६३ मङ्सिर ५ को बीचमा सशस्त्र युद्धबाट प्रभावित वा पीडित हुने महिलाको सङ्ख्या बढि भएको देखाएको छ । त्यस्तै अपहरणमा परेका २ सय ४८ मध्ये ४२ जना महिला रहेको तथ्याकंमा उल्लेख छ । यसैगरी विस्थापित ३ सय ४१ घरधुरीमध्ये ६ सय ५५ जना महिला छन् । सशस्त्र युद्धमा देशमै सबैभन्दा बढी मृत्यु हुनेको सूचीमा रोल्पा पर्दछ । रोल्पामा एक हजार आठजनाको मृत्यु भएको थियो जसमध्ये १ सय १८ जना महिला रहेका थिए । यसैगरी हालसम्म बेपत्ता रहेका ५३ जनामध्ये सातजना महिला छन् । टुहुरा १ सय ८३ बालबालिकामध्ये ८७ जना बालिका छन् । सशस्त्रयुद्धमा अपाङ्ग हुने ६ सय ४६ मध्ये १ सय १५ जना महिला रहेका छन् । कार्यदलले सूचीकृत गरेर राहत पाउन योग्य एकल महिलाको सङ्ख्या रोल्पामा ३६८ जना रहेको स्थानीय शान्ति समिति रोल्पाले जनाएको छ । युद्धताका श्रीमती गुमाएका पुरुषमध्ये अधिकांशले अर्को विवाह गरिसकेका छन् । पुनर्विवाहपश्चात् पुरुष नयाँ जीवनको सुरुवात भएको अनुभूति गरिरहेका छन् । तर श्रीमान् गुमाएका महिलामध्ये अधिकांशले पुनर्विवाह गरेका छैनन् । “एकाधले दोस्रो विवाह गरेका होलान्, नत्र अधिकांशले विवाह गरेका छैनन” मानव अधिकारकर्मी खेम बुढामगरले रासससँग बताए। “पुरुष प्रधान सोंचका कारण पुरुषले तत्कालै विवाह गरिहाल्ने र महिलाले मृतक श्रीमानकै नाममा बाँकी जीवन एक्लै जीउने देखिएको” बुढामगरले बताए । “उनीहरुमाथि लैङ्गिक हिंसा र घरेलु हिंसा, घरायसी सम्पूर्ण कार्यबोझ त छँदैछ त्यसमाथि आर्थिक बोझसमेत थपिएको छ । सरकारले दिने भनेको राहत पनि एकमुष्ट नदिएका कारण उनीहरुले ठोस काम नगरी घरायसी खर्च गर्दा कुनै रुपान्तरण गर्न नसकेको” बुढाको भनाइ छ । “एकल महिलालाई हेर्ने कुदृष्टि अझै विद्यमान रहनुका साथै अहिलेसम्म न्याय पाउन नसक्नु द्वन्द्वपीडित महिलाको मुख्य समस्या” देखिएको उनको आँकलन छ । “द्वन्द्वकाल वा अन्य अवस्थामा एकल भएका महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक अवस्था एउटै रहेको मानव अधिकारका लागि एकल महिलाकी अध्यक्ष तुलसा आचार्यकोे भनाई छ । “आर्थिक अवस्था कमजोर भएका तथा कसैको आश्रयमा बस्नुपर्ने अवस्था रहेका एकल महिलाले नारकीय जीवन बिताउनुपरेको” – उहाँको भनाइ छ । “द्वन्द्वका समयमा एकल भएका र अन्य एकल महिला भनेर कित्ता काट गर्नुको साटो उनीहरुको संरक्षणमा एक हुनुपर्ने” महिला अगुवा पुष्पा श्रेष्ठको तर्क छ । “एकल महिलालाई दिने सामाजिक सुरक्षा भत्ता कम भएको भन्दै श्रीमान् गुमाएका एकल महिलाका साथै अन्य कारणले एकल भएका महिलालाई पनि राज्यले सामाजिक सुरक्षा भत्ता दिनुपर्ने” उनको माग गरे । बन्दुक बोक्न र हलो जोत्न पनि पछाडि नपरेका रोल्पाली महिलाको अवस्था निकै दयनीय रहेको महिला मानव अधिकारकर्मी तीर्था आचार्यले बताइन । “सशस्त्र युद्धको समयमा बलात्कृत भई जन्मिएका बालबालिका अहिले नागरिकता बनाउने उमेरमा पुगेका छन् । बाबु किटान हुन नसक्दा अहिले उनीहरुको भविष्यसमेत अन्धकार भएको” उनले भनिन । अपाङ्ग भएका महिलालाई कसैले न्याय दिन नचाहेको उनले बताइन । “माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र द्वन्द्वमा महिलामाथि सरकार र विद्रोही दुवै पक्षबाट यातना र यौनजन्य हिंसा भएको” द्वन्द्व प्रभावित श्रीकुमारी रोकाको भनाइ छ । श्रीमान् गुमाएका, छोरा गुमाएका र आफैँ यातना भोगेका महिलालाई अरु महिलाभन्दा थप पीडा भएको छ । “राजनीतिक पहुँच भएका एकाध महिलाको अवस्थामा अनपेक्षित परिवर्तन आएको देखिए पनि समग्र द्वन्द्वपीडित रोल्पाली महिलाको अवस्था दयनीय हुँदै गएको” उनको भनाई छ । “सशस्त्र द्वन्द्वमा श्रीमान् गुमाएका एकल महिलालाई हालसम्म रु पाँच लाख राहत दिइसकिएको” प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए । “द्वन्द्वपीडित परिवारलाई छात्रवृत्ति, घाइते अपाङ्गलाई जीवन निर्वाह भत्ता आदि नामबाट राहत वितरण गरिएको” शर्माको भनाई छ । रोल्पामा जातीय र लैङ्गिक हिसाबले विभेद कम भए पनि आर्थिक अवस्था कमजोर भएका कारण एकल महिलामा यो समस्या हुन सक्ने प्रजिअ शर्मा बताए ।

जाने हाेइन त चित्लाङ्ग ?

स्थलगत/ रूद्रप्रसाद भट्टराई तस्वीर : लेखक काठमाडौँमा ‘रिफ्रेस’ हुनको लागि स्थानहरु धेरै छैनन्, केही ठाउँ छन् । तर, सधैँ जान मन लाग्दैन । तर घुम्ने र ‘मुड फ्रेसु’ बनाउन चाहनेहरुले मकवानपुर गए पुग्छ । सुन्दर नगर मकवानपूरको ग्रामीण क्षेत्र ‘चित्लाङ्ग’ आज लोकप्रिय स्थान बनेको छ। काठमाडौं उपत्यकाबाट नजिकै रहेको चित्लाङमा पुगेर फर्किन समस्या छैन । त्यहाँका सुन्दर दृश्यले मन लोभ्याउँछ । अनि लामो समयदेखिको कामको थकान मेटाउँछ । काठमाडौँ कलकीबाट करिब २० किलोमिटर, थानकोटबाट गाडीमा १ घण्टा र पदयात्राबाट २ घण्टाको हिँडाइमा पुगिन्छ, चित्लाङ्ग । सवारीसाधन बोकेर ल्याएको बाटोको इतिहास मात्र होइन ग्रामीण जीवनशैली, धार्मिक स्थल, जलासयको क्षेत्र कुलेखानी र हेटौँडाको वैकल्पिक मार्ग लगायतका स्थानहरूको सेतु बनेकोमा पछिल्लो समय पर्यटकीय गन्तव्य को रुपमा परिचित छ, चित्लाङ्ग । थप आकर्षण थपेको छ अर्ग्यानिक भिलेज रिसोर्टले । चित्लाङ्ग टाईगर, अर्थात “चित्लाङ्ग पर्यटनका पिता” स्थानीय देबेन्द्र नेपाल, सन् २०१० बाट सामुदायिक विद्यालयको जग्गा १५ वर्षलाई भाडामा लिई सक्रिय बनेका छन् “अग्र्यानीक भिलेज रिसोर्ट प्रा। लि।” बाट । डाँडामा रहेको रिसोर्टबाट पर्यटक र पर्यटनसँग सम्बन्धित सम्पूर्ण स्वादलाई जस्ताको तस्तै उतारेका छन् नेपालले । सुरुमा सानो लगानीबाट स्थापित रिसोर्टले छोटो समयमा नै पुग्नैपर्ने गन्तब्यको रुपमा ख्याती कमाउन सफल भएको छ । अहिलेसम्म आइपुग्दा १ जनाको सहयात्रामा सुरु गरिएको यो व्यवसायले प्रत्यक्ष रुपमा २० जना र अप्रत्यक्ष रुपमा गाउँमा सयौँलाई आँशिक रोजगारी दिन सफल भएकोमा उनी हर्षित छन् । आफू पर्यटक र पर्यटनका अब्बल अध्यापक, विद्यार्थीलाई घुमाउने क्रममा आफ्नै ठाउँमा केहि गरौँ भन्ने हेतुले चित्लाङ्गमा पर्यटनको सँभावना रोजे । विषयले उनलाई विदेशका राम्रा विश्वविद्यालयहरूले विभिन्न अवसर प्रदान गरेपनि गाउँ छाड्न मानेनन् । विद्यार्थी अवस्थामै पर्यटन अवधारणाको विकास गरेका नेपालले नेशनल टुरिजम एण्ड हस्पिटालिटी मेनेजमेन्ट ९नाथम० को ४२ जना विद्यार्थीबाट व्यवसायिक पर्यटनको सुरुवात गरेका उनले घाटामा सत्कार गरेका थिए । तर, पछि हटेनन् । त्यसपश्चात झन् बृहत्तर तरिकाले सुरु पनि गरिहाले थप कार्यक्रमहरू । विद्यार्थीबाट सुरु भएको गतिविधि त्यहिमै सीमित रहेन, अहिले सम्पूर्ण प्रकारका पर्यटकहरू घुमफिर, बसाई र अन्य आकर्षक मोज लुट्न चित्लाङ्ग पुग्ने गरेका छन् । अहिले आएर महिनाको लगभग् ७०० देखि १००० जति आन्तरिक पर्यटकहरू आउने गरेका छन् । पानीको सहज उपलब्धता नभएपनि रिसोर्टको आतिथ्यता बाहेक ७ धारा, श्री ३ र ५ को पौराणिक दरबार, माझगाउँ, चन्द्रागिरीको द्वार, सामुदायिक होमस्टे, अशोक चैत्य, स्वचन्द्र भैरव मन्दिर, भेडा फार्म, बाख्रा फार्म, सामुदायिक वन, गाउँले जीवनशैली र चमेरे सँगै राकश गुफाहरूको आकर्षण छ, चित्लाङ्गमा । थप योजनामा यसको अलावा डाँडाको पारीपट्टी डिलक्स सत्कार र बसाइको योजना लगभग् सुरु भएको छ । सबै प्रकारका पर्यटकलाई यो स्थानमा अटाउन अलि असहज महशुसका साथ वृद्ध र बच्चाको साथै अब्बल पर्यटकको लागि थप प्याकेजहरू स्थापित गर्ने योजनामा नेपाल लागिपरेका छन् । पर्यटन उद्योग विश्वमा अत्यधिक रुपमा बढीरहेको बेला त्यहि मन्त्रलाई शिरोधार गरी नेपाल अगाडि बढिरहेका छन् । कर्म गर्न नडराउने नेपाल सबै काममा आफैँ पुग्छन् र गर्छन् । नयाँ वर्ष, चाडपर्व र अन्य कार्यक्रमहरूमा खुट्टा राख्ने ठाउँ पाउन मुस्किल पर्छ उनको रिसोर्टमा । गाउँ र वरपरका आकर्षण घुमाउनका लागि छुट्टै पथप्रदर्शकहरूका व्यवस्था छ । सहरबाट त्यस स्थानसम्मको लागि टाटाका मिनि बसहरू केहिसमयको दौरानमै उपलब्ध हुन्छ । थोरै समस्या बाटोको छ । कच्ची सडक त्यहिँ माथिको धुलो जसले बिरामी बनाउने सम्भावना भने रहेको छ । रातो किताबमा बाटो बन्ने योजना परेको छ तर सुरुवात भएको छैन । नजिकै गुराँस फुल्ने भएकोले बाघको पनि जम्काभेट हुँदो रहेछ । जस्तो भएपनि दिउसो जति नै गर्मी भएपनि साँझमा सिरक ओड्नैपर्ने ठाउँ, जसले धुलो र थकानलाई सहज निद्मा रुपान्तरण गरिदिन्छ । नेपालले चित्लाङ्गमा पर्यटन सुरु गर्दा चुनौतिहरू धेरै थिए । तर, यूवा जोशजाँगरलाई बल सम्झेर सुरु गरेको यो पर्यटन व्यवसाय बीचमा खस्केपनि अहिले सुधार भएको बताउँछन् । “अहिलेको जस्तो परिस्थिति त्यसबेला हुनेथियो भने व्यवसायप्रतिको आकर्षण घट्न सक्थ्यो” उनले बताए । समय फेरिएको छ, तर सबैको चेतनामा त्यतिठुलो परिवर्तन देखेका छैनन देबेन्द्रले । यदि सामाजिक चेतनामा अभिवृद्धि, पूर्वाधार विकास, सम्बन्धित पेशाप्रतिको सोचमा परिवर्तन ल्याउन सकियो भने चित्लाङ्गको पर्यटन दोब्बर बढ्ने ठोकूवा गर्छन् । उनी भन्छन् ‘तर, गाउँमा यो सब कुराको अभाव छ, अहिले खाऊँ र जलि मरौँ जस्तै सबैकुरा छिट्टै प्राप्ति होस् भन्ने महत्वकांक्षा बढ्दो छ’ । समन्वय भन्दा खुट्टा तान्ने प्रवृति मौलाउँदो छ । राजनीतिलेपनि गाउँको पर्यटनमा हाबी जमाएको छ । आर्थिक विकासको सारथी यो व्यवसायलाई अझ अगाडि बढाउने योजना भएरपनि नेपाल तत्कालै दौडनसक्ने अवस्थामा भने देखिँदैनन् । तर, नभई नहुने पक्षहरूमा भने उनी बढी केन्द्रित भएर लागिपरेका छन् । चित्लाङ्गले यो ७ वर्षमा धेरैकुरा पाएको छ । खाली रहेको जमीनको बहुउपयोग गरेर खोलिएको अ¥ग्यानिक रिसोर्टबाट विभिन्न प्रकारका पर्यटकहरूलाई खुसी पारेको छ । यसले चित्लाङ्गलाई स्थापित मात्र गराएको छैन, प्रशिद्धिपनि कमाएकोे छ । आज अ¥ग्यानीक रिसोर्टसँगै चित्लाङ्गको मौलिकता चुम्न कुना कुनामा सन्देश पुगेको छ । सोचमा सबैकुरा जैविकसँग सम्बन्धित बनाउन लागिपरेपनि पूर्णता प्राप्त भने गर्न नसकेको दुःखेसो पोख्छन् देबेन्द्र नेपाल । यसका साथै व्यक्तिगत रुपमा सबै ठाउँको मायाँ र स्नेह पाएको बताउने देबेन्द्रले सम्बन्ध विस्तारमा भएको प्रगति देखेर आफैँ छक्क पर्छन् । उनले आन्तरिक पर्यटकको मायाँले विदेशी पर्यटक आगमनमा पनि वृद्धि भएको बताउँछन् । अहिले गरिरहेको शैलीलाई थप विस्तार गर्दै भावीदिनमा सेवा र सुविधालाई अझ व्यापक बनाएर लैजाने सोच चित्लाङ्ग टाइगरको छ । यसकारण जो कोहि एकपटक चित्लाङ्ग पुग्छ उसको जालो रोकिन्न, बस चलिरहन्छ र भन्ने गर्छन् ‘पुगौँ है चित्लाङ्ग’ ।

चितवनमा उपराष्ट्रपति पासाङको ‘जंगल सफारी’ (फोटो फिचर)

चितवन, २८ मंसिर उपराष्ट्रपनि नन्दबहादुर पुन ‘पासाङ’ले सोमबार र मंगलबार चितवनको भ्रमण गरका छन् । चितवन बसाईको क्रममा उहाँले चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारी, हात्ति सफारी, क्यानन सयर गरे । तस्वीरमा हेर्नुहोस् उनको अभिवादन देखि जंगल सफारीसम्मको झलक सबै तस्वीर : उपराष्ट्रपतिको सचिवालय 

६३ वर्ष पुगे प्रधानमन्त्री प्रचण्ड, भन्छन् – जनताका लागि खाएका कसम अझै बाँकी छन्

काठमाडौं, मंसिर २६ । यतिखेर प्रचण्ड देशको कार्यकारी प्रमुख छन् । प्रधानमन्त्रीका रुपमा उनले इतिहासको जटिल कालखण्डको नेतृत्व गरिरहेका छन् । संविधान कार्यान्वयनको जटिल कार्यभार उनका सामु छ । एकातिर जनताका अपेक्षा र चाहना, अर्कोतर्फ संविधानको पूर्ण कार्यान्वयनमार्फत शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने जिम्मेवारीको पहाड छिचोल्नुपर्ने बाध्यता । तर प्रचण्ड हारेका देखिँदैनन् । प्रतिपक्षको चौतर्फी हमलाको कुशल प्रतिरक्षा गर्दै उनी अगाडि बढेका छन् । गत वर्ष हामीले प्रचण्डसँग जीवनका ६१ वर्ष पुरा भएको सन्दर्भममा कुराकानी गरेका थियौं । सोही आधारमा तयार पारिएको गत वर्षको सामग्री आजका लागि समेत सान्दर्भिक ठानेर यहाँ प्रस्तुत गरिएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो जीवनका ६२ वर्ष पुरा गरेका छन् । बिक्रम सम्बत २०११ सालको मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा उनी जन्मेका थिए । राजनीतिकरुपमा २०२८ सालदेखि संगठित जीवन शुरु गरेका प्रचण्ड २०५२ सालदेखि नेपाली राजनीतिको केन्द्रमा रही आएका छन् । जनयुद्धकालिन अवस्था र शान्ति प्रक्रियामा आइसकेपछि पनि प्रचण्ड राजनीतिक शक्ति केन्द्रको केन्द्रमा देखिएका हुन । राजनीतिमा जस्तोसुकै बोल्ड निर्णय गर्नसक्ने क्षमता रहेको नेताका रुपमा रहेका प्रचण्डले अझै सक्रिय राजनीतिक जीवन बाँच्ने बताएका छन् । एभरेष्टदैनिक डटकमसँग कुरा गर्दै प्रचण्डले भने, “जनताका लागि मैले कसम खाएका कतिपय कुरा पुरा भएका छैनन् । म अझै १०, १२ वर्ष सक्रिय राजनीतिमैं हुन्छु ।” नयाँ जनवादी राज्यसत्ताको सपना देखेका प्रचण्डले कार्यदिशा फेरिएपनि जनताको व्यवस्थाकै पक्षमा आफू निरन्तर लाग्ने समेत बताए । “कतिपय अवस्थामा शक्ति सन्तुलनको स्थिति हेरेर अगाडि या पछाडि जाने भन्ने हुन्छ तर मूल क्रान्तिकारी चरित्र र स्पिरिट त्याग्ने कुरा सपनामा पनि सोच्दिन । मैले जनताबाटै पाएँ, जनताकै बीच हुर्किएँ, जनताका लागि बाँकी जीवन समर्पित गर्छु ।” उनले बताए । पार्टीभित्रका विचलन, फूटले तत्कालमा तनाव दिने भएपनि यसले विचलित भने नबनाएको उनले बताए । “विचलन र फूटले निराशा पैदा गर्छ तर जीवनको पछाडिका कालखण्ड सम्झिँदा फेरी उर्जा पलाएर आउँछ । अझै गर्नु धेरै छ, थाकेर, हैरान भएर हुँदैन, नयाँ उर्जा बोकेर, सच्याउँदै अगाडि बढ्नुको विकल्प छैन ।” उनी भन्छन् । आफ्नो राजनीतिक जीवनकालमा ४४ वर्ष सक्रिय राजनीति र २५ वर्ष भूमिगत जीवन बिताएका प्रचण्डले पहिलोपटक नेपालमा सशस्त्र संघर्षको कार्यदिशा अन्तर्गत “जनयुद्ध” शुरु गरेका थिए । नेपाली कम्युनिष्ट आन्दोलनमा आफ्नो बेग्लै विचारधारा निर्माण गर्ने प्रयासस्वरुप प्रचण्डले ‘प्रचण्डपथ’ अगाडि सारेका थिए । यद्यपी प्रचण्डपथ संस्थागत हुन भने सकेन । पिता मुक्तिराम र माता भवानीका ज्येष्ठ पुत्र प्रचण्डले रामपुर कृषि क्याम्पसबाट कृषिमा बिएस्सी र एमपीएसम्म पढाई गरे । उनको नाम कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल राखिएको थियो । प्रचण्डले २०२६ बैशाखमा सीता पौडेलसँग विवाह गरे । उनका तीन छोरी र एक छोरा छन् । प्रचण्डले नारायणी विद्यामन्दिर मा।वि।शिवनगर (२०२९साल, डण्डा मावि नवलपरासी र भीमोदय मावि,आरुघाट,गोरखा (२०३३(०३५ सालमा अध्यापन गरेका थिए । विसं २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यताबाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले  बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलसँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरे । उहाँ २०३४ सालमा चौथो महाधिवेशन, २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित प्रचण्ड, २०३८ मा क्षेत्रीय ब्युरो सदस्य एवं अखिल नेपाल युवक सङ्घको केन्द्रीय समितिको महासचिव भएका थिए । उनी २०४० मा युवा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भए । यसपछि उनी पूर्णरुपमा राजनीतिमै सक्रिय भए । विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकता केन्द्र)को महामन्त्री भए । एकता केन्द्रमा भने जनयुद्ध शुरु गर्ने विषयमा विवाद देखा पर्यो । प्रचण्ड महामन्त्री रहेको पार्टीले २०५२ साल फागुन १ गते जनयुद्धको घोषणा गरे । २०५७ सालमा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यसबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष भए । यो कालखण्ड प्रचण्डका लागि राजनीतिक जीवनको महत्वपूर्ण अवस्था थियो । प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट सार्वजनिक भएका थिए । प्रचण्डका नेपाली क्रान्तिका समस्या ९भाग १, २ र ३०, संस्कृति, कला र सौर्न्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरू(खण्ड १ र २ ) तथा ‘प्रचण्डका छानिएका सैन्य रचनाहरू’लगायतका पुस्तक प्रकाशित छन् ।