स्नातक तहको चौथो वर्षमा अनुत्तीर्ण भए, तत्काल मौका परीक्षा दिन पाइने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक कार्यक्रम तर्फका विद्यार्थीलाई पनि मौका परीक्षा दिने व्‍यवस्था गर्ने भएको छ।

स्नातक तहको पहिलो, दोस्रो, तेस्रो वर्षको परीक्षा उत्तीर्ण गरिसकेको तर चौथो वर्षमा एक वा दुई विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीले तत्काल मौका परीक्षा दिन पाउने व्यवस्था गर्ने निर्णय गरिएको त्रिविका रजिष्ट्रार प्रा.डा.केदार रिजालले जानकारी दिए। 

विद्यार्थीको शैक्षिक वर्ष खेर नजाओस भन्ने उद्देश्यले निर्णय गरेको प्रा.डा.केदार रिजालले जानकारी दिए ।

त्रिविको शैक्षिक क्यालेन्डर स्वीकृत, अब ९० दिनमा नतिजा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले स्वीकृत गरेको छ । त्रिविको शैक्षिक क्यालेन्डर अनुसार परीक्षा भएको ९० दिनभित्र नतिजा सार्वजनिक हुने भएको छ । मंसिर २०८१ बाट पढाइ सुरु हुने र अन्तिम सेमेष्टरको नतिजा कार्तिक २०८५ तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुने भएको छ । क्यालेन्डर अनुसार प्रथम सेमेष्टरको भर्ना आवेदन साउन दोस्रो हप्तादेखि भदौ दोस्रो हप्ता हुनेसम्म हुनेछ । भर्ना प्रवेश परीक्षा भदौ तेस्रो हप्ता र भर्ना असोज र कात्तिकमा हुनेछ । मंसिर पहिलो हप्तादेखि सुरु हुने कक्षा प्रथम सेमेष्टरको परीक्षा माघको चौथो हप्ता र नतिजा वैशाखमा प्रकाशन हुनेछ । जेठ २०८२ को दोस्रो हप्तादेखि पढाइ सुरु हुने दोस्रो सेमेष्टरको परीक्षा साउन तेस्रो हप्ता र नतिजा कार्तिक पहिलो हप्तामा हुनेछ । मंसिर २०८२ को पहिलो हप्तादेखि पढाइ सुरु हुने तेस्रो समेष्टरको परीक्षा माघ तेस्रो हप्तामा र नतिजा चैतको चौथो हप्तामा, वैशाख २०८३ को दोस्रो हप्तामा पढाइ सुरु हुने चौथो समेष्टरको परीक्षा माघ पहिलो हप्ता र नतिजा वैशाख २०८४ को पहिलो हप्ता हुनेछ । त्यस्तै जेठ २०८४ को तेस्रो हप्तादेखि पढाइ हुने पाँचौँ सेमेष्टरको भदौ तेस्रो हप्ता र नतिजा कार्तिक चौथो हप्तामा, मंसिर दोस्रो हप्तादेखि पढाइ सुरु हुने छैटौँ सेमेष्टरको परीक्षा फागुन दोस्रो हप्तामा, नतिजा २०८५ वैशाखको तेस्रो हप्तामा सार्वजनिक हुने र २०८५ जेठको दोस्रो हप्ताबाट पढाइ सुरु हुने अन्तिम सेमेष्टरको परीक्षा भदौ तेस्रो हप्ता र कार्तिक तेस्रो हप्तामा नतिजा सार्वजनिक हुनेछ । त्यस्तै स्नातकोत्तर तहको मंसिरमा भर्ना आवेदन, पुसमा भर्ना प्रवेश परीक्षा तथा भर्ना हुनेछ । माघको पहिलो हप्तामा पढाइ सुरु भएको स्नातकोत्तर तहको नतिजा २०८२ को असोज तेस्रो हप्ताभित्र नतिजा सार्वजनिक हुनेछ । वार्षिक तर्फको स्नातक तहको पहिलो वर्षको भर्ना साउन २०८१ को दोस्रो हप्तादेखि भदौको तेस्रो हप्तासम्म हुनेछ । भदौ चौथो हप्तादेखि पढाइ सुरु भएका विद्यार्थीको नतिजा असोज २०८५ को दोस्रो हप्ताभित्र सार्वजनिक हुनेछ ।

सशस्त्र प्रहरीमा दरखास्त आह्वान

काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार तथा इन्जिनियरिङ) तर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ। जसमा कानुन उपसमूहतर्फ प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ प्रहरी निरीक्षक २९ जना, प्राविधिक तर्फ प्रहरी निरीक्षक ११ जना माग भएको छ। योग्यता पुगेका इच्छुक व्यक्तिले आजदेखि आगामी साउन २० गतेसम्म दरखास्त दिन सक्ने सशस्त्र प्रहरीले जनाएको छ ।

एसईईमा सबै विषय फेलले पनि मौका परीक्षा दिन पाउने

काठमाडौं । यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सबै विषय फेल गरेका विद्यार्थीलाई पनि मौका परीक्षा दिन पाउने भएका छन्।सरकारले कानुनी रूपमै कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसईईमा फेल भएको देखाई उनीहरूलाई रोक्न नहुने निर्णय लिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सबै विषयमा अनुत्तीर्ण भनिएका विद्यार्थीलाई मौका परीक्षामा सामेल गराउने निर्णय गरेको जानकारी दिएका छन् । ‘भाइबहिनीहरू र उहाँहरूका सबै अभिभावकहरूले यो मौकालाई ठिक ढंगले बुझेर मौका परीक्षाको तयारीमा केन्द्रित गर्न हुन अनुरोध गर्दछौँ’, उनले भनेका छन् । उनले ज्यका सबै निकायले परीक्षाको परिणाम खोज्नुभन्दा पहिले सार्वजनिक विद्यालयको अवस्था, सरकार तथा नियमनकारी निकायको भूमिका, शिक्षक(अभिभावकको दायित्व र शिक्षा लिने दिने पद्धतिमा कक्षा कोठाबाटै सुधार खोज्नु पर्नेमा पनि उनले जोड दिएका छन् । ‘आजको परिणामलाई गम्भीर शिक्षाको रूपमा ग्रहण गरि यसलाई सुधार गर्न म आफू आफ्नो ठाउँबाट आजैका दिनदेखि सहभागी बन्छु भन्ने संकल्प गरौँ’, उनले भनेका छन् । बिहीबार सार्वजनिक नतिजामा आधाभन्दा धेरै परीक्षार्थी फेल भएका थिए । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको परीक्षाफलमा ४७.८७ प्रतिशत (दुई लाख २२ हजार ४७२) विद्यार्थी मात्रै उत्तीर्ण भए थिए । ५२.१३ प्रतिशत अर्थात् दुई लाख ४२ हजार ३१३ परीक्षार्थी फेल भएका छन्। उनीहरू ननग्रेड (एनजी) (१०० पूर्णांकमा ३५ भन्दा कम) ल्याएकामा परेका छन् । जसमध्ये एक लाख १५ हजार ८३४ ले मौका परीक्षा दिन पाउने थिए । बढीमा दुई विषयमा एनजी ल्याएका विद्यार्थीले मौका परीक्षा दिन पाउने भनिएको थियो । एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले भने एसइईका लागि पुनः एक वर्ष कुर्नुपर्ने थियो। तर एनजी ल्याएका एक लाख २६ हजार ४७९ विद्यार्थीले  एसइईको मौका परीक्षामा भाग लिन पाउने व्यवस्था सरकारले गरेको मल्लले बताएका छन्।

एसईई नतिजामा चित्त बुझेन, अनलाइनबाटै दिनुहोस् निवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०)ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ)गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिएका हुन्।  पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ । चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

एसइईमा कति विद्यार्थीले ल्याए कुन ग्रेड ?

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार जिपिए १.६० देखि २ ल्याउनेमा ६ जना विद्यार्थी छन्। यस्तै, २ देखि २.४० ल्याउनेमा २ हजार ९५०, २.४० देखि २.८० ल्याउनेमा ४१ हजार १७७, २.८० देखि ३.२० ल्याउनेमा ७८ हजार ८७४ जना विद्यार्थी छन्। यस्तै ६८ हजार २५६ जनाको ३.२० देखि ३.६० र ३.६० देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ३१ हजार २०९ रहेको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार २ लाख ४२ हजार ३१३ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन्।

एसईईको मौका परीक्षा साउन १८ र १९ गते

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । सँगै मौका परीक्षाको मिति पनि आजै तय गरिएको छ । २ विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीका लागि साउन १८ र १९ गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ । बोर्डका अधिकारीका अनुसार ननग्रेड ल्याउनेमध्ये २ विषयसम्म अनुत्तीर्ण हुनेमा १ लाख १५ हजार ८३४ छन् । त्यसमा ६७ हजार ८९६ जना एक विषयमा अनुत्तीर्ण छन् ।

एसईईको नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत मात्रैले प्राप्त गरे ‘ग्रेडिङ’

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ भएका छन् । योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको हो । नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन भएको बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी)मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन । निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । नतिजा हेर्न बोर्डले १० वेबसाइट र पाँच एसमएस सर्टकोडको व्यवस्था गरेको छ ।०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालित एसईईमा चार लाख ८८ हजार परीक्षार्थी सहभागी थिए ।  यसरी हेर्न सकिन्छ नतिजा–

एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार (आज) बिहान सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बिहीबार बिहान ९ बजे नतिजा सार्वजनिक गरिने जानकारी दिए।  नतिजा सार्वजनिक गर्न सम्पूर्ण तयारी पूरा भएको उनले बताए। नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ ।  २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार  विद्यार्थी सहभागी भएका थिए । 

एसइई नतिजा प्रकाशित गर्न १ बजे बोर्ड बैठक बस्दै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं  । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन निर्णयबारे बैठकमा बोलाएको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का उप-नियन्त्रक भक्त गोदारले जानकारी दिए। उनले भने,‘आज दिउँसो १ बजे बोर्ड बैठक बोलाएको छ,तर आजै नतिजा प्रकाशन हुन्छ चाहिँ भन्न सकिँदैन,सबै तयारी पूरा भएमा नतिजा प्रकाशन हुन्छ,नभए हुँदैन।’ २०८० सालको एसइई नतिजा आज प्रकाशन गर्ने बोर्डको भने तयारी छ। यो वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई नन ग्रेडेड (एनजी)उल्लेख गरिने बोर्डले जनाएको छ। गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसिएलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा.लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।  

एसइईको नतिजा बिहीबारसम्म सार्वजनिक गरिने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसइई परीक्षाको नतिजा बिहीबारसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।  कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिए। कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण, अंकभार प्रविष्ट र ‘मिस म्याच’को काम सकेर नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।  परीक्षा नियन्त्रक पौडेलले भने, ‘असार १५ गतेभित्र नतिजा सार्वजनिक गर्ने बोर्डको तालिका हो, तालिकाभन्दा पनि छिटो नतिजा सार्वजनिक गर्न बोर्ड र परीक्षा नियन्त्रण कार्यालयले तीव्र गतिमा काम गरेका छौँ, बिहीबारभित्र नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको छ ।’ उनले कर्मचारीहरूको समूह बनाएर काम भइरहेको बताउनुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण भइ कार्यालयमा बाँकी काम भइरहेको जानकारी दिए । कार्यालयले गत वर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ । गत चैत १५ गतेदेखि सुरु भएको एसइईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए । 

एसईईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा एक हप्तामा सार्वजनिक गर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर बोर्डले नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०८० को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको जनाएको छ । बोर्डले २०८० सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट सजिलै हेर्न सकिने जनाएको छ । जसको लागी आफ्नो मोबाइलको मेसेज बक्समा गएर SEE <space> symbol no लेखि 34949 मा मेसेज गर्नुपर्नेछ ।

रास्वपाको चियापानमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो स्थापना दिवसको अवसरमा गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्। चियापान समारोहमा प्रधानमन्‍त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी भएका छन् । रास्वपाले वनस्थलीमा रहेको केन्द्रीय पार्टी कार्यालयमा दोस्रो वार्षिकोत्सवको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो ।

यस वर्षको एसईई परीक्षा चैत ७ देखि (तालिकासहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको छ। बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको तालिकामा एसईई आउँदो चैत ७ गतेदेखि सञ्चालन हुने उल्लेख छ।  फागुन मासान्तभित्र विद्यार्थीको आन्तरिक र प्रयोगात्मक अंक शिक्षा विकास तथा समन्वय इकाइमा पठाइसक्नुपर्ने तालिकामा उल्लेख छ।  एसईईको नतिजा २०८२ असार ६ गतेभित्र प्रकाशन गरिने तथा पूरक परीक्षा साउन १९ र २० गते हुने बोर्डले जनाएको छ।  यस्तो छ तालिका 

गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधामन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको वस्तुगत आवश्यकताका आधारमा गुणस्तरीय चिकित्सा सेवा उपलब्ध गराउनु राज्यको दायित्व भएको बताएका छन् । चिकित्सा शिक्षा आयोगको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री स्वास्थ्य क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए।  “चिकित्सा शिक्षा प्रणालीले नवीनतम प्रविधि र अनुसन्धानलाई आत्मसात् गरी समय सापेक्ष ज्ञान र सीप प्रदान गर्नुका साथै शिक्षार्थीलाई मानवीय मूल्यहरू, नैतिकता र संवेदनशीलतामा प्रशिक्षित गरी एक आदर्श चिकित्सकको रूपमा स्थापित गर्न सक्नुपर्दछ,” प्रधानमन्त्री प्रचण्डले भने, “चिकित्सा शिक्षा गुणस्तरीय हुनैपर्छ, शहरी क्षेत्रका अतिरिक्त ग्रामीण क्षेत्रमा समेत दक्ष स्वास्थ्यकर्मीहरूको उपलब्धता सुनिश्चित गरी गुणस्तरीय चिकित्सा सेवा प्रवाहमा उत्कृष्टता प्रदान गर्नुपर्छ ।” प्रधानमन्त्री प्रचण्डले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समसामयिक समस्या तथा चुनौतीहरूलाई सरोकारवालासँगको समन्वय र सहकार्यमा समाधानको बाटो पहिल्याउन आयोगले पहल गर्नुपर्नेमा जोड दिए। उनले स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा चिकित्सा शिक्षामा पहुँच कायम गर्नका लागि तीनै तहका सरकार, चकित्सा शिक्षा प्रदान गर्ने शैक्षिक संस्था र स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरूले सहकार्य आवश्यक रहेको बताए। आयोगबाट सम्पादित कार्यलाई चिकित्सा शिक्षा र सेवा प्रवाह सुधारको सकारात्मक एवम् अभिन्न पाटोको रूपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले यस क्षेत्रको गुणस्तर सुधार, विकास, विस्तार तथा नियमनका निम्ति आगामी दिनमा आयोगबाट प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। “चिकित्सा शिक्षाको महत्त्व केवल दक्ष स्वास्थ्यकर्मी उत्पादनमा मात्र सीमित रहनु हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “यसले सम्पूर्ण समाजमा स्वस्थ जीवनशैली अबलम्बन र स्वास्थ्य सचेतना फैलाउने महत्त्वपूर्ण भूमिका पनि निर्वाह गर्नुपर्दछ ।” उनले चिकित्सा शिक्षा मानव समुदायको स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यन्तै महत्त्वपूर्ण र संवेदनशील विषय भएको बताए। 

देशभित्र भविष्य देख्ने वातावरण बनाउन गुणस्तरीय शिक्षामा जोड दिऔँ : प्रधानमन्त्री प्रचण्ड

रामपुर,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताएका छन्।कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिएका हुन्।  “देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ आफ्नो माटोको सुगन्ध र मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप नेपालको दिगो विकासका लागि विश्वविद्यालयबाट प्राप्त ज्ञान दुपयोग गर्नुहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिन चाहन्छु ।”  उनले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङ्ख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए । प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत् नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा आफ्नो सम्पूर्ण क्षमता र साधनस्रोत खर्चिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजनन्को प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेकोप्रति खुशी व्यक्त गरे। विश्वविद्यालयले आवश्यकताअनुसार कलेज तथा कृषि विज्ञान केन्द्र विस्तार र सबलीकरणका लागि योजना निर्माण गरी त्यसको कार्यान्वयन हुने विश्वास लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले आवश्यक शिक्षक, कर्मचारीको व्यवस्थापनका लागि विश्वविद्यालय प्रयत्नशील रहेको बताए। उनले आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने विश्वास दिलाए। “विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ,” प्रधानमन्त्रीले भने, “विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।”