विद्यालयहरूको छात्रवृत्ति र शुल्क तोक्न स्थानीय तहलाई परिपत्र

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले सार्वजनिक विद्यालयहरूमा निःशुल्क शिक्षाको प्रबन्ध तथा निजी विद्यालयमा शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न स्थानीय तहलाई बुधबार परिपत्र गरेको छ ।

नयाँ शैक्षिकसत्र थालनी हुन तीन साता मात्रै बाँकी रहँदा शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ७ सय ५३ वटै स्थानीय तहलाई माध्यमिक तहसम्म निःशुल्क शिक्षा, निजीमा तोकिएको शुल्क र छात्रवृत्ति वितरणको व्यवस्था कार्यान्वयन गर्न भनेको हो । मन्त्रालयको निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हुँदै सबै स्थानीय तहमा पठाइने शिक्षा सचिव सुरेश अधिकारीले जनाए । संविधान र अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ मा माध्यमिक तह (कक्षा १२) सम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । 

शिक्षा मन्त्रालयले त्यसैका आधारमा सार्वजनिक विद्यालयमा विद्यार्थी भर्ना, मासिक, परीक्षा र पाठ्यपुस्तक वापत कुनै पनि निःशुल्क नलिन सर्कुलर गरेको हो । सार्वजनिक विद्यालयहरूले राज्यले दिने पर्याप्त अनुदानको अभावमा विद्यार्थी अभिभावकसँग विभिन्न शीर्षकमा शुल्क लिँदै आएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले निःशुल्क शिक्षा, शुल्क निर्धारण र छात्रवृत्ति वितरणको सम्बन्धमा स्थानीय तहहरूलाई १० बुँदे परिपत्र गरेकी हुन् । त्यसमा निजी विद्यालयले स्थानीय तहबाट तोकिएको शुल्क मात्रै लिन पाउने जनाइएको छ । शुल्क निर्धारण गर्न स्थानीय तहहरूलाई आग्रह गरिएको हो ।

संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा दिएको छ । प्रदेश सरकार, स्थानीय सरकार, सार्वजनिक र निजी विद्यालयका प्रतिनिधिहरूसँग छलफल गरेपछि शिक्षा मन्त्रालयले निर्णय लिएको र सर्कुलर गरेको सचिव अधिकारीले बताए । स्थानीय तहबाट स्वीकृत कानुन, मापदण्ड, निर्देशिका र कार्यविधिअनुसार शुल्क निर्धारण गर्न सक्ने भनिएको छ । त्यस्तै, निजी तथा गुठीअन्तर्गत सञ्चालित विद्यालयमा भर्ना हुने विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था कार्यान्वयन गराउन स्मरण गराइएको छ । 

ऐनमा यस्ता विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्म भर्ना हुने विद्यार्थीमध्ये कम्तीमा १० प्रतिशतलाई निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने उल्लेख छ । ५ देखि ८ सयसम्म विद्यार्थी भर्ना हुने विद्यालयले १२ प्रतिशत र ८ सयभन्दा बढी विद्यार्थी भर्ना हुने निजी विद्यालयले कम्तीमा १५ प्रतिशत विद्यार्थीलाई निःशुल्क छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ । काठमाडौं, ललितपुरलगायतले छात्रवृत्ति वितरणको प्रावधान कार्यान्वयन थाले पनि अधिकांश स्थानीय तहमा यसको कार्यान्वयन भएको छैन । 

विगतमा शिक्षा मन्त्रालयले पनि शुल्क निर्धारण र छात्रवृत्ति वितरणको व्यवस्था गर्न सकेको थिएन । काठमाडौं महानगरले भने गत वर्षदेखि परीक्षा नै सञ्चालन गरेर मेरिटका आधारमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । छात्रवृत्ति वितरणका लागि ऐनमा आरक्षणसम्बन्धी व्यवस्था पनि गरिएको छ ।

‘सोर्स–फोर्स’ लगाउन खोजे मूल्यांकनमा ०.५ अंक घटाइन्छ : शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य गरे अंक काटिने बताएकी छन्।  “शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टी तथा कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि सोर्स–फोर्स लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ,” मन्त्री श्रेष्ठको सचिवालयको फेसबुक पेजमा लेखिएको छ।  यस्तै, भर्ना वा छात्रवृत्ति समेतका निम्ति समेत ‘सोर्स–फोर्स’ वा बार्गेनिङको गन्ध थाहा पाए स–प्रमाण उजुरी गर्न मन्त्री श्रेष्ठको अनुरोध छ ।  यस्ता कार्य गर्नेलाई अनुसन्धान गरी तत्काल कारबाही गर्ने उनको भनाइ छ। 

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो। यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।

त्रिविको त्रुटि : महिना ३० गतेसम्म मात्रै, परिक्षा ३१ गते पनि

काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो । जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो । यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ । 

५२ करोड बढी बौद्धमार्गीहरूको आस्थालाई बुझ्न आवश्यक छ :  प्रधानमन्त्री प्रचण्ड

कपिलवस्तु । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वका ५२ करोडभन्दा बढी बौद्धमार्गीहरूको आस्थालाई बुझेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।  लुम्बिनी बौद्ध विश्वविद्यालयको १५ औँ सभा बैठकमा आज कुलपति एवं प्रधानमन्त्री ‘प्रचण्ड’ले शैक्षिक क्षेत्र विश्वव्यापीकरणको प्रभावमा परिरहेको समयमा बौद्धमार्गीहरूको आस्थालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।  “हाम्रो मौलिक दर्शन, संस्कृति, परम्परा, स्रोत साधनको अध्ययन गर्नेतर्फ आधुनिक बजार उत्साहित छैन । त्यसमा बौद्ध दर्शन जस्तो गहन दर्शन पनि प्रभावित छ,” प्रधानमन्त्री प्रचण्डले भने, “विश्वमा ५२ करोड जनसङ्ख्याको आस्थाको विषय बनेको बौद्ध दर्शन त्यसभित्र अन्तर्निहित  सामाजिक र दार्शनिक कुराहरू अहिलेको समाजलाई नभई नहुने कुराहरू हुन् । यसलाई विश्वव्यापीकरण गर्नु हामी सबैको साझा दायित्व हो ।”  इतिहासको लामो कालखण्डदेखि अटुट रूपमा प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्ययताको लागि अनुपम स्रोतको रूपमा रहेको बताउँदै प्रधानमन्त्रीले  सांस्कृतिक, धार्मिक, पर्यटन विकासको लागि यो ठूलो अवसर भएको उल्लेख गरे । उनले यीनै विषयलाई मनन् गरी विश्वविद्यालयले बौद्ध परम्परा र संस्कृति अध्ययन अध्यापन संरक्षण तथा सम्बर्द्धनका कार्यक्रम अगाडि बताउनुपर्नेमा जोड दिए। “नेपाल बुद्ध भूमि, हजारौं ऋषिमुनीहरूको योगदानले निर्माण गरेको तपोभूमि हो, त्यसैले नेपाल विश्वकै आस्था र श्रद्धाको केन्द्र हो,” प्रधानमन्त्री प्रचण्डले भने, “यसको प्रवर्द्धन गर्ने दायित्व हामीसँग छ । बौद्ध संस्कृति, कला, विहार तथा  गुम्बा संसारकै लागि आकर्षणका सम्पदाहरू हुन् । यिनलाई आर्थिक समृद्धिसँग जोड्दै अगाडि बढेको खण्डमा समृद्ध मुलुक निर्माणको अभियानले सार्थकता पाउने प्रवल सम्भावना छ ।”

सशस्त्रका विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले विभिन्न पदमा दरखास्त खुलाएको छ । रिक्त रहेका पदपूर्तिका लागि सशस्त्र प्रहरी बलले आवेदन माग गरेको हो।  रिक्त रहेका प्राविधिक समूह प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्म (स्वास्थ्य) तर्फका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो।  दरखास्त चैत १८ गते सम्म दिन सकिनेछ। अनलाइनमार्फत तोकिएको समयभित्र दरखास्त दिन सकिनेछ। 

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्म दरखास्त, हेर्नुहोस सूचना

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।  योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

यी हुन् त्रिवि हाँक्ने केशरजंग बराल

काठमाडौं, १० फागुन । सरकारले त्रिभुवन विश्वविद्यालयको २० औँ उपकुलपतिमा प्रा. डा केशरजंग बराललाई नियुक्त गरेको छ। पोखरा विश्वविद्यालयको पूर्व उपकुलपति समेत रहेका प्राडा बराललाई प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका हुन्। शिक्षामन्त्री अशोककुमार राईको अध्यक्षतामा रहको सिफारिस समितिले बरालसहित तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस गरिएकामध्ये दोस्रो नम्बरमा रहेका बराललाई नियुक्त गरिएको हो। उनी नेपालको शैक्षिक इतिहासमै पहिलोपट खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त भएका हुन्। प्रधानमन्त्री  प्रचण्डले अंकभार तथा मापदण्डका आधारमा उत्कृष्ट तीनमा पर्न सफल उनलाई उपकुलपति नियुक्त गरेका हुन् ।    को हुन् बराल? २०१४ सालमा पाल्पामा जन्मिएका बराल २०३९ सालदेखि नेपालको उच्च शिक्षामा सक्रिय रहेका छन् । उनले २०३९ सालमा विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसबाट प्राध्यापन पेसा सुरु गरेका थिए। त्यसपछि उनी २०४१ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भएर आए। पृथ्वीनारायण क्याम्पसमा पढाउँदै गर्दा उनी विश्वविद्यालयको वृत्ति विकास कार्यक्रम अन्तर्गत छात्रवृत्तिमा पढ्न बाहिर जाने मौका पाए। उनी २०५० सालमा विद्यावारिधि अध्ययनका लागि भारतको दिल्ली युनिभर्सिटीमा भर्ना भए। र उनले विद्यावारिधिको अध्ययन समयमै सकाए। अर्थात् २०५४ सालमा उनले पढाई सकाए। यसैगरी २०५५ सालमा दिल्ली युनिभर्सिटीले उनलाई विद्यावावारिधी (पीएचडी) को उपाधि प्रदान गर्‍यो। भारतमा अध्ययन सकेर नेपाल फर्केका बरालले विश्व बैंकको हायर एजुकेसन (उच्च शिक्षा) भन्ने प्रोजेक्टमा कन्सल्टेन्ट भएर काम गर्ने मौका पाए। उनले पोखरा क्याम्पसमै हुँदै उक्त मौका पाएका थिए। त्यसपछि उनले एसियन डेभ्लपमेन्ट बैंकको प्रोजेक्टमा फाइनान्स एडभाइजर भएर समेत काम गरे। त्यहाँ उनले साढे तीन वर्ष काम गरेका थिए। त्यसपछि उनी पुनः क्याम्पसमै फर्केर अध्यापनतिर लागे। क्याम्पसमा उनी वित्त शास्त्रको विभागीय प्रमुख भएर काम गरे। त्योसँगै उनले अनुसन्धान विभागको पनि प्रमुख भएर काम गरे। त्यही बेला उनी व्यवस्थापन संकायको वित्तशास्त्र विशेष समितिको सदस्य समेत भए। र पछि त्यसको स्थायी समितिको सदस्य भएर काम गरे। त्यसपछि उनी त्रिभुवन विश्वविद्यालयको विद्या परिषद्को फेकल्टी बोर्डका सदस्यमा नियुक्त भए। पोखरामा स्थापना हुने चर्चामा रहेको पोखरा विश्वविद्यालयको सुरुवाती समयदेखि नै उनी सक्रिय थिए। पोखरा विश्वविद्यालयको स्थापनाकालदेखि नै उनी व्यवस्थापन विशेष समितिको सदस्य भएर काम गरे। त्यसपछि २०६४ सालमा सरकारले उनलाई पोखरा विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्‍यो। र उनले चार वर्षे कार्यकाल सम्पन्न गरेर २०६८ सालमा बिदा भए । पोखरा विश्वविद्यालयको भिसी भएर आफ्नो कार्यकाल पुरा गरेसँगै उनी पुनः त्रिभुवन विश्वविद्यालयमै फर्किए । त्यसपछि उनी अमेरिका गए । अमेरिकामा उनी पढाउन गएका थिए। र २०६४ सालमा नेपाल फर्किए र त्रिविमा पढाउन थाले। २०६४ देखि २०६८ सालमा विश्वविद्यालय अनुदान आयोगको बोर्ड मेम्बर पनि भएर काम गरे । त्रिविको व्यवस्थापन संकायको अनुसन्धान समितिको सदस्य भएर काम गरे। त्यसपछि २०६९ सालमा उनी भिजिटर प्रोफेसरको रूपमा पढाउन चीन गए। त्यहाँ एक वर्ष पढाए। र त्यसपछि नेपाल फर्किए। नेपाल फर्केर त्रिविमा नै पढाउन थाले र २०७७ सालमा त्रिविबाट सेवानिवृत्त भए। सरकारले गठन गरेका विभिन्न आयोग तथा समितिमा समेत रहेका काम गरेको अनुभव बरालसँग छ। त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयबिच विवाद बढेको थियो। उक्त विवाद समाधान गर्न शिक्षा मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको थियो । बरालले उक्त समिति समस्या भएर समेत काम गरे। अहिले उनी विश्वविद्यालय अनुदान आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्मा विशेषज्ञको रूपमा काम गर्दै आएका छन्। साढे दुई वर्षदेखि उनी विज्ञको रूपमा काम गर्दै आएका हुन्। उनले अहिले त्रिविको व्यवस्थापन संकायको पीएचडीका विद्यार्थीलाई पढाउँदै आएका छन् । त्यस्तै पोखरा विश्वविद्यालयका पीएचडीका विद्यार्थीलाई समेत सहजीकरण गर्दै आएका छन्। २०३९ सालदेखि नेपालको उच्च शिक्षामा निरन्तर सक्रिय रहेका उनी कुनै पनि निजी क्याम्पसमा भने छैनन्।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, फागुन ७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक परिमार्जन गरी पारित हुने बताएका छन्। सोमबार दिउँसो समाजवादी शैक्षिक मञ्चले काठमाडौँमा आयोजना गरेको ‘नेपालको शैक्षिक आन्दोलन र विद्यालय शिक्षा विधेयक’ विषयक कार्यशालामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताए। कार्यक्रममा प्रधानमन्त्रीले संसदमा विचाराधीन विधेयकबारे गठबन्धन दल र प्रतिपक्षीसँग समेत छलफल गरिएको जानकारी गराउँदै संसदमा दर्ता भएका संशोधन प्रस्तावहरूका आधारमा विधेयक संशोधन हुने बताए। प्रधानमन्त्रीले भने, ‘‘विधेयक संसदमा विचाराधीन रहेका कारण शिक्षक–कर्मचारीहरू, शैक्षिक क्षेत्रका ट्रेड यूनियनहरू, शिक्षाविद्, विद्यार्थीसम्वद्ध संघ–संस्थाहरू, सरोकार पक्ष र अभिभावकका समेत सुझावहरू समेटेर यसमाथि आवश्यक संशोधन गर्न सरकार सचेत छ। यसबारे मैले गठबन्धनमा पनि कुरा गरेको छु। प्रतिपक्षसँग पनि कुरा भएको छ। छिट्टै हामी निष्कर्षमा पुग्छौँ।’’ प्रधानमन्त्रीले विद्यालय कर्मचारी र बालशिक्षाका शिक्षकहरूको मुद्दा र विगतमा गरिएका सहमति कार्यान्वयनको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको जानकारी दिए। उनले भने, ‘‘विद्यालय कर्मचारी र बाल शिक्षाका शिक्षकहरूको मुद्दा पनि महत्वपूर्ण छ। यसलाई सम्बोधन गर्नेमा सरकार सचेत छ। शिक्षकसम्बद्ध संगठनहरू र सरोकार पक्षसँग विगतमा विभिन्न चरणमा राज्यले गरेका सहमति र सम्झौताहरू कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ।’’ कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका वक्ताहरूले मञ्च समाजवादउन्मुख शिक्षाको बहसमा केन्द्रित हुनुपर्ने बताए।

चीनमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति

काठमाडौं । बृहत् अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, उच्च व्यापक गुणस्तर, उत्कृष्ट नेतृत्व र बहुसांस्कृतिक पृष्ठभूमिका साथ विश्वव्यापी शासन प्रतिभाहरूलाई प्रशिक्षित गर्न  चिनिया छात्रवृत्ति परिषदले "यूथ अफ एक्सीलेन्स"  योजना लागु गरेको नेपालस्थित चिनिया दुतावासले जनाएको छ । यस योजना अन्तर्गत सन् २०२४ को सेप्टेम्बर महिनाबाट अङ्रेजी भाषामा स्नातोकोत्तर कार्यक्रम अन्तर्गतका अध्ययन सुरु हुनेछ ! यस कार्यक्रममा नेपालबाट मात्र २०० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न पाउनेछन् । ४५ वर्षभन्दा कम उमेरका आवेदकले स्नातक तह उत्तृण हुनुका साथै मानसिक र शाररिक रुपमा स्वस्थ हुनुपर्दछ । यस स्नातोकोत्तर कार्यक्रमको अवधी एकदेखी दुई बर्षको हुनेछ जसमा सम्बन्धित बिषयमा आर्जित ब्यवसायिक अनुभवलाई विशेष प्राथमिकता दिइने उल्लेख छ । उत्कृष्ठ आवेदकको छनौटको लागि चिनिया छात्रबृत्ति परिषदको बिग्य समुहले अन्तर्वार्ता लिन सक्नेछ । आवेदकले सम्पुर्ण कागजात तयार गरी www.campuschina.org मा आफ्नो निजि खाता रजिष्टर गरी अपृल १५ तारिखभन्दा अघि आवेदन दिन सक्नेछन् । यस कार्यक्रममा चीनका ३५ वटा भन्दा बढी बिश्वबिध्यालय सहभागी रहेका छन्  । यससम्बन्धि पुर्ण जानकारी http://np.china-embassy.gov.cn/eng/News/202401/t20240103_11216206.htm प्राप्त गर्न सकिन्छ ।

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२), सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले २०८१ साल बैशाख १४ गतेदेखि परीक्षा सुरु हुने तालिका आज सार्वजनिक गरेको हो । बोर्डका अनुसार बैशाख १४ गते सुरु भएको परीक्षा बैशाख २६ गते सकिनेछ । परीक्षाको समय बिहान ८ देखि ११ बजेसम्म तोकिएको छ ।

जनक शिक्षा सामग्रीले माग्यो नबौँदेखि पाँचौं तहसम्म दरखास्त (सूचनासहित)

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।   लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

न्याय सेवा आयोगले खुलायो ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन

काठमाडौँ । न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले ३० दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म पाउनेछ ।

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा दरखास्त माग गरेको हो । खुला तथा समावेसीसहित एक हजार ८५६ पदका लागि आवेदन माग गरिएको छ । खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्नुपर्ने भएकाले योग्य उमेदवारले दरखास्त दिन सक्नेछन् । चैत ९ गतेसम्म आवेदन दिन सकिने बताइएको छ ।