विद्यालय प्रदर्शनी २०७३ अायाेजना सुरु

काठमाडौँ, चैत ५ । नयाँ शैक्षिक सत्रको पूर्व सन्ध्यामा इनेपालीखबर डटकमले दुई दिने विद्यालय प्रदर्शनी, २०७३ को आयोजना गरेको छ ।

आर्मी अफिसर्स क्लबमा भएको प्रदर्शनीमा खाद्य, पोषण, पठन सीप र अभिभावक जागरुकताबारे कार्यशालासमेत हुनेछ ।

सो प्रदर्शनीको आज उद्घाटन गर्दै सरकारका पूर्व सचिव महाश्रम शर्माले बालबालिकाको भविष्यलाई उनीहरुको चाहना बमोजिम डोर्याउन प्रदर्शनीले भूमिका खेल्ने भन्दै गुणस्तरीय शिक्षाका लागि सरकार र गैरसरकारी क्षेत्रको साझा पहल आवश्यक भएको बताउनुभयो ।

सो डटकमका अध्यक्ष कपिल काफ्लेले प्रदर्शनीमा बालबालिकाले सिक्ने र सिकाइबारे अनुभव आदानप्रदान हुने बताउनुभयो ।

एसइइ परीक्षामा एकै जिल्लाबाट नौ बोरा चिट बरामद !

काठमाडौं, चैत ३ । आजदेखि सुरु भएको एसइइको परीक्षामा सहभागी विद्यार्थीहरुको साथबाट बरामद गरिएको चिटले एकै दिनमा नौ वटा बोरा भरिएको छ । परिक्षालाई अमर्यादित र चिट चोरिएको पाइएमा कारवाही गर्ने भनिरहेका बेला महोत्तरीका विभिन्न स्कुलहरुमा परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट भने बोराका बोरा चिट बरामद गरिएको हो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको प्रहरी र शिक्षकहरुले बताएका छन् । कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

शिक्षा मन्त्री पौडेलले गरे ‘सेकेण्डरी एडुकेशन इक्जाम’को अनुगमन

काठमाडौं, चैत ३ । शिक्षा मन्त्री धनिराम (डिआर) पौडेलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन भएका केही परीक्षा केन्द्रहरुको बिहिबार आकस्मिक अनुगमन गरेका छन् । बिहिबारदेखि नै सुरु भएको परीक्षाको पहिलो दिन मन्त्री पौडेलले काठमाडौं र ललितपुरका केही परीक्षा केन्द्रमा पुगी परीक्षाको अनुगमन निरिक्षण गरेका हुन् । मन्त्री पौडेलले काठमाडौंको शिवपुरी मावि बालुवाटार, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, नन्दी मावि, नक्साल, पाटनढोका मावि ललितपुरका परीक्षा केन्द्रमा पुगी एसइइ परीक्षाको स्थलगत अनुगमन गरेका हुन् । त्यसक्रममा उनले शान्तीपूर्ण र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, निरिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री पौडेलले परीक्षामा सहभागी विद्यार्थीहरुलाई परीक्षा राम्रो होस् भनने कामना गरे । साथै उनीहरुको उज्वल भविष्य बनाउन मिहेनेत गर्न सुझाव दिए । पूर्व जानकारी नदिई मन्त्री पौडेल परीक्षा केन्द्रहरुको अनुगमनमा निस्किएका हुन् । पूर्व जानकारी विनै शिक्षा मन्त्री अनुगमनमा आउँदा आफूलाई खुशी लागेको पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजारकी केन्द्राध्यक्ष रीता तिवारीले बताइन ।

परीक्षाको लागि केन्द्राध्यक्ष तोक्न जिल्ला शिक्षा कार्यालयलाई सकस

विराटनगर, चैत्र २ । राजनीतिक भागबण्डा नमिलेपछि भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाका लागि बुधबार मध्यान्हसम्म मोरङमा केन्द्राध्यक्ष तोक्न सकेको छैन । यसकारण परीक्षाको आवश्यक तयारी प्रभावित हुँदै गएको छ । मोरङमा हरेक वर्ष राजनीतिक भागबण्डाकै आधारमा परीक्षा केन्द्राध्यक्ष नियुक्त गर्ने परम्परा छ । मोरङमा ६७ परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दल निकट शिक्षक संघ संगठन र निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भागबण्डामा केन्द्राध्यक्ष माग गरेपछि जिल्ला शिक्षा कार्यालयले परीक्षाको अघिल्लो दिनसम्म केन्द्राध्यक्ष तोक्न नसकेको हो । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एमाले निकट शिक्षक संगठनले २४, कांग्रेस निकटले १९, माओवादी केन्द्र निकटले १४, मधेसी दल निकटले १० र प्याब्सन, एनप्याब्सनले ७ वटा केन्द्राध्यक्ष आफ्नो भागमा पर्नुपर्ने माग गरेपछि समस्या चुलिएको हो । स्रोतका अनुसार ६७ परीक्षा केन्द्रका लागि शिक्षक संघ संगठनले ७४ केन्द्राध्यक्ष माग गरेपछि समयमा नियुक्त गर्न नसकिएको हो । केन्द्राध्यक्ष तोक्नका लागि अहिले बैठक भइरहेको जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताए । ‘म अहिले केही बोल्दिनँ’ उनले भने, ‘केहीबेरमै केन्द्राध्यक्षको टुङ्गो लगाएर सम्बन्धित केन्द्रमा आजै पठाउने तयारी भइरहेको छ ।’ प्रत्यके केन्द्राध्यक्षले परीक्षा अवधीभरिमा करिब ९ हजार भत्ता पाउने व्यवस्था छ । आफूले भनेअनुसारको केन्द्राध्यक्ष भए उक्त परीक्षा केन्द्रमा आफू अनुकूल परीक्षा सञ्चालन गर्न सकिने भएका कारण केन्द्राध्यक्षमा भागबण्डाको लडाइँ हुने गरेको सम्बद्ध स्रोतको भनाइ छ । मोरङमा यसपाली कूल २० हजार ७ सय ६ जना परीक्षार्थी सहभागी हुँदैछन् । त्यसमध्ये नियमिततर्फ १७ हजार ९ सय ८३, ग्रेड वृद्धितर्फ १ हजार ९ सय ५७ र एक्जामटेडतर्फ ७ सय ६६ परीक्षार्थी सहभागी हुँदैछन् ।

शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन

काठमाडौँ, चैत २ । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एवं न्यूनीकरण गर्नका लागि व्यवस्थापकीय चुस्तता र शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन दिइएको छ । शैक्षिक उन्नयनमा त्रिविविले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आयोग पदाधिकारीले त्रिविवि र मातहतका निकायमा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्दै विवादरहित तवरले काम गर्न र शैक्षिक गुणस्तर कायम राख्नसमेत ध्यानाकर्षण गराएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । त्रिविविमा हुनसक्ने विकृति तथा विसङ्गति उपर आयोगको निरन्तर निगरानी रहने र व्यवस्थापकीय सुधार गरी शैक्षिक एवम् व्यावसायिक गतिविधिका लागि केन्द्रित रहनुपर्नेमा आयोग पदाधिकारीले जोड दिइएका छन् । छलफलमा त्रिविविका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सार्वजनिक शिक्षामा स्थानीय तहले लगानी बढाउनु पर्ने

काठमाडौँ, चैत २ । सार्वजनिक शिक्षा सुदृढीकरणका लागि देशभित्रबाटै स्थानीय स्रोत जुटाई बढाउनुपर्ने निष्कर्षसहित नागरिक शिक्षा सम्मेलन सम्पन्न भएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन शिक्षामा कार्यरत विभिन्न संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको सम्मेलन उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले संविधानतः शिक्षा मौलिक अधिकार भएपनि बजेट अभावका कारण सो हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । शिक्षाका लागि अधिकारका रुपमा स्थापित गर्न नयाँ ढङ्गले नक्साङ्कन र योजना तर्जुमा गर्नुपर्ने बताउँदै उहाँले शिक्षामा लगानी बढाउन अर्थ मन्त्रालय उदार नभएकाको टिप्पणी गरे । शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा पर्याप्त बजेट नहुँदा र शिक्षकहरुमा उत्तरदायित्व कम हुँदा गुणस्तर खस्किएको बताए । शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले मुलुक सङ्घीयतामा गइसकेकाले स्थानीय निकायको अधिकारअन्तर्गत माध्यमिक शिक्षा परेकाले स्थानीय स्रोट जुटाई तथा विभिन्न प्रगतिशील कर लगाएर शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिए । सांसद्हरु डा गणेशमान गुरुङ र बद्री पाण्डेले संविधानः मौलिक हक बनेको माविसम्मको निःशुल्क शिक्षाका लागि सरकार तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एक्सन एड र स्विस संस्था नोराडको अध्ययनमा आधारित नागरिक शिक्षासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । डोटी र कैलालीका विभिन्न २५ सामुदायिक विद्यालयमा भएको शिक्षकको सुविधान कम हुँदा पनि उनीहरुले राम्रोसँग नपढाएको उल्लेख छ ।

धुर्मुस सुन्तलीको प्रेरणाबाट बालबालिका विद्यालय जान थाले

गौशाला, चैत २ । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् । धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् । विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् । कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका थिए । बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् । बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् । जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पुर्याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताउनुभयो । दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ ।

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ, फागुन ३०। आगामी चैत ३ गतेदेखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइसकेको बताएका छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुनेछन् । परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताए परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।

भारतीय दूतावास अगाडि विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं, फागुन २७ । भारतले गरेको अत्याचारको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि त्यसकै विरोधमा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

बन्दका कारण लोकसेवा आयोगको परीक्षा नसर्ने– आयोग

काठमाडौं, फागुन २७ । विप्लव माओवादीले फागुन २८ मा नेपाल बन्दको घोषणा गरेपनि लोकसेवा आयोगको पूर्व निर्धारित राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बाको परीक्षा भने नसर्ने भएको छ । आयोगका सूचना अधिकारी गिताकुमारी होमेगाइले जनाए अनुसार, आयोगको उक्त परीक्षा निर्धारित तालिका अनुसार नै सञ्चालन हुने छ । “अन्तिममा आएर यस्तो अवस्था देखियो तर हामीले लामो तयारी गरेर तालिका बनाएका हुन्छौं, आकस्मिकरुपमा सार्न सम्भव नै हुँदैन” उनले भनिन, “बढीजसो स्कूलमा केन्द्र छन्, विदाको दिन मिलाएका हुन्छौं, सार्ने कुरा सहज र सजिलो हुन्न, निर्धारित तालिका अनुसार नै परीक्षा हुन्छ” नायब सुब्बा को परीक्षाका लागि राजधानीमा मात्रै १ सय १४ वटा केन्द्र रहेका छन् । आयोगले देशभरी नै एउटै प्रश्नपत्र वितरण गर्ने भएकोले कुनै स्थानमा स्थगित गर्न र कतै सञ्चालन गर्न समेत नमिल्ने उनले बताइन । “लाहान केन्द्र भएकादेखि अन्य स्थानबाट बारम्बार फोन आइरहेको छ । तर हामीले अहिले परीक्षा सार्न नै सक्दैनौं । केन्द्र पाउन गारो छ, अन्य कार्यतालिका पनि व्यस्त छन् । परीक्षार्थीलाई गारो हुने हामीले बुझेपनि स्थगित गर्न सकिन्न” उनले बताइन ।

आरआर क्याम्पस तनावग्रस्त, स्ववियु चुनाव अनिश्चित 

काठमाडौँ फागुन २३ । स्ववियु चुनावको विषयलाई लिएर राजधानीको रत्नराज्य क्याम्पसमा तनाव भएको छ । आन्तरिक विवादका कारण बारम्बार स्थगित चुनाव सोमबार गर्ने तय भएपनि विद्यार्थी संघसंगठनबीच चुनाव गर्ने नगर्ने विषयमा विवाद भएपछि तनाव भएको हो । चुनाव गराउने र नगराउने विषयलाई लिएर सो क्याम्पसमा अहिले नारावाजी भईरहेको छ । निर्वाचन समितीले आजका लागि तय गरेको मतदानममा सहभागी हुन विहानैबाट विद्यार्थीहरु लाइनमा बसेका थिए । तर विद्यार्थी समुहनै निर्वाचनको विरोधमा उत्रिएपछि निर्वाचन नै अनिश्चित बनेको छ । सो क्षेत्रमा अहिले उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कुनै अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीले बिद्यार्थीलाई नै क्याम्पस प्रवेशमा रोक लगाएको छ ।

आरआर क्याम्पसमा पुन: तालाबन्दी

काठमाडौं, फागुन २० । स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै भएको विवादमा प्रहरी र विद्यार्थीबीच झडप भएपछि अहिले राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर)मा पुनः विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । आज विहान ११ बजे मात्रै क्याम्पस प्रशासनले प्रहरीको सहयोगबाट ताला फोडेको आरआर क्याम्पसमा बेलुकी ६ बजे पुनः विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । विद्यार्थीमाथि क्याम्पस प्रशासनले प्रहरी दमन गरी एकलौटी रुपमा स्ववियु निर्वाचनको नयाँ मिति घोषणा गरेको भन्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले दमन गरेपछि लामो समय त्यस क्षेत्र तनाव ग्रस्त बनेको थियो । अखिल क्रान्तिकारी विद्यार्थी युनियन, नेवी संघलगायत विद्यार्थीसँगठनहरुले क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गरेका हुन् । हाल निर्वाचनका उम्मेदवारसमेत क्याम्पसभित्र छिर्न नदिई प्रशासन कडा प्रहरी सुरक्षा घेराभित्र रहेको क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार धु्वराज वाग्लेले जानकारी दिएका छन् । निर्वाचन प्रमुख हरिप्रसाद पराजुली भने विहानैदेखि सम्पर्कविहीन रहेका छन् ।

‘पुस्तकालयमा किताब राख्ने ठाउँ छैन’

काठमाडौँ, फागुन २० । भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या परेको छ । विसं २०६० असोजमा स्थापित उक्त पुस्तकालयमा पुस्तक धेरै र राख्ने ठाउँ थोरै छ । पुस्तकालयमा ४० हजारभन्दा बढी पुस्तक छन् । यसका ५७ संस्थापक सदस्य तथा एक हजार नौ सय दुई पाठक छन् । पाठकले सुरुमा रु एक हजार र वार्षिक रु दुई सय तिरेर सदस्य बन्न पाउँछन् । पुस्तकालय समाजको १३ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवम् पूर्वमन्त्री डा नारायण खड्काले ठाउँको अभावले सङ्घसंस्था र व्यक्तिले दिएको किताब राख्ने ठाउँ नभएको बताए । डा. खड्काले निम्नवर्गलाई ध्यानमा राखी पुस्तकालय खोलिएको बताउँदै यस्ता पुस्तकालयलाई राज्यले विशेष चासो दिनुपर्ने बताए । राष्ट्रपतिका परराष्ट्रविज्ञ डा. मदन भट्टराईले बौद्धिक वर्गका लागि पुस्तकालय स्थापना भएको बताउँदै राज्यले पुस्तकालयलाई हेर्ने सोच सकारात्मक हुनुपर्नेमा जोड दिए । पूर्वसचिव सुरेशमान श्रेष्ठले सार्वजनिक पुस्तकालयको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौला, पुस्तकालय समाजका उपाध्यक्ष याङ्किला शेर्पा, महासचिव तीर्थराज वन्तलगायतले विश्व नयाँ युगमा प्रवेश गरेसँगै पुस्तकालयको महत्व बढ्दै गएको बताएका छन् ।

प्रहरी र विद्यार्थीबीच आर आर क्याम्पसमा झडप, केही विद्यार्थी घाइते

काठमाडौं, फागुन २० । स्ववियु निर्वाचनकाे नयाँ  पुनः गर्ने या नगर्ने भनि बसेको वैठकमा विवाद उत्पन्न भएपछि राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर)मा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते समेत भएका छन् । क्याम्पस हातामा विद्यार्थी र प्रशासनबीच भएको वैठकमा प्रशासनले प्रहरी बल प्रयोग गरेर दमन गर्ने खोजेकाले यो झडप भएको विद्यार्थी अमृत रेग्मीले बताए । निर्वाचनका उम्मेदवार नै क्याम्पसभित्र छिर्न नदिई प्रशासनले एकतर्फी रुपमा निर्वाचनको नयाँ मिति घोषणा गरेकाले त्यसको विरोध गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएको क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार धु्वराज वाग्लेले जानकारी दिएका छन् । क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेका हुन् । निर्वाचन प्रमुख हरिप्रसाद पराजुली भने अहिलेसम्म सम्पर्कविहीन रहेका छन् । विद्यार्थीले पढ्न पाउने अधिकारलाई कुण्ठित पार्दै क्याम्पस प्रशासनले गस्ती लुकाएर राखेको आरोप विद्यार्थीले लगाएका छन् । आक्रोेशित भिडले क्याम्पस प्रमुखको राजिनामा माग्दै क्याम्पस हातामा नारा लगाएका थिए ।

परिवार गुमाएकाले छात्रवृत्ति पाउने छन् : जिशिअ

धनगढी, फागुन २० – वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने वैदेशिक रोजगार छात्रवृत्तिका लागि कैलालीमा ३३ वटा आवेदन परेको छ । मृतकका परिवारले आज जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टलाई संयुक्त रुपमा आवेदनउने क्रममा आवेदन बुझ्दै जिशिअ विष्टले परेका आवेदनलाई सम्बन्धित निकायमा सिफारिस गरी प्रक्रिया अगाडि बढाउने बताए । उनले परिवारजन गुमाएकाहरुलाई छात्रवृत्ति पाउने भन्दै नागरिकले राज्यबाट पाउने सुविधाका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको सहयोगमा जिल्ला शिक्षा कार्यालयमा वैदेशिक रोजगारको शिलशिलामा विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले आवेदन पेश गरेका हुन् । सुरक्षित आप्रवासन (सामी) परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले मृतक परिवारका विद्यार्थीहरुले सहज रुपमा छात्रवृत्ति पाउने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले मृतक परिवारका बालबालिकाको शिक्षा सहज हुने समेत विश्वास व्यक्त गरे । १८ वर्ष मुनिका बालकालिकाले सरकारी, सामुदायिक, संस्थागत र निजी विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था भएपनि प्ले ग्रुपका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधिले अझै समेट्न सकेको छैन ।

सानोठिमी क्याम्पसमा विजय जुलुस

भक्तपुर, २० फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको महत्त्वपूर्ण क्याम्पस सानोठिमी क्याम्पसमा अखिल९क्रान्तिकारी० र नेविसंघले संयुक्त विजय रर्याली गरेका छन्। आज सानोठिमी क्याम्पसवाट शुरु भएको जुलुस मगरगांउ,गठ्ठाघर हुँदै पुन क्याम्पसै आएर समापन भएको थियोे ।जुलुसपछि आयोजित सभामा अखिल९क्रान्तिकारी०का उपाध्यक्ष अनिल शर्मा,प्रवक्ता सुरेन्द्र बस्नेत र महासचिव वीरेन्द्र बस्नेत लगायतले सम्वोधन गरेका थिए। गत फागुन १८ गते भएको स्ववियु निर्वाचनमा क्रान्तिकारीका रमेश खड्काले नेतृत्व गरेको पुरै प्यानलले जितेको थियोे । स्ववियु अध्यक्ष रमेश खड्काले अनेरास्ववियुका लालबहादुर रोकायालाई ४६६ मतका साथ पराजित गरेका थिए । रोकायाले ३११ मत प्राप्त गरेका थिए । सचिव पदमा नेविसंघका राबहादुर केसि र कोषाध्यक्षमा अखिल९क्रान्तिकारी०का पार्वता शर्मा निर्वाचित भएकी छिन् ।