शुल्क वृद्धिको विरोधमा विद्यार्थी अनशनमा
इटहरी, साउन १ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको विरोधमा त्यहाँका विद्यार्थीहरु अनशनमा बसेका छन् । संस्थाले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेपछि धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका हुन् ।
नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन् ।
चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् ।
नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका हुन् । एकसाताअघि संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आंगिक क्याम्पसमा शुल्क बढेको विषयमा पत्राचार गरेपछि विद्यार्थी आन्दोलित भएका हुन ।
त्रिविको नियम विपरीत इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेकाले आफूहरु आन्दोलित हुनुपरेको अनशनमा बसेका अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपानको भनाइ छ ।
चेपाङ विद्यार्थीलाई छात्रवृत्ति
गोरखा, असार २८ । जिल्ला समन्वय समिति गोरखाले चेपाङ समुदायका २३ जना विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन जिल्ला समन्वय समिति गोरखाले २३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ । उच्च शिक्षा पढ्दै आएका (कक्षा ११ देखिमाथि अध्ययनरत) चेपाङ समुदायका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उक्त छात्रवृत्ति रकम प्रदान गरिएको हो । गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङ गाउँका ती विद्यार्थीलाई जनही रु चार हजार १६६ का दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको जिसस गोरखाका खरिदार रामप्रसाद पोखरेलले बताउनुभयो । २४ जनाका लागि छात्रवृत्ति आएको भए पनि एक जना पढाइ छाडेर जागिर खान गएपछि २३ जनालाई छात्रवृत्ति दिइएको हो । चेपाङ विकास कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न रु एक लाख बजेट आएको थियो । मकैसिङको विजया भवानी मावि, कुरिनटारको सर्वशान्ति मावि, भुम्लिचोकको भद्रकाली मावि र मजिरटारको शङ्खदेवी माविमा पढ्दै आएका विद्यार्थीलाई छात्रवृत्ति दिएको पोखरेलले जानकारी दिनुभयो । चेपाङलाई लोकसेवा तयारी कक्षा यसैगरी चेपाङ युवायुवतीलाई लक्षित गरी लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको पनि पोखरेलले बताउनुभयो । गत असार ११ गतेदेखि २५ गतेसम्म सदरमुकाममा सञ्चालन गरिएको उक्त तयारी कक्षामा स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य, तथ्याङ्क कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारी, श्रेष्तेदार गोविन्दप्रसाद घिमिरेलगायत प्रशिक्षण दिनुभएको थियो । लोकसेवा तयारी कक्षाका लागि रु एक लाख ५० हजार बजेट आएको पनि पोखरेलले जानकारी दिनुभयो ।
दलित विद्यार्थीलाई ४६६ सोलार बितरण
होम साउद अछाम, असार २० । अछामका बिभिन्न १६ बिद्यालयका दलित विद्यार्थीलाई ४ सय ६६ थान सोलार प्यानल बितरण गरिएको छ । शिक्षाको लागि उज्यालो कार्यक्रम अन्र्तगत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्र, जिल्ला उर्जा शाखामार्फत निमावि र मावि तहका ४ सय ६६ जना दलित विद्यार्थीलाई सोलार प्रदान गरिएको हो । दलित, गरिव र बिपन्न परिवारका विद्यार्र्थीहरुको शैक्षिक गुणस्तर बृद्धि गरि सिकाई स्तर राम्रो बनाँउने उद्देश्यका साथ सत प्रतिशत अनुदानमा सोलार प्यानल बितरण गरिएको जिल्ला उर्जा अधिकृत प्रिन्सेस प्रधानले बताए । १६ लाख ४५ हजार ४ सय ४६ रुपैयाँ बराबरको लागतमा प्रति बिद्यार्थि १० वाटको १ सेटका दरले सोलार प्यानल निशुल्क दिइएको उनले बताए । बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रले २०७३ असोज १९ मा प्रस्तावना आह्वान गरेको जिल्ला शिक्षामार्फत प्रस्ताव पेश गरेका १६ वटा बिद्यालयका लक्षीत विद्यार्थी कार्यक्रमभित्र परेको उर्जा अधिकृत प्रधानले जानकारी दिए । वडा तथा गाउँपालिका सचिवको सिफारिसमा दलित तथा गरिब विद्यार्थीको तथ्यांक सहित जिल्ला शिक्षा मार्फत बैकल्पिक उर्जा प्रर्बद्धन केन्द्रमा फाईल पठाईएको र स्वीकृत भई आएका ४ सय ६६ विद्यार्थीलार्ई सोलार अनुदानमा बितरण गरिएको उनले बताए । उज्यालो बाट घरमा अध्ययन र गृहकार्य गर्न बञ्चित हुनुपर्ने दलित र बिपन्न परिवारका विद्यार्थीलार्ई यसवाट निकै राहत हुने सूर्यचन्द्र मावि कालिमाटीका प्रधानअध्यापक देबेन्द्रबहादुर शाहले बताए । कार्यक्रमले गैरदलित समुदायका पनि गरिब, अति बिपन्न तथा अनाथ र टुहुरा विद्यार्थीलाईसमेत समेट्न सकेको भए थप प्रभावकारी हुने उनले बताए । यस्तै शिक्षाको आधार स्तम्भ प्राथमिक तह भएकाले प्राथमिक तहका विद्यालयमा पनि यस्ता खालका कार्यक्रम लागु हुन जरुरी रहेको जाल्पा देवी आधारभूत विद्यालय मंगलसेन नगरपालिका १, ढुंगानीका प्रधानअध्यापक काशिराम उपाध्यायको भनाई रहेको छ । कार्यक्रमले विद्यामन्दिर मावि, कुन्ति मावि, दुर्गादेवी मावि, सूर्यचन्द्र मावि लगायतका १६ विद्यालयका लक्षीत विद्यार्थीलाई यो वर्ष समेटेको छ ।
तलबी अनुदान कटौती भएपछि विद्यालय समस्यामा
म्याग्दी, असार ११ । तलबी अनुदान (पिसिएप) कटौती भएपछि म्याग्दीका सामुदायिक विद्यालय समस्यामा परेका छन् । प्रतिविद्यार्थी लागतको अनुपातमा विद्यालयलाई उपलब्ध गराइँदै आएको अनुदान कटौती भएपछि दरबन्दी नभएका सामुदायिक विद्यालयका शिक्षकलाई तलब दिन समस्या भएको हो । चालु आवमा अनुदान कटौती भएपछि निजी स्रोतका शिक्षकलाई तलब भत्ता खुवाउन नसकिएको धौलागिरि गाउँपालिका–३ मा रहेको धनजनता माविका प्रधानाध्यापक पुस्कर भण्डारीले बताउनुभयो । “शिक्षा कार्यालयबाट प्राप्त हुने पिसिएफ अनुदानले निजी स्रोतका र तल्लो तहमा दरबन्दी भएर माथिल्लो तहमा अध्यापन गर्ने शिक्षकलाई तलब खुवाउन सहयोग मिलेको थियो”, प्रअ भण्डारीले भन्नुभयो – “चालु आवमा अनुदान नआउँदा निजी स्रोतका शिक्षकलाई तलब दिन नसकेर विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।” जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक दलबहादुर थापाले चालु आवदेखि विभागले देशभरका विद्यालयलाई दिँदै आएको तलबी अनुदान कटौती गरेको जानकारी दिनुभयो । –ः १० ः– “विगतमा आवको अन्तमा अनुदान आउने गरेको थियो”, थापाले भन्नुभयो – “यसपालि अनुदान नै कटौती भएको जानकारी आएको छ । दरबन्दी नभएका आधारभूत र माध्यमिक विद्यालयलाई समस्या भएको छ ।” गत आव २०७२÷७३ मा म्याग्दीका सामुदायिक विद्यालयमा रु ६२ लाख तलबी अनुदान वितरण गरिएको थियो । म्याग्दीमा २३२ वटा सामुदायिक विद्यालय रहेका छन् । १९ वटाको मावि, १९ वटाको आधारभूत तहमा दरबन्दीका शिक्षक छैनन् । नौवटा १–५ तहको पठनपाठन हुने विद्यालयले अहिलेसम्म दरबन्दी नपाउँदा निजी स्रोत जुटाएर शिक्षक पाल्दै आएका छन् ।
सीटीईभीटी प्रवेशमा परीक्षामा चर्को शुल्क
काठमाडौं, असार ११ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले परीक्षा खर्च भन्दै विद्यार्थीसँग फारमको एक हजार पाँच सय रुपैयाँ उठाइरहेका छन् । प्राविधिक विषयमा कम शुल्क लिएर विद्यार्थी आकर्षित गर्नुपर्नेमा सीटीईभीटीले गत बर्षभन्दा ५ सय रुपैयाँ बढाएर फारम विक्रि गरिरहेको छ । साधारणतर्फको ११ कक्षामा भर्ना एक सय २५ रुपैयाँ लिइरहेको छ भने, प्राविधिक शिक्षा अध्ययन गर्न चाहनेले थप १ हजार ३ सय ७५ रुपैयाँ तिर्नुपर्छ, कान्तिपुरमा खबर छ ।
कोरियन भाषा परीक्षाको नतिजा साउन ११ गते
काठमाडौं, असार ९ । गत २७ र २८ गते परीक्षा दिइएको कोरियन भाषाको परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने भएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भएपनि आन्तरिक कारणबस नतिजा सार्वजनिकमा ढिला हुन पुगेको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । त्यस्तै गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ । गत जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए । उनीहरुलाई कम्प्युटर मार्फत परिक्षा लिइने भएको छ ।
खाेलाले बगाइँ विद्यार्थीको मृत्युपछि विद्यालयमा तोडफोड
सोलुखुम्बु, असार ९ । खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएपछि तिनका आफन्तले विद्यालयमा तोडफोड गरेका छन् । विद्यालय प्रशासनको लापर्बाहीका कारण विद्यार्थीको मृत्यु भएको आरोपसहित आफन्तले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका हुन् । विद्यालय प्रशासनले घटनाको जिम्मा लिनुपर्ने र उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ । विद्यालय परिसरमै शव राखेर उनीहरुले बिहीबार साझदेखिनै विद्यालय घेराउ गरेका थिए । अहिले विद्यालय व्यवस्थापन समिति र मृतकका आफन्तबीच छलफल भइरहेको प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिए । बिहीबार अपराह्न ५.३० बजे दूधकौसीका गाउँपालिका– १ नेलेस्थित जोगरामा रेहको खहरे खोलाले बगाउँदा सोही स्थानको हिमशिखर बोर्डिाङ स्कुलमा एल केजीमा अध्ययनरत– सात वर्षीया सागर कटुवाल र कक्षा– २ मा अध्ययनरत– ८ वर्षीया रचना बस्नेतको घटनास्थलमै मृत्यु भएको थियो । सोही खोलाले बगाउँदा दूधकौसीका गाउँपालिका– १ जोगराका २५ वर्षीया गणेश बस्नेत र सात वर्षीया सञ्जु कटुवालसमेत घाइते भएका थिए ।
लमुङमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु
बेँसीसहर, असार ९ । लमजुङका विभिन्न विद्यालयमा ‘स्कुल बैंक’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गर्न तथा बचत गर्ने बानीको विकास गराउन ‘स्कुल बैंक’ कार्यक्रम सुरु गरिएको हो । फिनलिट नामक संस्थाले नविल बैंकको सहकार्यमा सुरु गरिएको सो कार्यक्रमअन्तर्गत पहिलो चरणमा बैंकको उपयोगिता, बचतबाट हुने फाइदा र निक्षेपका बारेमा विद्यार्थीलाई अभिमुखीकरण गरी खुत्रुके वितरण गरिएको संस्थाका निर्देशक प्रकाश कोइरालाले बताए । उनका अनुसार, खुत्रुकेमा जम्मा भएको रकमलाई प्रत्येक महिना नविल बैंकमा जम्मा गर्ने सम्झौता भएको छ । यो कार्यक्रमबाट विद्यार्थीमात्र नभई अभिभावकलाई पनि वित्तीय साक्षरता प्राप्त हुने र फजुल खर्च नियन्त्रणमा सहयोग पुग्ने विश्वास लिएको कोइरालाले बताए ।
त्रिविद्वारा एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, असार ६ । त्रिभुवन विश्वविद्यालय एमए दोस्रो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा नियन्त्रण बल्खु शाखाद्वारा एमए पोलटिकल साइन्स, इतिहास र मैथली विषयको परीक्षाफल सार्वजनिक भएको हो । चार वर्षे बिएफए पहिलो वर्षको, एमए दोस्रो वर्ष र एलएलबी दोस्रो वर्षको नतिजा प्रकाशित गरिएको छ ।
केन्द्रमा थुप्रियो शिक्षाको बजेट, स्थानीय तहमा तलब मात्रै
प्रकाश सिलवाल) काठमाडौँ, १ असार । संविधानतः माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक तलबबाहेक शिक्षाका अन्य कार्यक्रमको बजेट केन्द्र सरकारमै राखिएको छ । सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको आव २०७४÷०७५ को वार्षिक आयव्ययको विवरणमा शिक्षा क्षेत्रका लागि विनियोजित रु एक खर्ब २६ अर्ब ७८ करोड ६४ लाख ३७ हजार (कुल बजेटको ९.९१ प्रतिशत) मध्ये स्थानीय तहमा शिक्षाका लागि रु ६० अर्ब ६६ करोड ६४ लाख ३७ हजार व्यवस्था गरिएको छ । त्यसमध्ये रु ५० अर्ब ८१ करोड (शिक्षा बजेटको ८४.१७ प्रतिशत) कक्षा १ देखि १० सम्मका शिक्षकको तलब सुविधा र प्रशासनिक खर्चमा उपयोग हुनेछ । केन्द्रीय सरकारले शिक्षा क्षेत्रमा खर्च गर्ने रकम स्थानीय तहले पाउनेभन्दा बढी रु ६६ अर्ब १२ करोड छ । स्थानीय तहमा छात्रवृत्तिका लागि करिब रु साढे दुई अर्ब बजेट छ । “अधिकारसम्पन्न स्थानीय तहलाई शिक्षक तलब र छात्रवृत्तिको बजेट मात्र पठाइनुले केन्द्र सरकारले अझै अधिकार स्थानीय तहमा दिन नखोजेको देखिन्छ”, शिक्षाविद् डा विद्यानाथ कोइरालाले आज शिक्षा पत्रकार समूहको अन्तक्र्रियामा भन्नुभयो, “गुणस्तरीय शिक्षाको नागरिकको अधिकार पूरा गराउन स्थानीय निकायलाई स्रोतसाधन सम्पन्न बनाउन सरकार व्यावहारिक रुपमा तयार हुनुपर्छ ।” सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले पहिलो पटक स्थानीय तहमा बजेट जान सुरु हुनु सकारात्मक हो भन्दै खर्च गर्नसक्ने क्षमता र कतिपय केन्द्रीय निकायले आफूमा बजेट राख्न चाहिरहेको अवस्थाले शिक्षाका अन्य बजेट तल नगएको बताउनुभयो । उहाँले माध्यमिक शिक्षा सञ्चालनको अधिकार स्थानीय तहको हो भन्ने संविधानमा स्पष्ट भएकाले अब जिल्ला शिक्षा कार्यालय जस्ता निकाय र तिनका लागि बजेट कायम राखिरहनु आवश्यक नभएको स्पष्ट गर्नुभयो । रुकुमको आठबिसकोट नगरपालिका प्रमुख गोरखबहादुर केसीले शिक्षामा सबै जिम्मेवारी दिए पनि पर्याप्त बजेट नदिइएको गुनासो गर्नुभयो । शिक्षकको तलब मात्रै स्थानीय तहमा पठाएर शिक्षाको व्यवस्थापन र सुधार सम्भव नहुने उहाँको तर्क छ । रासस
ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न
काठमाडौंँ, जेठ २९ । काठमाडौँ तिनकुनेमा अवस्थित ट्रिटन इन्टरनेशनल कलेजको दोस्रो ट्रिटन ट्यालेन्ट हन्ट २०७४ सम्पन्न भएको छ । जसअन्तर्गत डान्स, गायन र हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसअनुसार गायनतर्फ सञ्जिव श्रेष्ठ प्रथम, सरोज तामाङ्ग द्वितीय र अर्मन चौधरी तृतीय भएका छन् । हाजिरजवाफतर्फ रोशन विष्ट प्रथम, राजबाबु चौधरी द्वितीय, र शिशिर दाहाल तृतीय भएका छन् । त्यसैगरी डान्स विद्यातर्फ श्रृजना श्रेष्ठ प्रथम, श्रृष्टी खड्का द्वितीय र सुनिल सिंह तृतीय भएका छन् । बिजेताहरुलाई शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले एक समारोहका बीच सम्मान गरे । त्यसरी नै ‘ट्रिटन ट्यालेन्ट हन्ट २०७४’ को दोस्रो संकायका विजेताले कलेजमा निःशुल्क छात्रवृति पुरस्कार तथा प्रमाणपत्र पाएका छन् । स्मरण रहोस्, ट्रिटन कलेजले गत वर्षदेखि यस ट्रिटन ट्यालेन्ट हन्ट को आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले आ–आफ्नो प्रस्तुती दिदैं विद्यार्थी र उपस्थित सबैलाई मनोरञ्जन प्रस्तुत गरेका थिए । कार्यक्रममा कलेजका प्राचार्य प्रा.डा.बिहारी बिनोद पोखरेल, अध्यक्ष विश्वनाथप्रसाद शाह, सह–प्राचार्य श्रीकृष्ण विष्टलगायतले आ–आफ्नो मन्तब्य राखेका थिए ।
विद्यालयलाई साढे आठ लाख सहयोग
पर्वत, जेठ २९ । पर्वतमा क्रियाशील लायन्स क्लब अफ कुश्मा सिटीले जिल्लाका विभिन्न विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ । विपन्न बालबालिकाले अध्ययन गर्ने जिल्लाका नौ वटा विद्यालयलाई कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, बोर्ड तथा अन्य शैक्षिक सामग्री गरी रु साढे आठ लाख बराबरका सामग्री सहयोग गरेको हो । जापानमा रहेको लायन्स क्लब अफ नाागासाकीको सहयोगमा उक्त सहयोग गरिएको हो । अध्ययनको सिलसिलामा जापानमा रहेका पर्वतको मोदी गाउँपालिका–२ पातीचौर निवासी ठाकुरबहादुर पौडेल र लायन्स क्लब अफ कुश्मा सिटीका संस्थापक सदस्य उषा पौडेल भण्डारीको पहलमा उक्त सहयोग प्राप्त भएको हो । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रीक ३३७ सी टु आर जापानअन्तर्गतका विभिन्न पाँच वटा क्लबले उक्त सहयोग पाएका हुन् । सरस्वती मावि मोदी–२ को लागि कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर सोही ठाउँको विद्याज्योति प्राविका लागि पुस्तक, ह्वाइट बोर्ड र अन्य शैक्षिक सामग्री, पञ्चकोसी उच्च मावि आर्थरका लागि एक एक थान कम्प्युटर प्रिन्टर र प्रोजेक्टर सहयोग गरिएको छ । त्यसैगरी सिद्ध मावि पाङराङका लागि कम्प्युटर, वीरेन्द्र उच्च मावि पकुवाका लागि पुस्तक, ह्वाइट बोर्डलगायत अन्य शैक्षिक सामग्री, विद्याज्योति मावि माझफाँटकालाई प्रिन्टर र प्रोजेक्टर, काफलचौर उच्च मावि दुर्लुङको लागि पुस्तक, बोर्ड र शैक्षिक सामग्री, खौलालाकुरी मावि खौलाको लागि प्रोजेक्टर र बोर्ड सहयोग गरिएको हो ।
कृषि क्याम्पस स्थापनाको पहल
धनगढी, जेठ १ । कैलालीको गौरीगङ्गा नगरपालिकामा स्नातक तह विज्ञान सङ्काय (बिएस्सी एजी) स्तरको कृषि क्याम्पस स्थापनाको पहल थालिएको छ । ‘भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स’ क्याम्पस स्थापनाका लागि सम्भाव्यता अध्ययनसमेत सुरु गरिएको भिलेज एग्रिकल्चर कलेज अफ नेचुरल साइन्स प्रालिका अध्यक्ष हरि रिजालले जानकारी दिनुभयो । देश सङ्घीयतामा गइसकेको अवस्थामा परम्परागत र निर्वाहमुखी कृषि प्रणालीलाई वैज्ञानिक व्यावसायिकीकरण गर्दै ७ नं प्रदेशको विकासमा टेवा पु¥याउन योग्य कृषि विशेषज्ञ उत्पादन गर्ने लक्ष्यका साथ क्याम्पस स्थापनाको पहल थालिएको उहाँले बताउनुभयो । “कृषि उत्पादनको दृष्टिमा कैलालीको जग्गा उर्वर भएको भए पनि अझैसम्म परम्परागत खेती प्रणाली भइरहेका कारण कृषिको उत्पादन र उत्पादकत्व बढ्न सकेको छैन,” रिजालले भन्नुभयो । उन्नत कृषि प्रणाली, पशुपालन, मौसमी तथा बेमौसमी खेतीका बारेमा पठनपाठन गर्ने व्यवस्थासहित योग्य कृषि विशेषज्ञ जनशक्तिको उत्पादन गर्न क्याम्पस स्थापना गर्न लागिएको हो । निकट भविष्यमा सञ्चालनमा आउने सो क्याम्पसको लागत करिब रु दुई करोड रहेको छ । क्याम्पस स्थापनाका लागि आठ बिगाहा जग्गा आवश्यक पर्नेमा हाल तीन बिगाहा जग्गा खरिद गरिएको छ ।
विप्लव नेतृत्वको विद्यार्थी संगठनको आन्दोलनले पठनपाठन ठप्प
कैलाली, वैशाख २५ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट नेपाल राष्ट्रिय विद्यार्थी यूनियन (क्रान्तिकारी) ले आह्वान गरेको शैक्षिक आमहडतालका कारण सोमबार कैलालीमा पठनपाठन प्रभावित भएको छ । पक्राउ परेका आफ्नो कार्यकर्ताको रिहाई र शैक्षिक क्षेत्रको विकृति सुधारको माग गर्दै सो विद्यार्थी संगठनले सोमबारदेखि अनिश्चितकालिन शैक्षिक आमहडताल गरेको जनाएको छ । केही दिनअगाडि विद्यालय सञ्चालकमाथि कालोमोसो दलेको आरोप प्रहरीले सो संगठनका रमेश साउँदलाई पक्राउ गरेको छ । प्रशासनले आफ्नो कार्यकर्ताको रिहाइ नगरेको भन्दै क्रान्तिकारीले शैक्षिक आमहडताल गरेको जनाएको छ ।
राष्ट्रपति,प्रधानमन्त्री,सभामुख लगायत १२ जनाविरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडौं, बैशाख २४ । अस्थायी शिक्षकहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्य सचिव र शिक्षामन्त्रीलगायत १२ जनाबिरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता गरेका छन् । राजधानीमा पत्रकार सम्मेलन गर्दै अस्थायी शिक्षकहरुले २०६३ को शिक्षा ऐन र सर्वोच्च अदालतको परमादेश विरुद्ध कार्यगरेका भन्दै पदबाट बर्खास्त साथै, विभागीय कार्बाही सहित अदालतको अपहेलनामा सजाय गरिपाऊँ भनी मुद्दा दायर गरेकोे जनाएका छन् । पुनरुत्थान पार्टी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा अस्थायी शिक्षकहरुले लोकतन्त्रको खारेजी गर्दै शैनिक शासन र राजतन्त्र फर्काउनुपर्ने समेत माग गरेका थिए । अस्थायी शिक्षकहरुले राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख ओनसरी धर्ती, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, मुख्य सचिव सोमलाल सुवेदी, शिक्षामन्त्री धनीराम पौडेल, शिक्षक सेवा आयोगका अध्यक्ष ताना गौतम विरुद्ध मुद्दा दर्ता गराएको जनाएका हुन् । त्यस्तै, शिक्षा सचिव शान्ताबहादुर श्रेष्ठ, प्रधानमन्त्री कार्यालय अन्तगर्तको फैसलारआदेश कार्यान्वयन अनुगमन समितिका संयोजक राजिव गौतम, समितिका सदस्य एवं सह न्यायाधिवक्ता किरण पौडेल, सदस्य एवं कानून मन्त्रालयका सहसचि रमेश ढकाल, शिक्षक सेवा आयोगक प्रशासकिय प्रमुख लक्ष्मीराम पौडेल र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल विरुद्ध अपहेलनाको मुद्दा दर्ता गराएको जनाएका छन् । शिक्षा ऐन, २०२८ को दफा ११ च मा २०६३–०९–१४ मा पछि थप गरिएको उपदफा १क, १ख र १ग मध्ये १क र १ख को व्यवस्था अस्थायी शिक्षकलाई स्थायी गर्ने तर्फको विशेष व्यवस्था भएको जनाइएको छ । साथै, १ग को व्यवस्था उपदफा १ क र १ ख बमोजिम प्रतियोगिताबाट स्थायी हुन नसकेका शिक्षकलाई शिक्षकलाई दिनुपर्ने सुविधा सम्बन्धी व्यवस्था भएकोले सो सम्बन्धमा तुरुन्त निर्णय गरी त्यस्तो सुविधा दिने दिलाउने कार्य गर्नुभनी २०६६ माघ २४ मा सर्वोच्च अदालतबाट भएको परमादेशको आदेश कार्यान्वयन नगरेर अदालतको अपहेलना गरेको उनीहरु माथि आरोप लगाइएको छ । पत्रकार सम्मेलनमा, प्रभात मावि काठमाडौंका अस्थायी शिक्षक सुर्य तिवरीले दल र दलिय लोकतन्त्रले खोसेको न्याय सैनिक र राजासँग फर्काइदिन आग्रह गरे । सर्वोच्चको परमादेश नमानेर राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, शिक्षामन्त्री लगायतले कानूनी राज्यको धज्जी उडाएको उनले आरोप लगाए । अधिवक्ता कोषराज काफ्लेले अहिलेको सरकारले स्नाकोत्तर गरेका शिक्षकलाई प्रावि तृतीय श्रेणीमा झारेको, सवै अस्थायी शिक्षकलाई आयोगमा प्रतिस्पर्धा गर्न नदिएको, सर्वोच्च अदालतको परमादेशको अपहेलना गरेकाले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई बर्खास्त गर्न माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिए । सुर्योदय आधारभूत विद्यालय इलामकी अस्थायी शिक्षक समिक्षा कुमारी ढकाल(निरौला)ले आफुसँग योग्यता, अनुभव, अध्यापन अनुमति पत्र हुँदा समेत तालिम नभएको बहानामा विज्ञापनमा प्रतिस्पर्धा गर्नबाट वञ्चित गरिएको आरोप लगाइन । पुनरुत्थान पार्टी नेपालका नेता शरद मिश्रले सर्वोच्च अदालतको अपहेलना गर्ने राष्ट्रपति, प्रधानमन्त्रीलाई अपदस्त गरी जेल नपठाएसम्म अस्थायी लगायतका शिक्षक कर्मचारीले न्याय नपाउने बताए ।
किशोरी शिक्षाको प्रभावले बालिका विद्यालय जान तयार
महोत्तरी, वैशाख २३ । वल्र्ड एजुकेसनको सहयोगमा सञ्चालित किशोरी शिक्षा कार्यक्रमको प्रभावको कारण महोत्तरीका सयौँ बालिका विद्यालय जान तयार भएका छन् । चरम गरिबीको कारण घरको काममा सीमित रहेका यस क्षेत्रका दलित तथा मुस्लिम समुदायका बालिकाहरु किशोरी शिक्षाको प्रभावले विद्यालय भर्ना हुने तरखरमा रहेका छन् । घरको कामसँगै विद्यालय भर्ना हुने अवसर जुट्ने भएकाले किशोरी शिक्षामा पढ्न सुरु गरेको रामगोपालपुर गाउँपालिका– ४ बसविट्टीकी शोभा कुमारी सदाले बताइन् । किशोरी शिक्षाको सम्बन्धमा आमा बुबालाई सम्झाएपछि आफू पढ्न पाएकी शोभाले बताइन् । उनीसँगै सो वडाका २३ बालिका कक्षामा समावेश भएका छन् । प्राय शिक्षाबाट टाढै राखिने मुस्लिम बालिकाहरू किशोरी शिक्षाका थप कक्षामा धक खोलेर पढ्दै छिन् । प्रायः १४ वर्ष माथिका ती किशोरी केही उर्दू पढ्दापढ्दै छोडेका कोही सामुदायिक विद्यालयकै एक वा दुई कक्षासम्म पढेर छोडेको र अधिकांश विद्यालयको मुख नै नदेखेका समेत रहेकोमा हाल किशोरी शिक्षा कार्यक्रमले उनीहरुलाई विद्यालय भर्ना हुन मद्दत गरेको किशोरीहरुको भनाइ छ । समाज विकास केन्द्रको सहजीकरणमा सञ्चालित किशोरी शिक्षा कक्षामा अध्यनरत अधिकांश किशोरी आफूहरु अव विद्यालय भर्ना हुन तयार रहेको र भर्ना हुन परीक्षा नै लिए निर्धक्कसाथ परीक्षा दिनसक्ने बताउँछन् । किशोरी शिक्षा कक्षामा सरसफाइ, बालविवाहका साथै विभिन्न आधारभूत शिक्षाका साथै विद्यालयमा पढाइने ज्ञानसमेत दिइएको पर्सा देवाड की– १४ वर्षीय फरहिन खातनु बताउँछिन् । उनीसँगै आमा कक्षामा अध्ययनरत उनकी आमाले आफूले समेत कक्षामा आएर विभिन्न कुरा सिकेको र सो व्यवहारमा समेत उतार्ने गरेको बताइन् । त्यस्तै सम्सीकी– १२ वर्षीय जिकरा खातुनले आफूले सोही कक्षामा बालविवाह गर्न नहुने शिक्षा पाएकाले आफू बालविवाह नगर्ने प्रण गर्दै अरुलाई समेत बालविवाह नगर्न जनचेतना जगाउने बताइन् । किशोरी शिक्षाको माध्यमले विद्यालय भर्ना हुनपढ्दै गरेकी किशोरीहरुलाई आफ्नो पढाइलाई निरन्तरता दिन सम्बन्धित सरोकारवाला निकायसमक्ष जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक अरुण शङ्कर पाठकले आग्रह गर्नुभएको हो । उहाँले शिक्षा भए जीवन उज्यालो हुने बताउँदै कुनै पनि हालतमा पढाइ नछोड्न आग्रह गर्नुभयो । त्यस्तै महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि खुश्वु जयसवालले किशोरी शिक्षामा अध्ययनरत किशोरीहरुको पढाइप्रतिको जाँगर देखेर आफू निक्कै प्रभावित भएको बताउनुभयो । उहाँले किशोरीहरुले पढाइलाई निरन्तरता दिनसके उनीहरुले समाज र देशकै अनुहार फेर्नसक्ने बताउनुभयो । समाज विकास केन्द्रले जिल्लाका विभिन्न स्थानमा सञ्चालित १६ वटा कक्षाको माध्यमले ५२० किशोरीलाई विद्यालय भर्ना हुन सक्षम बनाउन कक्षा सञ्चालन गर्दै आएको छ भने किशोरी शिक्षामा अध्ययनरत किशोरीहरुका २१५ जना आमालाई समेत शिक्षाको साथै चित्रकलालगायतका तालिम दिई आत्मनिर्भर बनाइरहेको छ ।