संबिधान कार्यान्वयनबारे अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतको यस्तो धारणा

२३ माघ,काठमाडौं ।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने माग राखेका छन्। बस्नेतले निर्वाचन हुंदैमा मात्र संविधानको कार्यन्वयन भएको मान्न नसकिने दावी गरे।


बस्नेतले नेपालको संविधानले शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरे पनि अझसम्म त्यसको कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाए। बस्नेतले भने -‘ शिर्ष नेताहरु चुनाव भएपछि संविधान कार्यान्वयन भइहाल्छ भन्छन्, तर हामी त्यसले मात्र संविधान कार्यान्वयन भएको मान्दैनौं।’

शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने जिकिर गर्दै बस्नेतले भने-‘ राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्र पनि त संविधान कार्यान्वयन हुनुपर्यो नि !’ बस्नेतले विद्यमान शिक्षा प्रणालीले वर्गीय खाडल झनझन् गहिरो वनाउंदै लगेको आरोप लगाए।

आज पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हिकास्ट कलेजमा आयोजित अखिल(क्रान्तिकारी) नवौं क्याम्पस सम्मेलनमा उपमहासचिव मिलन एमसि,सचिव डा.अच्युत भट्ट, केन्द्रीय सदस्यहरु वालकुमार केसि,जेपि यादव,सरोज वोहरा ,जिल्ला अध्यक्ष टोपेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए।सम्मेलनवाट चन्द्रप्रकाश कार्की नेतृत्वमा २७ सदस्यीय क्याम्पस समिति निर्वाचित भएको छ।

समायोजन प्रक्रिया शुरु नहुँदै कर्मचारीले सरुवाका लागि निवेदन

काठमाडौँ, पुुस १२ । कर्मचारी समायोजन नियमावली नै तयार नहुँदा पनि कर्मचारीले सरुवाका लागि माग गर्न थालेका छन् । नियमावली जारी गरिसकेपछि कर्मचारीलाई केन्द्र, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने भने पनि अहिलेदेखि नै कर्मचारीले आफूलाई पायक पर्ने ठाउँमा सरुवा माग गर्न थालेका हुन्। सामान्य प्रशासन मन्त्रालयले नियमावली जारी गरेपछि समायोजनमा जान चाहने कर्मचारीलाई आह्वान गरेर समायोजन गर्ने जनाएको छ । केही कर्मचारीले अहिले नै सरुवा माग गरेको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । “हामीले नियमावली जारी गरिसकेपछि औपचारिकरुपमा कर्मचारी समायोजन गर्दा तीन तहमा कर्मचारी पठाउँछौँ” उहाँले भन्नुभयो, “तर केही कर्मचारीले भने आफूलाई पायक पर्ने भन्दै सरुवाका लागि निवेदन दिएका छन् ।” उहाँका अनुसार अहिले प्रदेश तहमा जानका लागि १५ जनाको निवेदन आएको छ । कर्मचारीलाई समायोजन गर्दा कार्यरत पदको ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना वा नागरिकताको आधारमा गर्ने व्यवस्था गरिएको छ । नियमावली आइसकेपछि मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले तयार पारेको प्रतिवेदनका आधारमा कुन तहमा कति कर्मचारी चाहिन्छ भनेपछि मात्र समायोजनको प्रक्रिया हुनेछ ।

२९ विदेशीसहित १३४९ विद्यार्थी दीक्षित

धुलिखेल, मंसिर २९ । काठमाडौ‌ विश्वविद्यालयको शुक्रबार आयोजित २३ औं दीक्षान्त समारोहमा विभिन्न तहका एक हजार ३४९ विद्यार्थी दीक्षित भएका छन् । तीमध्ये ११ देशका २९ विदेशी विद्यार्थी छन् । दीक्षित हुनेमा विद्यावारिधिमा २१, दर्शनाचार्य (एमफिल)मा ५१, एमइमा २५, मास्टर इन फार्मेसी, मास्टर इन टेक्नोलोजी एमएस्सीमा ४५, मास्टर इन बिजनेस एडमिनिस्टे«शन र इएमबिएमा १०९ तथा एमए र एमइडीमा १२७ जना गरी स्नातकोत्तर तहमा ३८८ छन् । त्यस्तै बिइमा २२७, बिफार्मेसी, बिएस्सी र बिटेकमा १८८, बिबिए, बिबिआइएस र बिएचटिएममा ३५० र अन्य विषयमा स्नातक गरी १९६ जना स्नातक विद्यार्थी दीक्षित भएका हुन् । विश्वविद्यालयबाट हालसम्ममा स्कुल अफ मेडिकल साइन्समा १२ हजार २३६ , स्कुल अफ इञ्जिनीयरिङमा दुई हजार ९२८, स्कुल अफ साइन्सबाट दुई हजार ५९० , स्कुल अफ एजुकेशनबाट एक हजार ३९, स्कुल अफ आर्टस्बाट दुई हजार ९७ र स्कुल अफ म्यानेजमेन्टबाट चार हजार ९८३ जना स्नातक दीक्षित गराइसकिएको छ । हालसम्म २५ हजार ८७३ जना स्नातक गरेका विद्यार्थी उत्पादन भइसकेका छन् । धुलिखेलमा आयोजित समारोहमा विश्वविद्यालयका सहकुलपति उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थी राष्ट्र निर्माणका काममा लाग्ने विश्वास व्यक्त गरे । उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले विपन्न परिवारमा जन्मेका अधिकांश व्यक्तिले कहिल्यै विश्वविद्यालय देख्न पाउने अवस्था नरहेकाले यस्तो अवस्थालाई सरकार र समाजको सहयोग लिएर बदल्नुपर्ने बताए ।

बेपत्ता पत्रकारका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

रोल्पा, मंसिर १६ । रोल्पाका बेपत्ता पत्रकार धनबहादुर रोकाका छोराछोरीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । नेपाल पत्रकार महासंघ रोल्पाको १२ औँ स्थापना दिवसका अवसरमा आज लिवाङमा आयोजित एक कार्यक्रममा रु पाँच हजार बराबरको कापी कलमलगायतका सामग्री हस्तान्तरण गरिएको हो । रोल्पामा रहेको होलीभिजन माविमा अध्ययनरत रोकाका दुई छोराछोरीको अध्ययनका लागि आर्थिक अभाव रहेका कारण सो सामग्री हस्तान्तरण गरिएको हो । बेपत्ता पत्रकारको सम्मान तथा छोराछोरीको अध्ययनमा समेत टेवा पुगोस् भनेर जिल्लामा मानव अधिकारको क्षेत्रमा क्रियाशील संस्था मानवअधिकार सचेतना केन्द्रसँग समन्वय गरी सो सहयोग हस्तान्तरण गरेका हौँ पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष दारासिंह डाँगीले भन्नुभयो । रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतमा कार्यरत पत्रकार रोका रोल्पाबाट कार्यक्षेत्र जाने क्रममा २०६२ सालमा प्यूठानको भिंग्रीबाट अपहरण पर्नुभएको थियो । अपहरण पश्चात् विभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय मानवअधिकारवादी संघ संस्थाले अविलम्ब अवस्था सार्वजनिक गर्न दबाब दिएको भए पनि अहिलेसम्म पत्रकार रोकाको अवस्था सार्वजनिक हुन सकेको छैन ।

विद्यालयको चारकोठे भवन निर्माण

पोखरा, मंसिर १६ । पोखरा लेखनाथ महानगरपालिका–३२ खुदीखोलाको किनारमा रहेको आराधना सीता आधारभूत विद्यालयको चारकोठे पक्की भवन निर्माण भएको छ । लायन्स क्लब अफ पोखरा कैैलाश चौतारीको करिब रु १० लाख ५० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो । क्लबले विद्यालयको भवनसँगै फर्निचरको पनि व्यवस्था गरिदिएको छ । कच्ची र टिनको छाना भएको जीर्णावस्थाको भवनवाट बर्खायाममा पानी चुहिनाले क्लबले गत असारमा विद्यालय भवनको निर्माण शुरु गरी शुक्रबार विद्यालय व्यवस्थापन समितिलाई भवन हस्तान्तरण गरेको छ ।

मंसिर १ गतेदेखि विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने

काठमाडौँ, कार्तिक २९ । मंसिर १ गतेदेखि सबै विद्यालयका बस चालकले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बताएको छ। सहयोगी हृदय नेपालले आज राजधानीमा आयोजना गरेको विद्यालयस्तरीय युवा विद्यार्थीलाई लागुऔषध, ट्राफिक नियम र साइबर अपराधबारे जनचेतनामूलक कार्यक्रमा उहाँले त्यसका लागि हरेक विद्यालयमा सूचना पठाइएको जानकारी दिए । उहाँले स्कुल, कलेज पढ्ने विद्यार्थी लागुऔषधमा फस्ने, मादक पदार्थ सेवन गरी बिनाहेल्मेट सवारी चलाउने कारणले अपराध र दुर्घटना बढ्दै गएकाले विद्यार्थीलाई सचेत हुन आग्रह गरे । “कतै यात्रा गर्दा सार्वजनिक बसमा बढी भाडा लिएमा, ट्याक्सीले मिटरमा जान नमाने, बढी पैसा मागेमा, चालक, खलासीले दुव्र्यवहार गरेमा तपाईहरु तुरुन्त हाम्रो हटलाइन १०३ मा फोन गरेर गुनासो गरे उनीहरुलाई कारबाही हुन्छ”– उनले भने । बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख उमादेवी राईले देशका उत्पादनशील युवा कुलतमा फस्दा देशको भविष्यमा खतरा हुने भएकाले विद्यालयस्तरबाटै विद्यार्थीलाई सही मार्गदर्शन हुनुपर्नेमा जोड दिए । गृहमन्त्रायलका लागुऔषध नियन्त्रण इकाइका कार्यक्रम अधिकृत खड्गबहादुर श्रेष्ठले आफ्ना छोराछोरीलाई कुलतबाट बचाउनका लागि अभिभावकले छोराछोरीसँग सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले मन्त्रालयले देशभरका विद्यालयका बालबालिकालाई लागुऔषधबारे जानकारी गराउँदै आएको बताए । विसं २०६९ मा गरिएको सर्वेक्षणमा ५१ हजार ५३४ लागुऔषध प्रयोगकर्ता रहेको बताइएको छ । अधिकृत श्रेष्ठले अहिले यो संख्या एक लाखभन्दा बढी भएको उल्लेख गरे । नेपालमा लागुऔषध नियन्त्रणमा सहयोग गर्दै आएको अमेरिकन संस्था हेल्थ इडी कनेक्टका लरेन हलले विद्यालय पढ्ने उमेरमा उत्सुकता बढी हुने भएकाले धेरै युवा कुलतमा फस्ने र उनीहरुलाई सचेत गराउनु आवश्यक भएको बताए । कार्यक्रममा नेपाली हवाई उडान क्षेत्रमा योगदान पु¥याएका क्याप्टेन वेद उप्रेती, समाजसेवी राजेश्वरी श्रेष्ठ, राष्ट्रिय समाचार समितिका पत्रकार कल्पना पौडेललाई सम्मान गरिएको थियो । सहयोगी हृदय केन्द्रकी अध्यक्ष पिंकी मल्लले जनचेतना अभियान गर्दै आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व पूरा गर्ने बताए ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फाराम भर्ने म्याद थप

काठमाडौं, कार्तिक २८ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फारम भर्ने समय थप गरेको छ । बोर्डले सूचना जारी गर्दै रजिष्ट्रेशन आवेदन फारम भर्ने म्याद थप गरेको हो । निर्धारित म्याद सकिएको तीन हप्तापछि बोर्डले फारम भर्ने म्याद थपेको हो । शैक्षिक सत्र २०७४–०७५ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुका लागि बोर्डले असोज मसान्तसम्म र दोब्बर शुल्क तिरेर कात्तिक १५ गतेसम्म रजिष्ट्रेशन आवेदन फारम भर्न समय तोकेको थियो । बोर्डले तय गरेको निर्धारित समयमा धेरै विद्यार्थीहरुको फारम भर्न छुटेको भन्ने गुनासो आएपछि म्याद थप गर्नुपरेको बोर्डले जानकारी दिए। अनेरास्ववियू (क्रान्तिकारी) ले समेत बोर्डलाई म्याद थप्न ज्ञापनपत्र बुझाएको थियो । अब एक हजार जरिवाना बोर्डको बैंक खातामा दाखिला गरेको भौचरसहित मंसिर ४ गतेभित्र बोर्डका सम्बन्धित शाखा कार्यालयहरुमा रजिष्ट्रेशन आवेदन फारम बुझाउन सकिने छ ।

अनिश्चितकालका लागि शिक्षक सेवा आयोगमा तालाबन्दी

काठमाडौं, कार्तिक २६ । शिक्षा ऐन नवौ संशोधनले ७ लाखभन्दा बढी लाइसेन्स होल्डर र ६५ लाखभन्दा बढी उच्च शिक्षा अध्ययनरत विद्यार्थीमाथि अन्याय भएको भन्दै तदर्थ विद्यार्थी संघर्ष समितिले शिक्षक सेवा आयोगमा तालाबन्दी गरेको छ । संशोधनप्रति आपति प्रकट गर्दै समितिले गत कार्तिक २३ गते २४ घन्टे अल्टिमेटम बुझाएको थियो । तर, त्यसको सुनुवाइ नभएकोले शिक्षक सेवा आयोग अनिशिचतकालका लागि तालाबन्दी गरिएको समितिले जनाएको छ । उसले आफुहरुकोे सहमति बिना ताला खोलिए त्यसपछि निम्तिने खतराको जिम्मेवारी आयोगले लिनुपर्ने चेतावनी दिएको छ ।

अत्याधिक चिसो बढ्नाका कारण विद्यार्थीहरुलाई कक्षाबाहिर पठनपाठन

मनाङ, कात्तिक २३ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् । हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको बताउँदै अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली । बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उहाँले बताउनुभयो । यसरी कठिन परिस्थितिमा पनि आफूहरुले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको बताउँदै अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे । नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ । चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको बताउँदै शिक्षिका टीककुमारी विक । यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ ।

कक्षा ११ पाठ्यक्रम परिमार्जन हुने

काठमाडौं, कात्तिक २२ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । शिक्षा ऐन आठौ संशोधनले शिशुदेखि १२ कक्षासम्म विद्यालय शिक्षामा अंगिकार गरिसकेपछि पहिलाको पटक कक्षा ११ को पाठ्यक्रमलाई विद्यालय शिक्षा अनुसारको बनाउन लागिएको हो । विश्वविद्यालयको प्रमाणपत्र तहको विभिन्न संकायलार्इ आधारमा मानेर साविक उच्च माध्यामिक शिक्षा परिषद्ले बनाएको कक्षा ११ र १२ को पाठ्यक्रमलार्इ केन्द्रले एकरुपता हुनेगरी परिमार्जन गर्न लागेको हो । केन्द्रले राष्ट्रिय पाठ्यक्रमको प्रारुप समेत संशोधन गरी माध्यामिक तहको कक्षा ९ देखि १२ सम्मको संरचना स्वीकृतिको क्रममा रहेको जनाएको छ ।

अख्तियार सुर्खेतमा सबैभन्दा बढी उजुरी शिक्षा क्षेत्रका

जुम्ला, कात्तिक २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले ६ नं कर्णाली प्रदेशमा सबैभन्दा बढी उजुरी शिक्षाको परेको कार्यपत्र सार्वजनिक गरेको छ । आइतबार जुम्लामा पत्रकारबीच गरेको अन्तक्र्रिया कार्यक्रममा यो प्रदेशमा मन्त्रालयगतरुपमा शिक्षामा बढी उजुरी परेको आयोग सुर्खेतका कार्यालय प्रमुख रविलाल पन्थले जानकारी दिए । “सबैभन्दा बढी उजुरी ४०१ छन्, जसमा ४९ फछ्र्यौट भएको र ३५२ उजुरी बाँकी रहेका छन्”– प्रमुख पन्थले भने । उनका अनुसार शिक्षामा १२४ उजुरी परेकामा १४ फछ्र्यौट भएका छन् । त्यस्तै, संघीय मामिलामा १००, वन तथा भू–संरक्षणमा ४१, ऊर्जामा १९, स्वास्थ्यमा १८, खानेपानी तथा सरसफाइमा १५, सहरी विकासमा ११ उजुरी परेको प्रमुख पन्थले बताए । आयोगमा परेका सबै उजुरीमाथि प्रारम्भिक र विस्तृत अनुसन्धान भइरहेको उहाँको भनाइ थियो । दण्डात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक तीनखम्बे रणनीतिका साथ आयोगले आफ्नो काम गर्दै आएको बताउँदै उहाँले वार्षिक कार्यतालिका अनुसार १३ वटा प्रवद्र्धनात्मक कार्यक्रम विद्यालयमा र नौ जिल्लामा गर्दै आएको उल्लेख गरे । आयोग सुर्खेतमा परेका उजुरीको प्रकृतिमा गुणस्तर विद्यालय भवन, छात्रवृत्तिको रकम दुरुपयोग, पाठ्यपुस्तक वितरणमा अनियमितता, विद्यालय कोषको रकम हिनामिना, शिक्षक कर्मचारी नियुक्तिमा अनियमितता भएको उल्लेख छ । त्यसैगरी, सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता, उपभोक्ता समितिमार्फत हुने गरेका विकास निर्माणका काम गुणस्तर नभएको बताइएको छ । उपभोक्ता समितिको गठन प्रक्रिया, स्थानीय निकायको आन्तरिक आयको विनियोजन खर्च करार कर्मचारी नियुक्तिमा अपारदर्शिता, औषधि वितरण र खरिदमा अनियमितता, भवन सडक र पुल मापदण्ड र स्टिमेटअनुसार नबनेको, गुणस्तरहिन संरचना र नक्कली बिल भर्पाइ बनाइ सरकारी रकम हिनामिना गरेको विवरण समेटिएका उजुरी परेको आयोगले जनाएको छ । जुम्ला पुगेको अख्तियारले जिल्लाका सम्पूर्ण कार्यालय प्रमुखमार्फत सबै राष्ट्रसेवक कर्मचारीलाई पदीय मर्यादामा रहेर काम गर्न, कर्मचारी आचारसंहिताको पालना गर्न र सरकारी बजेटको सही सदुपयोग गर्न निर्देशन दिएको छ । त्यसैबीच, आयोगले चन्दननाथ माविका विद्यार्थीसँग पनि भ्रष्टाचार र सुशासनका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा ऐन संसोधन विरुद्ध तदर्थ विद्यार्थी संघर्ष समिति गठन

काठमाडौंं, कात्तिक २०। केन्द्रिय क्याम्पस किर्तिपुर शिक्षा संकायका विद्यार्थीहरुले शिक्षा ऐन २०२८ को नवौँ संसोधन खारेजीको माग गर्दै तदर्थ विद्यार्थी संघर्ष समिति गठन गरेका छन् । आईतवार केन्द्रिय विभागमै बसेको बैठकले नवौं संशोधन खारेजीका लागि भन्दै पुष्कर शर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरेको हो । संघर्ष समितिले अन्तरक्रियात्मक कार्यक्रम गरि तत्काल संसोधन फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । अन्यथा सडक संघर्षदेखि अदालतसम्म जान बाध्य हुने चेतावनी दिईएको छ । सरकारले आफुहरुका माग वेवास्ता गरे थप संघर्षका कार्यक्रम घोषणा गरि अगाडी बढ्न बाध्य हुने संघर्ष समितिका सहसंयोजक सञ्जय कार्कीले चेतावनी दिए । संसोधित ऐनले स्थायी शिक्षकका लागि ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतियोगिताबाट शिक्षक पदपूर्ति गर्ने व्यवस्था गरेको छ । कार्यक्रममा शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाको संसोधित ऐनको यो प्रावधानलाई आफुले ठाडै अस्विकार गरेको बताए । कोईरालाले नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ, एमालेका गंगालाल तुलाधर, माओवादी केन्द्रका धनिराम पौडेल शिक्षा ऐन नवौँ संसोधनको पक्षमा खुृलेरै लागेको आरोप पनि लगाए । यो बिषयमा कानुनविदहरुसंग छलफल गरि प्रत्येक बर्ष शिक्षक सेवा आयोगले विज्ञापन गर्दा शिक्षा विभाग, शिक्षा मन्त्रालय लगायत सरोकारवालाहरुसंग छलफल गरिनुपर्नेमा जोड दिए ।   अन्तरक्रिया काय्र्रक्रममा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता र विद्यार्थीहरु संगठनले नवौं संशोधन खारेजीको लागि साथ दिने प्रतिवद्धता व्यक्र गरेका छन् । कार्यक्रमअघि बिद्यार्थीहरुले शिक्षा ऐन संसोधनका विरुद्ध प्लेकार्ड रहित र्याली निकालेका थिए । बिद्यार्थी नेताहरुले शिक्षा ऐन संसोधन भएको असोज ३ गतेलाई कालो दिनको संज्ञा दिएका छन् । संसोधित शिक्षा ऐनले ७ लाख युवा र ७० हजार वालवालीकामाथी खेलवाड भएको उनीहरुको दावी छ ।  

अबदेखि कक्षा ११ को परीक्षा सञ्चालन गर्न विद्यालयलाई दिने निर्णय

भक्तपुर,कार्तिक १५ । आगामी २०७५ वर्षको शैक्षिक सत्रदेखि कक्षा ११ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन नगर्ने भएको छ । सो परीक्षा अब विद्यालय आफैँले सञ्चालन गर्नुपर्ने छ । कानुनमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा र कक्षा १२ को वार्षिक परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने व्यवस्था छ । हाल कक्षा १० को वार्षिक परीक्षा (एसईई) बोर्डको अनुमतिमा परीक्षा नियन्त्रण कार्यालयले तथा कक्षा ११ र १२ को परीक्षा बोर्डले सञ्चालन गर्दै आएको छ । सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने– ‘अब कक्षा ११ को परीक्षा सञ्चालनको जिम्मेवारी विद्यालयलाई नै दिने भएका छौँ, जतिसक्दो छिटो त्यो जिम्मेवारी हस्तान्तरण गर्ने पक्षमा छौँ ।’ उनले हालको परीक्षा नियन्त्रण कार्यालयलाई अभिलेखालयका रूपमा विकास गरिने प्रस्ट गरेका छन् ।

गुणस्तरीय शिक्षामा सराेकारवालाहरुकाे जोड

काठमाडौं, कात्तिक १५ ।  त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस सरस्वती बहुमुखी क्याम्पसले आयोजना गरेको बीबीए तथा बीबीएम तहको अभिमुखीकरण कार्यक्रममा बोल्दै रजिष्ट्रार डिल्ली उप्रेतीले त्रिविले विस्तार सँगसँगै गुणस्तरीय शिक्षा र अनुसन्धानमा ध्यान दिइरहेको बताए । त्रिविका शिक्षाध्यक्ष प्रा.डा.सुधा त्रिपाठीले विद्यार्थीको पहिलो रोजाईको क्यम्पस सरस्वती बनोस् भनी शुभकामना दिए । कार्यक्रममा त्रिवि व्यवस्थापन सङ्कायका डीन प्रा.डा.डिल्लीराज शर्माले प्रतिस्पर्धी विश्व खुला बजारमा बिक्न सक्ने गुणस्तरीय शिक्षा आवश्यक भएको उल्लेख गर्दै विद्यार्थी केन्द्रित शिक्षण सिकाईमा विश्वविद्यालयले कार्यक्रमहरुमा ध्यान दिइरहेको बताए  । कार्यक्रममा बीबीए निर्देशक प्रा.डा.शतीसकुमार ओझा, वित्तशास्त्र विषय समितिका अध्यक्ष प्रा.डा.राजन बहादुर पौडेल, नेपाल प्राध्यापक संघका सभापति रामेश्वर उपाध्याय, नेपाल प्राध्यापक संघ सरस्वती बहुमुखी क्याम्पस इकाईका सभापति बाबुराम चापागाईले क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै सम्झौता नगर्ने प्रतिवद्धता प्रकट गरे । अभिमुखीकरण कार्यक्रममा मेगा बैंक नेपालका सीईओ तथा नेपाल बैंकर्स संघका अध्यक्ष अनिल केसरी शाह तथा एभिन्यूज टेलिभिजन एवं मिडिया हबका अध्यक्ष उद्योगी भाष्करराज राजकर्णिकारले व्यवस्थापन पक्ष, नयाँ प्रविधि तथा नेतृत्व विकासबारे छलफल गरे ।

एकैदिन चारदिनको हाजिर गरेर फर्कन बाध्य

सोलुखुम्बु, कात्तिक १४ । सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य भएको छ। स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा गिरी यही कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आएपनि नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले हाजिर हुन दिएको थिएन । प्रमुख शेर्पाले आफू अनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीको आरोप छ । कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन । कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ । स्थानीय विकास मन्त्रालयका सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालय काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ । प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतले चार दिनको हाजिर एकैदिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको छ । नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका व्यक्ति, जनप्रतिनिधिसमेतको उपस्थितिमा सोमबार उनलाई हाजिर गराइएको हो । नगरपालिकामा जारी विवादका विषयमा बुझ्न सोमबार नगरपालिकाको कार्यालय पुगेका स्थानीयवासीलाई प्रमुख शेर्पाले गाली गर्न खोजेपछि तनाब उत्पन्न भएको थियो । प्रमुखको प्रस्तुतिलाई आपत्ति जनाउने स्थानीयवासीलाई प्रमुख शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाब बढेको थियो । उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । कार्यालयमा उपस्थित जनताले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन् । निमित्त कार्यकारी कुर्सीमा यता, स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आएपनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेको छैन । अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भएपनि आजसम्म उहाँलाई भने रमाना दिइएको छैन ।

हिल्फे वाइल्ग्रिसद्वारा विद्यालय भवन मर्मत

चौतारा, कात्तिक १२ । भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका छ विद्यालय भवन नेपाल हिल्फे वाइल्ग्रिस इभि जर्मनीको आर्थिक सहयोगमा सबलीकरण प्रविधिद्वारा मर्मत गरी विद्यालयलाई हस्तान्तरण गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त भवन पनि सोही संस्थाले निर्माण गरेको र हाल पनि उसैले मर्मत गरेको हो । कक्षाकोठा अभावमा जिल्ला शिक्षा कार्यालयद्वारा अस्थायी रुपमा निर्मित टहरामा पठनपाठन हँुदै आएकामा अब आफ्नै भवनको कक्षाकोठाबाट पठनपाठन हुनेछ । सबलीकरण महँगो भए पनि भरपर्दो प्रविधि भएको बताइएको छ । मर्मत गर्न छ विद्यालयका लागि करिब रु ६ करोड ७१ लाख लागेको मर्मतसम्भारको जिम्मा लिने सुकुटेस्थित ग्रामीण विकास समाजका अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । सबलीकरण प्रविधि महँगो र भरपर्दो भएका कारण विदेशमा व्यापक रुपमा प्रचलनमा आए पनि विद्यालय क्षेत्रमा सो प्रविधिबाट काम गर्ने संस्था जिल्लामा पहिलो भएको समाजका अध्यक्ष सापकोटाको दाबी छ । समाजका अनुसार सुकुटे आधारभूत विद्यालयको आठकोठे भवन, दुई शौचालय, पर्खाल र खानेपानी धारा मर्मत सम्पन्न भएको छ । कदम्बासस्थित कालीदेवीमा शौचालयसहितको एघारकोठे भवनसमेत दुवैको करिब रु एक करोड चार लाखमा मर्मत भएको हो । मेलचौरस्थित ज्ञान मन्दिर नमुना माविको आठकोठे भवन करिब रु ७१ लाख चार हजारमा मर्मत भएको छ । त्यसैगरी सानो सिरुबारीको सिद्धिगणेश माविको चारतले २२ कोठे भवन मर्मत भई हस्तान्तरण भएको छ । करिब रु दुई करोड ३० लाखमा सम्पन्न सो भवनको दुई शौचालय र ढोकासहितको पर्खाल निर्माण गरिएको छ । त्यस्तै करिब रु ९५ लाख ५८ हजारको लागतमा नौकोठे इर्खु मावि भवन र रु एक करोड १७ लाखमा भुलभुलेस्थित वनदेवीमा शौचालयसहित बाह्रकोठे भवन मर्मत गरी हस्तान्तरण गरिएको छ । सो संस्थाले सोही विद्यालयको छकोठे भवन करिब रु ८३ लाख ६२ हजारको लागतमा निर्माण भइरहेको छ । त्यसैगरी करिब रु एक करोड १६ लाखको लागतमा आठकोठे भवन र रु एक करोड ९२ लाखमा ठूलो सिरुबारीस्थित सेतीदेवी माविको बाह्रकोठे दुई भवनको पनि निर्माण भइरहेको छ । मर्मत गरिएको भवन र नयाँ निर्माण हुने भवनका गरी ९७कक्षाकोठा हुने समाजका अध्यक्ष सापकोटाले बताउनुभयो । निर्माण भइरहेका र मर्मत गरिएका भवन भूकम्प प्रतिरोधी भएको र त्यसका लागि शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय जिल्ला समन्वय समितिबाट प्राविधिक सहयोग उपलब्ध भएको थियो । नयाँ निर्माण भएका र मर्मत गरिएका विद्यालय सबै चौतारा साँगाचोकगढी नगरपालिकाभित्र पर्छन् । जिल्लामा २५ वर्षदेखि नेपाल हिल्फे वाइल्ग्रिसले विद्यालय क्षेत्रमा लगानी गर्दै आइरहेको छ । क्षतिग्रस्त विद्यालयलाई पहिलेकै अवस्थामा पु¥याउने लक्ष रहेको संस्थाका नेपाल प्रतिनिधि सुनिलकृष्ण श्रेष्ठ र कार्यक्रम संयोजक श्याम पण्डितले बताउनुभयो ।