माध्यमिक शिक्षा परीक्षा एसईई शुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी

काठमाडौं, चैत ८ । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन्।

जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन हुने जनाएको छ ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् ।

यस वर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । परीक्षा नियन्त्रक रेग्मीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खर पुग्ने काम जोकोहीले गरेमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

परीक्षाको अनुगमन गर्न, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । यस वर्ष १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो ।

यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले गे्रड पद्धतिमा नम्बर पाउने छन् ।

साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म परीक्षा संचालन हुने बोर्डले जनाएको छ । आगामी वर्षदेखि भने प्रदेशस्तरमा एसईई परीक्षा संचालन गर्ने तयारी छ ।

कक्षा एकमै फेल गराउने पद्धति !

काठमाडौँ, चैत ७ । नयाँ शैक्षिक सत्र सुरु हुन अझै महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो’ स्कुल खोज्दै आफ्ना छोराछोरी भर्ना गराउन व्यस्त छन् । जाँच लिएरमात्र भर्ना गर्ने नियम बनाएका कतिपय स्कुल रोज्ने अभिभावकहरु थुप्रै दिनदेखि नानीहरुलाई प्रवेश परीक्षा तयारी गराइरहेका छन् । तर, आफूले चाहेको विद्यालयमा सन्तानले प्रवेश पाउनेमा उनीहरु विश्वस्त छैनन् । र, भर्ना कै लागि ‘सोर्सफोर्स’को सहारा खोज्दैछन् । अधिकांश विद्यालयले कक्षा १ मै पनि भर्नाका लागि प्रवेश परीक्षा लिने गरेका छन्। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक सुरुवाती कक्षामै छोराछोरीका निम्ति भौतारिन बाध्य छन् । खुला बजारमा विद्यालय छनोट गर्ने अधिकार भएपनि प्रतिस्पर्धाका नाममा नाबालकले ‘फेल’ हुनुपर्ने परिस्थिति नकारात्मक हुने अभिभावको ठम्याइ छ । ‘अधिकांश निजी विद्यालयको कक्षामा सीमित विद्यार्थी पढाउन भर्ना गर्ने हो र कक्षा १ मै प्रवेश परीक्षा दिलाएर फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक छ,’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अहिले चैत नलाग्दै केही विद्यालयले त्यही नियति दोहोर्‍याउँदै छन् । प्रवेश परीक्षा नीति बन्द हुनुपर्छ ।’ –कान्तिपुर दैनिकबाट

तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन्

पर्वत । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक तह तीन वटा भए पनि दश जोड दुई सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययनका लागि टाढा जानु परेको हो । पाखापानीका सिम्ले, भण्डारीथर, कोखे, चौडिल्ला लगायतका बस्तीका विद्यार्थी बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्न र फर्किंदा डेढ घण्टाभन्दा बढी हिँडेर घर आउन बाध्य भएका हुन् । बस्तीभन्दा विद्यालयको दूरी टाढा छ । लामतुनमा रहेको जनविकास माविमा पुग्नुपर्ने उनीहरुको बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढे पनि दश जोड दुईका कक्षा नहुँदा टाढा हिँडेर जानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर पर्ने गरेको र ग्रामीण भेग भएकाले सवारीसाधनको व्यवस्थासमेत नभएको उहाँको गुनासो थियो ।” त्यस्तै सोही स्थानकी विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको छ भन्दै उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरि पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो तर टाढा हुँदा न त बिहान पढ्ने समय नै हुन्छ न त घरको काम गर्ने ।” विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडा सचिव झलकशर्मा पौडेलले बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, पौडेलले भन्नुभयो । “कि त महाशिला गाउँपालिका–५ मा रहेको महेन्द्रज्योति उच्च माविमा पुग्नु पर्छ,” उक्त विद्यालयमा जानका लागि पनि यति नै समय लाग्ने पौडेलले जानकारी दिनुभयो । भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले त्यहाँ नजाने गरेको अर्की विद्यार्थी सृजना क्षेत्रीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ साथी नपाउँदा एक्लै जानसमेत समस्या छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले बताउनुभयो । दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालयमा आइसकेपछि मात्र पठनपाठन शुरु गर्ने गरेका छाँै,” नजिकका विद्यार्थी चाँडो आए पनि केही समय पर्खेर, उनीहरु आउने÷नआउने निधो गरेर पढाउन शुरु गरिने प्रअ क्षेत्रीले बताउनुभयो । सिंगो वडाकै एउटा मात्र दश जोड दुई सञ्चालन भएको विद्यालय भएकाले विद्यार्थीको संख्यासमेत धेरै छ । अहिले प्लस टू मा मात्रै १५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । रासस

दमकल सञ्चालनमा ११ कर्मचारीहरु छन्

ललितपुर । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ । दकमल सञ्चालनका लागि नौजनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जनामात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान र बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उहाँ भन्नुहुन्छ, “जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।” आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जन बताउनुहुन्छ । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् । थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । उहाँ भन्नुहुन्छ, “धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् ।” महानगरपालिकामा अहिले पानी बोक्ने ट्यांक भएको दुई र नभएको दुई गरेर चार दमकल छन् । काठमाडौँं उपत्यकाका तीन वटै जिल्लाका दमकल आगलागी हुँदा सबैतिर पुग्ने गरेका छन् । रासस

कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

काठमाडौं, चैत ४ । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याकेज नै रद्द गर्ने तयारी गरेको छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्याएको थियो । प्याकेजमा एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पीएन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन तयार भए । जबकी यी कर्मचारीलाई बिदाइ गर्दा कम्तीमा ३० अर्ब आर्थिक भार पर्ने सरकारी अनुमान छ ।

बैतडीबाट एसईई परीक्षामा पाँच हजार ८०० विद्यार्थी सहभागी

बैतडी । बैतडी जिल्ला यसवर्षको एसइई परीक्षामा पाँच हजार ८०० भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए । तीमध्ये नियमिततर्फ दुई हजार ५७३ छात्र, दुई हजार ८१६ छात्रा गरी पाँच हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेडतर्फ र ८८ जना प्राविधिकतर्फ परीक्षार्थी सहभागी हुने जनाइएको छ । ती परीक्षार्थीका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एक्जाम्टेडका लागी सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र मावि ‘ख’ र पाटनमा रहेको पाटन भ्याली बोर्डिङ स्कूललाई परीक्षा केन्द्रका रुपमा तोकिएको विद्यालय निरीक्षक जोशीले बताए । एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । केन्द्राध्यक्ष तोकिसकेको र बुधबारदेखि उत्तर पुस्तिका ढुवानी गरी केन्द्रमा पुर्याउने काम भइरहेको विद्यालय निरीक्षक जोशीले जानकारी दिए । एसइई परीक्षा निर्देशिका तथा केन्द्राध्यक्ष निर्देशिका पुस्तिका अनुसार मावि तहका प्रधानाध्यापक तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको बताइएकोे छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षको यही चैत ४ गते एकदिने अभिमुखीकरण कार्यक्रम राखिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्षलाई निर्देशन दिने जनाइएको छ । यसैबीच, यसबर्ष बैतडीमा एसइई परीक्षाका लागि १५२ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका तथा समयमै शुल्क नतिरेका, बीचमै विद्यालय छोडेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।

एसइई परीक्षाको तयारी अन्तिम चरणमा

कैलाली । आगामी चैत ८ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । परीक्षाका लागि आवश्यक पर्ने कार्य करीब पू्रा भएसंगै तयारी अन्तिम चरणमा पुगेको हो । यस वर्ष कैलाली जिल्लामा १६ हजार नियमित र ६९९ विद्यार्थी एक्जाम्टेड तर्फबाट एसइई परीक्षामा सहभागिता जनाउ‘दैछन् । एक हप्तापछि हुने यो वर्षको सइई परीक्षाको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको हो । विगत वर्षभन्दा यो वर्षको परिक्षालाई अझैं मर्यादित बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले अहिले आवश्यक तयारी समेत तिव्र पारेको छ । हालसम्म विभिन्न स्थानीय तहमा रहेका ५३ परिक्षा केन्द्रमध्ये ५२ केन्द्रमा उत्तर पुस्तिका समेत पुगिसकेका छन् । साथैं, जिल्लामा प्रश्नपत्र पनि पुगिसकेको र बॉकि रहेको कार्य परिक्षा संचालन हुने दिनसम्म सम्पन्न भइसक्ने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी धर्मसिंह ऐरले जानकारी दिए । कैलालीमा यो वर्षको एइई परीक्षामा १६ हजार ९२ नियमित र ६ सय ९९ विद्यार्थीले सहभागिता जनाउ‘दै छन् । गत वर्षभन्दा यस पटक नियमिततर्फ चार हजार कम विद्यार्थीले परिक्षा दिने सूचना अधिकारी ऐरले बताए । गतवर्षभन्दा यो वर्ष परिक्षा केन्द्र पनि घटाइएको छ । यो वर्ष ५३ परीक्षाकेन्द्र तोकेको छ । गत वर्ष ५४ परिक्षा केन्द्र तोकिएका थिए । यो वर्ष जिल्लाका सामुदायिक र संस्थागत गरि २ सय ६३ विद्यार्थीले एइई परीक्षामा सहभागिता जनाइरहेका सूचना अधिकारी ऐरको भनाई छ । यो वर्ष एक्जाम्टेडका लागि तिन वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाको सुखड स्थित जनज्योति मा.वि, सरस्वती मावि बनगाउ‘ र टिकापुर मा.वि टिकापुरमा एक्जाम्टेडका लागि परीक्षा केन्द्र तोकिएका छन् ।

चैत ८ गतेबाट एसर्इर्इ परीक्षा सुरु, तनहुँबाट ६ हजार ३५६ विद्यार्थी सामेल

तनहुँ । यही चैत ८ गतेदेखि हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार ३५६ जना परीक्षार्थी सामेल हुने भएका छन् । एसइई परीक्षामा साधारण तर्फका ६ हजार १३२, एक्जाम्टेड तर्फका ९२ र प्राविधिक तर्फका १३२ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । ती परीक्षार्थीका लागि यसपटक २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एसइई परीक्षाको तयारी कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले बताए । उत्तरपुस्तिका केन्द्रमा पुर्याउने काम भइरहेको जानकारी उनले दिए । “केन्द्राध्यक्ष तोक्ने र प्रश्नपत्रहरु पठाउने काम चैतको पहिलो साताबाट शुरु गर्छौं”, उनले भने । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने जानकारी भण्डारीले दिए । विगतका वर्षमा राजनीतिक भागबण्डामा केन्द्राध्यक्ष चयन गर्ने गरेको गुनासो आएपछि जिशिकाले पछिल्ला वर्षदेखि केन्द्र परेकै विद्यालयको मावि तहको स्थायी प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गर्न थालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्ति रमण वाग्लेले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आफुहरु लागिरहेको बताए । यसैबीच, तनहुँमा एसइई परीक्षाका लागि १६४ जना विद्यार्थी अयोग्य रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका हुन् ।    

मध्यपश्चिमाञ्चल विश्वविद्यालय : आङ्गिक क्याम्पसलाई ३० लाख

सुर्खेत, फागुन २९ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १० ओटा आङ्गिक क्याम्पसको पूर्वाधार विकासका लागि ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार महेन्द्रकुमार मल्लले आइतवार ती क्याम्पसका प्रमुखलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । विश्वविद्यालय अनुदान आयोगले पूर्वाधार विकासका लागि छुट्याइएको ८० लाखमध्ये पहिलो किस्ताबापत सो रकम हस्तान्तरण भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार नारायण क्याम्पस दैलेख, बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँके, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, मुसिकोट क्याम्पस खलङ्गा रुकुम, जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेत र भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत, तिला बहुमुखी क्याम्पस मान्मा कालिकोट र जलजला बहुमुखी क्याम्पस रोल्पाले अनुदान पाएका छन् ।

त्रिपुरा माविका विद्यार्थी ज्यानै जोखिममा पारेर पढ्न बाध्य

डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ अन्तर्गत त्रिपुरा माध्यमिक विद्यालयका विद्यार्थी ज्यान जोखिममा पारेर पढ्न बाध्य भएका छन् । लगातार दुई वर्ष अघिदेखि जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता भएकाले उनीहरुको ज्यान जोखिममा परेको हो । तीव्र हावाहुरीका कारण पटक–पटक उडाउँदै आएको जस्तापातालाई कामचलाउ रुपमा ढुंगाले थिचेर पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विद्यालयले जनाएको छ । “विद्यालयको तीनकोठे भवन एकदमै जीर्ण छ, तीन वर्षदेखि जीर्ण भवनमा नै प्रावि र निमाविका कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ,” प्रधानाध्यापक रमानन्द उपाध्यायले भन्नुभयो, “कति बेला जस्तालाई थिचेको ढुंगा खसेर शिक्षक, विद्यार्थीको ज्यान जाने हो टुंगो छैन्” उहाँले थप्नुभयो । जीर्ण भवन मर्मतका लागि जिशिकालगायतका थुप्रै संघ संस्थालाई अनुरोध ग¥यौँ तर पनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । कक्षा १ देखि १० कक्षा सञ्चालन गरिएको उक्त विद्यालयमा जम्मा दशवटा कोठा रहेका छन् । त्यसमध्ये कक्षा १, २, ३ र ६ सञ्चालन गर्दै आएको भवन एकदमै जीर्ण छ । भवन जीर्ण भएपछि हावा लाग्दा, पानी पर्दा साह्रै समस्या हुने गरेको लामो समयदेखि अध्यापन गराउँदै आएका शिक्षकले बताए । “जीर्ण भवनमा पठनपाठन गराउँदा विद्यार्थी पनि डराइडराइ अध्ययन अध्यापन गर्नुपर्ने बाध्यता छ” शिक्षक लोकश खत्रीले चिन्ता व्यक्त गर्नुभयो । “पटक–पटक हावाले छानो पल्टाउँछ, शिक्षक विद्यार्थी मिलेर त्यही छानो ओल्टाइपल्टाइ कोठा ढाकेर पठनपाठन गर्न बाध्य छाँै, त्यसलाई छोडेर अन्य ठाउँमा कक्षा शुरु गराँैँ भने कोठाको अभाव छ” शिक्षक खत्रीले भन्नुभयो । उक्त जीर्ण भवन मर्मतको लागि विभिन्न संघसंस्थामा पहल गरे पनि कसैले पनि नसुनेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभित्र रहेका जीर्ण विद्यालय मर्मतका वर्षेनी लाखौँ रुपैयाँ आउँछ तर हाम्रो विद्यालयलाई कसैले नहेरेको अभिभावक संघका अध्यक्ष पुरीप्रसाद हमालले बताउनुभयो । यस विद्यालय जिल्लामै पुरानो विद्यालयको रुपमा चिनिँदै आएको छ । रासस

विद्यालयमा २ ‘हेडसर’ बनेपछि लफडा, तलब बाहेकका कारोबार ठप्प

पर्वत । शिक्षा नियमावलीअनुसार एउटा विद्यालयमा एकजना मात्र प्रधानाध्यापक रहनुपर्ने व्यवस्था भए पनि जिल्लाको एउटा विद्यालयमा भने एक वर्षदेखि दुईजना प्रधानाध्यापक रहँदै आएका छन् । कुश्मा नगरपालिका– ११ स्थित वीरेन्द्र माविमा सरकारी निकाय र विद्यालय व्यवस्थापन समितिले बनाएका दुईजना छुट्टाछुट्टै प्रधानाध्यापक रहँदै आएका छन् । एक वर्षअघि विद्यालयका प्रधानाध्यापक देवराज पौडेल कालिका मावि खुरकोटमा सरुवा भएर जाँदा ज्येष्ठताका आधारमा गणेशराज पौडेललाई निमित्त प्रअ दिएर जानुभएको थियो । विद्यालय व्यवस्थापन समितिले भने पौडेललाई प्रअ बनाइ काम गराउन नसकिने भन्दै हीराबहादुर क्षेत्रीलाई बनाउनुपर्ने अडान लिएपछि विवाद चुलिँदै गएको हो । पौडेल माध्यमिक तह तृतीय श्रेणीका स्थायी शिक्षक हुनुहुन्छ भने क्षेत्री निम्न माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक हुनुहुन्छ । पौडेलले यस अगाडि नै २०६८ देखि तीन वर्ष प्रअ भई काम गर्दागर्दै पदबाट राजीनामा गर्नुभएको थियो । उहाँमाथि आर्थिक हिसाब किताब पारदर्शी रुपमा राख्न नसकेको आरोप छ । पौडेलले आफूपछि प्रअ बनेकी सावित्रा सुवेदीलाई बरबुझारथ गर्नुभएन । क्षेत्रीय शिक्षा निर्देशनालय पोखरा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पुनरावेदन अदालत बागलुङ र जिल्ला शिक्षा कार्यालयले शिक्षा नियमावलीअनुसार गणेशराज पौडेललाई प्रधानाध्यापक बनाउन भनी विद्यालयमा पत्राचार गरेको भए पनि व्यवस्थापन समितिले भने हीराबहादुर क्षेत्रीलाई प्रधानाध्यापकको जिम्मेवारी दिएको छ । क्षेत्रीको पक्षमा समितिमा बहुमत छ । विद्यालयमा दुवै प्रअले कार्यसम्पादन गर्दै आउनुभएको छ । जिल्ला शिक्षा कार्यालय र अन्य निकायमा पेश गर्नुपर्ने कागजात पनि जुन प्रअले फेला पार्नुभयो, उहाँहरूले आफ्नो नाम उल्लेख गरी हस्ताक्षर गरेर पेश गर्ने गर्नुभएको छ । विद्यलयमा प्रअको कुर्सी भने खाली नै छ । दुवैजनाले प्रअको कुर्सीमा बसेर भने काम गर्नुभएको छैन । जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले नियमअनुसार गणेशराज नै प्रअ हुनुपर्ने बताउनुभयो । ‘नियमअनुसार त गणेश नै प्रअ बन्नुपर्ने हो,” उहाँले भन्नुभयो,– “विवाद समाधानका लागि मैले धेरै पटक प्रयास र ताकेता गरेँ, सुनवाइ भएन ।” विवादका कारण शिक्षा कार्यालयले विद्यालयको खातासमेत बन्द गरेको छ । शिक्षकलाई तलब दिनका लागि मात्रै खाता खुलाउने र अन्य आर्थिक क्रियाकलाप गर्न नमिल्ने बनाइएको छ । रासस

अस्थायी शिक्षकहरुले प्रधानमन्त्री सहित बिभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, फागुन २६ । छुट अस्थायी करार शिक्षक संघर्ष समिति नेपालले  प्रधानमन्त्री सहित बिभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै छ । आन्दोलनका कार्यक्रम अन्तरगत यहि  प्रधानमन्त्री केपी शर्मा अाेली, शिक्षा मन्त्री, शिक्षा बिभाग र शिक्षासेवा अायाेग र शिक्षक महासंघमा ज्ञापनपत्र बुझाउन लागिएकाे संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलिले जानकारी दिए । आफुहरुको माग पुरा नभएको भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले सरकारले  वेवास्ता गरे विद्यालयस्तरको वार्षिक र एसइई परीक्षामा असहयोग गर्ने चेतावनी दिइसकेका छन् । आफूहरुको रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने माग राख्दै अस्थायी शिक्षकहरुले अान्दाेलन गर्दै अाएका छन् । यसअघि छुट अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिको टोलीले आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र बुझार्इसकेकाे छ । आयोग परिसरमा अस्थायी शिक्षकहरुले दुई घण्टा धर्ना समेत दिएका थिए । समितिका अध्यक्ष हरिवंश पराजुलीले माग सम्बोधन नभए आउँदो चैतमा हुने विद्यालय स्तरको वार्षिक परीक्षा र एसईई परीक्षामा असहयोग गर्ने चेतावनी दिँदै अाएका छन् । २०७२ असोज २ गते पछिका छुट अस्थायी शिक्षकहरुलाई मौलिक हकको धारा १८ को उपधारा १ र धारा ३३ को उपधारा १ बमोजिम भेदभाव रहित रोजगारीका लागि समान विज्ञापनमा समावेश गरिनुपर्ने माग गरिएको छ । एउटै प्रक्रियाबाट नियुक्त भएका शिक्षकहरुलाई समानता र भविष्यमा शिक्षक बन्न चाहने लाइसेन्सधारीको न्यायका लागि २०४९ देखि हालसम्मलाई सर्वसहमतिबाट उपयुक्त तरिकाले निश्चित प्रतिशत निर्धारण गरी आन्तरिक र खुला विज्ञापनको व्यवस्था गर्नुपर्ने माग संघर्ष समितिको रहेको छ । अान्दाेलनलार्इ थप प्रभावकारी बनाउन संयुक्त अस्थायि करार संघर्ष समिति समेत गठन गरिएकाे छ । समितिकाे अध्यक्ष हेम नाथ चाैलागाई र महासचिबमा कुमाेद कर्ण र सचिबमा हरिबंश पराजुलि रहेका छन् ।

एउटै सामुदायिक विद्यालयबाट १० छोरी एसएलसी विशिष्ट श्रेणी उत्तीर्ण भएपछि अक्षय कोष स्थापना

झापा, फागुन २४ । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । आफ्ना सबै छोरीले सोही विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेबाट खुशी हुनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले भन्नुभयो – “मेरा सबै छोरी यही स्कूल पढेर सक्षम भए । अरूका छोराछोरी पनि मेरा छोरी झैं सक्षम भएको हेर्ने मलाई रहर छ ।” सामुदायिक विद्यालय प्रतिको नकारात्मक धारणा हटाउन सबैलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयप्रति सबैको चासो र चिन्ता हुने हो भने सामुदायिक विद्यालयमा पढेका विद्यार्थी तीक्ष्ण बुद्धिका बन्छन् ।” हरिप्रसादका १० छोरी एकै आमाका सन्तान हुन् । उहाँकी कान्छी छोरी अञ्जु मैनाली अहिले कक्षा १२ मा अध्ययनरत छिन् भने नौ छोरी आ–आफ्नै पेशा–व्यवसायमा अब्बल रहेको बताइएको छ । जेठी विष्णु र कान्छी कैशिला हरिप्रसादका श्रीमती हुन् । उहाँकी जेठी श्रीमती विष्णुको निधन भइसकेको छ । एघार छोरीका बुबा हरिप्रसादलाई अहिले विष्णुको कोखबाट जन्मिएकी जेठी छोरीलाई पढाउन नपाएकामा दुःख छ । “गरिबीका कारण जेठी छोरीलाई मैले पढाउन सकिनँ, कान्छीका कोखबाट जन्मिएका सबै छोरी सक्षम भए,” उहाँले भन्नुभयो, “पढाइभन्दा ठूलो धन केही रहेनछ ।” विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आउनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसहित पठन–पाठनको व्यवस्था मिलाउन सबैलाई आग्रहसमेत गर्नुभयो । विसं २००७ सालमा स्थापना भएको सो विद्यालय झापाकै पुरानो विद्यालय मध्येको एक हो ।

दश छोरी नै विशिष्ट श्रेणीमा उत्तीर्ण, हर्षित बुबाद्वारा अक्षयकोष स्थापना

झापा । एघारमध्ये १० छोरीले एउटै सामुदायिक विद्यालयबाट विशिष्ट श्रेणीमा एसएलसी (एसइई) परीक्षा उत्तीर्ण गरेपछि हर्षित एक दाताले विद्यालयमा अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको छ । बाह्रदशी गाउँपालिका–५ घोडामारा निवासी हरिप्रसाद मैनालीले सोही गाउँपालिकास्थित फूलबारी माविमा रु एक लाखको अक्षयकोष स्थापना गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गर्नुभएको हो । आफ्ना सबै छोरीले सोही विद्यालयमा अध्ययन गरी एसएलसी परीक्षा विशिष्ट श्रेणीमा उत्तीर्ण गरी सक्षम बनेबाट खुशी हुनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । उहाँले भन्नुभयो – “मेरा सबै छोरी यही स्कूल पढेर सक्षम भए । अरूका छोराछोरी पनि मेरा छोरी झँै सक्षम भएको हेर्ने मलाई रहर छ ।” सामुदायिक विद्यालय प्रतिको नकारात्मक धारणा हटाउन सबैलाई आग्रह गर्दै उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयप्रति सबैको चासो र चिन्ता हुने हो भने सामुदायिक विद्यालयमा पढेका विद्यार्थी तीक्ष्ण बुद्धिका बन्छन् ।” हरिप्रसादका १० छोरी एकै आमाका सन्तान हुन् । उहाँकी कान्छी छोरी अञ्जु मैनाली अहिले कक्षा १२ मा अध्ययनरत छिन् भने नौ छोरी आ–आफ्नै पेशा–व्यवसायमा अब्बल रहेको बताइएको छ । जेठी विष्णु र कान्छी कैशिला हरिप्रसादका श्रीमती हुन् । उहाँकी जेठी श्रीमती विष्णुको निधन भइसकेको छ । एघार छोरीका बुबा हरिप्रसादलाई अहिले विष्णुको कोखबाट जन्मिएकी जेठी छोरीलाई पढाउन नपाएकामा दुःख छ । “गरिबीका कारण जेठी छोरीलाई मैले पढाउन सकिनँ, कान्छीका कोखबाट जन्मिएका सबै छोरी सक्षम भए,” उहाँले भन्नुभयो, “पढाइभन्दा ठूलो धन केही रहेनछ ।” विद्यालयको ६७औँ वार्षिकोत्सव समारोहमा सहभागी हुन आउनुभएका उहाँले विद्यालयमा अक्षयकोष स्थापनाका लागि रकम प्रदान गर्दै गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिसहित पठन–पाठनको व्यवस्था मिलाउन सबैलाई आग्रहसमेत गर्नुभयो । विसं २००७ सालमा स्थापना भएको सो विद्यालय झापाकै पुरानो विद्यालय मध्येको एक हो । रासस

झापामा स्वेच्छिक अवकाश रोज्ने जनस्वास्थ्यका कर्मचारी धेरै

भद्रपुर । स्वेच्छिक अवकाशका लागि झापामा २२९ जना कर्मचारीले आवेदन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारले निजामती सेवाका कर्मचारीलाई स्वेच्छिक अवकाश लिने बाटो खुला गरेपछि सो आवेदन परेको हो । अवकाशका लागि आवेदन दिनेमा जिल्ला जनस्वास्थ्य कार्यालयका सबैभन्दा बढी ४३ जना रहेका छन् भने यसपछि हुलाकका कर्मचारी छन् । अवकाश लिने कर्मचारीलाई सात वर्षको पेन्सन रकम अग्रिम उपलब्ध गराइदिने सरकारको योजना भएकाले लाभग्राही उत्साहित भएका हुन् । रासस

शैक्षिक प्रदर्शनी

काठमाडौँ । सीपमूलक र व्यावसायिक शिक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले शैक्षिक प्रदर्शन भएको छ । एपेक्स लाइफ स्कुलले आज चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने शैक्षिक प्रदर्शनीको नेपालका लागि इजरायली राजदूत बेनी ओमेरले उद्घाटन गर्दै दक्ष विद्यार्थी उत्पादनका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताउनुभयो । शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले परीक्षामा मात्र सफल बनाउनुभन्दा असल विद्यार्थी निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका कार्यकारी निर्देशक सुवास न्यौपानेले विसं २०४० मा स्थापित विद्यालयले सैद्धान्तिकका साथै व्यावहारिक शिक्षा प्रदान गर्नका लागि विभिन्न समयमा यस्ता प्रदर्शनी गर्दै आइरहेको बताउनुभयो । प्रदर्शनीमा विद्यार्थीले बनाएका विज्ञान, प्रविधि र सामाजिक क्षेत्रका वस्तु राखिएका छन् । विद्यालयले पूर्वीय दर्शनलाई विशेष जोड दिई विभिन्न पाठपूजा गराउँदै आएको छ । विद्यालयमा काठमाडौँका बालाजु, रविभवन, कपन, बूढानीलकण्ठ र थापाथलीका साथै भक्तपुरका ठिमी, बालकोटलगायतका ३५० विद्यार्थी अध्ययन गर्दै आएको विद्यालयका लेखाप्रमुख विन्दु अधिकारीले जानकारी दिनुभयो । रासस