शिक्षक सेवा आयोगको परीक्षा स्थगित
काठमाडौँ, चैत १६। शिक्षक सेवा आयोगले यहि चैत २३ गते लिने भनेको कार्यरत अस्थायी शिक्षकहरूको परीक्षा स्थगित गरेको छ। आज एउटा सूचना प्रकाशित गरी आयोगले शिक्षा ऐन (संशोधन सहित) २०२८ को दफा ११ च. मा भएको व्यवस्था बमोजिम कार्यरत अस्थायी शिक्षक ( प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह) को परिक्षा स्थगित गरिएको जनाएको छ । 
आयोग द्वारा प्रकाशित सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७४/१२/१५ गतेको पत्रानुसार आन्तरिक प्रतियोगिताबाट सबै रिक्त पदहरूमा पूर्ति हुन् नसक्ने भएकाले आन्तरिक र खुला विज्ञापन सँगसँगै गरी शिक्षक पदपूर्ति व्यवस्थापन गर्न उपयुक्त हुने व्यहोरा दर्शाई परिक्षा कार्यतालिका स्थगनको अनुरोध सहितको पत्र आएपछि यो परिक्षा स्थगित गरिएको भनिएको छ।
यो परीक्षा रद्द गरी सबै सीटमा खुल्ला प्रतिस्पर्धा आव्हान गर्न विद्यार्थीहरू आन्दोलनरत रहेका छन् । यस निर्णयपछि खुल्ला प्रतिस्पर्धाको विज्ञापन खुल्ने सम्भावना बढेर गएको छ।
रोल्पाका विद्यार्थीहरु सेवा सुविधाबाट वञ्चित रहेको गुनासो
रोल्पा । आवश्यक सेवा सुविधा उपलब्ध नहुँदा विशेष कक्षा सञ्चालनमा समस्या हुँदै आएको रोल्पाका अपांग विद्यार्थीले गुनासो गरेका छन् । यहाँ २०६० सालदेखि दृष्टिविहीन, सुस्तश्रवण तथा बहिराका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । जिल्ला सदरमुकाममा रहेका बालकल्याण मावि लिवाङ र कृष्ण आधारभूत विद्यालय धारापानीले सो कक्षा सञ्चालन गरेका छन् । विशेष कक्षा सञ्चालन गरेको बालकल्याण नमूना माविमा हाल १२ दृष्टिविहीन र १३ सुस्त श्रवणले अध्ययन गरिरहेका छन् । यसैगरी कृष्ण आधारभूत विद्यालय धारापानीमा चार जना सुस्त मनस्थितिका विद्यार्थीले अध्ययन गरिरहेका छन् । शुरुमा खरिद गरेका सामग्रीबाटै काम चलाउने गरेको बताउँदै स्थानीय तह, सरकारी तथा गैरसरकारी क्षेत्रबाट सहयोग नभए कक्षा सञ्चालन गर्न कठिन हुने बताएका छन् । सरकारी स्तरबाट अध्ययन र बासस्थानका लागि प्रतिविद्यार्थी प्रतिमहिना चार हजार र औषधोपचारका लागि एक हजार २०० उपलब्ध हुँदै आएको भए पनि सो रकम अपुग भएको अपांग विद्यार्थीले बताएका छन् । कक्षा सञ्चालनका लागि आवश्यक भवन, फर्निचर, शैक्षिक सामग्री, पाठ्यपुस्तकलगायत विद्यार्थीको सेवासुविधामा समेत कमी भएको भन्दै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह गरेका हुन् । अपांगता भएका व्यक्तिलाई संगठित गर्दै हकअधिकारको संरक्षण, अध्ययन तथा जीविकोपार्जनमा समेत पहल गर्नुपर्ने माग राखिएको छ । अपांगता भएका विद्यार्थीले उचित वातावरणमा अध्ययन गर्न नपाएको दृष्टिविहीन विद्यार्थी चित्रवहादुर डाँगीले गुनासो गर्नुभयो । “अपांग मैत्री कक्षा कोठाको अभावका साथै पाठ्यसामग्री, सहयोगी सामग्री तथा औषधोपचार र खानपानमा समेत समस्या भोग्दै आएका छौँ”, डाँगीले भन्नुभयो । विशेष कक्षाका लागि सरकारी स्तरबाट संवेदनशीलता नदेखाउने हो भने कक्षा नै बन्द गर्नुपर्ने बाध्यता हुन सक्ने विशेष कक्षा शिक्षक लक्ष्मीनारायण आचार्यले बताउनुभयो । “उनीहरुका लागि आवश्यक सुविधा र स्रोत साधनको अभाव छ”, आचार्यले भन्नुभयो । थप दिगो र व्यवस्थित रुपमा कक्षा सञ्चालन गर्न आवश्यक सहयोग गर्न स्रोत शिक्षक आचार्यले आग्रह गर्नुभयो । रासस
बजार प्रवद्र्धन नहुँदा साझाका करोडौँ पुस्तक थन्किए
चितवन । नेपाली भाषा साहित्यको संरक्षण एवं साहित्यिक कृति उत्पादन गर्दै आएको सरकारी स्वामित्वको संस्था साझा प्रकाशका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् । भरतपुरस्थित स्याउलीबजारमा रहेको क्षेत्रीय कार्यालयको अव्यवस्थापनका कारण कर्मचारी आफूखुशी बिदामा बस्ने, अवकाश प्राप्त कर्मचारीसमेत हाजिर गरेर बस्ने र व्यापार प्रवद्र्धनमा काम नगर्ने प्रवृत्तिले सोचेजति पुस्तक बिक्री हुन सकेको छैन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा अनुगमनमा आउँदा क्षेत्रीय कार्यालय प्रमुख नै दुई सातादेखि बिना जानकारी कार्यालयमा अनुपस्थित रहेको र बजार प्रवद्र्धन नभएको भेटिएको छ । निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले सरकारी स्वामित्वको साझा प्रकाशन क्रमशः ओरालो लाग्दै गएको हो । अहिले पनि केन्द्र र १३ वटा शाखा कार्यालयमा गरी रु २२ करोड बराबरका पुस्तक स्टोरमा भण्डारण छ । चितवन कार्यालयले माग गरेर पुस्तक बेच्न सक्ने अवस्था भए पनि कर्मचारीले चासो नदिएको शर्मा बताउनुहुन्छ । साझा प्रकाशन क्षेत्रीय कार्यालय चितवनले पछिल्लो असोज, कात्तिक र मंसिर महिनामा करीव रु ६ लाखको मात्रै व्यापार गरेको छ । जबकि सोही संस्थाको नुवाकोट शाखाले पछिल्लो ६ महिनामा करीव रु ६० लाखको व्यापार गरेको छ । महाप्रबन्धक शर्माले आफ्नो छड्के अनुगमनमा स्थानीय तहमा समन्वय गर्नुपर्ने काम समेत कर्मचारीबाट नभएको पाइएको बताउनुभयो । कर्मचारी आफूखुशी अनुपस्थित भएको, कामको जिम्मेवारी छैन भनेर एक अर्काेमा दोष थोपरेर बस्ने गरेको तथा व्यापार प्रवद्र्धनमा गर्नुपर्ने कामसमेत नगरेको पाइएको शर्मा बताउनुहुन्छ । चैत १ गतेदेखि अनुपस्थित हुँदासमेत क्षेत्रीय कार्यालय प्रमुख मनरथ घिमिरेले कुनै जानकारी नगराएको उहाँ बताउनुहुन्छ । तर घिमिरेले भने एक दिनका लागि घर झापा पुगेर आउँछु भनेर जानकारी गराएको तर दुर्घटनामा घाइते भएका कारण आफू आउन नसकेको बताउनुभयो। व्यापार बढाउन भने सक्दो प्रयास गरेको घिमिरेको दाबी छ । अध्यक्ष तथा महाप्रबन्धक शर्मा भने व्यापारको सम्भावना प्रशस्त भएर पनि यसका लागि प्रयास नै नगरेको देखिएको बताउनुहुन्छ । साझा प्रकाशनको भरतपुर हाकिमचोकमा रहेको करिब पाँच कट्ठा जग्गाको समेत सदुपयोग हुन सकेको छैन । अनुगमनमा कर्मचारीले तलबसमेत खान नपाएको र १० महिनाको घरभाडासमेत नबुझाएको पाइएको छ । लेखा परीक्षण नभएकाले यथार्थ हरहिसाबसमेत देखिएको छैन । यस्तै कार्यालयका एकजना कर्मचारी अमृतकान्त पण्डित २०७३ साल माघ १ गतेदेखि नै अवकाश प्राप्त भए पनि हाजिर गरेर बसिरहेको पाइएको छ । पण्डितलाई अवकाशको एक महिनाभित्र बुझबुजारत गर्न लिखित निर्देशन दिँदासमेत हालसम्म हाजिर गरेको पाउँदा आफू आश्चर्यमा परेको अध्यक्ष तथा महाप्रबन्धक शर्माले बताउनुभयो । कार्यालयमै भेटिएका पण्डितले जिम्मेवारी बुझबुझारत नभएकाले बसिरहेको बताउनुभयो । कार्यालयका प्रमुख मनरथ घिमिरेले पण्डितलाई पुनः करार नियुक्तिका लागि केन्द्रमा लिखित आग्रह गरेको पाइएको छ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक शर्माले नुवाकोट, पोखरालगायत केही कार्यालयले उत्कृष्ट काम गरे पनि चितवनको क्षेत्रीय कार्यालय भने प्रभावकारी नदेखिएको चिन्ता व्यक्त गर्नुभयो । साझा प्रकाशनका विभिन्न जिल्लाको वस्तुस्थिति के छ भनेर अनुगमनमा हिँडेको बताउँदै अध्यक्ष शर्माले चितवनपछि बुटवल, दाङ, नेपालगन्ज र धनगढीको अनुगमन गर्ने बताउनुभयो । साझा प्रकाशनले सामुदायिक विद्यालयको ३ देखि ९ सम्मका अंग्रेजी माध्यमका पुस्तक उत्पादन र वितरण गर्दै आएको छ । यो सँगै साहित्यलगायत विविध पुस्तक प्रकाशन र वितरण गर्छ । रासस
काेरिया जान ५५ हजार आवेदन
काठमाडौं । वैदेशिक रोजगार विभागको रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत नवौं पटक कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला गरेको तीन दिनमै ५० हजारभन्दा बढीले अनलाइनका माध्यमबाट भाषा परीक्षाको आवेदन दिएका छन्। कोरियामा रोजगारीका लागि जाने आशामा शनिबारसम्म यतिले आवेदन दिएका हुन्। ५५ हजारले ग्लोबल आईएमई बैंकमार्फत प्रतिव्यक्ति आवेदन फारमको २४ डलर शुल्क बुझाइसकेका छन्। कोरियाले ईपीएसअन्तर्गत आगामी आर्थिक वर्षमा सात हजार एक सय जना नेपाली लैजाने जानकारी दिएको छ। त्यसैले कोरिया जाने आशामा धेरै युवाले आवेदन दिएको ईपीएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए। आवेदनका लागि बुधबार रातिदेखि नै युवाहरू लामबद्ध थिए। तीन दिनमा भरेको फारमको अवस्था हेर्दा यस वर्ष गतवर्षको तुलनामा बढी आवेदन फारम भरिने अनुमान गरिएको उनको भनाइ छ। फारम भर्ने म्याद चैत १७ गतेसम्म छ। १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले भाषा परीक्षाको आवेदन दिन सक्ने निर्देशक खनालले बताए। भाषा परीक्षा जेठ २६ र २७ गते हुनेछ। आवेदन भर्दा पोखरा केन्द्र छनोट गर्ने पहिलो १२ हजारले पोखरा र अरूले काठमाडौंमा परीक्षा दिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। यसपटक सात हजार एक सय जना उत्तीर्ण गर्ने योजना छ। त्यसमध्ये उत्पादनमूलक क्षेत्रमा चार हजार आठ सय र कृषि क्षेत्रमा दुई हजार तीन सय कोटा निर्धारण गरिएकोे छ। अघिल्लो वर्ष कोरियन भाषा परीक्षाका लागि ७५ हजारले आवेदन दिएका थिए। बढ्दै कोरिया क्रेज पछिल्लो समय कोरिया रोजगारीका लागि जाने नेपाली कामदारको संख्या बढेकाे छ। नेपालीको ‘कोरिया क्रेज’ विगत पाँच वर्षदेखि तीव्र रूपमा बढ्दै गएको निर्देशक खनालले बताए। कोरिया सरकारले समेत नेपाललाई दिने कामदार माग कोटा बढाउँदै लगेको छ। कोटा वृद्धिले नेपालीका लागि कोरिया अझै आकर्षक गन्तव्य बनेको छ। ईपीएसअन्तर्गत गतवर्षसम्म ५० हजार एक सयभन्दा बढी नेपाली रोजगारीका लागि कोरिया गइसकेको निर्देशक खनालले जानकारी दिए। रोजगारीका लागि कोरिया खुला गरिएपछि सन् २०१६ मा सबैभन्दा बढी नेपाली कोरिया प्रवेश गरेको उनले बताए। रेमिट्यान्स स्थिर कोरिया जाने नेपाली कामदारको संख्या बढेको छ। तर संख्या अनुपातमा त्यहाँबाट भित्रिने रेमिट्यान्स भने खासै बढेको छैन। रोजगारीका लागि वार्षिक सात हजारभन्दा बढी कामदार कोरिया जाने गरेको निर्देशक खनालले बताए। कामदारले पाउने पारि श्रमिकअनुसारै रकम पठाउने हो भने पनि प्रत्येक वर्ष ४० अर्ब रुपैयाँ आउनुपर्ने हो। तर अहिलेसम्म त्यसको एकतिहाई मात्र रेमिट्यान्स भित्रिने गरेको उनले जानकारी दिए। कोरियामा नेपाली कामदारको मासिक तलब न्यूनतम एक लाख ५० हजार रुपैयाँ तोकिएको निर्देशक खनालले बताए। अन्नपूर्ण पाेष्टबाट
माध्यमिक शिक्षा परीक्षा एसईई शुरु, ४ लाख ८५ हजार बढी विद्यार्थी सहभागी
काठमाडौं, चैत ८ । माध्यमिक शिक्षा परीक्षा एसईई आजबाट देशभर एकै साथ शुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षामा ७७ वटै जिल्लाका ४ लाख ८५ हजार ५ सय ८६ जना परीक्षार्थी सहभागी हुँदै छन्। जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ छन् । परीक्षा नियन्त्रण कार्यालयले १ हजार ९ सय ५६ केन्द्रमा परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार प्रदेश १ बाट ८४ हजार २ सय ९०, प्रदेश २ बाट ७० हजार ४ सय २ र ३ बाट सबैभन्दा बढी १ लाख ८२ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । प्रदेश ४ बाट ४८ हजार ९ सय ५४, प्रदेश ५ बाट ७९ हजार, कर्णाली प्रदेशबाट ३८ हजार र प्रदेश ७ बाट ५५ हजार विद्यार्थीले परीक्षा दिँदै छन् । यस वर्ष ९ हजार ९ सय ८८ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । परीक्षा नियन्त्रक रेग्मीले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । शिक्षा ऐन २०२८ को दफा १७ अनुसार परीक्षामा दख्खर पुग्ने काम जोकोहीले गरेमा १ लाख रुपैयाँ जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । परीक्षाको अनुगमन गर्न, केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहसम्म विभिन्न संयन्त्र बनाइएको छ । यस वर्ष १० वर्षपछि नयाँ पाठ्यक्रमअनुसारको परीक्षा हुन लागेको हो । यसपालिबाट अनिवार्य विषयतर्फ गणितबाहेक सबैमा प्रयोगात्मक परीक्षा हुने व्यवस्था गरिएको छ । परीक्षार्थीले गे्रड पद्धतिमा नम्बर पाउने छन् । साधारणतर्फको परीक्षा १७ गतेसम्म र प्राविधिकतर्फको चैत २० गतेसम्म परीक्षा संचालन हुने बोर्डले जनाएको छ । आगामी वर्षदेखि भने प्रदेशस्तरमा एसईई परीक्षा संचालन गर्ने तयारी छ ।
विद्यालयमा छात्रा आफैं सेनेटरी प्याड बनाउँछन्
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित नुनसरी आधारभूत विद्यालयको कक्षा ८ मा अध्ययनरत छात्रा नुमा लिम्बूले नौ महिनायता विद्यालयमा आफैंले बनाएको सेनेटरी प्याड प्रयोग गर्दै आउनुभएको छ । लिम्बू मात्र होइन विद्यालयमा अध्ययरनत अधिकांश छात्रा महिनावारी हुने समयमा विद्यालयमै बनाइएको सेनेटरी प्याड पूर्ण सरसफाइका साथ प्रयोग गर्दै आएका छन् । कक्षा ७ मा अध्ययनरत अञ्जली निरौला भन्नुहुन्छ, “फलाटिनको कपडा प्रयोग गरेर बनाइएको सेनेटरी प्याड पुन ः प्रयोग गर्न मिल्ने र नरमसमेत हुने भएकाले प्रयोग गर्ने गरेका छौँ ।” एक मिटर कपडाबाट चार वटा सेनेटरी प्याड बनाउन सकिने र तत्काल आवश्यक पर्दा विद्यालयमा रु २५ तिरेर छात्रालाई प्रयोग गर्न दिइन्छ ।” सो रकमबाट छात्राले प्याड बनाउन आवश्यक पर्ने सामग्री किन्ने गरेका छन् । कपडालाई साइजअनुसार काटी सियो–धागोले सिलाएर खिपसमेत प्रयोग गरिन्छ । फलाटिनको कपडाभित्र एउटा नरम कपडा पनि प्रयोग गरिन्छ । प्याड २१ इन्च लम्बाइ र १४ इन्च चौडा हुन्छ । छात्राले आफैँ बनाएको सेनेटरी प्याड विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षिकाले पनि प्रयोग गर्दै आएका छन् । कक्षा ६ देखि ८ सम्मका छात्रा खुलेर विद्यालयमै सेनेटरी प्याड मात्र बनाउँदैनन्, महिनावारीको विषयमा पनि खुलेरै छलफल गर्ने भएका छन्् । प्लान नेपाल र सामुदायिक समाज उत्थान केन्द्र (सिएसडिसी) ले विद्यालयमा संयुक्त रुपमा महिनावारी स्वच्छता व्यवस्थापन कार्यक्रम सञ्चालन गरेपछि छात्रा आफँै सेनेटरी प्याड बनाउन र महिनावारीका विषयमा खुलेरै कुरा गर्न सक्ने भएका हुन् । विद्यालयमा १४ छात्राको महिनावारी स्वच्छता तथा व्यवस्थापन किशोरी समूह बनाइएको छ । सोही समूहमा छात्रा भेला भएर सेनेटरी प्याड बनाउनाका साथै महिनावारीका विषयमा छलफल गर्दै आएका हुन् । समूहले महिनावारीका विषयमा सचेतनामूलक सडक नाटकसमेत छिमेकका चार वटा विद्यालयमा देखाइसकेका छन् । प्लान नेपाल र सिएसडिसीले शुरुमा केही छात्रालाई सेनेटरी प्याड बनाउन सिकायो । त्यसपछि सिकेका छात्राले एकदिने तालीम सञ्चालन गरेपछि सबै छात्रा सजिलै सिनेटरी प्याड बनाउने भएका हुन् । उनीहरुले पुन ः प्रयोग गर्न सकिने प्याड बनाउन अभिभावकलाई समेत सिकाएको छात्रा सभ्या लिम्बूले बताउनुभयो । “महिनावारी भएको बेला विद्यालय आउन मनै लाग्दैन थियो, साथीहरूले जिस्काउँछन् कि भन्ने डर लाग्दथ्यो,” कक्षा ८ मा अध्ययनरत अमिशा लिम्बूले भन्नुभयो, “तर, यसबारे तालीम पाएपछि कुनै डर लाग्दैन । पढ्दापढ्दै महिनावारी भयो अथवा कुनै अप्ठ्यारो भयो भने स्कूलमै छुटृै कोठा भएकाले सबै छात्रालाई सहज भएको छ ।” विद्यालयमै छात्रा आफँैले सेनेटरी प्याड बनाउन थालेपछि महिनावारी भएको बेला विद्यालय नआउने छात्राको संख्या शत्प्रतिशत घटेको प्रधानाध्यापक ठमेश मोक्तानले बताउनुभयो । यसअघि महिनावारीको बहानमा धेरै छात्रा विद्यालय नआउने गरेकामा अहिले त्यस्तो अवस्था नरहेको चर्चा गर्दै प्रअ मोक्तानले भन्नुभयो, “विद्यालयमै आराम कक्ष र सेनेटरी प्याडको व्यवस्थाले गर्दा उनीहरु सहज रुपमा विद्यालय आउन थालेका छन् ।” विद्यालयमा कूल २०० विद्यार्थी अध्ययनरत छन् । रासस
निजामती कर्मचारी युनियनमा पोखरेल
चितवन । नेपाल निजामती कर्मचारी युनियन (संघ)का अध्यक्षमा गोपालप्रसाद पोखरेल निर्वाचित हुनुभएको छ । रत्ननगरमा भएको सातौँ महाधिवेशनमा राजेन्द्र बुढाथोकीलाई पराजित गर्दै पोखरेल विजयी हुनुभएको हो । गएराति ३ बजे सकिएको महाधिवेशनमा उहाँले बुढाथोकी भन्दा ३० मत बढी ल्याउनुभयो । कूल ५४५ खसेको मतमा पोखरेलले २८४ र बुढाथोकीको २५४ मत आएको थियो । अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ३६२ मतका साथमा सुरेन्द्र अधिकारीलाई निर्वाचित गरेको छ । प्रतिद्वन्द्वी सुशीलकुमार केसीले १७० मत प्राप्त गर्नुभयोे । अर्का उपाध्यक्षमा कृष्ण दाहाललाई हराउँदै उत्तमकुमार कटवाल निर्वाचित हुनुभयो । महासचिवमा सुवास कोइराला निर्विरोध हुनुभएको प्रमुख निर्वाचन अधिकृत यदुनाथ खनालले जानकारी दिनुभयो । उहाँका अनुसार आज सबैलाई शपथ खुवाउने कार्यक्रम राखिएको छ । गए राति सकिएको महाधिवेशनले २६ पदाधिकारीसहित ८० जना निर्वाचित गरेको छ । पाँचजना भनेपछि मनोनयन हुने व्यवस्था रहेको खनालले जानकारी दिनुभयो । तीन वर्षीय कार्यकालका लागि सचिवमात्रै सात जना निर्वाचित भएका छन् । यही चैत ४ गतेदेखि यहाँ चलेको महाधिवेशनमा देशभरका ५६९ प्रतिनिधिमध्ये ५४५ जना सहभागी थिए । महाधिवेशनको काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको थियो । रासस
ताप्लेजुङका १५२ विद्यार्थी एसइई परीक्षा दिनबाट बञ्चित
ताप्लेजुङ, चैत ७ । ताप्लेजुङका १५२ जना विद्यार्थी यस वर्षको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका कारण उनीहरु यही चैत ८ गतेबाट सुरु हुने माध्यामिक तहको एसइई परीक्षामा सहभागी हुन नपाउने भएका हुन् । सामुदायिक र संस्थागत गरी ६४ वटा विद्यालयबाट परीक्षा आवेदन दिएका २,२३४ जनामध्ये १५२ जना अयोग्य ठहरिएको जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले जानकारी दिए । उनका अनुसार एक्जाम्टेडतर्फका ३१८ समेत गरि २,४०० परीक्षार्थी परीक्षामा सामेल हुनेछन् । यीमध्ये ५२ जना प्राविधिकतर्फका छन् । यस्तै जिल्ला कारागारमा रहेका एकजना कैदीसमेत परीक्षामा सामेल हुने जनाईएको छ । उनी भानुजन माविमा सञ्चालित खुल्ला विद्यालयका विद्यार्थी हुन् । परीक्षाका लागि जिल्लाभर १७ वटा केन्द्र निर्धारण गरिएको छ भने झण्डै २ सय बढी कर्मचारी परिक्षामा खटिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । परीक्षाका लागि सम्पुर्ण तयारी पुरा भएको समेत जिल्ला शिक्षा कार्यालयको भनाइ छ ।
कक्षा एकमै फेल गराउने पद्धति !
काठमाडौँ, चैत ७ । नयाँ शैक्षिक सत्र सुरु हुन अझै महिना दिन बाँकी छ । तर, यतिखेरै अभिभावकहरू ‘राम्रो’ स्कुल खोज्दै आफ्ना छोराछोरी भर्ना गराउन व्यस्त छन् । जाँच लिएरमात्र भर्ना गर्ने नियम बनाएका कतिपय स्कुल रोज्ने अभिभावकहरु थुप्रै दिनदेखि नानीहरुलाई प्रवेश परीक्षा तयारी गराइरहेका छन् । तर, आफूले चाहेको विद्यालयमा सन्तानले प्रवेश पाउनेमा उनीहरु विश्वस्त छैनन् । र, भर्ना कै लागि ‘सोर्सफोर्स’को सहारा खोज्दैछन् । अधिकांश विद्यालयले कक्षा १ मै पनि भर्नाका लागि प्रवेश परीक्षा लिने गरेका छन्। गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावक सुरुवाती कक्षामै छोराछोरीका निम्ति भौतारिन बाध्य छन् । खुला बजारमा विद्यालय छनोट गर्ने अधिकार भएपनि प्रतिस्पर्धाका नाममा नाबालकले ‘फेल’ हुनुपर्ने परिस्थिति नकारात्मक हुने अभिभावको ठम्याइ छ । ‘अधिकांश निजी विद्यालयको कक्षामा सीमित विद्यार्थी पढाउन भर्ना गर्ने हो र कक्षा १ मै प्रवेश परीक्षा दिलाएर फेल गराउने चलन बाल मनोविज्ञानका निम्ति हानिकारक छ,’ अभिभावक संघका पूर्वअध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘अहिले चैत नलाग्दै केही विद्यालयले त्यही नियति दोहोर्याउँदै छन् । प्रवेश परीक्षा नीति बन्द हुनुपर्छ ।’ –कान्तिपुर दैनिकबाट
तीन घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य छन्
पर्वत । सरकारले कुनै पनि विद्यार्थीलाई विद्यालयसम्म पुग्नका लागि आधा घण्टाभन्दा बढी पैदल हिँड्नु नपर्ने गरी विद्यालय बनाउनुपर्ने मापदण्ड तोके पनि यहाँको एक विकट गाउँमा भने विद्यार्थी विद्यालय पढ्नका लागि दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँड्न बाध्य छन् । पर्वत जिल्लाको महाशिला गाउँपालिका–४ पाखापानीका विद्यार्थी कक्षा ११ र १२ अध्ययनका लागि तीन घण्टाभन्दा बढी पैदल हिँडेर विद्यालय पुग्नु छ । पाखापानीमा माध्यमिक तह तीन वटा भए पनि दश जोड दुई सञ्चालन भएको विद्यालय एउटा मात्र भएकाले अध्ययनका लागि टाढा जानु परेको हो । पाखापानीका सिम्ले, भण्डारीथर, कोखे, चौडिल्ला लगायतका बस्तीका विद्यार्थी बिहान दुई घण्टा उकालो हिँडेर विद्यालय पुग्न र फर्किंदा डेढ घण्टाभन्दा बढी हिँडेर घर आउन बाध्य भएका हुन् । बस्तीभन्दा विद्यालयको दूरी टाढा छ । लामतुनमा रहेको जनविकास माविमा पुग्नुपर्ने उनीहरुको बाध्यता छ । एसइईसम्मको अध्ययन स्थानीय स्वधर्म मावि र विश्वज्योति माविमा पढे पनि दश जोड दुईका कक्षा नहुँदा टाढा हिँडेर जानुपर्ने बाध्यता रहेको कक्षा १२ मा अध्ययनरत राहुल भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “बिहान ८ बजे नै घरबाट हिँड्नुपर्ने बाध्यता छ । उकालो बाटोमा निकै थकानका साथ पुग्नु पर्दा पठनपाठनमा समेत असर पर्ने गरेको र ग्रामीण भेग भएकाले सवारीसाधनको व्यवस्थासमेत नभएको उहाँको गुनासो थियो ।” त्यस्तै सोही स्थानकी विद्यार्थी शिवकला क्षेत्रीले बस्तीभन्दा टाढा विद्यालय हुँदा सास्ती खेप्नु परेको छ भन्दै उहाँले भन्नुभयो, “नजिकमा विद्यालय भएको भए बिहानभरि पढेर, थोरै समयमै विद्यालय पुग्न सकिन्थ्यो तर टाढा हुँदा न त बिहान पढ्ने समय नै हुन्छ न त घरको काम गर्ने ।” विद्यालय भएको बस्ती लामतुनमा भन्दा पैदल हिँडेर जाने विद्यार्थीको संख्या उल्लेख्य रहेको वडा सचिव झलकशर्मा पौडेलले बताउनुभयो । “विद्यालय भएको बस्तीभन्दा टाढाका बस्ती सुगम भएकाले पनि त्यहाँ जनघनत्व बढी छ तर त्यहाँका विद्यालयमा कक्षा ११, १२ पढ्ने सुविधा छैन, त्यसैले यहाँका विद्यार्थीले निकै सास्ती पाएका छन्”, पौडेलले भन्नुभयो । “कि त महाशिला गाउँपालिका–५ मा रहेको महेन्द्रज्योति उच्च माविमा पुग्नु पर्छ,” उक्त विद्यालयमा जानका लागि पनि यति नै समय लाग्ने पौडेलले जानकारी दिनुभयो । भिरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षा हुँदाको दिन पहिरोको डरले त्यहाँ नजाने गरेको अर्की विद्यार्थी सृजना क्षेत्रीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ साथी नपाउँदा एक्लै जानसमेत समस्या छ ।” बस्ती नजिकै रहेका स्वधर्म मावि र विश्वज्योति माविमा उच्च मावि नखुल्दा आफूजस्ता ५० जनाभन्दा बढी विद्यार्थीले सास्ती पाउने गरेको उहाँले बताउनुभयो । दैनिक तीन घण्टाभन्दा बढी पैदल हिँडेर जानुपर्ने बाध्यतामा यो गाउँका ५० भन्दा बढी विद्यार्थी रहेको विद्यालयले जनाएको छ । विद्यालयका प्रअ चक्रबहादुर क्षेत्रीले टाढाबाट आउने विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै थोरै समय कुर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी विद्यालयमा आइसकेपछि मात्र पठनपाठन शुरु गर्ने गरेका छाँै,” नजिकका विद्यार्थी चाँडो आए पनि केही समय पर्खेर, उनीहरु आउने÷नआउने निधो गरेर पढाउन शुरु गरिने प्रअ क्षेत्रीले बताउनुभयो । सिंगो वडाकै एउटा मात्र दश जोड दुई सञ्चालन भएको विद्यालय भएकाले विद्यार्थीको संख्यासमेत धेरै छ । अहिले प्लस टू मा मात्रै १५० विद्यार्थी रहेको विद्यालयले जनाएको छ । रासस
दमकल सञ्चालनमा ११ कर्मचारीहरु छन्
ललितपुर । जिल्लामा दमकल सञ्चालनका लागि जनशक्ति अपर्याप्त भएको छ । दकमल सञ्चालनका लागि नौजनाको समूह तयार अवस्थामा बस्नुपर्ने मान्यता भए पनि जनशक्ति अभावले गर्दा काम मिलाएर चार पाँच जनामात्रै हुने गरेको नगर प्रहरी प्रमुख कदमलाल महर्जन बताउनुहुन्छ । महानगरपालिकाको आफ्नो एक जना कर्मचारी र १० जना करारका कर्मचारी गरेर दमकलमा ११ जना कार्यरत छन् । यिनीहरुले बिहान र बेलुका काम मिलाउँदा चार पाँच जना मात्रै तयार अवस्थामा कार्यालयमा हुन्छन् । उहाँ भन्नुहुन्छ, “जनशक्ति पुग्ने नहुँदा काम गर्न गाह्रो हुन्छ ।” आगो लाग्नासाथ कर्मचारी दमकल लिएर घटनास्थलमा पुग्ने प्रमुख महर्जन बताउनुहुन्छ । चालक, पानी फाल्ने मान्छे, रोलिङ बोक्ने, हान्नका लागि इशारा गर्ने, पानी नियन्त्रण गर्ने लगायतले आआफ्नो जिम्मेवारीको काम गर्छन् । थोरै जनशक्ति हुँदा एक व्यक्तिले नै एकभन्दा बढी काम गर्नुपर्छ । पानीको गति धेरै हुँदा नियन्त्रणका लागि धेरै जना चाहिन्छ । उहाँ भन्नुहुन्छ, “धेरै गति हुँदा चार जनासम्म चाहिन्छ, त्यही काम दुई जनाले गर्न सक्दैनन् ।” महानगरपालिकामा अहिले पानी बोक्ने ट्यांक भएको दुई र नभएको दुई गरेर चार दमकल छन् । काठमाडौँं उपत्यकाका तीन वटै जिल्लाका दमकल आगलागी हुँदा सबैतिर पुग्ने गरेका छन् । रासस
कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी
काठमाडौं, चैत ४ । नयाँ पत्रिका दैनिकले ‘कर्मचारीको स्वैच्छिक अवकाश रोक्ने तयारी’ शीर्षकको मुख्य समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कर्मचारीलाई अवकाशमा होइन, काममा पठाउने हो’ भनेको र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित पनि स्वैच्छिक अवकाशको विपक्षमा रहेको समाचारमा लेखिएको छ । समाचारमा लेखिएको छ, ‘सेवाअवधि सकिन लागेका धेरै कर्मचारी यो प्याकेजमा आकर्षित भएपछि वर्तमान सरकारले प्याकेज नै रद्द गर्ने तयारी गरेको छ ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्याएको थियो । प्याकेजमा एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पीएन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन तयार भए । जबकी यी कर्मचारीलाई बिदाइ गर्दा कम्तीमा ३० अर्ब आर्थिक भार पर्ने सरकारी अनुमान छ ।
बैतडीबाट एसईई परीक्षामा पाँच हजार ८०० विद्यार्थी सहभागी
बैतडी । बैतडी जिल्ला यसवर्षको एसइई परीक्षामा पाँच हजार ८०० भन्दा बढी परीक्षार्थी सहभागी हुने भएका छन् । यही चैत ८ गतेदेखि शुरु हुने उक्त एसइई परीक्षामा दुई हजार ७३६ छात्र र तीन हजार १५८ छात्रा गरी पाँच हजार ८९४ परीक्षार्थी सामेल हुने जिल्ला शिक्षा कार्यालय बैतडीका विद्यालय निरीक्षक शंकरदत्त जोशीले जानकारी दिए । तीमध्ये नियमिततर्फ दुई हजार ५७३ छात्र, दुई हजार ८१६ छात्रा गरी पाँच हजार ३८९ परीक्षार्थी सहभागी हुने भएका छन् भने १६३ छात्र र ३४२ छात्रा गरी ५०५ जना एक्जाम्टेडतर्फ र ८८ जना प्राविधिकतर्फ परीक्षार्थी सहभागी हुने जनाइएको छ । ती परीक्षार्थीका लागि बैतडीमा २५ केन्द्र नियमित र दुई केन्द्र एक्जाम्टेडका गरी जम्मा २७ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एक्जाम्टेडका लागी सदरमुकामस्थित शाहिलेकमा रहेको वीरेन्द्र मावि ‘ख’ र पाटनमा रहेको पाटन भ्याली बोर्डिङ स्कूललाई परीक्षा केन्द्रका रुपमा तोकिएको विद्यालय निरीक्षक जोशीले बताए । एसइई परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ । केन्द्राध्यक्ष तोकिसकेको र बुधबारदेखि उत्तर पुस्तिका ढुवानी गरी केन्द्रमा पुर्याउने काम भइरहेको विद्यालय निरीक्षक जोशीले जानकारी दिए । एसइई परीक्षा निर्देशिका तथा केन्द्राध्यक्ष निर्देशिका पुस्तिका अनुसार मावि तहका प्रधानाध्यापक तथा शिक्षकलाई केन्द्राध्यक्ष तोकिएको बताइएकोे छ । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षको यही चैत ४ गते एकदिने अभिमुखीकरण कार्यक्रम राखिएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका पदाधिकारीले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि केन्द्राध्यक्षलाई निर्देशन दिने जनाइएको छ । यसैबीच, यसबर्ष बैतडीमा एसइई परीक्षाका लागि १५२ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाजिरी नपुगेका तथा समयमै शुल्क नतिरेका, बीचमै विद्यालय छोडेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका जिल्ला शिक्षा कार्यालय बैतडीले जनाएको छ ।
एसइई परीक्षाको तयारी अन्तिम चरणमा
कैलाली । आगामी चैत ८ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी कैलालीमा अन्तिम चरणमा पुगेको छ । परीक्षाका लागि आवश्यक पर्ने कार्य करीब पू्रा भएसंगै तयारी अन्तिम चरणमा पुगेको हो । यस वर्ष कैलाली जिल्लामा १६ हजार नियमित र ६९९ विद्यार्थी एक्जाम्टेड तर्फबाट एसइई परीक्षामा सहभागिता जनाउ‘दैछन् । एक हप्तापछि हुने यो वर्षको सइई परीक्षाको तयारी कैलालीमा अन्तिम चरणमा पुगेको हो । विगत वर्षभन्दा यो वर्षको परिक्षालाई अझैं मर्यादित बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले अहिले आवश्यक तयारी समेत तिव्र पारेको छ । हालसम्म विभिन्न स्थानीय तहमा रहेका ५३ परिक्षा केन्द्रमध्ये ५२ केन्द्रमा उत्तर पुस्तिका समेत पुगिसकेका छन् । साथैं, जिल्लामा प्रश्नपत्र पनि पुगिसकेको र बॉकि रहेको कार्य परिक्षा संचालन हुने दिनसम्म सम्पन्न भइसक्ने जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी धर्मसिंह ऐरले जानकारी दिए । कैलालीमा यो वर्षको एइई परीक्षामा १६ हजार ९२ नियमित र ६ सय ९९ विद्यार्थीले सहभागिता जनाउ‘दै छन् । गत वर्षभन्दा यस पटक नियमिततर्फ चार हजार कम विद्यार्थीले परिक्षा दिने सूचना अधिकारी ऐरले बताए । गतवर्षभन्दा यो वर्ष परिक्षा केन्द्र पनि घटाइएको छ । यो वर्ष ५३ परीक्षाकेन्द्र तोकेको छ । गत वर्ष ५४ परिक्षा केन्द्र तोकिएका थिए । यो वर्ष जिल्लाका सामुदायिक र संस्थागत गरि २ सय ६३ विद्यार्थीले एइई परीक्षामा सहभागिता जनाइरहेका सूचना अधिकारी ऐरको भनाई छ । यो वर्ष एक्जाम्टेडका लागि तिन वटा परीक्षा केन्द्र तोकिएको छ । जिल्लाको सुखड स्थित जनज्योति मा.वि, सरस्वती मावि बनगाउ‘ र टिकापुर मा.वि टिकापुरमा एक्जाम्टेडका लागि परीक्षा केन्द्र तोकिएका छन् ।
चैत ८ गतेबाट एसर्इर्इ परीक्षा सुरु, तनहुँबाट ६ हजार ३५६ विद्यार्थी सामेल
तनहुँ । यही चैत ८ गतेदेखि हुने एसइई परीक्षामा तनहुँबाट ६ हजार ३५६ जना परीक्षार्थी सामेल हुने भएका छन् । एसइई परीक्षामा साधारण तर्फका ६ हजार १३२, एक्जाम्टेड तर्फका ९२ र प्राविधिक तर्फका १३२ जना परीक्षार्थी परीक्षामा सामेल हुने जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । ती परीक्षार्थीका लागि यसपटक २४ वटा परीक्षा केन्द्र कायम गरिएको छ । एसइई परीक्षाको तयारी कार्य अन्तिम चरणमा पुगेको जिल्ला शिक्षा अधिकारी रुद्रहरी भण्डारीले बताए । उत्तरपुस्तिका केन्द्रमा पुर्याउने काम भइरहेको जानकारी उनले दिए । “केन्द्राध्यक्ष तोक्ने र प्रश्नपत्रहरु पठाउने काम चैतको पहिलो साताबाट शुरु गर्छौं”, उनले भने । परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन सरोकारवाला निकायसँग अन्तरक्रिया गरिने जानकारी भण्डारीले दिए । विगतका वर्षमा राजनीतिक भागबण्डामा केन्द्राध्यक्ष चयन गर्ने गरेको गुनासो आएपछि जिशिकाले पछिल्ला वर्षदेखि केन्द्र परेकै विद्यालयको मावि तहको स्थायी प्रधानाध्यापकलाई नै केन्द्राध्यक्ष नियुक्त गर्न थालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्ति रमण वाग्लेले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आफुहरु लागिरहेको बताए । यसैबीच, तनहुँमा एसइई परीक्षाका लागि १६४ जना विद्यार्थी अयोग्य रहेका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका ती विद्यार्थी परीक्षाका लागि अयोग्य भएका हुन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय : आङ्गिक क्याम्पसलाई ३० लाख
सुर्खेत, फागुन २९ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १० ओटा आङ्गिक क्याम्पसको पूर्वाधार विकासका लागि ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार महेन्द्रकुमार मल्लले आइतवार ती क्याम्पसका प्रमुखलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । विश्वविद्यालय अनुदान आयोगले पूर्वाधार विकासका लागि छुट्याइएको ८० लाखमध्ये पहिलो किस्ताबापत सो रकम हस्तान्तरण भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । उनका अनुसार नारायण क्याम्पस दैलेख, बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँके, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, मुसिकोट क्याम्पस खलङ्गा रुकुम, जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेत र भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत, तिला बहुमुखी क्याम्पस मान्मा कालिकोट र जलजला बहुमुखी क्याम्पस रोल्पाले अनुदान पाएका छन् ।

