कक्षा ११ र १२ मा गणित नहट्ने
काठमाडौं, कार्तिक १३ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले चर्को विरोध गरेपछि प्रारूप परिवर्तन गरेर जीव विज्ञानमा पनि गणितलाई इच्छाधीन नै कायम राख्ने निर्णय केन्द्रले गरेको हो।
विषयगतविज्ञसँग परामर्श नगरी पाठ्यक्रम बनाएको आरोपसमेत केन्द्रमाथि लागेको थियो। पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक डा।लेखनाथ पौड्यालले नयाँ पाठ्यक्रम बनाइरहेको जानकारी दिए। अर्को वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार पढाइ हुनेछ। पुरानो पाठ्यक्रमअनुसार जीव विज्ञानमा गणित ऐच्छिक विषयका रूपमा पढाइ भइरहेको छ।
नयाँ संरचनाअनुसार कक्षा ११ र १२ विद्यालय तहमा गाभिएपछि केन्द्रले नयाँ पाठ्यक्रम बनाइरहेको हो। अधिकांश विद्यार्थीलाई अनुपयोगी रहेको तर्क गर्दै केन्द्रले गणित हटाउने प्रस्ताव गरेको थियो। केन्द्रले विज्ञकै सुझावमा गणितलाई निरन्तरता दिएको हो। जीव विज्ञानका विद्यार्थीले साताको ५ दिन गणित पढ्नेछन्। नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा ७ विषयको पढाइ हुनेछ। कक्षा ९ र १० मा आठ तथा कक्षा ११ र १२ मा पाँच विषय पढाइ भइरहेको छ। अन्नपूर्ण पोष्टमा खबर छ ।
वैदेशिक रोजगारलाई व्यवस्थित गर्न अावश्यक : मन्त्री विष्ट
विराटनगर । श्रममन्त्री गोकर्ण विष्टले विदेशमा नेपाली युवा श्रमिकले गर्ने सुरक्षित व्यवस्थित गर्न केही समयका लागि मलेसियामा रोजगारीका लागि जान रोक लगाइएको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा नेपालबाट कामदार पठाउँदा भएको विसंगति र विकृति सुधार गर्न मलेसिया सरकारले सुझाव दिएकाले अब दुई देशबीच सहमति भएपछि मात्र नेपाली श्रमिकलाई रोजगारका लागि पठाइने बताए । मन्त्री विष्टले दशकौंदेखि वैदेशिक रोजगारमा देखिएका समस्या समाधान गर्न केही समय लाग्ने बताउँदै वर्तमान सरकारले विदेशमा काम गर्ने नेपाली युवा नठगिउन भन्ने उद्देश्यले कार्य गरिरहेको प्रष्ट पारे । उनले वैदेशिक रोजगारमा देखिएका विभिन्न समस्या समाधान गर्न सरकार कटिबद्ध रहेको बताउँदै शिक्षा, रोजगार, स्वास्थ्य आवासजस्ता जनताको मौलिक अधिकार संरक्षणका लागि सरकारले कानून निर्माण गर्ने छ भने । मन्त्री विष्टले वर्तमान अवस्थामा विश्वका १७१ राष्ट्रमा नेपाली युवा कामका लागि जाने गरेको बताउँदै ती राष्ट्रमा श्रमिकको हकअधिकार व्यवस्थित, सुरक्षित र बनाउन सरकारले पहल गर्नेे बताए । रासस
४६७ कर्मचारी स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन फिर्ता
काठमाडौँ । स्वेच्छिक अवकाश रोजेका ४६७ कर्मचारीले स्वेच्छिक अवकाशमा नजाने भन्दै निवेदन दर्ता गराएका छन् । सरकारले स्वेच्छिक अवकाश रोजेका कर्मचारीलाई निवेदन फिर्ता गर्न आग्रह गरेपछि अहिलेसम्म ४६७ जना कर्मचारीले निवेदन दर्ता गराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेज अधिकारीले जानकारी दिए । सचिव डा सरोज पोखरेल र सन्तु कोइरालासहित छ सहसचिव, २२ उपसचिव, २५ शाखा अधिकृतले अवकाशका लागि दिएको निवेदन फिर्ता गरेका छन् । फिर्ताका लागि निवदेन दिनेमा सहसचिव चर्तुभुज ज्ञवाली, विष्णुसिंह विष्ट, विश्वप्रकाश सुवेदी, भरत ढुंगाना, मुक्तिसिंह ठकुरी र बलभद्र गिरी रहेका छन् । प्रवक्ता अधिकारीले अवकाशको निवदेन फिर्ता गर्नका लागि समयसीमा नतोकिएकाले जहिलेसम्म पनि फिर्ता लिन सकिने बताए । सरकारले एकै पटक धेरै कर्मचारीलाई अवकाश दिँदा आर्थिक व्ययभार बढ्ने तथा कर्मचारी नपुगेको अवस्थामा अनुभवी कर्मचारीलाई अवकाश दिँदा समस्या पर्ने भएकाले अवकाश फिर्ता लिने निर्णय गरेको हो । मन्त्रालयले गत जेठ १९ देखि अवकाशका निवेदन दिएका कर्मचारीको निवेदन फिर्ता लिन थालेको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई अघिल्लो सरकारले स्वेच्छिक अवकाशलाई आह्वान गर्दा करीब नौ हजार ६७१ कर्मचारीले निवेदन दर्ता गराएका थिए । रासस
अविरल वर्षाका कारण विद्यालयमा परीक्षा स्थगित
दार्चुला । गएराति अबिरल वर्षाका कारण नौगाड खोलामा आएको बाढीले पुल बगाएको छ । नौगाड गाउँपालिका–६ स्थित नौगाड खोलामा आएको बाढीले पुल बगाएपछि जनहित माविमा सञ्चालन भइरहेको प्रथम चौमासिक परीक्षा स्थगित गरिएको छ । विद्यालय जान खोलामा निर्माण गरिएको काठे पुल बाढीले बगाएपछि परीक्षा स्थिगित गरिएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेमसिँह ठगुन्नाले जानकारी दिनुभयो । बाढीले पुल बगाउँदा विद्यार्थी विद्यालय जानबाट वञ्चित भएका छन् । सर्वसाधारण एउटा गाउँबाट अर्को गाउँमा आवतजावत गर्न सकिरहेका छैनन् । “खोलामा एक्कासि पानीको बहाव बढ्यो, पुल बगाएपछि विद्यार्थी कोही आउन नसकेपछि परीक्षा स्थिगित गर्नु परेको हो,” सहायक प्रधानाध्यापक ठगुन्नाले भन्नुभयो । जनहित माविमा प्रथम चौमासिक परीक्षा दिइरहेका १५० विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । बाढीले जमीनसमेत कटान गरेको स्थानीयवासी बहादुरसिंह ठगुन्नाले बताउनुभयो । यस्तै, सोही क्षेत्रको देथला–धुलिगडा सडकखण्डको ठाउँ ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडकको पर्खाल भत्किएको छ । तीन दिनदेखि जिल्लामा दिउँसो घाम लाग्ने तथा रातिको समयमा भारी वर्षा हुने गरेको छ । रासस
छात्राको संख्या बढी भएपनि एसर्इर्इ परीक्षाको नतिजामा छात्र नै अगाडि
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भने सोही जिपिएमा छात्रको प्रतिशत ६ दशमलव ६ देखिएको छ । जिपिए २ भन्दा तल धेरै छात्रा देखिएका छन् । शनिबार सार्वजनिक नतिजाअनुसार ३ दशमलव २५ देखि ३ दशमलव ६ सम्म हासिल गर्नेमा करीब ९ प्रतिशत छात्रा छन् भने छात्राको प्रतिशत ११ दशमलव ६ प्रतिशत छ । शिक्षाविद् डा मनप्रसाद वाग्ले भन्नुहुन्छ, “परीक्षामा संख्यात्मकरूपमा छात्राको संख्या बढी देखिए तापनि गुणात्मकरूपमा छात्रको उपलब्धि बढी देखिएको छ, यो सकारात्मक संकेत होइन । झण्डै ५० प्रतिशत छात्राका जिपिए २ भन्दा तल हुनुले शिक्षामा समानता ल्याउनु चुनौतीपूर्ण देखाएको छ ।” उहाँले आगामी दिनमा छात्राको उपलब्धि बढाउन र शिक्षाको लगानीअनुसारको प्रतिफल ल्याउन प्रत्येक विद्यालयले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले सहभागीमा छात्राको संख्या बढी भए पनि परिणामअनुसार छात्राहरु केही पछाडि परेको पाइएको बताउनुभयो । प्राविधिक त्रुटि सच्चाइयो शनिबार सार्वजनिक भएको संवत् २०७४ को परीक्षाफलमा केही विद्यार्थीको नतिजाको ग्रेडमा भोलिपल्ट वृद्धि भएको विषयमा परीक्षा नियन्त्रण कार्यालयले गल्ती स्वीकार्दै प्राविधिकरुपमा सुधार गरेको छ । नतिजा वेभसाइटमा राख्दा इनपुट र आउटपुटको सूत्र प्रोसेसिङको प्राविधिक पक्षमा केही विषयको मार्जिनल केसमा जिपिए सुधार भएको हो । उपनियन्त्रक गौतमले प्राक्टिकल नम्बर जोड्न भूल भएको नभई प्राविधिक त्रुटि भएको दाबी गर्दै केही विद्यार्थीको अन्तिम ग्रेडसिटमा ग्रेड सामान्य वृद्धि भएको बताउनुभयो । प्राविधिक त्रुटिको विषयमा छानविनको माग भइरहेका बेला कार्यालयको पछिल्लो ग्रेडसिटलाई आधिकारिक मान्न आग्रह गरेको छ । सरकारी र निजीको तुलना हुँदै परीक्षाफल सार्वजनिक भएको भोलिपल्ट प्राविधिक गडबडी पत्ता लागेपछि ग्रेडसिटलाई सुधार्न प्राविधिक टोली व्यस्त भए पनि पनिकाले परीक्षाफलका विविध पक्षहरुको विश्लेषण गर्न भ्याएको छैन । सहभागीमध्ये सामुदायिक र निजी विद्यालय तथा प्रदेशगत तुलनाको आँकडा तयार भइनसकेको उपनियन्त्रक गौतमले बताउनुभयो । उहाँले जिपिएलाई ‘ए’, ‘बि’, ‘सी’ जस्ता ग्रेड र प्रतिशतमा रुपान्तरण गर्न नसकिने पनि स्पष्ट गर्नुभयो । नेपाल शिक्षक युनियनका अध्यक्ष बाबुराम थापाले विगतको तुलनामा सामुदायिक विद्यालयको नतिजामा क्रमशः सुधार आएको जनाउँदै शिक्षक नेता प्रधानाध्यापक रहेका विद्यालयमा पनि नतिजा राम्रो रहेको दाबी गर्नुभयो । ललितपुरको रुद्रायणी मावि, खोकनाका प्रअ थापाले आफ्नो विद्यालयमा ‘ए’ प्लससहित सबै विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य हुने गरी सफल भएको जानकारी दिनुभयो । “शिक्षक नेताहरुले राजनीतिमात्र गर्छन्, पढाउँदैनन् भन्ने आरोपलाई नतिजाले खण्डन गरिदिएको छ”, थापाले भन्नुभयो । रासस
एसर्इई नतिजामा किन भयो भूल ? पहिलो र दोस्रो दिन फरक-फरक जिपिए !
काठमाडौं, असार ११ । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा विद्यार्थीको प्राक्टिकल प्राप्तांक नै नजोडी सार्वजनिक भएको पाइएको छ । परीक्षाफल सार्वजनिक भएपछि आधिकारिक वेभ साइट र नेपाल टेलिकमको १६१६ डायल नम्बरबाट आइतबार विद्यार्थीले पाएको ग्रेड पोइन्ट एभरेज (स्तरीकृत अंक) भन्दा ग्रेड पोइन्ट एभरेज भटाभट बढ्न थालेपछि उक्त प्राविधिक त्रुटि पत्ता लागेको हो । परीक्षा नियन्त्रण कार्यालयले पर्याप्त तयारी, रुजु र पुनरावलोकन नगरी परीक्षाफल प्रकाशित गर्दा प्राविधिक गडबडी भएको पाइएको हो तर कार्यालयले कूल विद्यार्थीको नतिजा के कति बढोत्तरी भयो भन्ने नयाँ तथ्यांक सार्वजनिक गरेको छैन । यसबारे थप अध्ययन र छानबिन हुने देखिएको छ । प्राविधिक कमजोरीबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारी र कर्मचारीले पछिल्लोमा जुन अंक देखिन्छ, त्यही आधिकारिक र सक्कली भन्न थालेका छन् । पछिल्लो ग्रेड सिटअनुसार सबै ग्रेडमा विद्यार्थीको स्तर सामान्य वृद्धि भएको बुझिएको छ । नयाँ स्थितिमा आइतबार सार्वजनिक गरिएको तथ्यांक नै हेरफेर हुने देखिएको छ । ए ग्रेड आउनेको ए प्लस, बी प्लस आउनेको ए ग्रेडसम्ममा हेरफेर भएको ठानिएको छ । परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ‘डाटा अपलोड’ गर्ने वेलामा केही त्रुटि भएका कारण समस्या आएको बताए । पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो । नियन्त्रक रेग्मीले आइतबार बिहान गुनासो आएपछि अपलोड गर्दा भएको त्रुटिलाई इन्जिनियरले सच्याएको बताए । पछिल्लो नतिजा आधिकारिक भएको उनले बताए । यस वर्ष पनिकामा इन्जिनियर नयाँ भएका कारण पनि धेरै समस्या आएको स्रोतको भनाइ छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले विद्यार्थीले नयाँ र सक्कलीस्तरसहितको पछिल्लो नतिजा पाएको हो भने उनीहरूका लागि राम्रो हो तर प्रणाली त्रुटिपूर्ण हुनु कार्यालयको कमजोरी रहेको बताए । उनले भने, ‘बरु एक दिन ढिलो गरेको भए हुन्थ्यो । यसरी त्रुटिपूर्ण विवरण सार्वजनिक हुनु गलत हो ।’ २०७४ को एसईईमा नियमिततर्फ ४ लाख ५१ हजार ३२० विद्यार्थी सहभागी भएका थिए । -रासस, नयाँ पत्रिका
अत्याधिक गर्मी बढेपछि विद्यालयमा भटाभट विद्यार्थी बेहोश हुँदै
लहान । पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण बेहोस भएका विद्यार्थीको सदरमुकामस्थित सिरहा जिल्ला अस्पतालमा उपचार भइरहेको विद्यालयले जनाएको छ । यस्तै, विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । तापक्रममा वृद्धिसँगै हावा नचल्नु र चल्दा पनि तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्कनसमेत समस्या भइरहेको छ । अत्यधिक गर्मीका कारण बजार, शैक्षिक संस्था, सरकारी कामकाजसमेत प्रभावित भएको छ । वैशाख–जेठमा अत्यधिक गर्मीकै प्रकोपबाट बच्न निजी तथा सामुदायिक विद्यालयले बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । यद्यपि विद्यालयबाट फर्कने समय मध्याह्न पर्दा गर्मीले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्दै आएको छ । गर्मी बढ्दा चिसो पेय पदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ भने सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । रासस
शिक्षकलाई अब मासिक रुपमा तलब
दोलखा, जेठ २० । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उहाँले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने (मर्ज) कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मर्ज हुँदा केही शिक्षकलाई घरपायक केहीलाई टाढा पर्न सक्छ, यसमा सबैले चित्त बुझाउनु पर्छ ।” नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दाहाल, सहअध्यक्ष इन्द्रकुमार बस्नेत र सचिव ध्रुव सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षकका पेशागत हकअधिकार सुरक्षित गर्दै शैक्षिक गतिविधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँदे माग पेश गरिएको छ ।
वर्षैभरी विद्यार्थी ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान
काठमाडौँ । सरकारले पहिलो चरणको विद्यार्थी भर्ना अभियानको सफलतापछि विद्यार्थीलाई टिकाइ राख्न र बाँकी विद्यार्थीलाई विद्यालयमा ल्याउन दोस्रो चरणको अभियान सञ्चालनको तयारी गरेको छ । “एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व” भन्ने नाराका साथ सञ्चालित पहिलो चरणको अभियानमा विद्यालय बाहिर रहेका कक्षा १ देखि ५ (५ देखि ९ वर्ष उमेर समूहका) अठासी हजार २०७ मध्ये ७६ हजार ६५७ विद्यार्थी भर्ना भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रारम्भिक विवरणअनुसार कक्षा १ देखि ८ (५ देखि १२ वर्ष उमेर समूहका) तीन लाख १३ हजार २८९ मध्ये दुई लाख ५३ हजार ५५६ बालबालिका विद्यालयमा भर्ना भएका छन् । सरकारले संघीय संसद्मा पेश गरेको आर्थिक वर्ष २०७५÷७६ को बजेटमा उल्लेख भएको विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियानलाई सार्थक बनाउन वर्षभरी छुटेका विद्यार्थीलाई आगामी असोज २ गतेसम्म भर्नामा ल्याउने सम्बन्धी दोस्रो चरणको विद्यार्थी भर्ना कार्यक्रमको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न लागिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताउनुभयो । “अब हरेक प्रदेशका विद्यार्थी भर्नाको एक अलग्गै कक्ष (डेस्क) खडा गरी नियमित भर्ना र टिकाउ कार्यक्रम सञ्चालन गरिनेछ,” मन्त्री पोखरेलले भन्नुभयो, “यो प्रदेश र स्थानीय तहको कार्यक्षेत्र पनि हो, यसमा केन्द्र सरकारले आवश्यक सहयोग र सहजीकरण गर्नेछ ।” संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि अभियान सफल बनाउन स्थानीय तहलाई पत्राचार गरेको थियो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारामा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्नुभएको थियो । वैशाख ५ गते एकैदिन प्रधानमन्त्री, मन्त्रीगण र उच्च राजनीतिक नेतृत्वबाट शैक्षिक अवस्थामा कमजोर मानिएका तराई–मधेसका विभिन्न जिल्लाका बालबालिकालाई अभिभावकत्व लिने काम भएपछि अभियानमा उत्साह थपिएको थियो । सरकारले शैक्षिक सत्र २०७५ का लागि निःशुल्क पाठ्यपुस्तक वितरण गर्न रु दुई अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएकामा पाठ्यपुस्तक प्रायः सबै विद्यालयमा पुगेको शिक्षा विभागको दाबी छ । विभागका महानिर्देशक बाबुराम पौडेलले भन्नुभयो, “विगत १५ वर्षको इतिहासमा पहिलो पटक समयमा निःशुल्क पाठ्यपुस्तक विद्यालयमा पुगेको छ, भर्ना अभियानको प्रदेशगत तथ्यांक संकलन भएको छ, यो अभियानको सफलता हो ।” हाल प्राथमिक तह उमेर समूह (५–९) वर्षका विद्यार्थीको खुद भर्ना दरको राष्ट्रिय औसत ९७ दशमलव २ प्रतिशत छ । शैक्षिक सत्र २०६१ मा सो तहमा भर्ना दर ८० प्रतिशत थियो । गैरसरकारी संस्थाले यो प्रतिशत अझ बढी हुन सक्ने जनाउँदै आएका छन् । भर्नामा आउने र बीचैमा कक्षा छाड्ने प्रवृत्तिमा पनि सुधार भएको छैन । रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, मोरङ, रुपन्देही, पर्वत, जुम्ला, हुम्ला, प्यूठान, बझाङ, रोल्पा, सुर्खेत, दैलेख, बर्दिया, दार्चुला र कपिलवस्तुलगायतका जिल्लामा तुलनात्मकरुपमा बढी बालबालिका विद्यालय बाहिर रहेको मानिएको छ । रासस
कक्षा ११ र १२ मा संकाय प्रणाली हट्यो, नयाँ व्यवस्था यस्तो छ-
काठमाडौं, जेठ १९ । सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रम प्रारुप पारित गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्द्वारा पारित राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ अनुसार कक्षा ११ र १२ मा चार विषय अनिवार्य गरिएको छ भने कक्षा ११ र १२ लाई एकल पथीय बनाइएको छ । योसँगै अब ११ र १२ कक्षामा संकाय प्रणाली हटाइएको छ । अब ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले यसअघिको विज्ञान संकायको कुनै एक विषय र मानविकी तथा शिक्षाको अन्य कुनै पनि विषय रोजेर अध्ययन गर्न सक्ने छन् । कक्षा ११ र र१२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा गरी चार विषय अनिवार्य गरिएको छ । कक्षा १० को स्वास्थ्य तथा जनसंख्या विषय हटाइएको छ ।
बजेट अख्तियारी नअाउँदा शिक्षाका काम ठप्प
जाजरकोट । जिल्ला शिक्षा कार्यालय खारेज भएको लामो समयसम्म पनि बजेटको अख्तियारी नआउँदा शिक्षाका कामकाज प्रभावित भएका छन् । समयमा अख्तियारी नआउँदा जाजरकोटसहित देशैभरका विद्यालयमा सञ्चालित शैक्षिक कार्यक्रमसमेत प्रभावित भएका छन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार २०७४ चैत २८ गतेपछि जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा परिणत भएपछि साविकका जिल्ला शिक्षा कार्यालयबाट सञ्चालन भइरहेका आव २०७४-०७५ का कार्यक्रम अख्तियारी नहँुदा प्रभावित भएका हुन् । रकम निकासा नहुँदा विद्यालय भवनको काम अघि बढाउन समस्या भएको भेरी त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद सहनीले बताउनुभयो । कार्यालयमा धाउन थालेको महिना दिन भइसक्यो तर अहिलेसम्म अख्तियारी आएको छैन भन्दै झुलाउने काम भएको छ उहाँले भन्नुभयो । विद्यालयका भौतिक निर्माणका कार्यक्रम विद्यालयले निर्माण गरिरहेको अवस्थामा किस्तागत रुपमा जाने रकमको निकासा दिने अख्तियारी शिक्षा विकास तथा समन्वय एकाइलाई नहँुदा विद्यालयको भौतिक निर्माण तथा अन्य शैक्षिक कार्यक्रम प्रभावित भएका छन् । एकाईले विद्यालयका प्रधानाध्यापक तथा व्यवस्थापन समितिका अध्यक्षले अख्तियारी कहिले आउँछ भनेर सोधिरहेका भएपनि जवाफ दिन समस्या भएको बताएको छ । समयमा निकासा नहुँदा जिल्लामा आएको बजेट फ्रिज हुनसक्ने सम्भावना हुन्छ, अख्तियारीका कारण विद्यार्थी भर्ना अभियान, जिल्लास्तरीय परीक्षा सञ्चालन खर्च, बहुकक्षा शिक्षा अनुदान, नमूना विद्यालय अनुदान, पुस्तकालय अनुदान, मर्मतसम्भार लगायतका अनुदान रोकिएका एकाइले बताएको छ । पुरानो जिल्ला शिक्षा कार्यालय शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरण भइसकेकाले रुपान्तरित एकाइमा अख्तियारी दिन नमिल्ने कोष तथा लेखा नियन्त्रक कार्यालय, जाजरकोटका कोष नियन्त्रक यामबहादुर थापाले बताउनुभयो । जिल्ला शिक्षा कार्यालय जिल्ला प्रशासनको मातहतमा गई शिक्षा विकास तथा समन्वय एकाइमा रुपान्तरित भएपछि संघीय शिक्षा मन्त्रालय र शिक्षा विभागले अख्तियारी दिनुपर्नेमा अहिलेसम्म नआएको कोष नियन्त्रक थापाले जानकारी दिनुभयो । जाजरकोटमा मात्र अन्तिम चौमासिकको रु आठ करोडभन्दा बढी रकमको अख्तियारी आउन बाँकी रहेको छ । समयमा अख्तियारी नआउँदा भौतिक पूर्वाधारका कामकाज प्रभावित हुने देखिएको स्थानीयको भनाइ छ । –––
आफ्नो जीन्दगीको हिसाब नखोजी ३५ वर्ष गणित सिकाउने भारतीय गुरु
पोखरा । “कास्कीको दक्षिणभेगस्थित बरमाझथर, बरपौवा, डाँडागाउँ र गैह्रागाउँका साथै आसपासका विद्यार्थीले लागि भारतीय गुरु भोलासिंह ठाकुरको योगदान अहिलेसम्म भुल्न सकेका छैनन”, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ । भारतको ठकुरापार पोष्ट, बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक आफ्नो जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताउनुभएका सिंहकै योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेका छन् भन्नुहुन्छ उहाँ । जवान अवस्थाका ठाकुरलाई विद्यालयका शिक्षक कमलप्रसाद आचार्य र शशिधर भण्डारीले २०४० सालमा गोरखपुर नै पुगेर ल्याउनुभएको हो । निरन्तर साढे तीन दशक अध्यापन गराए पनि अस्थायी शिक्षककै रुपमा उमेर हदका कारण यही वैशाख २७ गतेदेखि सेवा निवृत्त बन्नुभएका ठाकुर यतिखेर प्रत्येक पूर्व विद्यार्थीको मनमस्तिष्कमा छाइनुभएको छ । सेवा निवृत्त हुनुभएका सिंहलाई सामाजिक सञ्जालमार्फत आफ्नो जिन्दगीको हिसाब नै नगरी गणित सिकाउने एउटा आदर्श गुरुका रुपमा यतिखेर उहाँका पूर्व विद्यार्थीले चित्रण गरेका छन् । शान्ति उदय माविमा ल्याइनुपूर्व नै ठाकुरले गोरखपुरमा आइएस्सी उत्तीर्ण गरेपछि ब्याचलर ट्रेनिङ सेन्टरबाट दुई वर्षे बिटिसी तालीम लिइसक्नुभएको थियो । विद्यालयमा गणित तथा विज्ञान विषयको शिक्षक आवश्यक भएकाले ल्याइनुभएका ठाकुरले २०४० साल फागुन २८ गतेदेखि निरन्तर अध्यापन गर्दै आउनुभएको थियो । पढाउनुअघि आफू यता नआएको बताउनुहुने ठाकुरले विद्यालयमा पढाउन थालेपछि भने जीवनको झण्डै ३५ वर्षसम्मको समय यही बितेको बताउनुहुन्छ । भारतदेखि आएर ३४ वर्ष दुई महिनासम्म निरन्तर यस क्षेत्रका विद्यार्थीको शैक्षिक प्रगतिमा ठाकुरले पु¥याएको योगदान अतुलनीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्साल बताउनुहुन्छ । “भोला सरले आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शैक्षिक विकासमा खर्चनुभएको छ”, उहाँ भन्नुहुन्छ, “यत्रो लामो समय विदेशबाट आएर उहाँले गरेको योगदान यो गाउँ तथा समाजका लागि ठूलो सेवा पनि हो, यसलाई हामी कसैले बिर्सन सक्दैनौँ ।” विद्यार्थीको सफलतालाई नै आफ्नो सफलता ठान्ने ठाकुर यस विद्यालयमा आएसँगै यस क्षेत्रका विद्यार्थीको गणित तथा विज्ञान विषयको सिकाइको स्तरमा राम्रो परिवर्तन आएको अभिभावकको अनुभव छ । विदेशबाट आएर पनि आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शिक्षाका लागि खर्चिनुभएका ठाकुरको योगदान अमूल्य रहेको अभिभावक शान्ता पौडेल बताउनुहुन्छ । “विदेशबाट आएर यस किसिमको योगदान गर्ने व्यक्ति विरलै हुन्छन्”, शान्ति उदय मावि विद्यालय व्यवस्थापन समितिकी पूर्व महिला सदस्यसमेत रहनुभएकी पौडेल भन्नुहुन्छ, “यहाँको समाजमा विद्यार्थीको शैक्षिक विकासका लागि उहाँले लगाउनुभएको गुन अतुलनीय छ ।” ठाकुरलाई विद्यालयमा शुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उहाँलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो । त्यसयता निमावि तहमा नै अध्यापन गरी अन्ततः अस्थायी शिक्षकका रुपमा सेवा निवृत्त हुनुभएका ठाकुरले यतिखेर नियमानुसार पाउनु पर्ने उपदान रकम पनि सहज रुपमा पाउन सक्नुभएको छैन । विसं २०५९ साल साउन १को सरकारी निर्णय बमोजिम शिक्षा मन्त्रालयले २०४६। ०४७ साल सम्मका शिक्षकलाई एक शैक्षिक सत्र पुरा गरी अस्थायी रुपमा सेवा गरी अवकास भएका र हुने गैर नेपाली शिक्षकका हकमा पाँचदेखी १० वर्षसम्म सेवा गरेकालाई सेवा अवधिभर प्रत्येक वर्षको तलव अनुसारको आधा महिनाको, दशदेखि १५ वर्षसम्म सेवा गरेकालाई एक महिनाको र पन्ध वर्ष माथिका लागि डेढ महिनाबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको थियो । पूर्व विद्यार्थी एवं लिटिल फ्लावर एजुकेशनल एकेडेमी रिठ्ठेपानीका प्रिन्सिपल विष्णुहरि पौडेलले उहाँको उपदानका लागि कागजात मिलाउन ठाकुर सर यतिखेर कहिले विद्यालय, कहिले जिल्ला शिक्षा कार्यालय त कहिले शिक्षक किताबखाना धाइरहनुपरेको कुरा सुन्नुपर्दा आफूजस्ता उहाँका पूर्व विद्यार्थीलाई निकै चिन्तित बनाएको बताउनुहुन्छ । विद्यालयमा पढाउन शुरु गरेदेखि सेवा निवृत्त हुँदासम्म नै ठाकुर स्थानीय होमनाथ आचार्यको घरमा डेरा गरी बस्दै आउनुभएको छ । व्यवहारमा अत्यन्त सरल र स्वाभिमानी भोला सरसँग विद्यालय समयका अतिरिक्त पढ्नका लागि बिहानैदेखि विद्यार्थी आउने गरेका घरभेटी ८२ वर्षीय आचार्य सुनाउनुहुन्छ । श्रीमती चन्द्रवती सिंह र पाँच छोरीका अभिभावक ठाकुरले यस क्षेत्रको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको सम्मान गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू तोयनाथ आचार्य, पितृराज आचार्य र लेखनाथ आचार्यले विद्यालयको वार्षिकोत्सवको अवसरमा गत वर्ष रु ५० हजार नगदसहित यसअघि नै सम्मान गरेका थिए । अस्थायी सेवाका कारण पेन्सन सुविधाबाट वञ्चित ठाकुरको सम्मानार्थ यतिखेर पूर्व विद्यार्थीहरू गुरु दक्षिणा संकलन अभियानमा जुटेका छन् । पूर्व विद्यार्थीहरू स्वतस्फूर्त यतिखेर गुरुदक्षिणा संकलन अभियानमा लागेको अभियानको संयोजन गर्दै आउनुभका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ । “गुरुको सम्मानमा हामीले स्वतःस्फूर्त यो अभियान शुरु गरेका हौँ”, उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जालका माध्यमबाट सञ्चालित गुरुदक्षिणा संकलन अभियानमा आजसम्म देश विदेशमा रही विभिन्न सेवा, पेशा एवं व्यवसाय गर्दै आएका ठाकुरका चेलाहरूबाट रु एक लाख ९० हजार संकलन भइसकेको छ ।” गुरुभेटी संकलन अभियानमा उत्साहपूर्ण साथ र सहयोग प्राप्त भइरहेको बताउँदै उहाँ यस अभियानमा साथ दिन चाहने पूर्व विद्यार्थीले नेपाल बैंक लिमिटेडको खाता नं ००९०१२००५६८३९७०००००१ (भोला सिंह)मा सहयोग गर्न सक्ने जानकारी दिनुहुन्छ । रासस
विद्यालय भवन पुनःनिर्माणका लागि रु एक करोड सहयोग
म्याग्दी । आगलागीबाट क्षतिग्रस्त भएका एक विद्यालयको पुनःनिर्माणका लागि कोरियाली संस्थाले रु एक करोड आर्थिक सहयोग प्रदान गरेको छ । एक वर्ष अघि आगलागीबाट क्षतिग्रस्त भएका म्याग्दी बेनी नगरपालिका–४ डाँडाखेतस्थित बालमन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माणका लागि दक्षिण कोरियाका ग्लोबल एजुकेशन फर रिपब्लिक अल फाउण्डेशनले सो रकम सहयोग गरेको हो । कोरियामा रहेका म्याग्देलीको सक्रियतामा फाउण्डेशनले उक्त विद्यालयको दश कोठे भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् । फाउण्डेशनका अध्यक्ष छो थे याङ र वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले मंगलबार एक समारोहमा विद्यालय भवनको शिलान्यास गर्नुभयो । सो अवसरमा फाउण्डेशनका अध्यक्ष याङले विद्यालय भवन जलेर नष्ट भएपछि विद्यार्थीहरु खुल्लाचौरमा पढ्दै गरेको तस्वीरले आफू स्तब्ध भएको उल्लेख गर्दै “विद्यालयका लागि समुदायले पनि धेरै गर्नुभएको छ, हामीले पनि आफ्नो क्षेत्रबाट सहयोग गर्नेछौँ” भन्नुभयो । विद्युत् सर्ट भएर आगलागी भएपछि विद्यालय भवन पुनःनिर्माणका लागि आर्थिक सहयोग संकलन अभियानमा सक्रिय रहनुभएका विद्यालयका पूर्वविद्यार्थी एंव एनआरएनए एशिया प्यासिफिक क्षेत्रीय उपसंयोजक विनोद कुँवर र उहाँकी भाइबुहारी संगीता कार्की कुँवरको पहलमा फाउण्डेशनले सो रकम सहयोग गरेको विद्यालयका प्रधानाध्यापक रामप्रसाद पौडेलले बताउनुभयो । आगलागीबाट कक्षा कोठा, कार्यालय, कम्प्यूटर ल्याब र पुस्तकालयसहित आठ कोठे दुई तले भवन पूर्णरुपमा जलेर नष्ट हुँदा रु ९२ लाख मूल्य बराबरको क्षति भएको थियो । रासस
आजबाट कक्षा ११ को परीक्षा सुरु, बोक्सीको आरोपमा कुटिएकी किशोरी राधा परीक्षामा सामेल
कैलाली । गत फागुन २४ गते अन्तराष्ट्रिय नारी दिवसका दिन बोक्सी भगाउने भन्दै निर्घात कुटिएकी राधा चौधरी आइतबारदेखि सुरु भएको कक्षा ११ को परीक्षामा सहभागी भएकी छिन् । उनी कैलाली स्थित घोडाघोडी बहुमुखी क्याम्पस परिक्षा केन्द्रबाट परीक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । परिक्षामा सहभागि राधा चौधरीले विगतको घटना सम्झदै भनिन् –‘मलाई विनाकारण बोक्सी भन्दै कुटपिट गरेपछि केही समय पढाईमा ध्यान दिन सकिन ।’ तरपनि परिक्षाका लागि भन्दै केहि समयदेखि मिहिनेत गरेर पढिरहेकी छु, अवस्य सफल हुन्छु ।ु उनलाई कुटपिट पछि उपचारमा रहेका बेला प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरु र स्थानिय सरकारका प्रमुखहरुले भेटेर थुप्रै आश्वासनहरु दिएपनि अहिलेसम्म कसैले केहि सहयोग नगरेको राधाले बताईन् । बरु सातसमुन्द्रपारीबाट मनकारी जयन्ती राईले ५० हजार आर्थिक सहयोग गरेपछि आफुलाई केही सहज भएको राधाले बताईन् । अन्तर्राष्ट्रिय नारी दिवसका दिन देउकलियाकै रामबहादुर चौधरी उर्फ भोलेबाबा, आफूलाई पार्वती बताउने किस्मती चौधरी, स्मारिका चौधरी लगायतले बोक्सीको आरोप लगाएर राधामाथि निर्घात कुटपिट सहित यातना दिएका थिए । उनलाई यातना दिने रामबहादुर सहितका व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राखिएको छ । एजेन्सीको सहयोगबाट
निजी विद्यालयहरु शुल्क चर्किदै: अभिभावकहरु चिन्तित
काठमाडौँ । विभिन्न विद्यार्थी संगठनका नेताले निजी विद्यालयले सरकारी नियम र शिक्षासम्बन्धी निर्देशिकाको उल्लंघन गरी एकपक्षीय रुपमा शुल्क वृद्धि गरेकामा चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले निर्दिष्ट गरेको नियमभन्दा बाहिर गएर वृद्धि गरिएको शुल्क मान्य नहुने ती नेताले बताउनुभयो । नेवि संघका अध्यक्ष नैनसिंह महरले निजी विद्यालय सञ्चालकले सरकारले तोकेको मापदण्डभित्र रहनुपर्नेमा जोड दिँदै दिनभरि काम गरेर बालबच्चा निजीमा पढाइरहेका अभिभावकलाई अनावश्यक मूल्य बढाएको शुल्क फिर्ता नभए तेस्रो चरणको आन्दोलन गर्ने बताउनुभयो । सरकारी विद्यालयको स्तरोन्नति गर्नेतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्ने उहाँको भनाइ थियो । अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कवृद्धि फिर्ता नलिए निर्देशिकाअनुसार सरकारले कारबाही गर्नुपर्ने माग गर्दै विद्यालय सञ्चालकबाट निर्देशिका कार्यान्वयन गर्ने प्रतिबद्धता आएमा विद्यालयमा लगाइएका ताला खोल्न निर्देशन दिने बताउनुभयो । अनेरास्ववियुका कोषाध्यक्ष झपीन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथासम्भव फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले विद्यार्थीको हकहितको लागि जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिनुभयो । निजी विद्यालयले गरेको शुल्कवृद्धिका कारण अभिभावक समस्यामा परेको भन्दै संयुक्त विद्यार्थी संगठनले केही दिनदेखि तालाबन्दी गर्दै आएका छन् । रासस
नासुको भरमा भेरी नगरपालिका
जाजरकोट । यहाँको भेरी नगरपालिका तीन महिनादेखि नायब सुब्बाको भरमा सञ्चालन भइरहेको छ । आफू भन्दा कनिष्ठ कर्मचारी कार्यालयको कार्यकारी प्रमुख अर्थात् हाकिम भएपछि अधिकृतस्तरका कर्मचारीले काम गर्न असहज महसुस भएको बताएका छन् । नगरपालिका मातहत विभिन्न विषयगत निकायमा कार्यरत सातजना अधिकृतस्तरका कर्मचारी छन् । ती अधिकृतस्तरका कर्मचारीले नायब सुब्बालाई हाकिम मान्नुपर्ने बाध्यता आइपरेको छ । नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत रामप्रसाद शर्मा सरुवा भएर जिल्लाबाहिर गएपछि रिक्त रहेको उक्त पदमा कार्यालयकै नायब सुब्बा तुलाराम गिरीलाई कामु कार्यकारी अधिकृत तोकिएको हो । नगरपालिकामा उपसचिवस्तरको कार्यकारी प्रमुखको दरबन्दी रहने व्यवस्था छ तर नगर प्रमुख चन्द्रप्रकाश घर्तीले आफ्नो स्वार्थअनुकूलका अधिकृत नपाएपछि दुई तह तलका राजपत्रअनंकृत कर्मचारीलाई कामु कार्यकारी प्रमुखको जिम्मेवारी तोक्न लगाएको असन्तुष्ट पक्षको आरोप छ । जिल्ला समन्वय समितिबाट समायोजन भएर आएका कार्यक्रम अधिकृत दलबहादुर घर्ती र स्थानीय विकास कोषका कार्यकारी सचिव प्रकाश शाही, कृषि शाखाका कृषिप्रसार अधिकृत मुकेश रामजाली नेपाली, पशुसेवा शाखाका पशु चिकित्सक डा ऋषि सापकोटा, नगरपालिकाका इञ्जिनियर नवराज शर्मा, स्वास्थ्य शाखामा कार्यरत छैटौं तहका वीरन्द्र शर्मा र कौशिला बटाला गरी सातजना अधिकृतस्तरका कर्मचारी छन् । नगरपालिकाका कार्यक्रम अधिकृत घर्तीले कामु कार्यकारी प्रमुखका लागि मन्त्रालयसम्म धाएपनि उहाँलाई जिम्मेवारी दिइएन । स्थानीय निकायबाट आएका कर्मचारीलाई प्रमुखको जिम्मेवारी दिन नसकिने भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निजामती सेवाका नायब सुब्बालाई जिम्मेवारी तोकेको हो । उपसचिवस्तरका कर्मचारी कार्यकारी प्रमुख भएर आउन नमान्ने तर शाखा अधिकृतस्तरका कर्मचारी आफूअनुकूल नभेटिएपछि नगरप्रमुखले आफू निकट नायब सुब्बालाई कामु कार्यकारी प्रमुख बनाएका हुन् । स्रोतका अनुसार नगर प्रमुखले चालु आर्थिक वर्षको अन्त्यसम्म अन्य अधिकृतस्तरका कर्मचारीलाई नगरमा सरुवा हुन नदिने र नायब सुब्बालाई नै कार्यकारी प्रमुख बनाएर आफूअनुकूल काम गर्ने÷गराउने सोचले अघि बढिरहेको आरोप अधिकृतस्तरका कर्मचारीको छ । उनीहरूले तत्काल उपसचिव नभए पनि शाखा अधिकृतलाई सरुवा हुन दिएर कार्यालयको इज्जत बढाउन आग्रह गरेका छन् । नगरप्रमुख घर्तीले भने अधिकृतस्तरका कर्मचारी सरुवा भएर आउन नमानेकाले नायब सुब्बालाई केही समयका लागि कार्यकारी प्रमुखको जिम्मेवारी दिइएको बताउनुभयो । रासस

