आफ्नो जीन्दगीको हिसाब नखोजी ३५ वर्ष गणित सिकाउने भारतीय गुरु
पोखरा । “कास्कीको दक्षिणभेगस्थित बरमाझथर, बरपौवा, डाँडागाउँ र गैह्रागाउँका साथै आसपासका विद्यार्थीले लागि भारतीय गुरु भोलासिंह ठाकुरको योगदान अहिलेसम्म भुल्न सकेका छैनन”, शान्ति उदय माध्यमिक विद्यालय बरपाण्डेथुमका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ ।
भारतको ठकुरापार पोष्ट, बढया चोक गोरखपुरबाट आएर निरन्तर साढे तीन दशक आफ्नो जीवनको महत्वपूर्ण समय यहाँका विद्यार्थीलाई गणित र विज्ञान पढाएर बिताउनुभएका सिंहकै योगदानका जगमा आज धेरै विद्यार्थी प्रशासनिक, राजनीतिक, सञ्चारलगायतका क्षेत्रमा महत्वपूर्ण पदमा पुगिसकेका छन् भन्नुहुन्छ उहाँ ।
जवान अवस्थाका ठाकुरलाई विद्यालयका शिक्षक कमलप्रसाद आचार्य र शशिधर भण्डारीले २०४० सालमा गोरखपुर नै पुगेर ल्याउनुभएको हो ।
निरन्तर साढे तीन दशक अध्यापन गराए पनि अस्थायी शिक्षककै रुपमा उमेर हदका कारण यही वैशाख २७ गतेदेखि सेवा निवृत्त बन्नुभएका ठाकुर यतिखेर प्रत्येक पूर्व विद्यार्थीको मनमस्तिष्कमा छाइनुभएको छ ।
सेवा निवृत्त हुनुभएका सिंहलाई सामाजिक सञ्जालमार्फत आफ्नो जिन्दगीको हिसाब नै नगरी गणित सिकाउने एउटा आदर्श गुरुका रुपमा यतिखेर उहाँका पूर्व विद्यार्थीले चित्रण गरेका छन् ।
शान्ति उदय माविमा ल्याइनुपूर्व नै ठाकुरले गोरखपुरमा आइएस्सी उत्तीर्ण गरेपछि ब्याचलर ट्रेनिङ सेन्टरबाट दुई वर्षे बिटिसी तालीम लिइसक्नुभएको थियो ।
विद्यालयमा गणित तथा विज्ञान विषयको शिक्षक आवश्यक भएकाले ल्याइनुभएका ठाकुरले २०४० साल फागुन २८ गतेदेखि निरन्तर अध्यापन गर्दै आउनुभएको थियो ।
पढाउनुअघि आफू यता नआएको बताउनुहुने ठाकुरले विद्यालयमा पढाउन थालेपछि भने जीवनको झण्डै ३५ वर्षसम्मको समय यही बितेको बताउनुहुन्छ ।
भारतदेखि आएर ३४ वर्ष दुई महिनासम्म निरन्तर यस क्षेत्रका विद्यार्थीको शैक्षिक प्रगतिमा ठाकुरले पु¥याएको योगदान अतुलनीय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद लम्साल बताउनुहुन्छ ।
“भोला सरले आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शैक्षिक विकासमा खर्चनुभएको छ”, उहाँ भन्नुहुन्छ, “यत्रो लामो समय विदेशबाट आएर उहाँले गरेको योगदान यो गाउँ तथा समाजका लागि ठूलो सेवा पनि हो, यसलाई हामी कसैले बिर्सन सक्दैनौँ ।”
विद्यार्थीको सफलतालाई नै आफ्नो सफलता ठान्ने ठाकुर यस विद्यालयमा आएसँगै यस क्षेत्रका विद्यार्थीको गणित तथा विज्ञान विषयको सिकाइको स्तरमा राम्रो परिवर्तन आएको अभिभावकको अनुभव छ ।
विदेशबाट आएर पनि आफ्नो जीवनको महत्वपूर्ण समय यहाँको शिक्षाका लागि खर्चिनुभएका ठाकुरको योगदान अमूल्य रहेको अभिभावक शान्ता पौडेल बताउनुहुन्छ ।
“विदेशबाट आएर यस किसिमको योगदान गर्ने व्यक्ति विरलै हुन्छन्”, शान्ति उदय मावि विद्यालय व्यवस्थापन समितिकी पूर्व महिला सदस्यसमेत रहनुभएकी पौडेल भन्नुहुन्छ, “यहाँको समाजमा विद्यार्थीको शैक्षिक विकासका लागि उहाँले लगाउनुभएको गुन अतुलनीय छ ।”
ठाकुरलाई विद्यालयमा शुरुमा माध्यमिक तहकै नियुक्ति दिइए पनि २०४४ सालदेखि भने उहाँलाई निम्न माध्यमिक तहको दरबन्दीमा राखिएको थियो ।
त्यसयता निमावि तहमा नै अध्यापन गरी अन्ततः अस्थायी शिक्षकका रुपमा सेवा निवृत्त हुनुभएका ठाकुरले यतिखेर नियमानुसार पाउनु पर्ने उपदान रकम पनि सहज रुपमा पाउन सक्नुभएको छैन ।
विसं २०५९ साल साउन १को सरकारी निर्णय बमोजिम शिक्षा मन्त्रालयले २०४६। ०४७ साल सम्मका शिक्षकलाई एक शैक्षिक सत्र पुरा गरी अस्थायी रुपमा सेवा गरी अवकास भएका र हुने गैर नेपाली शिक्षकका हकमा पाँचदेखी १० वर्षसम्म सेवा गरेकालाई सेवा अवधिभर प्रत्येक वर्षको तलव अनुसारको आधा महिनाको, दशदेखि १५ वर्षसम्म सेवा गरेकालाई एक महिनाको र पन्ध वर्ष माथिका लागि डेढ महिनाबराबरको रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।
पूर्व विद्यार्थी एवं लिटिल फ्लावर एजुकेशनल एकेडेमी रिठ्ठेपानीका प्रिन्सिपल विष्णुहरि पौडेलले उहाँको उपदानका लागि कागजात मिलाउन ठाकुर सर यतिखेर कहिले विद्यालय, कहिले जिल्ला शिक्षा कार्यालय त कहिले शिक्षक किताबखाना धाइरहनुपरेको कुरा सुन्नुपर्दा आफूजस्ता उहाँका पूर्व विद्यार्थीलाई निकै चिन्तित बनाएको बताउनुहुन्छ ।
विद्यालयमा पढाउन शुरु गरेदेखि सेवा निवृत्त हुँदासम्म नै ठाकुर स्थानीय होमनाथ आचार्यको घरमा डेरा गरी बस्दै आउनुभएको छ ।
व्यवहारमा अत्यन्त सरल र स्वाभिमानी भोला सरसँग विद्यालय समयका अतिरिक्त पढ्नका लागि बिहानैदेखि विद्यार्थी आउने गरेका घरभेटी ८२ वर्षीय आचार्य सुनाउनुहुन्छ ।
श्रीमती चन्द्रवती सिंह र पाँच छोरीका अभिभावक ठाकुरले यस क्षेत्रको शैक्षिक उन्नयनमा पु¥याएको योगदानको सम्मान गर्दै विद्यालयका पूर्व विद्यार्थीहरू तोयनाथ आचार्य, पितृराज आचार्य र लेखनाथ आचार्यले विद्यालयको वार्षिकोत्सवको अवसरमा गत वर्ष रु ५० हजार नगदसहित यसअघि नै सम्मान गरेका थिए ।
अस्थायी सेवाका कारण पेन्सन सुविधाबाट वञ्चित ठाकुरको सम्मानार्थ यतिखेर पूर्व विद्यार्थीहरू गुरु दक्षिणा संकलन अभियानमा जुटेका छन् ।
पूर्व विद्यार्थीहरू स्वतस्फूर्त यतिखेर गुरुदक्षिणा संकलन अभियानमा लागेको अभियानको संयोजन गर्दै आउनुभका पूर्व विद्यार्थी मोती भुजेल बताउनुहुन्छ ।
“गुरुको सम्मानमा हामीले स्वतःस्फूर्त यो अभियान शुरु गरेका हौँ”, उहाँ भन्नुहुन्छ, “सामाजिक सञ्जालका माध्यमबाट सञ्चालित गुरुदक्षिणा संकलन अभियानमा आजसम्म देश विदेशमा रही विभिन्न सेवा, पेशा एवं व्यवसाय गर्दै आएका ठाकुरका चेलाहरूबाट रु एक लाख ९० हजार संकलन भइसकेको छ ।”
गुरुभेटी संकलन अभियानमा उत्साहपूर्ण साथ र सहयोग प्राप्त भइरहेको बताउँदै उहाँ यस अभियानमा साथ दिन चाहने पूर्व विद्यार्थीले नेपाल बैंक लिमिटेडको खाता नं ००९०१२००५६८३९७०००००१ (भोला सिंह)मा सहयोग गर्न सक्ने जानकारी दिनुहुन्छ । रासस
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

