बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो ?

खोटाङ, असोज १ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो ।

जिल्लामै पहिलोपटक पाँच वर्षअघि बाली विज्ञान विषयको कक्षा शुरु गरेको पञ्च माविमा अहिले उक्त विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ ।

नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागबाट २०७३ र ७४ मा बाली विज्ञान विषयतर्फ कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउने सम्बन्धन पाएपछि पञ्च मावि प्राविधिक शिक्षा लिन चाहने छात्रछात्राको आकर्षणको केन्द्र बनेको हो ।

जनशक्तिको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले बताउनुभयो । २०२४ सालमा स्थापना भएको पञ्च माविले आव २०६९ र २०७० देखि मावि तहमा बाली विज्ञान विषयको पठनपाठन शुरु गरेको थियो ।

विसं २०७३ असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च माविस्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको पञ्च माविमा हाल कक्षा ९ मा ४७ जना, कक्षा १० मा २८ जना, कक्षा ११ मा २७ जना र कक्षा १२ मा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पञ्च मावि बाली विज्ञान विषयमा अध्ययन गराउने जिल्लाको पहिलो र एकमात्र विद्यालय हो ।

कक्षा ११ को सम्बन्धन लिएपछि पञ्च माविमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ ढकालले बताउनुभयो ।

बाली विज्ञानमा बढी मात्रामा विद्यार्थीको चाप बढेपछि यसपटक छनोट गरेर ४७ जनालाई मात्र कक्षा ९ मा भर्ना गरिएको विद्यालयले जनाएको छ । बाली विज्ञानप्रतिको आकर्षणकै कारण थप व्यवस्थापनका लागि विद्यालयले गत फागुन तेस्रो साता श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरेको थियो ।

शुरुमा सहयोगका नाममा मासिक प्रतिव्यक्ति रु छ हजार शुल्क लिँदै आएको विद्यालयले शिक्षा मन्त्रालय शिक्षा विभागबाट सम्बन्धन पाएपछि भने मासिक शुल्क घटाएर प्रतिव्यक्ति रु एक हजार बनाएको व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यले बताउनुभयो । बाली विज्ञानसँग सम्बन्धित जनशक्तिको अभाव भएकाले पनि विद्यार्थीको आकर्षण बढेको अध्यक्ष आचार्यको भनाइ छ ।

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

तेह्रथुम, भदौ २६ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् । माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो । मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा । गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो । “गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ । जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन । “बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ । ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ । गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ । माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।

अष्ट्रेलियन र अंग्रेजी भाषा अभ्यासका लागि सेमिनार

चितवन, २५ भदौ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । असोज तीन गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार राखेको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिएका छन् । प्रवेश निःशुल्क रहेको सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने सेमिनार प्रबन्ध निर्देशक सिंहले बताए । सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उनले बताए । कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा हजारौँको सहभागी रहने बताईएको छ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

तेह्रथुमका सात विद्यालय नमूना बन्दै

तेह्रथुम, भदौ २३ । तेह्रथुमको आठराई गाउँपालिकाका सातवटा आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएका छन् । नमूना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ । विद्यालय स्रोत केन्द्रले छनौट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो । विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमूना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ । बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिनुभयो । नमूना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार रु नौ हजारदेखि रु १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ । स्रोत केन्द्रले छनौट गरेका विद्यालय बाहेकका विद्यालयमा बालमैत्री वातावरण र गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने भएको परिचालक कन्दङवाले बताउनुभयो । आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय, सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकू, रन्दल आधारभूत विद्यालय, इवा, सरस्वती आधारभूत विद्यालय, छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय, चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय, थोक्लुङ नमूना विद्यालय बन्ने भएका हुन् । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा स्थापित जलजला समाजको विस्तारित रुप देउराली सोसाइटीले आठराईमा स्थानीय अधिकार कार्यक्रमअन्तर्गत कृषि, शिक्षा, बालबालिका, महिला र सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।

भाइरल ज्वरोले विद्यालय बन्द

गुल्मी, भदौ २३ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिए । विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ । एकहजार पाँचसयको स्वास्थ्य परीक्षण यसैबीच, गुल्मीमा सञ्चालन भएको तीनदिने स्वास्थ्य शिविर अन्तर्गतको दोस्रो दिनसम्म झण्डै एक हजार ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुसिकोट नगरपालिकाको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गत बुधबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन हिजोसम्म एक हजार ४४६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए जसअन्तर्गत पुरुषतर्फ ५९७ र बाँकी महिलाले स्वास्थ्य परीक्षण र उपचार गराई औषधिसमेत लिएका छन् । साथै शिविरको दोस्रो दिनसम्म ४४ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो । आज ५५ जना आँखाका बिरामीलाई मोतियाविन्दुको शल्यक्रिया गरिने शिविरका व्यवस्थापक नवीन कक्षपतिले जानकारी दिए । ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसिएसन केएएएको संयुक्त आयोजनामा भदौ २१ देखि २३ गते अर्थात् आजसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले बिरामीका लागि फरक–फरक ठाउँमा स्वास्थ्य परीक्षण तथा उपचार सञ्चालन गरिएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको मोतियाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्रीसम्बन्धी रोगको परीक्षण गरिएको जानकारी दिइएको छ । रासस

बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण

इटहरी, भदौ २२ । बाढीका कारण समस्यामा परेका इटहरी उपमहानगरकास्थित मनमोहन आधारभूत प्रथामिक विद्यालयका १५२ विद्यार्थीमध्ये १३५ जनालाई आज विद्यालय पोशाक वितरण गरिएको छ । कोशी अञ्चल इँट्टा व्यवसायी सङ्घले बुढीगंगा नदीको बाढी पसेर घरबार सहित जायजेथा गुमाएर शिविरमा बसेका बालबालिकालाई पोशाक प्रदान गरिएको हो । पीडित बालबालिकामध्ये १३५ जना विपन्न गरिब तथा सीमान्तकृत वर्गका बालबालिकालाई रू एक लाख ३५ हजारभन्दा बढीको विद्यालय पोशाक प्रदान गरिएको नेपाल इटा उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य लीलम बस्नेतले जानकारी दिनुभयो । विद्यालय पोशाक नै गुमाएर विद्यालय आउनसमेत समस्यामा परेका बालबालिकाको पहिचान गरेर पोशाक उपलब्ध गराइएकोे पनि केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले कापी–किताबसमेत सबै गुमाएका बालबालिकाका गाउँघरमा र पसलमा पुराना किताब खोजेर पठनपाठनको व्यवस्था गरे पनि विद्यालय पोशाक जुटाउन समस्या भइरहेका बेला इँटा व्यवसायीले पोशाक दिएर ठूलो गुण लगाएको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र श्रेष्ठले बालबालिकाले पोशाक नै नपाएर विद्यालय जान समस्यामा परेकाले इँट्टा व्यवसायी मिलेर पोशाक उपलब्ध गराएको बताउनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ ।लिखित जवाफसहित उपस्थित हुन मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ सर्वोच्चको आदेश। सर्वोच्च अदालतले विवादास्पद सम्बन्धनको विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)संग लिखित जवाफ मागेको छ । सम्बन्धन खारेज गर्न उत्पे्रषणयुक्त परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज लिखित जवाफ मागेको हो । वुधवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई असोज २ गते लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।अधिवक्ता जगदिश आचार्यले सोमबार सम्बन्धन खारेज गर्न उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषदले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत गत साउन २९ गते राजधानीका तीन निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विवादकै बीच नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले एमयूबाट सम्बन्धन लिन थालेको प्रक्रिया रद्द गर्न एमयूमा पत्र पठाइसकेको छ ।

बिबिएस चौथो वर्षको परीक्षफल प्रकाशित

काठमाडौं,भदौं २१- त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चार वर्षे बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ । चैत–बैशाख महिनामा सञ्चालित गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा ४६.९७ प्रतिशत परिक्षार्थी उर्तिर्ण भएका छन् । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। । एसएमएस गर्नको लागि 4BBS symbol no लेखि 4949पठाउनु पर्नेछ ।

पाँच वर्षदेखि कुवेत पुगेकी एक नेपाली युवती सम्पर्कविहीन

काठमाडौँ, भदौ २१ । छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पु¥याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहनुभएका उहाँ विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा हुनुहुन्न । डोल्माकी आमा छेकु तामाङले भन्नुभयो, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन÷चारचोटि फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।” फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताउनुभएको थियो । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उहाँलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिनुभयो । छोरी गएको तीन महिनापछि रु १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले उहाँको छोरीलाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भन्नुभयो, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।” यसबारे आरोपी कर्मा लामासँग राससले प्रश्न गर्दा उहाँले डोल्मालाई कुवेत पठाएको स्वीकार गर्नुभयो । आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताउनुभयो । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकले कक्षा १० र अर्कोले कक्षा ८ मा पढ्दै गरेका छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गर्नुभएको छ । छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै आँखाबाट आँसु झार्दै उहाँले भन्नुभयो, “मेरो छोरी कहाँ छे खोज्दिनुप¥यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उहाँले जानकारी दिनुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिनुभयो । उहाँले गत आव २०७३÷७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।

ट्यांकी निर्माणका लागि विद्यालय तीन लाख सहयोग

पोखरा भदौ २१। पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको रु तीन लाख १० हजारको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे होे । नवनिर्मित ट्यांकी लायन्सक्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गरेका छन् । रासस

परीक्षा बोर्ड अध्यक्षको नियुक्ति रोकियो

काठमाडौं, भदौ १९ ।  राष्ट्रिय परीक्षा बोर्डमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष सिफारिस भए पनि शिक्षा मन्त्रालयले नियुक्तिको प्रस्ताव एक महिनासम्म मन्त्रिपरिषद्मा लगेको छैन । लोकसेवा आयोग अध्यक्षको अध्यक्षतामा हुने कमिटीले खुला प्रतिस्पर्धाबाट प्रा.डा. चन्द्रमणि पौडेललाई बोर्डको अध्यक्षमा सिफारिस गरेको थियो । तर, शिक्षा मन्त्रालयको नेतृत्वले आफ्नोअनुकूलको व्यक्ति सिफारिस नभएपछि एक महिनासम्म पनि मन्त्रिपरिषद्मा प्रस्ताव नलगी रोकेर राखेको छ । गत १६ साउनमा सिफारिस कमिटीले पौडेलको नाम सिफारिस गरेको थियो । शिक्षा ऐनको आठौँ संशोधनपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षाको काम गर्न राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरेको थियो । बोर्ड स्थापना भएको एक वर्षभन्दा बढी भइसक्दा पनि अध्यक्ष नियुक्त भएको छैन । अध्यक्ष नियुक्ति नहुँदा बोर्डका उपाध्यक्ष रहने शिक्षासचिवले कार्यबाहक अध्यक्षको काम गरिरहेका छन् । अध्यक्ष सिफारिसपछि स्वार्थका काम अध्यक्ष आइसकेपछि उनको अनुकूलतामा काम हुने भन्दै अहिले धमाधम कांग्रेसनिकटलाई नियुक्ति दिइएको स्रोतको भनाइ छ । अध्यक्ष नियुक्तिमा चासो नदिए पनि उनलाई घेराबन्दी गर्ने उद्देश्यले बोर्ड सदस्यमा प्रा. दयामान कर्माचार्य, भुमा पाण्डे र अमुदा श्रेष्ठलाई नियुक्त गरिएको कर्मचारीको आरोप छ । अहिले बोर्डले कर्मचारी सेवा–सर्तसम्बन्धी नियमावली मस्यौदा तयार पारेको छ । स्रोतका अनुसार अध्यक्ष नियुक्त नहुँदै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । बोर्डले ओएनएम सर्भे गरी सातवटै प्रदेशमा शिक्षा मन्त्रालयका सहसचिवलाई प्रमुख बनाउने गरी प्रस्ताव गरेको छ । शिक्षा ऐनअनुसार बोर्डलाई आवश्यक परे शिक्षा मन्त्रालयसँग माग गर्न सक्ने व्यवस्था रहेकामा मन्त्रालयले हस्तक्षेप गरी ऐनविपरीत काम गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा बोर्डबाट हुन सक्ने काममा समेत प्रभाव परेको कर्मचारीको गुनासो छ । शिक्षा मन्त्रालयले सदस्यसचिवमा शिक्षा मन्त्रालयका सहसचिवहरूलाई पठाउने गरेको छ । उनीहरूले सहसचिव हुँदा पाउने सुविधा र सहसचिव भएपछि पाउने सुविधा फरक भए पनि त्यसका लागि कुनै अवरोध नहुने, तर अध्यक्ष नियुक्तिमा विभिन्न बहाना बनाएर ढिलाइ गर्ने काम गरेको कर्मचारीको आरोप छ । अर्थ मन्त्रालयबाट जवाफ आएन : शिक्षामन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमात्र श्रेष्ठले अध्यक्षको सेवा–सुविधाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको, तर अर्थबाट जवाफ नआएका कारण मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको जानकारी दिए । अर्थ मन्त्रालयबाट जवाफ आउनासाथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले बताए । आफूहरूका कारण अध्यक्षको नियुक्तिमा ढिलाइ नभएको उनको भनाइ छ । नांगो बेइज्जत भयो : प्रा.डा. पौडेल अध्यक्षमा सिफारिस भएका प्रा.डा. चन्द्रमणि पौडेलले खुला प्रतिपर्धाबाट नाम सिफारिस भएपछि त्यसलाई रोक्न खोज्नु नांगो नाच भएको प्रतिक्रिया दिए । लोकसेवा आयोगको प्रक्रियाबाट अध्यक्षमा सिफारिस भएपछि आफूले चाहेको व्यक्ति ल्याउन नसकेर शिक्षा मनत्रालयले नाटक गरिरहेको उनको भनाइ छ । ‘प्रपोजल मागेर प्रतिस्पर्धाबाट नाम सिफारिस भएको हो, आफ्नो व्यक्ति ल्याउनु थियो भने किन खुला प्रतिस्पर्धा गराउने ?’ उनले प्रश्न गरे । सक्षम व्यक्तिलाई राज्यको कुनै पनि जिम्मेवारीमा ल्याउन नचाहनु दुःखद रहेको पौडेलले बताए ।

फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम

पर्वत, भदौ १८ । फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गरिने भएको छ । नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् । शुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो । पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि भन्दै गाउँबाट बसाइँसराइ गर्ने र निजी विद्यालयतर्फ सर्वसाधारणको आकर्षण बढ्दै जान थालेपछि नगरपालिकाले उक्त अभियान थालेको हो । नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीबीच शैक्षिक भिन्नता पाइएपछि हाल सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएकाले आउँदो वर्षबाट अनिवार्यरुपमा लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो । आगामी वर्षदेखि अंग्रेजी माध्यमका लागि विषयगत शिक्षकको व्यवस्था गरी सामुदायिक विद्यालयकै सुविधा र शुल्कमा पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध कायम गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा सुधारका कार्ययोजनासमेत बनाउँदै नगरलाई नमूना नगर बनाउने शर्माको भनाइ छ । त्यसैगरी नगरपालिकाले अबदेखि शुक्रबारका दिन पनि ४ः०० बजेसम्म विद्यालय अनिवार्यरुपमा खोल्नुपर्ने र उक्त दिन १ः०० बजे पछि अतिरिक्त क्रियाकलाप नगरी विद्यालय बन्द गर्ने परम्परासमेत हटाएको छ । यस्तै नगरभित्रका विद्यालयले अबदेखि वर्षको चारपटक कक्षा जाँच तथा परीक्षा अनिवार्य गर्नुपर्ने भएको छ । परीक्षापछि अनिवार्यरुपमा उत्तरपुस्तिका विद्यार्थीलाई उपलब्ध गराई अभिभावकको संलग्नतामा नतिजा विश्लेषण गर्ने र सुधारका कार्ययोजना बनाउने निर्णयसमेत नगरपालिकाले गरेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो । शैक्षिक सुधारका लागि उक्त नगरपालिकाको पहलमा नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकले १७ बुँदे साझा प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा निरन्तर विद्यार्थीको मसान्तसम्मको मूल्यांकन गर्ने, शिक्षक समय तोक्ने, प्रत्येक विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था मिलाउने, प्रत्येक महिना अभिभावकसंग छलफल गर्ने, कम्तीमा महिनामा एक पटक अभिभावकसँग अन्तक्र्रिया गर्नेलगायतका कुरा प्रतिबद्धतामा उल्लेख छन् । उल्लिखित प्रतिवद्धता कार्यान्वयन नगरे कारबाही गर्ने नगर प्रमुख शर्माको भनाइ छ ।

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

बाजुरा, भदौ १८। सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा (विष्ट)ले बताए । उहाँले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा (विष्ट)ले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताउनुभए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्लगायतका योजना पु¥याउने गरी निर्णय पारित भएको बताए ।

विद्यार्थी आन्दोलनलाई थप उचाइमा पुर्याइने अध्यक्ष तामाङ

काठमाडौं, भदौ १७ । नेकपा माअ‍ोवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताएका छन । मतपरिणाम घोषणा गर्न शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तामाङले विद्यार्थी आन्दोलन परम्परागत शैलीबाट अघि बढ्न नसक्ने भन्दै गरिव, निमुखा र उत्पडित विद्यार्थीको पक्षमा आफू उभिने बताए । उनले सबैको सहयोगबाट संगठनलाई चुस्तदुरुस्त राख्ने भन्दै शिक्षामा देखिएको विकृति, विसङ्गति अन्त्य गर्ने आफ्नो पहिलो दायित्व हुने बताए । शैक्षिक क्षेत्रमा देखिएका निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध लाग्ने उनले बताए । शनिबार सम्पन्न मतगणनामा तामाङले आफ्ना प्रतिद्वन्द्वी अनिल शर्मालाई २३ मतले हराउँदै पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिएका हुन । तामाङले ८४५ र शर्माले ८२२ मत प्राप्त गरे । कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले संगठनमा पहिलो पटक निर्वाचन गराएर लोकतान्त्रिक विधि तथा प्रक्रिया अपनाइएको बताए । उनले नवनिर्वाचित कमिटीलाई विद्यार्थी आन्दोलन थप नयाँ ढंगले अघि बढाउन आग्रह पनि गरे । कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेश मल्लले विजयी उम्मेदवारको नाम घोषणा गरेका थिए । गत भदौ ७ गतेदेखि राजधानीमा शुरु भएको २१ औं राष्ट्रिय सम्मेलनले २४३ जनाको नयाँ नेतृत्व चयन गरेको छ । रासस

अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ निर्वाचित

काठमाडौं, भदौ १७ ।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् । शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् । अहिले विहान सार्वजनिक भएको परिणाम अनुसार उपाध्यक्षमा तिलक राज भण्डारी र महासचिवमा उत्तम अधिकारी विजयी भए । माओवादी केन्द्र र उसका निकट भातृ संगठनमा निर्वाचनबाट नेतृत्व छानिएको यो पहिलो पटक हो । चुनाव विद्यार्थी संगठनको भएपनि माओवादी केन्द्रका नेताहरुले यसलाई प्रतिष्ठाको विषय बनाएका थिए । पार्टीका उच्च नेताहरुले आफ्ना आफ्ना गुट बनाएर प्रचार गरेको समाचार सार्वजनिक भएपनि माओवादी केन्द्रले विज्ञप्ती निकालेर त्यस्तो नगरेको प्रतिक्रिया दिएको थियो । क्रान्तिकारी चुनावमा दुई अध्यक्षका प्रत्याशी मध्ये अनिल शर्मालाई जनार्दन शर्माले समर्थन गरेको र रञ्जितलाई वर्षमान पुनले खुलेर समर्थन सहयोग गरेको समाचार सार्वजनिक भएका थिए । यद्यपी अनन्त र शर्माको भूमिकाबारेमा बन्द सत्रमा बहस नै भएको थियो । क्रान्तिकारीको २१ औं अधिवेशन सबैभन्दा बढी लामो समय चलेको थियो । भदौ ७ गते पार्टीका अध्यक्ष प्रचण्डले उद्घाटन गरेको सम्मेलन बल्ल आज नयाँ नेतृत्व चयन गर्दै सकिएको छ ।

स्नातकोत्तर प्रथक वर्षको नतिजा प्रकाशित

काठमाडौँ, भदौ १६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एमफिल, एमए जेन्डर, एमए मैथिली, एमए पपुलेसन र एमए इतिहासको पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । नतिजा www.tu.ntc.net.np मा हेर्न सकिन्छ वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।