निःशुल्क साइकल वितरण

रुपन्देही, कात्तिक ८ । रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ ।

तिलोत्तमा–४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो ।

गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताए ।

करिब रु ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो । साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा–९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमा परियार लगायतले खुशी व्यक्त गरेका छन् ।

शान्ति नमुना मावि मणिग्राममा कक्षा १० मा अध्ययनरत् मनिषा चौधरी र कक्षा– ९ मा अध्ययनतत् वर्षा बस्यालले प्राप्त साइकलबाट पठनपाठनमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कोरियामा रहेको ख्वाङजु बुद्धिज्म फाउण्डेशनको सहयोगमा यस क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले साइकल वितरण, छात्रवृत्ति वितण तथा अन्य सामग्री प्रदान गरिँदै आएको आचार्यले बताए ।

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग पुराउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको सो फाउण्डेशनका प्रमुख भिक्षु पार्क ईम साङले बताए ।

भिक्षु फप ईल सिनमले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गरे । सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुराउने जनज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताए ।

शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछाने पनि साइकल वितरणबाट विद्यार्थी थप उत्सुक भएको र यसले उनीहरुको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गरे ।

शिक्षा ऐनले युवालाई नयाँ ढोका खोलेको छः शिक्षा राज्यमन्त्री

चितवन, असोज ८ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले शिक्षा ऐन नवौं संशोधनले शिक्षकको अनुमतिपत्र लिएर बसेका जल्दाबल्दा युवाका लागि ढोका खोलेको बताएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले ऐनले कसैलाई अन्याय नगरेको जिकिर गर्दै दक्षता नभएकाहरु परीक्षाबाट छाँटिने स्पष्ट गरे । अधिकारीले भन्नुभयो, “परीक्षामा ४० नम्बर नल्याए गोल्डेन हेनसेकमार्फत अस्थायी शिक्षक बाहिरिन्छन्, लामो समय सेवा गरेपछि स्थायीले पेन्सन पाउने भए पनि अस्थायीलाई गोल्डेन ह्यान्डसेक दिइने छ ।” नेपालमा २६ हजारको हाराहारीमा अस्थायी शिक्षक छन् । स्थायी हुँदा ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत नयाँले अवसर पाउने उनले बताए । करिब १९ हजार नयाँले अवसर पाउने उनको भनाइ थियो । यसअघि नै १० हजार ५०० ले गोल्डेन ह्यान्डसेकका लागि फाराम भरिसकेकाले मानसिक रुपमा उनीहरु छाड्ने तयारीमा रहेको उनले बताए । यससँगै हरेक वर्ष शिक्षक सेवा आयोगले परीक्षा लिएर नयाँ शिक्षक नियुक्ति गर्दै जाने पनि उनले बताए । शिक्षा सेवा आयोगले तत्काल प्रक्रिया अगाडि बढाउने बताउँदै उनले दशैं र तिहारका बीचमा परीक्षासमेत गर्ने तयारीमा आयोग लागेको जानकारी दिए ।

बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दो ?

खोटाङ, असोज १ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित पञ्च माविमा शुरु गरिएको बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको छ । कक्षा १२ सम्मको अध्ययन पूरा गरेलगत्तै सहजरुपमा जागिर पाउने तथा सस्तो शुल्कमा आफ्नै जिल्लामा बाली विज्ञान विषय अध्ययन गर्ने वातावरण मिलेपछि प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको हो । जिल्लामै पहिलोपटक पाँच वर्षअघि बाली विज्ञान विषयको कक्षा शुरु गरेको पञ्च माविमा अहिले उक्त विषय अध्ययन गर्ने विद्यार्थीको चाप बढेको छ । नेपाल सरकार, शिक्षा मन्त्रालय, शिक्षा विभागबाट २०७३ र ७४ मा बाली विज्ञान विषयतर्फ कक्षा १२ सम्मको अध्ययन अध्यापन गराउने सम्बन्धन पाएपछि पञ्च मावि प्राविधिक शिक्षा लिन चाहने छात्रछात्राको आकर्षणको केन्द्र बनेको हो । जनशक्तिको मागका आधारमा पछिल्लो समय प्राविधिक शिक्षाअन्तर्गत बाली विज्ञान विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै गएको विद्यालयका प्रधानाध्यापक भवकृष्ण ढकालले बताउनुभयो । २०२४ सालमा स्थापना भएको पञ्च माविले आव २०६९ र २०७० देखि मावि तहमा बाली विज्ञान विषयको पठनपाठन शुरु गरेको थियो । विसं २०७३ असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च माविस्तरको कक्षा सञ्चालन गर्ने स्वीकृति पाएको पञ्च माविमा हाल कक्षा ९ मा ४७ जना, कक्षा १० मा २८ जना, कक्षा ११ मा २७ जना र कक्षा १२ मा २४ जना विद्यार्थी अध्ययनरत रहेका छन् । पञ्च मावि बाली विज्ञान विषयमा अध्ययन गराउने जिल्लाको पहिलो र एकमात्र विद्यालय हो । कक्षा ११ को सम्बन्धन लिएपछि पञ्च माविमा बाली विज्ञानप्रतिको आकर्षण बढेर गएको प्रअ ढकालले बताउनुभयो । बाली विज्ञानमा बढी मात्रामा विद्यार्थीको चाप बढेपछि यसपटक छनोट गरेर ४७ जनालाई मात्र कक्षा ९ मा भर्ना गरिएको विद्यालयले जनाएको छ । बाली विज्ञानप्रतिको आकर्षणकै कारण थप व्यवस्थापनका लागि विद्यालयले गत फागुन तेस्रो साता श्रीमद्भागवत धान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरेको थियो । शुरुमा सहयोगका नाममा मासिक प्रतिव्यक्ति रु छ हजार शुल्क लिँदै आएको विद्यालयले शिक्षा मन्त्रालय शिक्षा विभागबाट सम्बन्धन पाएपछि भने मासिक शुल्क घटाएर प्रतिव्यक्ति रु एक हजार बनाएको व्यवस्थापन समितिका अध्यक्ष अशोक आचार्यले बताउनुभयो । बाली विज्ञानसँग सम्बन्धित जनशक्तिको अभाव भएकाले पनि विद्यार्थीको आकर्षण बढेको अध्यक्ष आचार्यको भनाइ छ ।

+२ पासलार्इ राेजगारीकाे अवशर 

काठमाडौं, असोज १ ।  विश्व स्वास्थ्य संगठन अन्र्तगतको नेपाल सञ्चालित एनजिओले एडमिनिस्टर र कार्याक्रमका लागि केही कर्मचारी मागेको छ ।  +२ पासले पिन एप्लार्इ गर्न सक्नेछन । विस्तृत जानकारीका लागि यो लिंक हेरौँ । http://www.khabarera.com/english/2017/09/ingojobsinnepal/ 

रहर हुँदाहुँदै विद्यालय जान नपाएकाहरु…..

म्याग्दी, भदौ २९ । म्याग्दी सदरमुकाम बेनीमा दैनिकजसो भेटिने १२ वर्षका अजय नेपालीलाई पढेर ठूलो मान्छे बन्ने रहर छ । म्याग्दीसँग सिमाना जोडिएको पर्वतको उत्तरी जलजला गाउँपालिका–४ धाइरिङको सल्यान स्थायी घर भएका अजय घरपरिवारमा उचित वातावरण नहुँदा विद्यालय जान छाडेका हुन् । पर्वत बेनीमा बस्दै आएका नेपालीका बुबा पम्फे विदेशमा छन् भने आमाले गत वर्ष अर्कैसँग बिहे गरेर गएपछि उनले विद्यालय जान छाडेका हुन् । बिहान बेलुका पकाएर खानेको समेत टुंगो नभएपछि अजयले बेनीस्थित प्रकाश माविमा कक्षा ५ सम्मको अध्ययन गर्दागर्दै विद्यालय जान छाडेको बताए । बस्नका लागि सानो छाप्रो भएपनि बिहान बेलुका के खाने टुंगो नभएपछि अजयसँगै उनका भाइ शक्तिले समेत विद्यालय जान छाडेका हुन् । १० वर्षका शक्तिले कक्षा ३ मा अध्ययन गर्दै गरेको समयमा विद्यालय जान छाडेका हुन् । आफन्तकामा खाना खाँदै आएका उनीहरुले अहिले सडकमा खेलेर दिन बिताउने गरेका छन् । “आमाको अर्कैसँग बिहे भएपछि बस्ने र खाने ठाउँ भएन, बाबा विदेशमा हुनुहुन्छ, पढेर ठूलो मान्छे बन्ने रहर छ, तर विद्यालय जान छाडेको पनि धेरै भयो, अब त सरहरुले पनि गाली गर्नुहुन्छ होला,” अजयले भने । अजयजस्तै पढेर ठूलो बन्ने चाहना हुँदाहुँदै विद्यालय जान छाडेका अर्का बालक हुन सुमित नेपाली । उनीहरु सहोदर दुई भाइका छोराहरु हुन् । आफ्नै गाउँ धाइरिङकै स्थानीय विद्यालयमा अध्ययन गर्दागर्दै १४ वर्षका उनले पनि केही वर्ष अगाडिदेखि पढाइ छाडेका हुन् । कक्षा ४ सम्मको अध्ययन गरेका उनले पनि बजारमा कम्युटर चलाएर जागिर खानेजस्तै ठूलो मान्छे बन्ने रहर रहेको बताए । तर अध्ययन छाडेको वर्षौं भइसकेकाले फेरि विद्यालय गएर पढ्ने उचित वातावरण उनको घरपरिवारको पनि छैन । उनकी आमाले बजारमा मजदुरीको काम गर्छिन् भने बाबाले हार्डवेयर काम गर्छन् । उनका बुबाले दुईवटा बिहे गरेका छन् । दिनभरि डुलेरै समय खेर फाल्दै आएका यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् । घरपरिवारको उचित वातावरण नहुँदा पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय छाडेका थुप्रै बालबालिका छन् । तर सडकमा दिनभर धुलोसँगै खेलेर समय खेरफालेका यस्ता बालबालिकालाई संरक्षण गरी उनीहरुलाई अध्ययनबाट वञ्चित नगराउनका लागि सम्बन्धित निकायबाट कुनै पहल भएको देखिँदैन ।

रक्सी खाएर विद्यालय जाने हेडमास्टर प्रहरी खोरमा

इलाम, भदौ २८ । रक्सी खाएर विद्यालय जाने गरेका इलामका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको रोङ गाउँपालिका वडा नम्बर ६, सलकपुरस्थित मोतीराम माध्यमिक विद्यालयका प्रधानाध्यापक लालबहादुर श्रेष्ठलाई रक्सी खाएर विद्यालय आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । हरेक समय मादक पदार्थ सेवन गर्ने प्रधानाध्यापकलाई पटक–पटक चेतावनी दिँदासमेत नसुध्र्रिएपछि बुधबार उनलाई मादक पदार्थ मातेर विद्यालयमा आएको समयमा प्रहरीले नियन्त्रणमा लिएको हो । रक्सीले मातेर लरबरिँदै विद्यालय आएपछि प्रहरीले श्रेष्ठलाई प्रहरीको जिम्मा लगाइएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।

गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’

तेह्रथुम, भदौ २६ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् । माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो । मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा । गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो । “गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ । जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन । “बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ । ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ । गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ । माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।

अष्ट्रेलियन र अंग्रेजी भाषा अभ्यासका लागि सेमिनार

चितवन, २५ भदौ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले अष्ट्रेलिया शिक्षा र अग्रेजी भाषा अभ्यासको लागि प्रोत्साहन गर्ने उद्देश्यले एक दिने सेमिनार गर्ने भएको छ । असोज तीन गते चितवन मेडिकल कलेज अगाडी रहेको होटल अशोकामा सेमिनार राखेको कन्सलटेन्सीका प्रवन्ध निर्देशक राहुल कुमार सिंहले जानकारी दिएका छन् । प्रवेश निःशुल्क रहेको सेमिनार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म चल्ने सेमिनार प्रबन्ध निर्देशक सिंहले बताए । सेमिनारमा अष्ट्रेलिया सेफ्फिल्ड कलेजका प्रतिनिधिले अष्ट्रेलियाको शिक्षाको विषयमा जानकारी गराउने उनले बताए । कार्यक्रममा अष्ट्रेलिया शिक्षा र नेपाली शिक्षा विषय लगायत थुप्रै कुरामा अनुभवहरु शेयर गर्ने बताईएको छ । अष्ट्रेलियाको शिक्षाका लागि प्रोत्साहन र परामर्श दिने उद्देश्यले आयोजना गरिएको सेमिनारमा हजारौँको सहभागी रहने बताईएको छ । क्याची एजुकेशन एण्ड टेनिङ कन्सलटेन्सीले नर्सिङ, ईन्जिनियरिङ, होटेल म्यानेजमेन्ट, आईटी, एकाउन्टेन्ट, साईनस लगायतका विषय पढ्न जाने विधाथीहरुलाई अभ्यास कोर्ष गराउँदै आएको छ ।

तेह्रथुमका सात विद्यालय नमूना बन्दै

तेह्रथुम, भदौ २३ । तेह्रथुमको आठराई गाउँपालिकाका सातवटा आधारभूत विद्यालय नमूना विद्यालय बन्ने भएका छन् । नमूना विद्यालय बनाउन देउराली सोसाइटी, तेह्रथुमले अभियान सञ्चालन गरेको छ । विद्यालय स्रोत केन्द्रले छनौट गरेका विद्यालयसँग सोसाइटीले साझेदारी गरी अभियानलाई तीव्रता दिएको हो । विद्यालयमा बालमैत्री वातावरण तयार गरी नमूना विद्यालय बनाउन समुदायका शिक्षक, अभिभावक र सरोकारवालासँग छलफल गरी अभियान सञ्चालन गरिएको देउराली सोसाइटी तेह्रथुमका कार्यक्रम अधिकृत खगेन्द्र सापकोटाले बताउनुभयो । यसका लागि सम्बन्धित विद्यालयले २५ प्रतिशत र देउराली सोसाइटीको ७५ प्रतिशत सहयोग हुने गरी साझेदारी भएको छ । बालमैत्री वातावरण तयार गर्न वाइड बोर्ड, कार्पेट, फिल्टर, बालमैत्री कक्षा व्यवस्थापन, बालमैत्री खानेपानी धारा निर्माण लगायतका काम भइरहेको देउराली सोसाइटी तेह्रथुमका आठराईस्थित सामाजिक परिचालक सुभाष कन्दङवाले जानकारी दिनुभयो । नमूना विद्यालय निर्माणका लागि विद्यालयको अवस्थाअनुसार रु नौ हजारदेखि रु १५ हजारसम्म सहयोग देउराली सोसाइटीले गरेको छ । स्रोत केन्द्रले छनौट गरेका विद्यालय बाहेकका विद्यालयमा बालमैत्री वातावरण र गुणस्तरीय शिक्षाका लागि सहयोग गरिने भएको परिचालक कन्दङवाले बताउनुभयो । आठराई गाउँपालिकाको पुरानागाउँ आधारभूत विद्यालय, सङ्क्रान्तिबजार, सिंहवाहिनी आधारभूत विद्यालय खाम्लालुङ, सरस्वती आधारभूत विद्यालय ह्वाकू, रन्दल आधारभूत विद्यालय, इवा, सरस्वती आधारभूत विद्यालय, छातेढुङ्गा, जलकन्या आधारभूत विद्यालय, चुहानडाँडा र महेन्द्रोदय आधारभूत विद्यालय, थोक्लुङ नमूना विद्यालय बन्ने भएका हुन् । तेह्रथुमको जलजले गाविसबाट २०४८ सालमा स्थापित जलजला समाजको विस्तारित रुप देउराली सोसाइटीले आठराईमा स्थानीय अधिकार कार्यक्रमअन्तर्गत कृषि, शिक्षा, बालबालिका, महिला र सुशासनको क्षेत्रमा काम गर्दै आएको छ ।

भाइरल ज्वरोले विद्यालय बन्द

गुल्मी, भदौ २३ । गुल्मीको एक विद्यालयमा भाइरल ज्वरोले गर्दा दुई दिन विद्यालय बन्द गर्नुपरेको छ । मुसिकोट नगरपालिका–५ स्थित आँपचौरमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरोले गर्दा विद्यालयका अधिकांश शिक्षक र विद्यालयका करिब आधा विद्यार्थी भाइरल ज्वरोले बिरामी भएपछि बुधबार र बिहीबार अर्थात् हिजोसम्म दुई दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक सुनिल भण्डारीले जानकारी दिए । विद्यार्थीमा शुरुमा टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताइएको छ । एकहजार पाँचसयको स्वास्थ्य परीक्षण यसैबीच, गुल्मीमा सञ्चालन भएको तीनदिने स्वास्थ्य शिविर अन्तर्गतको दोस्रो दिनसम्म झण्डै एक हजार ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । मुसिकोट नगरपालिकाको महेन्द्र आदर्श माध्यमिक विद्यालयमा गत बुधबारदेखि तीनदिने निःशुल्क स्वास्थ्य शिविरको दोस्रो दिन हिजोसम्म एक हजार ४४६ जनाले स्वास्थ्य परीक्षण गराएका थिए जसअन्तर्गत पुरुषतर्फ ५९७ र बाँकी महिलाले स्वास्थ्य परीक्षण र उपचार गराई औषधिसमेत लिएका छन् । साथै शिविरको दोस्रो दिनसम्म ४४ जना आँखाका बिरामीको मोतिया विन्दुको शल्यक्रिया गरिएको थियो । आज ५५ जना आँखाका बिरामीलाई मोतियाविन्दुको शल्यक्रिया गरिने शिविरका व्यवस्थापक नवीन कक्षपतिले जानकारी दिए । ब्रिटिश गोर्खा वेलफेयर स्किम जि.डब्लु.एस.को आयोजना तथा कादुरी एग्रिकल्चर एड एसोसिएसन केएएएको संयुक्त आयोजनामा भदौ २१ देखि २३ गते अर्थात् आजसम्म शिविर सञ्चालन हुनेछ । शिविरमा विशेषज्ञ चिकित्सकको टोलीले बिरामीका लागि फरक–फरक ठाउँमा स्वास्थ्य परीक्षण तथा उपचार सञ्चालन गरिएको छ । शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, आँखाको मोतियाविन्दुको शल्यक्रिया, दन्तरोग तथा सामान्य स्त्रीसम्बन्धी रोगको परीक्षण गरिएको जानकारी दिइएको छ । रासस

बाढीपीडित बालबालिकालाई विद्यालय पोशाक वितरण

इटहरी, भदौ २२ । बाढीका कारण समस्यामा परेका इटहरी उपमहानगरकास्थित मनमोहन आधारभूत प्रथामिक विद्यालयका १५२ विद्यार्थीमध्ये १३५ जनालाई आज विद्यालय पोशाक वितरण गरिएको छ । कोशी अञ्चल इँट्टा व्यवसायी सङ्घले बुढीगंगा नदीको बाढी पसेर घरबार सहित जायजेथा गुमाएर शिविरमा बसेका बालबालिकालाई पोशाक प्रदान गरिएको हो । पीडित बालबालिकामध्ये १३५ जना विपन्न गरिब तथा सीमान्तकृत वर्गका बालबालिकालाई रू एक लाख ३५ हजारभन्दा बढीको विद्यालय पोशाक प्रदान गरिएको नेपाल इटा उद्योग व्यवसायी महासङ्घका केन्द्रीय सदस्य लीलम बस्नेतले जानकारी दिनुभयो । विद्यालय पोशाक नै गुमाएर विद्यालय आउनसमेत समस्यामा परेका बालबालिकाको पहिचान गरेर पोशाक उपलब्ध गराइएकोे पनि केन्द्रीय सदस्य बस्नेतले जानकारी दिनुभयो । विद्यालयका प्रधानाध्यापक भीमबहादुर बस्नेतले कापी–किताबसमेत सबै गुमाएका बालबालिकाका गाउँघरमा र पसलमा पुराना किताब खोजेर पठनपाठनको व्यवस्था गरे पनि विद्यालय पोशाक जुटाउन समस्या भइरहेका बेला इँटा व्यवसायीले पोशाक दिएर ठूलो गुण लगाएको बताउनुभयो । सङ्घका जिल्ला अध्यक्ष खगेन्द्र श्रेष्ठले बालबालिकाले पोशाक नै नपाएर विद्यालय जान समस्यामा परेकाले इँट्टा व्यवसायी मिलेर पोशाक उपलब्ध गराएको बताउनुभयो ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ जवाफसहित उपस्थित हुन सर्वोच्चको आदेश

काठमाडौं, भदौ २२ ।लिखित जवाफसहित उपस्थित हुन मध्यपश्चिमाञ्चल विश्वविद्यालयलार्इ सर्वोच्चको आदेश। सर्वोच्च अदालतले विवादास्पद सम्बन्धनको विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)संग लिखित जवाफ मागेको छ । सम्बन्धन खारेज गर्न उत्पे्रषणयुक्त परमादेशको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले आज लिखित जवाफ मागेको हो । वुधवार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई असोज २ गते लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।अधिवक्ता जगदिश आचार्यले सोमबार सम्बन्धन खारेज गर्न उत्प्रेषणयुक्त परमादेशको माग गर्दै सर्वोच्चमा रिट दिएका थिए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषदले विश्वविद्यालय अनुदान आयोगको निर्देशनविपरीत गत साउन २९ गते राजधानीका तीन निजी कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो । विवादकै बीच नेपाल इन्जिनियरिङ कलेज भक्तपुरले एमयूबाट सम्बन्धन लिन थालेको प्रक्रिया रद्द गर्न एमयूमा पत्र पठाइसकेको छ ।

बिबिएस चौथो वर्षको परीक्षफल प्रकाशित

काठमाडौं,भदौं २१- त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले व्यवस्थापन सङ्कायतर्फको स्नातक तह चार वर्षे बिबिएस चौथो वर्षको परीक्षाफल सार्वजनिक गरेको छ । चैत–बैशाख महिनामा सञ्चालित गरिएको परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा ४६.९७ प्रतिशत परिक्षार्थी उर्तिर्ण भएका छन् । उक्त परीक्षाको परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np र www.educationkhabar.com मा पनि हेर्न सकिने छ नेपाल टेलिकमको १६०२ मा डायल गरेर प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ । साथै ४९४९ मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले जनाएको छ। । एसएमएस गर्नको लागि 4BBS symbol no लेखि 4949पठाउनु पर्नेछ ।

पाँच वर्षदेखि कुवेत पुगेकी एक नेपाली युवती सम्पर्कविहीन

काठमाडौँ, भदौ २१ । छ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेकी सिन्धुपाल्चोककी एक युवती पाँच वर्षदेखि सम्पर्कविहीन भएकी छिन् । चौतारा साँगाचोकगढी नगरपालिका, कुविण्डेकी डोल्मा तामाङलाई २०६८ सालमा स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै कुवेत पु¥याएका थिए । गएको एक वर्षसम्म परिवारको सम्पर्कमा रहनुभएका उहाँ विगत पाँच वर्षदेखि कुनै सम्पर्कमा हुनुहुन्न । डोल्माकी आमा छेकु तामाङले भन्नुभयो, “गएको एक वर्षसम्म सम्पर्कमै थिई, गएपछि तीन÷चारचोटि फोन गरेकी थिई । एक्कासि पाँच वर्षअघि देखि फोन गर्न छोडी ।” फोन गर्दा डोल्माले कुवेतमा आफूले घरको काम गर्ने र काम राम्रै रहेको परिवारका सदस्यलाई बताउनुभएको थियो । छोरीले विदेशबाट कमाएर पठाउली भन्ने आशामा आमा–बुबाले कलिलै उमेरमा उहाँलाई विदेश पठाएका थिए । डोल्मा जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर छोरीलाई पठाएको आमा छेकुले जानकारी दिनुभयो । छोरी गएको तीन महिनापछि रु १५ हजार पठाएको तर त्यसपछि कुनै रकम पनि नपठाएको उहाँले बताउनुभयो । सिन्धुपाल्चोक, पाँचखर्कको कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले उहाँको छोरीलाई कुवेत पठाउन भूमिका खेलेका थिए । अहिले डोल्माबारे सोध्दा उनीहरुले आफूलाई थाहा नभएको भन्दै टार्ने गरेका छन् । आमा छेकुले भन्नुभयो, “शुरुशुरुमा चुप लागेर बस आइहाल्छे भने, त्यसपछि एक महिना कुर, दुई महिना कुर भन्दै पाँच वर्ष बिताइसकेँ ।” यसबारे आरोपी कर्मा लामासँग राससले प्रश्न गर्दा उहाँले डोल्मालाई कुवेत पठाएको स्वीकार गर्नुभयो । आफूले घरमा काम गर्न पठाएको कुवेतको सो घरबाट डोल्मा भागेर अन्तै गएकाले उनीबारे अहिले कुनै जानकारी नभएको कर्माको भनाइ छ । कर्माले मेनपावरबाट नभई व्यक्तिगत रुपमा डोल्मालाई कुवेत पठाएको बताउनुभयो । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । दुई छोरामध्ये एकले कक्षा १० र अर्कोले कक्षा ८ मा पढ्दै गरेका छन् । बेखबर रहेकी डोल्माले कक्षा ६ सम्म मात्रै अध्ययन गर्नुभएको छ । छोरी सम्पर्कविहीन भएपछि छेकुका धेरै दिन रुँदारुँदै बितेका छन् । हातमा पासपोर्ट साइजको छोरीको तस्बीर देखाउँदै आँखाबाट आँसु झार्दै उहाँले भन्नुभयो, “मेरो छोरी कहाँ छे खोज्दिनुप¥यो हजुर, कहाँ जाने खोज्न मलाई केही थाहा छैन ।” छोरी बेखबर भएको बारे अहिलेसम्म पनि प्रहरीमा उजुरी नगरेको उहाँले जानकारी दिनुभयो । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको सामी परियोजना, सिन्धुपाल्चोककी प्रतिनिधि रीना श्रेष्ठले सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा गएका सम्पर्कविहीन हुनेको सङ्ख्या पछिल्लो वर्षमा बढ्दै गएको जानकारी दिनुभयो । उहाँले गत आव २०७३÷७४ मा मात्रै आफूहरुले सञ्चालन गरेको सूचना केन्द्रमा चारजना सम्पर्कविहीन भएको भनी उनीहरुको परिवारका सदस्यले निवेदन दिएको जानकारी दिनुभयो । यसरी सम्पर्कविहीन हुनेमा दुई महिला र दुई पुरुष रहेका छन् ।

ट्यांकी निर्माणका लागि विद्यालय तीन लाख सहयोग

पोखरा भदौ २१। पोखरा–लेखनाथ महानगरपालिका–१० स्थित कुँडहर आधारभूत प्राथमिक विद्यालयको हातामा १० हजार लिटर क्षमताको खानेपानीे ट्यांकी निर्माण गरिएको छ । लायन्स क्लब अफ पोखरा ग्रीन टाउनको सक्रियतामा बेलायतस्थित क्वीन एलिजावेथ ग्रामर स्कुलको रु तीन लाख १० हजारको सहयोगमा सो ट्यांकी निर्माण गरिएकोे होे । नवनिर्मित ट्यांकी लायन्सक्लबका राष्ट्रिय डिष्ट्रिक्ट गभर्नर ३२५ बी १ का गभर्नर धनराज आचार्यले एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मैना गुरुङलाई हस्तान्तरण गरेका छन् । रासस

परीक्षा बोर्ड अध्यक्षको नियुक्ति रोकियो

काठमाडौं, भदौ १९ ।  राष्ट्रिय परीक्षा बोर्डमा खुला प्रतिस्पर्धाबाट अध्यक्ष सिफारिस भए पनि शिक्षा मन्त्रालयले नियुक्तिको प्रस्ताव एक महिनासम्म मन्त्रिपरिषद्मा लगेको छैन । लोकसेवा आयोग अध्यक्षको अध्यक्षतामा हुने कमिटीले खुला प्रतिस्पर्धाबाट प्रा.डा. चन्द्रमणि पौडेललाई बोर्डको अध्यक्षमा सिफारिस गरेको थियो । तर, शिक्षा मन्त्रालयको नेतृत्वले आफ्नोअनुकूलको व्यक्ति सिफारिस नभएपछि एक महिनासम्म पनि मन्त्रिपरिषद्मा प्रस्ताव नलगी रोकेर राखेको छ । गत १६ साउनमा सिफारिस कमिटीले पौडेलको नाम सिफारिस गरेको थियो । शिक्षा ऐनको आठौँ संशोधनपछि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी परीक्षाको काम गर्न राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरेको थियो । बोर्ड स्थापना भएको एक वर्षभन्दा बढी भइसक्दा पनि अध्यक्ष नियुक्त भएको छैन । अध्यक्ष नियुक्ति नहुँदा बोर्डका उपाध्यक्ष रहने शिक्षासचिवले कार्यबाहक अध्यक्षको काम गरिरहेका छन् । अध्यक्ष सिफारिसपछि स्वार्थका काम अध्यक्ष आइसकेपछि उनको अनुकूलतामा काम हुने भन्दै अहिले धमाधम कांग्रेसनिकटलाई नियुक्ति दिइएको स्रोतको भनाइ छ । अध्यक्ष नियुक्तिमा चासो नदिए पनि उनलाई घेराबन्दी गर्ने उद्देश्यले बोर्ड सदस्यमा प्रा. दयामान कर्माचार्य, भुमा पाण्डे र अमुदा श्रेष्ठलाई नियुक्त गरिएको कर्मचारीको आरोप छ । अहिले बोर्डले कर्मचारी सेवा–सर्तसम्बन्धी नियमावली मस्यौदा तयार पारेको छ । स्रोतका अनुसार अध्यक्ष नियुक्त नहुँदै त्यसलाई अन्तिम रूप दिने तयारी भइरहेको छ । बोर्डले ओएनएम सर्भे गरी सातवटै प्रदेशमा शिक्षा मन्त्रालयका सहसचिवलाई प्रमुख बनाउने गरी प्रस्ताव गरेको छ । शिक्षा ऐनअनुसार बोर्डलाई आवश्यक परे शिक्षा मन्त्रालयसँग माग गर्न सक्ने व्यवस्था रहेकामा मन्त्रालयले हस्तक्षेप गरी ऐनविपरीत काम गरेको कर्मचारीहरूले आरोप लगाएका छन् । अध्यक्ष नियुक्तिमा ढिलाइ गर्दा बोर्डबाट हुन सक्ने काममा समेत प्रभाव परेको कर्मचारीको गुनासो छ । शिक्षा मन्त्रालयले सदस्यसचिवमा शिक्षा मन्त्रालयका सहसचिवहरूलाई पठाउने गरेको छ । उनीहरूले सहसचिव हुँदा पाउने सुविधा र सहसचिव भएपछि पाउने सुविधा फरक भए पनि त्यसका लागि कुनै अवरोध नहुने, तर अध्यक्ष नियुक्तिमा विभिन्न बहाना बनाएर ढिलाइ गर्ने काम गरेको कर्मचारीको आरोप छ । अर्थ मन्त्रालयबाट जवाफ आएन : शिक्षामन्त्री श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमात्र श्रेष्ठले अध्यक्षको सेवा–सुविधाका लागि अर्थ मन्त्रालयमा पत्र पठाएको, तर अर्थबाट जवाफ नआएका कारण मन्त्रिपरिषद्मा प्रस्ताव नलगेको जानकारी दिए । अर्थ मन्त्रालयबाट जवाफ आउनासाथ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने उनले बताए । आफूहरूका कारण अध्यक्षको नियुक्तिमा ढिलाइ नभएको उनको भनाइ छ । नांगो बेइज्जत भयो : प्रा.डा. पौडेल अध्यक्षमा सिफारिस भएका प्रा.डा. चन्द्रमणि पौडेलले खुला प्रतिपर्धाबाट नाम सिफारिस भएपछि त्यसलाई रोक्न खोज्नु नांगो नाच भएको प्रतिक्रिया दिए । लोकसेवा आयोगको प्रक्रियाबाट अध्यक्षमा सिफारिस भएपछि आफूले चाहेको व्यक्ति ल्याउन नसकेर शिक्षा मनत्रालयले नाटक गरिरहेको उनको भनाइ छ । ‘प्रपोजल मागेर प्रतिस्पर्धाबाट नाम सिफारिस भएको हो, आफ्नो व्यक्ति ल्याउनु थियो भने किन खुला प्रतिस्पर्धा गराउने ?’ उनले प्रश्न गरे । सक्षम व्यक्तिलाई राज्यको कुनै पनि जिम्मेवारीमा ल्याउन नचाहनु दुःखद रहेको पौडेलले बताए ।