फलेवास नगरपालिकाका सबै विद्यालयमा अंग्रेजी माध्यम
पर्वत, भदौ १८ । फलेवास नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा आगामी आर्थिक वर्षदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गरिने भएको छ ।
नगरभित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले आगामी शैक्षिकसत्रदेखि अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने तयारी भएको हो । उक्त नगरपालिका भित्र ६२ वटा सामुदायिक विद्यालय छन् ।
शुरुमा सबै विद्यालयको प्राथमिक तहबाट अंग्रेजी माध्यममा पढाइ शुरु गर्ने र विस्तारै माध्यमिक तहसम्म विस्तार गरिने नगर प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।
पछिल्लो समय गुणस्तरीय शिक्षाका लागि भन्दै गाउँबाट बसाइँसराइ गर्ने र निजी विद्यालयतर्फ सर्वसाधारणको आकर्षण बढ्दै जान थालेपछि नगरपालिकाले उक्त अभियान थालेको हो । नेपाली र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीबीच शैक्षिक भिन्नता पाइएपछि हाल सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएकाले आउँदो वर्षबाट अनिवार्यरुपमा लागू हुनेगरी नगरभित्रका सम्पूर्ण विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
आगामी वर्षदेखि अंग्रेजी माध्यमका लागि विषयगत शिक्षकको व्यवस्था गरी सामुदायिक विद्यालयकै सुविधा र शुल्कमा पूर्ण अंग्रेजी माध्यमबाट पठनपाठन गराउनका लागि विद्यार्थी शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्ध कायम गरी नगरभित्रका सम्पूर्ण विद्यालयमा सुधारका कार्ययोजनासमेत बनाउँदै नगरलाई नमूना नगर बनाउने शर्माको भनाइ छ ।
त्यसैगरी नगरपालिकाले अबदेखि शुक्रबारका दिन पनि ४ः०० बजेसम्म विद्यालय अनिवार्यरुपमा खोल्नुपर्ने र उक्त दिन १ः०० बजे पछि अतिरिक्त क्रियाकलाप नगरी विद्यालय बन्द गर्ने परम्परासमेत हटाएको छ ।
यस्तै नगरभित्रका विद्यालयले अबदेखि वर्षको चारपटक कक्षा जाँच तथा परीक्षा अनिवार्य गर्नुपर्ने भएको छ । परीक्षापछि अनिवार्यरुपमा उत्तरपुस्तिका विद्यार्थीलाई उपलब्ध गराई अभिभावकको संलग्नतामा नतिजा विश्लेषण गर्ने र सुधारका कार्ययोजना बनाउने निर्णयसमेत नगरपालिकाले गरेको नगर उपप्रमुख मञ्जु अधिकारीले बताउनुभयो ।
शैक्षिक सुधारका लागि उक्त नगरपालिकाको पहलमा नगरभित्रका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकले १७ बुँदे साझा प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा निरन्तर विद्यार्थीको मसान्तसम्मको मूल्यांकन गर्ने, शिक्षक समय तोक्ने, प्रत्येक विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था मिलाउने, प्रत्येक महिना अभिभावकसंग छलफल गर्ने, कम्तीमा महिनामा एक पटक अभिभावकसँग अन्तक्र्रिया गर्नेलगायतका कुरा प्रतिबद्धतामा उल्लेख छन् ।
उल्लिखित प्रतिवद्धता कार्यान्वयन नगरे कारबाही गर्ने नगर प्रमुख शर्माको भनाइ छ ।
स्नातकोत्तर प्रथक वर्षको नतिजा प्रकाशित
काठमाडौँ, भदौ १६ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले एमफिल, एमए जेन्डर, एमए मैथिली, एमए पपुलेसन र एमए इतिहासको पहिलो वर्षको परीक्षाफल प्रकाशित गरेको छ । नतिजा www.tu.ntc.net.np मा हेर्न सकिन्छ वा ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिन्छ ।
१२ कक्षा उत्तीर्ण भएपछि मुसहर बस्तीमा खुशीयाली
बर्दिवास, भदौ १६ । ‘माय, हम १२ पास कैलिय’ (आमा मैले १२ कक्षा पास गरेँ) महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका २० वर्षीय मञ्जय सादा मुसहरले आमा मानकी सादासँग खुशी साट्दै भने । बिहीबार प्रकाशित कक्षा १२ को परीक्षाको नतिजामा ५६ प्रतिशत अङ्क प्राप्त गरी उत्तीर्ण भएको खुशी मञ्जयले आमासँग साट्दै गर्दा मानकीका आँखाका डिल पनि खुशीका आँसुले भरिए । बुवा–आमा र जेठा दाजुहरु गिरत (मालिक) को काममा जाने र आपूm उज्यालो हुनासाथै काँधमा कोदालो भिरेर मुसाको शिकार गर्ने गरेको बचपन आफैँले व्यहोरेका मञ्जे (मञ्जयको घरमा बोलाउने नाउँ) का लागि १२ कक्षा उत्तीर्ण गरेको सफलता चानचुने होइन । “हामी मुसहर जन्मले नै कमारा (नोकर) भएर जन्मन्थ्यौँ”, मञ्जेले विगत सम्झँदै भने, “मुसहरका घरमा नयाँ छोरा जन्मनासाथ ऊ कुनै मालिकका लागि बचनमा बाँधिने चलन थियो ।” आफ्नो पुरानो परिवेश कोट्याएका मञ्जेले अगाडि भने, “यस्तो परिवेशमा जन्मेको आपूmलाई आज १२ कक्षा उत्तीर्ण गरेँ भन्न पाउँदा निकै खुशी लागेको छ ।” बर्दिवासमा बसोबास गर्ने मुसहर समुदायको चौथो पुस्ताका मञ्जे १२ कक्षा उत्तीर्ण गर्ने अहिलेसम्मकै पहिलो व्यक्ति हुन् । अशिक्षा, गरिबी र सामाजिक पछौटेपनमा पारिएका मुसहर समुदायमा छोराछोरी पढाउने कुरा कसैले सोच्ने कुरै थिएन । खेल्न जाँदा बर्दिवासको मुसहर बस्ती नजिकैको जनता माध्यमिक विद्यालयमा पढ्न आउने गिरतका छोराछोरीसँगको उठबसले कहिलेकाहीँ कापीका पाना, कुनै पुस्तक बोकेर मञ्जे घर आउन थालेपछि यो नौलो काम गर्छ कि जस्तो लागेको मञ्जेका दाजु बिल्टु सादा बताउँछन् । “हाम्रो बुबा लक्ष्मी सादा बस्तीको अगुवा हुनुहुन्थ्यो”, भाइ मञ्जेको पढाइप्रतिको लगावबारे विगत कोट्याउँदै बिल्टुले भने, “अनि घरको कान्छो भाइ, बुबाआमा हामी सबैको प्यारो…! नियमित स्कूल जान थाल्यो, हामी सबैले जाओस् भन्यौँ र पो आज यो सफलता हात लाग्यो ।” हुन पनि हो, आफ्नो पढाइमा बुबाआमा, दाजु–भाउजू, वरपरका आफन्त र गाउँका गिरतका छोराछोरीले समेत आफूलाई माया गरेका मञ्जेको ठम्याइ छ । “खै किन हो मैले सबैको माया पाएँ”, मञ्जेले भने, “विद्यालयमा पनि गुरुहरु मलाई विशेष माया गर्नुहुन्छ जस्तो लाग्थ्यो, यसले मलाई पढाइको निरन्तरता दिन ऊर्जा दिन्थ्यो ।” बिशेषगरी २०७२ सालको हिउँदमा हास्य कलाकार धुर्मुस र सुन्तली आफ्नो बस्तीमा पहिलोपटक आएर शिक्षाबारे सबैलाई सम्झाइबुझाइ गरेपछि आफ्नो बस्तीबाट विद्यालय जानेको संख्या निकै बढेको मञ्जे बताउँछन् । “विसं २०७२ को हिउँदमा पहिलोपटक हाम्रो बस्तीमा आउनुभएका धुर्मुस–सुन्तलीले नमूना बस्तीमात्र नभई मुसहरको मन नै उज्यालो बनाइदिनुभएको छ ।” मञ्जेले भने त्यतिखेर भर्खर एसएलसी पास गरेको म अगाडि पढ्थेँ, पढ्दैनथेँ ठेगान थिएन, तर धुर्मुस–सुन्तलीको न्यानो मायाले पढाइ जारी राख्न सकेँ र आज यो सफलता पाएको छु ।” अब उच्च शिक्षा जारी राख्ने मञ्जेले आफ्नो संकल्प पनि सुनाए । मञ्जे १२ कक्षा पास भएपछि अहिले मञ्जे र उनका परिवारमात्र नभएर सिङ्गै ५० घरपरिवार बसोबास भएको एकीकृत नमूना मुसहर बस्तीमा खुशी छाएको छ । “हामी सबै खुशी छौँ”, बस्तीका करिया सादाले भने, “यिनी पढ्नुपर्छ भनेर बाटो देखाउने हाम्रो आँखाका नानी हुन्, अब त झण्डै १०० भन्दा बढी नानी स्कूल गइरहेका छन्, हाम्रो खुशी दिनदिनै बढिरहने छ ।” मञ्जेको यो सफलतामा हास्य कलाकार धुर्मुस–सुन्तलीले पनि खुशी व्यक्त गरेका छन् । “हामी पहिलोपटक मुसहर बस्ती पुग्दा नांगै–भुतंगैै नाकमा सिँगानको लत्को झार्दै दौडने नानीहरु अब सफासुग्घर भएर विद्यालय गइरहेका छन्”, धुर्मुसले टेलिफोनबाट भने, “मञ्जेको सफलताले हामी (आफू र सुन्तली) धेरै खुशी छौँ, अब लाग्छ, हामीले मुसहरलाई घरमात्र हैन सफा मन पनि दिन सकेछौँ ।” महोत्तरीमा पिछडिएको दलित समुदायको मुसहर जातिबाट १२ कक्षा उत्तीर्ण गर्ने मञ्जे १० भित्र परेका छन् । जिल्लामा करिब ३० हजार जनसंख्या रहेको आफ्नो मुसहर समुदायमा शिक्षाको प्रसार गर्नु जीवनकै मुख्य उद्देश्य बनाएको मञ्जेको भनाइ छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्ने
काठमाडौं, भदौ १५ । गत बैशाखमा सञ्चालन भएको कक्षा १२ को परीक्षाका परीक्षाफल बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । नियमिततर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तिर्ण भएका छन् । आंशिकतर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् । नेपाल टेलिकमका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने छन् । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिनेछ । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।
प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय: राज्यमन्त्री अधिकारी
काठमाडौँ, भदौ १५ । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रत्येक सामुदायिक विद्यालयमा ई–पुस्तकालय स्थापना गरिने बताउनुभएको छ । आज १० अौँ पुस्तकालय दिवसका अवसरमा शिक्षा मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले शिक्षाको गुणस्तरका लागि प्रत्येक विद्यालयमा चाँडो भन्दा चाँडो ई–पुस्तकालय स्थापना गर्ने बताउनुभएको हो । प्रत्येक विद्यालयमा पुस्तकालय हुनु आवश्यक भएकाले एक विद्यालय एक पुस्तकालयको अवधारणाअनुसार नै ई–पुस्तकालय बन्ने राज्यमन्त्री अधिकारीले जानकारी दिनुभयो । निमित्त शिक्षा सचिव डिल्ली रिमालले मन्त्रालयले चाँडै पुस्तकालय नीति ल्याइने र पुराना पुस्तकलाई बाहिर निकालेर पढ्ने ठाउँको खोजीमा आफूहरु रहेको बताउनुभयो । कार्यक्रममा यस वर्षको उत्कृष्ट पुस्तकालय पुरस्कार ज्ञान विकास सामुदायिक पुस्तकालयलाई दिइएको छ । यसैगरी उत्कृष्ट पुस्तकालय समाजसेवी पुरस्कार भोलानाथ शर्मालाई, पुस्तकालयसेवी पुृरस्कार सूर्य क्षेत्रीलाई, पुस्तकालय असलमित्र पुरस्कार दिनेशराज पन्तलाई प्रदान गरिएको छ । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तह एक नमूना पुस्तकालय’ भन्ने मूलनाराका साथ आज देशभरि पुस्तकालय दिवस मनाइएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै
काठमाडौँ, भदौ १५ । कक्षा ११ तथा कक्षा १२ को नतिजालाई एसएमएसबाटै मोबाइलमा समेत हेर्न सकिने छ । त्यसको लागी ‘आकाश एसएमएस’ को एसएमएस सेवा मार्फत मोबाइलमा एनइबी (एक स्पेस) सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाउँन सकिने छ। यसरी NEB सिम्बोल नंम्बर लेखेर ३१००२ मा एसएमएस पठाई सकेपछि तुरुन्तै तपाईंको नतिजा सहितको एसएमएस तपाईंकै मोबाइलमा प्राप्त हुनेछ । यसै साताभित्र कक्षा १२ को परिक्षा फल सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डको कार्यालयले जनाएको छ । उक्त नतिजालाई इनहेडलाइन डट कम (www.InHeadline.com) मा गएर समेत हेर्न सकिने छ । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि कक्षा ११ को नतिजा समेत इनहेडलाइन डट कमबाटै हेर्न सकिने छ । यद्दपी, कक्षा १२ को विज्ञान विषयको परिक्षा फल भने यस अघि नै प्रकाशित भइसकेको छ ।
इन्जिनियरिङ कलेज निजीकरण गरे अान्दाेलनकाे चेतावनी
काठमाडौं, भदौ १५ । नेपाल ईन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थीले नेपाल इन्जिनियरिङ् कलेज सामुदायिक रहेकाले यसलाई निजीकरण गर्न नपाईने धर्ना दिएका छन् । राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका हुन् । धर्नामा सहभागीले नेपाल इन्जिनियरिङ् कलेजको सम्वन्धन पोखरा विश्वविद्यालयमै कायम हुनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । विद्यार्थीहरुले सामुदायिक कलेजलाई कुनै हालतमा निजीकरण गर्न नपाइने माग गरे । धर्नामा सहभागी विद्यार्थीले शिक्षामा हुँदै आएको राजनीतीकरण बन्द गरी शैक्षिक वातावरण कायम राख्न अनुरोध गरेका थिए । माग पूरा नभए लगातार आन्दोलनमा उत्रने चेतावनी उनीहरुको छ ।
पुस्तकालय दिवसका अवसरमा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान
काठमाडौं, भदौ १५ । १० औं पुस्तकालय दिवस विभिन्न कार्यक्रम गरी मनाईँदै छ । ‘जीवनपर्यन्त शिक्षाका लागि एक स्थानीय तहः एक नमूना पुस्तकालय’ भन्ने नाराका साथ पुस्तकालय दिवस मनाइएको हो । पठन संस्कृति बढाउनका साथै हरेक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्र्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरिरहेका छन् । दशौं पुस्तकालय दिवस मूल समारोह समितिले पनि काठमाडौंमा एक कार्यक्रम गरेको छ । समितिले काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय परिसरबाट प्रभातफेरी ग¥यो । प्रभातफेरी शहरका विभिन्न ठाउँको परिक्रमा गरी रुसी सांस्कृतिक केन्द्रमा आयोजित कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उत्कृष्ट ३ वटा पुस्तकालयलाई सम्मान गरिएको थियो । १८६९ सालमा तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न पण्डित केदारनाथ झालाई जिम्मेवारी दिएको दिनको स्मरण गर्दै २०६५ साल भदौ १५ गतेदेखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।
‘आधुनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ पुस्तक बजारमा
नवलपरासी, भदौ १५ । बैंकिङ क्षेत्रका कर्मचारी एवं लेखक सुरोज टण्डनले ‘आधूनिक बैंकिङ व्यवस्थापन र अर्थव्यवस्था’ नामक पुस्तक बजारमा ल्याउनुभएको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले टण्डनले आफ्नो चौथो प्रकाशनका रुपमा सो पुस्तक बजारमा ल्याउनुभएको हो । नेपाली बजारमा विभिन्न विधाका पुस्तक प्रशस्त रहे पनि अर्थतन्त्र, बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित पुस्तक पाठकको माग र आवश्यकताअनुरुप पाउन कठिन रहेकाले सो पुस्तक प्रकाशन गरेको लेखक टण्डनको भनाइ छ । पुस्तकमा नेपालको आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, बैंकिङ क्षेत्र, आधुनिक व्यवस्थापन, पूँजी बजारलगायत ऐन, नियम र संविधानका विषय वस्तु समेट्ने प्रयास गरिएको छ । राजनीतिमा सकारात्मक अवस्था देखिनुले पनि अर्थतन्त्रमा मुद्रास्फीति न्यून र आर्थिक वृद्धि बढ्न गएको विषय वस्तुसमेत पुस्तकमा समावेश गर्न खोजिएको छ। लेखक टण्डनका अनुसार बैंकिङ र गैरबैंकिङ क्षेत्रमा कार्यरत कर्मचारी र मानिसका लागि सो क्षेत्रलाई शिक्षा र जानकारी गराउन पुस्तक कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ । लेखक टण्डन कृषि विकास बंैक मुख्य कार्यालय काठमाडाँैमा शाखा प्रमुख पदमा कार्यरत हुनुहुन्छ । यसअगावै टण्डनले नेपालबाहेक जर्मनबाट समेत यस्ता पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।
कारागारमा पढाइ सुरु
लमजुङ, भदौ १४ । जिल्ला कारागार लमजुङमा कैदीहरुलाई पढाइ सुरु गरिएको छ । १० औं पुस्तकालय दिवसको पूर्वसन्ध्यामा सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयको बुधबार कारागारहका लागि घुम्ती पुस्तकालय स्थापना गरेको हो । कैदी÷बन्दीलाई लक्षित गरी कारागारभित्र पुस्तकालय स्थापना गरिएको लक्ष्मीनारायण सामुदायिक पुस्तकालयका अध्यक्ष नाराइन सुयेलले जानकारी दिए । पुस्तकालयमा कानुन, साहित्य, धार्मिक, राजनीतिक लगायतका पुस्तक, राष्ट्रिय तथा स्थानीय पत्रपत्रिका राखिएको छ । कैदीबन्दीमा पठन संस्कृतिको विकासका साथै त्यसबाट उनीहरुको व्यवहार परिवर्तनसमेत हुने भएकाले कारागारमा पुस्तकालय स्थापना राम्रो काम रहेको जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले बताए । १५÷१५ दिनमा नयाँ नयाँ पुस्तकहरु परिवर्तन गरि घुम्ती सेवा दिइनेछ । ३५ जनाको क्षमता रहेको कारागारमा सात महिला र ६० पुरुष गरि ६७ जना कैदीबन्दी छन् ।
सबै स्थानीय तहमा पुस्तकालय बनाइने
काठमाडौं, भदौं १० । शिक्षा मन्त्रालयले हरेक स्थानीय तहमा एउटा/एउटा पुस्तकालय स्थापना गर्ने भएको छ । स्थानीय तहमा पठन संस्कृतिको विकास गर्नका लागि ७५३ स्थानीय तहमा एउटा पुस्तकालय स्थापना गर्ने मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । उनले आगामी ३ वर्षमा सबै स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय स्थापना गर्ने बताए । यसै आर्थिक वर्षदेखि पुस्तकालय बनाउने काम शुरु गर्ने उन बताए । उनका अनुसार यस आर्थिक वर्षमा ३५० स्थानीय तहमा पुस्तकालय बनाउने मन्त्रालयको योजना रहेको छ । जसका लागि मन्त्रालयले बजेटसमेत विनियोजन गरिसकेको छ । एउटा पुस्तकालयका लागि रु ६ लाख बजेट विनियोजन गरिएको छ । यसैगरी सातवटा प्रदेशमा पनि प्रादेशिक पुस्तकालय बनाउने उनले बताए ।
स्वास्थ्य मन्त्रीको प्रतिवद्धता ‘महोत्तरीलाई शैक्षिक जिल्ला बनाउँछौं’
महोत्तरी, साउन २९ । स्वास्थ मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी जिल्लालाई शैक्षिक जिल्ला बनाउने उद्घोष गरेका छन् । बर्दिबास ३ पाटुमा रहेको जनजागृती उच्चमावि निरीक्षणको क्रममा आयोजित कार्यक्रममा मन्त्री पोखरेले महोत्तरी जिल्लालाई देशकै नमुना शैक्षिक जिल्ला बनाउनु पर्ने बताएका छन् । स्वास्थ मन्त्री पोखरेलले शिक्षामा महोत्तरी जिल्ला कमजोर भएकोले अब शैक्षिक जिल्ला बनाउने अभियानमा जुट्न सबैमा आग्रह गरेका छन् । मन्त्री पोखरेलले बिधालयको शैक्षिक स्तर सुधार गर्न र शैक्षिक कार्य योजना बनाएर काम गर्न सुझाव पनि दिए । उक्त विद्यालयमा निम्न आर्थिक अवस्था भएकाहरुले अध्ययन गर्ने भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनु आवस्यक रहेको मन्त्री पोखरेलको भनाइ थियो । गत २०७३ फागुन २२ गते बिधुत सर्ट भएर आगलागी भएपछि पुनः पुनर्निर्माण गरिएको यस विद्यालय तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा ३२ लाख अनुदान पाएपछि निर्माण गरिएको व्यवस्थापन समिति अध्यक्ष कुमार घिमिरेले जानकारी दिए ।
मनपरी शुल्क वृद्धि गर्दा क्याम्पसमा ताला
काठमाडौं, साउन २९ । राजधानीको एक मात्रै कृषि क्याम्पस हिमालयन कलेज अफ एग्रीकल्चर साईन्स एन्ड टेक्नोलोजी (हिकास्ट) मा मनपरी शुल्क वृद्धि गरेपछि राप्रविसंले तालाबन्दी गरेको छ। कलंकीस्थित उक्त क्याम्पसमा क्याम्पस प्रशासनले विगतका सहमती कार्यान्वयनमा अटेर गर्दै भर्ना प्रकृया अपार्दर्शी र अव्यवस्थीत गरेको तथा शैक्षिक घुणस्तर घटेक र मनोमानी ढङ्गले भारी शुल्क बृद्धी गरेको भन्दै यही बुधबारदेखि सङ्गठनले तालाबन्दी गरेको राप्रविसं महासचिव राज बस्नेतले जानकारी दिएका छन् । मनोमानीपुर्ण ढंगबाट क्याम्पस प्रशासनले गरेको भारी शुल्क वृद्धिलाई तत्काल रोक्नुपर्ने भन्दै आन्दोलनरत विद्यार्थीहरूको बटमलाईन रहेको आन्दोलनका अगुवा एवम् राप्रविसं नेता जनक फडेराले बताए । क्याम्पसले भारी शुल्क बृद्धी फिर्ता नगरे बन्द कालान्तर सम्म चल्न सक्ने र आगामी दिनमा क्याम्पसले अनेपेक्षित घाटा ब्योहोर्नुपर्ने चेतावनी सङ्गठनले दिएको छ। साथै यति लामो बन्द हुँदा पनि क्याम्पसले क्याम्पसकै हितमा रहेको विद्यार्थीको माग सम्बोधन गर्न तर्फ भन्दानि आन्दोलन तुहाउन लागेको भन्दै राप्रवासं हिकास्ट इकाई अध्यक्ष सचिन अधिकारीले आपत्ती जनाएका छन्। शुल्क बृद्धी अबैधानिक र मनोमानी ढङ्गले गरिएकोले यसले प्राविधिक शिक्षामा जनताका छोराछोरीलाई पहुँच भन्दा टाढा राख्न खोजिएको पनि सङ्गठनले आपत्ती जनाएको छ। क्याम्पसको मनोमानी विरूद्ध राप्रविसंको, नयाँ शक्ती विद्यार्थी युनियन र नेविसंघ आन्दोलनमा रहेका छन।
सुस्ताका विद्यार्थी शिक्षाबाट वञ्चित
नवलपरासी, साउन २८ । कक्षा सञ्चालनको अनुमति नदिदाँ नवलपरासी सुस्ताका गरिब तथा विपन्न विद्यार्थीले कक्षा ६ भन्दा माथिको शिक्षा लिनबाट वञ्चित भएका छन् । जिल्ला शिक्षा कार्यालयले यस वर्षबाट सुस्तास्थित जनता दलित प्राथमिक विद्यालयमा आधारभूत तहअन्तर्गत कक्षा ६ सम्मको मात्र पठनपाठन गराउन पाउने अनुमति दिएको छ । जसकारण गरिब, विपन्न र पिछडिएका समुदायका विद्यार्थी कक्षा ६ भन्दा भन्दा माथिको शिक्षा लिनबाट वञ्चित हुन पुुगेका छन् । आर्थिक हिसाबले सम्पन्न विद्यार्र्थी त्रिवेणीतिर बसेर अध्ययन गर्छन् जिल्ला शिक्षा अधिकारी मानबहादुर घिमिरेले भन्नुभयो, “नजिकको भारतीय विद्यालयमा पनि राम्रो पढाइ नहुने हुँदा त्यहाँका केही विद्यार्थी घरै बस्न बाध्य भएका छन् ।” सुस्तामै माध्यमिक विद्यालय नहुँदा यहाँका ४० देखि ५० जना विद्यार्थी कक्षा ६ भन्दा माथिल्लो तहको अध्ययन गर्नबाट वञ्चित हुन पुुगेको बताइएको छ । विसं २०६५ मा सुस्तामा स्थापना भएको एक मात्र यो विद्यालयमा हाल करिब २६० जना बालबालिका अध्ययनरत् छन् । विद्यालयमा यसै वर्षबाट बल्ल ६ कक्षा सञ्चालनमा आएको छ । यसअगावै लामो समयसम्म कक्षा ५ सम्मको मात्र यहाँ पठनपाठन हुने गरेका थिए । कक्षा ६ भन्दा माथिल्लो तहको अध्ययन गर्नका लागि यहाँ विद्यार्थीलाई अर्को नजिकको विद्यालयमा जादाँ नारायणी नदीका कारण तीन घण्टाको समय लाग्ने गरेका छन् । जसकारण यहाँका कतिपय विद्यार्थीले कक्षा ६ भन्दा माथिल्लो शिक्षा आर्जन गर्नबाट वञ्चित भएका छन् ।
विद्यालय भवन निर्माणका लागि १९ लाख ५० हजार सहयोग
म्याग्दी, साउन २८ । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणाधीन विद्यालय भवनका लागि स्पेनमा रहेका भकिम्लीवासीले रु नौ लाख ३७ हजार सहयोग गरेका छन् । जयन्ती माविको निर्माणाधीन ३० कोठे भवनका लागि स्पेनको बार्सिलोनामा रहनुभएका भकिम्लीका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा सो रकम संकलन गरिएको हो । विद्यालय निर्माणका लागि स्पेनमा रहेका भकिम्लीवासी तथा अन्य नेपालीले पनि आर्थिक सहयोग गरेका संयोजक क्षेत्रीलाई उदद्धृत गर्दै जयन्ती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले जानकारी दिनुभयो । करिब रु तीन करोडको लागत लाग्ने निर्माणाधीन विद्यालय भवनका लागि जिल्ला शिक्षा कार्यालय म्याग्दीले रु १९ लाख ५० हजार आर्थिक सहयोग गरेको छ । जिल्ला शिक्षाले उपलब्ध गराएको रकमबाहेक अपुग रकम स्थानीयवासीको श्रमदान, चन्दा संकलन र अन्य कार्यक्रम गरेर जुटाउने प्रयास भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुनले बताउनुभयो ।
अष्ट्रेलियन एजुकेशन डे २०१७ कार्यक्रम चितवनमा सम्पन्न
चितवन, साउन २७ । अष्ट्रेलियन एजुकेशन डे २०१७ अन्तर्गत शनिबार चितवनको होटल रोयल सेन्चुरीमा यो सेसनको अन्तिम कार्यक्रमको सम्पन्न भएको छ । लामो समयदेखि एईसीसीले विद्यार्थीहरुको उज्वल भविष्यका लागि कोर्ष, विश्वविद्यालय र अध्यनका लागि उपयुक्त देश छनोट गर्ने लगायत कार्यमा उचित मार्गदर्शन उपलब्ध गराउँदै आइरहेको छ । विद्यार्थीहरुको मार्ग दर्शन र तिनको लक्ष्य प्राप्तिका लागि अग्रणी संस्थाका रुपमा एईसीसी ग्लोबल परिचित छ । स्थापनाकालदेखि नै आफ्नो निरन्तर क्रियाकलापका रुपमा आयोजना भइरहेको अष्ट्रेलियन एजुकेशन डे संस्थाले कमतीमा वर्षको दुई पटक यस्ता कार्यक्रमको आयोजना गरिरहेको छ । सोही कार्यक्रमलाई निरन्तर्ता दिँदै संस्थाले यस पटक ‘अष्ट्रेलियन एजुकेशन डे २०१७’ ११ अगष्टमा शुक्रबार चितवनमा आयोजना गरेको छ । यसअघि बुधबार काठमाडौंमा र बिहीबार पोखरामा कार्यक्रम गरिएको थिया । कार्यक्रम विहान ११ बजेदेखि बेलुकी ५ः३० सम्म आयोजना गरिएको थियो । अष्ट्रेलियका विश्वविद्यालयका प्रतिनिधीसंग प्रत्य्क्ष भेटी विद्यार्थी तथा अभिभावकमा भर्ना, छात्रबृत्ति र भिषा डक्यूमेण्टेशन लगायतका बारेमा रहेका जिज्ञासा तथा दुविधा हटाउने उद्देश्यका साथ हामीले बर्षमा दूई पटक यस्ता कार्यक्रमको आयोजना गर्ने गरेका छौँ । विद्यार्थीहरुले विश्वविद्यालयको भ्रमण गर्न नसक्ने अवस्थालाई समेतलाइ दृष्टिगत गरी हामीले विश्वविद्याल नै तिनका सामु उपस्थित गर्ने जमर्को उठाएका हौँ ’, एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेश कुमार झाले भने । यसले तिनका समग्र समस्याको समाधान एकै स्थानमा सल्ट्याउन सघाव पु¥याउर्ने हामीले अपेक्षा गरेका छौँ ।’

