गाउँकै एक्ला एसएलसी उत्तीर्णको पछुतो – ‘छोरीलाई तीन कक्षामाथि पढाउन सकिनँ ।’
तेह्रथुम, भदौ २६ । तेह्रथुम सदरमुकाम म्याङलुङदेखि करिब १४ कोष पूर्वमा अवस्थित आठराई गाउँपालिका–५, छातेढुंगा वडा कार्यालयबाट करिब दुई घण्टा पैदल हिँडेपछि पुगिन्छ, माझीगाउँ । यो गाउँ तमोर नदीको नक्कले घाटसँगै जोडिएको छ । तमोरमा माछा मार्ने र नाउँ तार्ने माझीकै बाहुल्यता रहेकाले गाउँको नाम नै ‘माझीगाउँ’ राखिएको यो गाउँमा २१ घर माझीसहित १० घर तामाङ, चार घर लिम्बू र राई एक घर गरी जम्मा ३६ परिवार बस्छन् ।
माझीगाउँमा बस्ने सबैले माझीसँगै माछा मार्ने र नाउँ तार्ने काम गर्ने गरेका थिए । बच्चैदेखि विद्यालय छाडेर माछा मार्न जाने माझीगाउँका बासिन्दामध्येका एक मात्र एसएलसी उत्तीर्ण व्यक्ति हुन् – शिवनारायण माझी । गाउँमै पहिलो पटक र अहिलेसम्म पनि गाउँकै एक्लो एसएलसी उत्तीर्ण ३३ वर्षीय युवा शिवनारायणले २०५५ सालमा एकै पटकमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो ।
घरदेखि करिब अढाई घण्टा उकालो चढेपछि पुगिने पोखरी उच्च माविबाट परीक्षा दिनुभएका शिवनारायणले तृतीय श्रेणीमा एसएलसी पास उत्तीर्ण गर्नुभएको हो । पहिलो पटक एसएलसी उत्तीर्ण गर्दा गाउँमा नौलो मानसम्मान पाउनुभएका शिवनारायणले थप उच्च शिक्षा लिन नसके पनि गाउँमा शिक्षाको उज्यालो घामबाट वञ्चित बालबालिकालाई केही वर्ष पढाउने काम गर्नुभयो ।
मासिक रु एक हजार ५०० तलबमा काम गर्नुभएका उहाँले केही रुपैयाँ जम्मा गरेपछि मोरङको मंगलबारे गएर जेटिए पढ्ने सोच बनाउनुभयो । अठार महिनामा जेटिए उत्तीर्ण गरे पनि लोक सेवा परीक्षामा भने सफलता हात लागेन उहाँलाई । त्यसपछि फेरि पनि माछा मार्ने कामले नै निरन्तरता लियो उहाँको जीवनमा ।
गाउँमै केही गर्ने प्रयत्न गर्दा पनि नसकेपछि शिवनारायण विवाह बन्धनमा बाँधिनुभयो र अहिले उहाँका चार नानीहरु छन् । एसएलसी उत्तीर्ण गरेर गाउँमा छुट्टै इज्जत कमाउनुभएका उहाँले आम्दानीको स्रोत नभएकै कारण जेठी छोरी भुमिसालाई तीन कक्षा माथि पढाउन सक्नुभएन । चौध वर्षीया छोरी भूमिसाले तीन वर्षअघि नै कक्षा ३ मा पढ्दापढ्दै विद्यालय छाडेकी उहाँले बताउनुभयो ।
“गाउँमा पहिलो पटक एसएलसी पास गर्दा पढ्नुपर्छ भनेर अभियानै चलाएँ, माछा मार्न कुद्ने माझीले पनि बरु ५ कक्षा त पास गरे,” शिवनारायणले भन्नुभयो, “मैले आफ्नै छोरीलाई भने तीन कक्षादेखि भन्दा माथि पढाउन सकिनँ ।” आर्थिक स्रोत नहुँदा घरको व्यवस्थापन नभएर छोरीले विद्यालय जान नसकेको उहाँ स्वीकार्नुहुन्छ ।
जेटिएसम्म पढे पनि शिवनारायणले सजिलो गरी कहीँकतै जागिर नभेटेपछि माछा मार्ने काम गर्दै आउनुभएको थियो । तर माछा मार्ने काम पनि बाढीका कारण दिगो बन्न सकेन, अन्ततः घर चलाउन ठूलै संकट आइलाग्यो । विदेश जाने चक्करले शिवनारायणको अलिअलि जम्मा भएको सम्पत्ति पनि सकियो । दुई छाक टार्न मुस्किल परेपछि काम गर्न हिँड्नुभएका उहाँले घरमा छोरीले विद्यालय जान पाइन् कि पाइनन् ख्याल गर्नै पाउनुभएन ।
“बिहान उठ्यो, घरको काम गरेर पानी बोक्दैमा ९ बज्थ्यो,” शिवनारायणका छोरी भुमिसाले भन्नुभयो, “बुबा आमा मेलापातमा, घरमा भातै पाक्थेनँ । भोक लागेका बेला विद्यालय जाने ज्ञान आएन ।” अहिले विद्यालय जान नपाएकामा भुमिसालाई निकै दुःख लाग्छ । भुमिसा पनि आजभोलि बुबाआमासँगै घर र मेलापातको काममा सघाउने गर्नुहुन्छ ।
ठूली छोरीलाई तीन कक्षा माथि पढाउन नसके पनि अरु तीन जना साना छोराछोरीलाई राम्रो पढाउने शिवनारायणको योजना छ । माझीगाउँमा माझी बालबालिकालाई लक्ष्य गरी सञ्चालित नौले प्राविमा कक्षा–५ सम्म पढाइ हुने गरेको छ ।
गाउँमै विद्यालय खोलिए पनि माझीगाउँका नानीहरुले ५ कक्षासम्मै पढेका छैनन् । अझै पनि माझीगाउँका धेरै बालबालिका विद्यालय जाँदैनन् । विद्यालय गएकामध्ये पनि केहीले मात्र कक्षा ५ भन्दा माथि पढ्न पाएका छन् । तर अहिलेसम्म पनि माझीगाउँमा शिवनारायणबाहेक कसैले एसएलसी उत्तीर्ण गरेका छैनन् । यो गाउँबाट निमावि पढ्न पनि करिब एक घण्टा माथि उक्लिनुपर्छ ।
माझीगाउँमा खानेपानी सुविधा छैन । खानेपानी लिन खोलासम्म पुग्नुपर्छ । राम्रो पानी खान एक घण्टा परसम्म धाउनुपर्ने बाध्यता रहेको यहाँका बासिन्दा बताउँछन् । पानी बोकेर खानुपर्ने भएका कारण पनि नानीहरु विद्यालय जान नपाएको शिवनारायणले बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण घरभरि बालबालिका र बूढा बाबुआमालाई छाडेर माझीगाउँका युवा विदेशिन थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणले २६२ पदका लागि कर्मचारी भर्ना र बढुवाका लागि आवेदन आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६२ पदमा कर्मचारी भर्ना गर्न र बढुवाका लागि पनि आवेदन आह्वान गरेको छ। प्राधिकरणले अधिकृत स्तरका विभिन्न पदहरू (सहनिर्देशकदेखि वातावरणविद्सम्म) मा १३२ जना र सहायक स्तरका पदहरू (मिटर रिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल) मा १३० जनाका लागि विज्ञापन प्रकाशित गरेको हो। योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। यसैगरी, प्राधिकरणले ज्येष्ठता, कार्यसम्पादन मूल्यांकन र कार्यक्षमता मूल्यांकनका आधारमा हुने आन्तरिक बढुवाका लागि पनि विभिन्न पदहरूमा आवेदन खुला गरेको छ।
अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल त्रिविबाट राजनीति शास्त्रमा गोल्ड मेडलिस्ट
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमए) राजनीति शास्त्रमा अखिल क्रान्तिकारीकी नेतृ प्रतिभा पौडेल सर्वोत्कृष्ट भएकी छिन् । उनी विश्वविद्यालय स्तरीय गोल्ड मेडलिस्ट बन्दै पदक र पुरस्कार प्राप्त गरेकी हुन् । बिहीबार त्रिविको ५१औँ दीक्षान्त समारोहमा उनलाई वडाकाजी मरिचमान सिंह पदक र ललित चन्द पुरस्कार प्रदान गरिएको थियो । राजनीति शास्त्र केन्द्रीय विभागबाट एमए पूरा गरेकी पौडेल सोही विभागमा एमफिलकी विद्यार्थी पनि हुन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध पौडेलले भनिन्, “विद्यार्थी राजनीति गर्दै पढ्दै गएँ । अब सक्रिय राजनीतिभन्दा प्राज्ञिक क्षेत्रमा लाग्ने मन छ ।” कीर्तिपुरकी पौडेलले २०७० सालमा काठमाडौंको सामुदायिक विद्यालयबाट एसएलसी पास गरेकी थिइन् । त्रिपुरेश्वरको विश्व निकेतन माविबाट विज्ञान विषयमा +२ पास गरेपछि त्रिचन्द्र क्याम्पसबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् । विज्ञानकी छात्रा रहेकी उनी विद्यार्थी संगठनमा काम गर्दा राजनीतिबाटै समस्या समाधान हुने देखेर राजनीति शास्त्रतर्फ मोडिएकी हुन् । “विद्यार्थी हकहितको कुरा उठाउँदा राजनीतिबाट धेरै कुराको समाधान हुन्छ भन्ने लाग्यो, त्यसैले यो विषय छानेँ,” उनले भनिन् । उत्कृष्ट नतिजापछि एमफिल गर्दै प्राज्ञिक क्षेत्रमै भविष्य देखेकी उनको बुबा पनि सोही पार्टीका केन्द्रीय सदस्य हुन् । परिवारको राजनीतिक पृष्ठभूमिले पनि विद्यार्थी राजनीति र अध्ययनमा रुचि बढाएको उनले बताइन् ।
यस वर्षको एसइई चैत पहिलो सातादेखि
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल वैशाख १० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डले सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार एसइईको नतिजा असार दोस्रो साताभित्र र कक्षा १२ को नतिजा साउन १५ गतेभित्रमा सार्वजनिक गरिने छ । सामान्यतया बोर्डले परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको छ । बोर्डले एसइईसँगै कक्षा नौ र १० को रजिस्ट्रेसन तथा परीक्षा फाराम छपाइ, वितरणलगायतका कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाले दियो ४ सय ३८ जना विद्यार्थीलाई छात्रवृत्ति
चितवन। भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ । यस वर्षका लागि ४ सय ३८ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै संख्या हो । महानगरले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधि अनुसार छात्रवृत्तिमा छनोट गरेको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले संघीय छात्रवृत्ति ऐनका आधारमा छात्रवृति वितरण गरिएको स्पष्ट पार्नुभयो । छात्रवृत्तिमा कुनै पनि भनसुन गरी एक जना विद्यार्थी पनि छनोट नगरिएको उहाँको भनाई थियो । वितरणलाई पारदर्शी बनाउन विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो । ‘शिक्षा क्षेत्रमा सबैको पहुँच पु¥याउनका लागि वैज्ञानिक ढङ्गले छात्रवृत्ति वितरणको काम गरिएको छ’, उहाँले भन्नुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एसईईमा ल्याएको नतिजा जस्तै ११ कक्षामा पनि निरन्तरता दिन विद्यार्थीलाई आग्रह गर्नुभयो ।महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले संविधानले शिक्षामा गरेको ग्यारेण्टीअनुसार नै पूर्ण छात्रवृत्ति प्रदान गरिएको जानकारी दिनुभयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यका अनुसार २९ संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको हो । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ ३ सय ३० र अन्य १ सय ८ जना छन् । छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ १६२, गरिब तथा विपन्नतर्फ १६२, आदिवासी जनजातितर्फ ५३, दलिततर्फ २६, अपाङ्गता भएका १३, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ १३ जना छन् । गत वर्ष महानगरले २ सय ६६ जनालाई छात्रवृति दिएको थियो । महानगरपालिकाले दिएको तथ्याङ्क अनुसार छात्रवृत्तिका लागि १ हजार १ सय ६१ जनाले आवेदन दिएका थिए । विज्ञान संकायतर्फ ८ सय ७७ र अन्य संकायका लागि २८४ आवेदन परेको थियो ।

