हस्तकला व्यापार मेला

काठमाडौँ, साउन ३१ । हस्तकला सामग्रीको बजार विकास, विस्तार तथा निर्यात प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा १६ औं हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता हुने भएको छ ।

मेलाका बारेमा जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म भृकुटीमण्डमा उक्त मेला सञ्चालन हुने जानकारी दिएको छ ।

सो अवसरमा नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले मेलाले अन्तर्राष्ट्रिय बजारमा पहुँच पुग्न नसक्ने लघु एवं साना हस्तकला उद्यमी व्यवसायीले देशभित्रका निर्यातकर्ता तथा विदेशी आयातकर्तासँग व्यावसायिक सम्बन्ध स्थापित गर्न अवसर प्रदान गर्ने बताए ।

उनले हस्तकलाका क्षेत्रमा रहेको एक अर्को देशको सीप, कला र प्रविधिबारे जानकारी आदानप्रदान गर्न मेला महत्वपूर्ण भएको बताए ।

अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, नेदरल्याण्डका साथै एशियाली मलुक जापान, चीन, भारतलगायत झण्डै ८० मुलुकका करीब रु १० अर्ब मूल्य बराबरको हस्तकला सामग्री निर्यात हुँदै आएको अध्यक्ष शाक्यले बताए ।

यस्तै आन्तरिक बजारमा पनि सोही परिणामको कारोबार रहेको उनले जानकारी दिए ।

महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार डङ्गोलले सरकारी निकायमा हस्तकला सामग्री १० प्रतिशत मूल्यबढी तिरेर खरिद गर्न सकिने नीति भए पनि सार्वजनिक खरिद ऐनका कारण सो सामग्री बिक्रीमा समस्या देखिएको बताए ।

हस्तकला व्यापार, व्यवसाय प्रवद्र्धन गर्न सरकारी सहयोग पर्याप्त नभएको उनले गुनासो गरे । हस्तकलाका क्षेत्रमा करीब ११ लाख व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा संलग्न रहेको महासङ्घले जनाएको छ ।

त्यस्तै मेलाका क्रममा लोपोन्मुख कलाकृतिको जगर्ना र मौलिक कलाको संरक्षण गर्न नयाँ पुस्ताका कलाकार÷कालीगढलाई आफ्नो पेशाप्रति आकर्षित गरी कला पुस्तान्तरण तथा मौलिक कलालाई विकसित प्रविधिको प्रयोग गरी अझ समुन्नत बनाउन हस्तकला प्रतियोगितासमेत हुने महासङ्घले जनाएको छ । मेलामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र समसामायिक विधातर्फ ‘ढाका बुनाई’ प्रतियोगिता गरिने महासङ्घका उपाध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ३० हजार र तृतीयलाई रु २० हजारसहित प्रमाणपत्र प्रदान गरिने पनि उहाँले जानकारी दिए ।

नेपालको निर्यात व्यापारका साथै आन्तरिक बजारमा पनि हस्तकला क्षेत्रको महत्वपूर्ण स्थान रहेको छ । मेलामा करीब २५ जिल्लाका स्थानीय हस्तकलाको प्रदर्शनी तथा बिक्रीका साथै हस्तकलाका वस्तुगत प्याभिलिएनसहित २०० बिक्री तथा प्रदर्शनी कक्ष रहने छन् ।

मेलामा उत्कृष्ट हुने एक प्याभिलिएन र एक प्रदर्शनी कक्षलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ । पाँच दिनसम्म चल्ने उक्त मेलामा करीब एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ ।

चितवन बार अध्यक्षमा पाठक निर्वाचित

रत्ननगर, साउन २६ । चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित भएका छन् । प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै पाठक अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक चुडामणि सापकोटाले जानकारी दिए । गए राति सम्पन्न निर्वाचनमा पाठकले ९३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अधिकारीले ८४ मत पाएका छन् । दुई वर्षे कार्यकालका लागि पाठकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका हुन् । सापकोटाका अनुसार उपाध्यक्षमा हिरादत्त तिवारीलाई पछि पार्दै प्रगतिशील समूहकै हरिबहादुर मैनाली विजयी भएका छन् । सचिवमा प्रजातान्त्रिक समूहका धर्म वाग्ले, कोषाध्यक्षमा प्रगतिशील समूहका सूर्यबहादुर बोहरा र सहसचिवमा प्रजातान्त्रिक समूहकी गोमा न्यौपाने निर्वाचित भइन । सचिव र सहसचिव दुई पदाधिकारीबाहेक कार्यसमितिमा सबै प्रगतिशील समूहका उम्मेद्वार विजयी भएका छन् । केन्द्रीय पार्षद् आठ जनामा पाँच प्रगतिशील समूहका र तीन प्रजातान्त्रिक समूहका उम्मेदवार विजयी भए । सदस्यमा प्रगतिशील समूहका अजय तामाङ, नारायण गिरी, विकास गुरुङ, तुलसीराम पाण्डे, शिवराम महतो, टेकनाथ अधिकारी, अर्जुनबाबु तिवारी र महिला सदस्यमा भवानी लोहनी निर्वाचित भएका छन् । केन्द्रीय पार्षद्मा प्रगतिशील समूहका जनकराज पौडेल, बद्रीनाथ पण्डित, कृष्णप्रसाद पन्त, भलोनाथ नेपाल, पदमप्रसाद दाहाल तथा प्रजातान्त्रिक समूहका श्रीराम दवाडी, मुन्ना विक्रम खाती, र सीताराम अधिकारी निर्वाचित भएका छन् ।

वेपत्ता चिकित्सक कारवाहीका लागि सिफारिश

जाजरकोट, साउन २६ । महिना बित्नु अगावै हाजिर गरेर बेपत्ता हुने चिकित्सकलाई स्थानीय प्रशासनले कारवाहीका लागि सिफारिश गरेको छ । जाजरकोट जिल्ला अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. पूर्णिमा राईले साउनभरिको हाजिर गरेर जिल्ला छाडेको समाचार प्रकाशित भएपछि उनलाई कारवाही प्रक्रिया अघि बढाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खतिवडाको नेतृत्वमा उक्त अस्पतालमा गरेको छड्ने अनुगमनमा अस्पताल प्रमुखलाई जानकारी नै नदिइ हाजिर कापीमा साउनभरिको हाजिर जनाई नेपालगञ्ज गएको पाइएकाले निजलाई स्वास्थ्य सेवा ऐनअनुसार कारवाहीका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय र कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयलगायतमा लिखित पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले बताए । उनले जिल्ला छाडेपछि प्रसूतिलगायत स्त्रीरोगसम्बन्धी विशेषज्ञ सेवा ठप्प छ । दुई वर्षअघि नै १५ श्ययाबाट ५० श्ययामा स्तरोन्नति गरिएको उक्त अस्पतालमा नौ विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि हालसम्म विशेषज्ञ सेवा शुरु हुन सकेको छैन । -रासस

६६ वर्षीय झाक्रीद्वारा बालकमाथि यौन दुव्र्यहार

कञ्चनपुर, साउन २६ । कञ्चनपुरमा महिलामाथि बलात्कार र हत्याका घटना बढिरहेका बेला एक अर्को घटना बाहिरिएको छ । सुन्दा अच्चम लाग्न सक्छ, कञ्चनपुरमा एक पुरुषले साढे पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेका छन् । भीमदत्त नगरपालिका–३ तिलपुरका ६६ वर्षीय गोपाल धामीले कञ्चनपुरको बेदकोट नगरपालिका-७ गाउजीका बालकको मुखमा लिंग घुसाएका हुन् । झारफुक पेशा गर्दै आएका गोपालले बिहीबार मध्यरातमा बालकको मुखमा लिङ्ग घुसाएर ‘माउथ सेक्स’ गरेको घरपरिवारले बताएका छन् । छोरो बिरामी भएपछि उनका बुबाले ती धामीलाई झारफुक गर्नका लागि बिहीबार दिउँसो घरमै बोलाएका थिए । बालकका बुबाले भने, ‘खाना खाएपछि झाँग्रीले चुरोट खाएर बालकसंग सुत्ने भनेपछि हामीले सुतेको बालकलाई धामीको कोखमै राख्यौँ ।’ धामीले जो कोही कसैका बालबालिका आफ्नै नातिनातिना जस्तै मान्छु भन्दै बालक आफैसंग सुताउन आग्रह गरेका थिए । दुई झापड हानेर प्रहरीलाई खबर गरेको बालकका बुबाले बताए । राती नै सिसैया प्रहरी चौकीले गोपाललाई घरबाटै पक्राउ गरेको थियो । पीडित अभिभावकले नाबालकमाथि यौन दुर्व्यवहार गरेको भन्दै कार्बाहीको माग गरेका छन् । सयममै अभिभावकले थाहा पाएपछि ती बालक ठुलो दुर्घटनाबाट जोगिएका छन् । नयाँ पत्रिकामा खबर छ ।

तीन महिनामा सशस्त्र प्रहरीका २१० अधिकृत कारबाहीमा

काठमाडौं, साउन १५। सशस्त्र प्रहरी बलले गएको पछिल्लो तीन महिनामा २१० जना अधिकृतलाई विभागीय कारबाही गरेको जनाएको छ । संगठनको मर्यादा विपरित कार्य गर्ने उच्चअधिकृतदेखि अधिकृतसम्मलाई कारबाही गरिएको बताइएको छ । सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी बाबुराम पाण्डेका अनुसार वैशाख, जेठ र असार महिनामा मात्रै २१० जना अधिकृतलाई कारबाही गरिएको छ । प्रवक्ता पाण्डेका अनुसार, ‘बैशाखमा ९०, जेठमा ८२ र असारमा ३८ जना अधिकृत कारबाहीमा परेका छन् । हामी अनुशासनहीन काम, कारबाही गरी जवाफदेही नहुने र आचरण विपरितका काम गर्ने कर्मचारीविरुद्ध कडा रुपमा प्रस्तुत भएका छौं ।’ पाण्डेका अनुसार यो अवधिमा कमाण्ड तथा जिम्मेवारी सन्तोषजनक नभएका ३ युनिटका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको छ । ‘सिनियर र जुरियर अधिकृततर्फ वैशाखमा १/१ र जेठमा २/२ जना गरी ६ जना बढुवा रोक्का गरिएको छ’, पाण्डेले भने, ‘३६ जना जुनियर अधिकृत अन्य विभिन्न कारबाहीमा परेका छन् ।’ त्यस्तै, २ जना बिल्लादार तथा जवानलाई नोकरीबाटै हटाइएको पाण्डेले जनाए । उनका अनुसार ५ जना जिल्लादार तथा जवानको घटुवा, ५३ जनाको बढुवा रोक्का र १ सय ५ जनालाई अन्य कारबाही गरिएको छ ।

सशस्त्रको नयाँ संरचना, सीमाका सुरक्षा कार्यालय गणमा रुपान्तरण

काठमाडौं, साउन १५ । सशस्त्र प्रहरी बलले संघीय संरचना अनुसार आफ्नो संगठनको नयाँ संरचना बनाएको छ । सशस्त्रले अब ७७ वटै जिल्लामा कार्यालय विस्तार गर्ने भएको छ । मुलुक संघीय संरचनामा गएपछि सशस्त्र प्रहरी बलले पनि आफ्नो क्षेत्र विस्तार गरेको हो । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकमा मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता डिआइजी बाबुराम पाण्डेले परिवर्तित व्यवस्थाअनुसार आफ्नो ढाँचा परिवर्तन गरिएको बताए । डिआइजी पाण्डेका अनुसार विद्यमान पाँचवटा बाहिनीहरुको संख्यालाई ७ प्रदेश र उपत्यकामा एक गरी ८ वटा बाहिनी राखिने छ । विद्यमान तालिम केन्द्रहरु यथावत् राखी सबै प्रदेशमा तालिम केन्द्र रहने गरी थप पाँचवटा तालिम केन्द्र स्थापना गर्दै २३७ सीमा सुरक्षा कार्यालयलाई नाम परिवर्तन गरी ६२१ नफ्रीको गणमा स्तर वृद्धि गरिएको पनि सशस्त्र प्रहरी बलले जनाएको छ । त्यसैगरी हालको ३८ वटा अनाश्रित गुल्महरुको संख्यामा वृद्धि गरी ५६ र १७ स्थानमा आश्रित गुल्महरु स्थापना भई सबै जिल्लाहरुमा सशस्त्र प्रहरी बल परिचालन हुने पाण्डे जानकारी दिए ।

राजनीतिक नेतृत्व पनि आर्थिक नियमभित्र बस्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, साउन १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन् । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो ?”, प्रधानमन्त्री ओलीले भने, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताउनुभयो । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगत्मा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाली भ्रष्टाचार गर्ने र ठगठाग गर्ने जाति होइन,” प्रधानमन्त्रीले भने, “तर हामीमा मौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अब यही विराम लगाउनुपर्छ ।” बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले आव २०७४/७५ मा रु ४८ अर्ब बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल र विभिन्न मन्त्रालयका सचिवको उपस्थिति थियो ।

चमेराका तीन नयाँ प्रजाति फेला !

काठमाडौं, साउन १५ । काठमाडौं उपत्यकामा पछिल्लो समयमा गरिएको अध्ययनले चमेराका तीन नयाँ प्रजातिको अभिलेखन भएको छ । यो सँगै नेपालमा पाइने चमेराका प्रजातिको संख्या ५५ पुगेको छ । साना स्तनधारी प्राणी संरक्षण अनुसन्धान फाउण्डेशनले सन् २०१६ अगष्टदेखि २०१८ को अप्रिलसम्म उपत्यकाका १९ स्थानमा चमेराको आधारभूत अध्ययन गरेको थियो । विश्वमा एक हजार २०० प्रजातिका चमेरा पाइन्छन् । अध्ययनबाट नेपालको लागि नयाँ तीनवटा प्रजातिहरु साइनोप्टेरस् ब्रेकायोटिस्, मायोटिस् फ्रेटर् र निक्टालस् एभिएटर् प्रजातिका चमेराको अभिलेखन गरिएको फाउण्डेशनका निर्देशक सञ्जन थापाले जानकारी दिनुभयो । उक्त अध्ययनअनुसार नेपालमा पाइने चमेराका प्रजातिमध्ये केही लोपोन्मुख अवस्थामा रहेका देखिन्छन् । पछिल्लो समयमा चमेराको वासस्थान नष्ट हुँदै जानु, शहरमा घर तथा पूर्वाधार निर्माणले जमीन ढाकिँदै जानु, खेती प्रणालीमा परिवर्तन, विषादीको बढ्दो प्रयोग, मानवबस्तीमा रुख मासिनु र शहरमा बढ्दो प्रदूषणलगायतका कारण चमेराको संख्यामा कमी आएको हुनसक्ने फाउण्डेशनका निर्देशक थापाले बताए । चमेराको महत्वबारेमा आवश्यक जानकारी नहुँदा यसको संरक्षणमा चासो बढ्न सकेको देखिदैन । नीतिगत तहमा चेतनाको कमीले चमेराको संरक्षणमा सरोकारवाला निकायले आवश्यक ध्यान दिन सकेको छैन् । चमेराले वनस्पतिमा परागशेचन तथा बीऊ ओसारपसार, हानिकारक तथा खेतबारी नष्ट गर्ने कीरा, लामखुट्टेलाई खाएर मानव जीवनलाई सहयोग गर्छ । फाउण्डेसनले अध्ययन र सम्बन्धित निकायसँगको अन्तक्र्रियापछि पञ्चवर्षीय ९सन् २०१८–२०२३० कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजना सरकारी निकायलाई बुझाउने तयारी गरेको निर्देशक थापाले बताए । चमेरा नेपालका स्तानधारी प्राणीमध्ये सबैभन्दा धेरै प्रजाति भएको प्राणी भएकाले पारिस्थितिकीय प्रणालीमा यसको ठूलो महत्व रहेको जूलोजिकल सोसाइटी अफ लण्डन नेपालका प्रतिनिधि तथा चराविद् डा हेमसागर बरालले बताए । चमेरा राति उड्ने प्राणी भएकाले यसको अध्ययनमा चुनौती रहेको चराविद् डा बरालको भनाइ छ । चमेरा मुलुकका हिमाल, पहाड र तराई सबै क्षेत्रका जंगल, घर, रुख र गुफालगायतमा पाइन्छ । चमेरा संरक्षणलाई नै केन्द्रित गरेर सरकारीस्तरबाट अध्ययन तथा अन्य कार्यक्रम भएको देखिदैन् । यद्यपि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सन् २०११ मा प्रकाशन गरेको रेड डाटा बुकमा भने चमेराका बारेमा केही विषय उल्लेख गरिएको जनाएको छ ।

वाइड बडी ‘अन्नपूर्ण’ विमानले भोलिदेखि व्यवसायिक उडान शुरु गर्ने

काठमाडौं, साउन १छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले भोलिदेखि (साउन १६ गतेदेखि) व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ । “दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भने । “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उनले भने । वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाजले गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाए । ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन ९आइकाआ०ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताए । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । रासस

कक्षा १२ काे नतिजा प्रकाशनको अन्तिम तयारी

काठमाडौं, साउन १५ । राष्ट्रिय परीक्षा नियन्त्रण बोर्डले गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । बोर्डका अनुसार परीक्षाफल प्रकाशनको सबै काम सकिएको र केही प्राविधिक काम मात्रै बाँकी रहेको जनाएको छ । नतिजा प्रकाशनको तयारी अन्तगर्त परीक्षाफलमा कुनै कमीकमजोरी भए नभएको सम्बन्धमा अहिले अन्तिम परिक्षण कार्य जारी रहेको नियन्त्रण कार्यालय स्रोतको भनाइ छ । कार्यालयका अनुसार आजै परीक्षाफल प्रकाशन गर्ने तयारी छ तर कुनै कारण बश आज नभए भोलि दिउँसो प्रकाशन गर्ने गरी तयारी भइरहेको छ ।

एप्पलका नयाँ आइफोन कस्ता हुने छन् ? हेर्नुस्

काठमाडौं, साउन १५ । एप्पलको नयाँ मोडल कस्तो आउँछ भन्ने धेरैलाई चाँसो हुन सक्छ । तपाइमा त्यो चाँसो छ भने करीब पूरा भएको छ । फोनको जानकारी चुहावट गर्दै आएका बेन गेस्किनले नयाँ आइफोनको डमी मोडल पनि सार्वजनिक गरेका छन् । उनका अनुसार एप्पलको नयाँ आइफोन ६.१ वा ६.५ इन्चको स्क्रिन भएको हुनेछ । एप्पलले यो वर्ष दुई मोडलका आइफोन सार्वजनिक गर्ने र उसले कम मूल्य तिर्ने र बढी मूल्य तिर्न सक्ने प्रयोगकर्तालाई समेट्ने तयारी गरेको खबर आउने गरेका छन् । गेस्किनले सार्वजनिक गरेको मोडलमा केही पनि त्यस्तो छैन, जो अचम्मित पार्ने होस् । ६.१ को फोन (जुन एप्पलको सन् २०१८ को बजेट फोन हुने चर्चा छ) को रंग कालो छ । यसको स्क्रिन नोट्चड् छ र एउटा मात्रै रेअर क्यामरा छ । तर सेतो रंगको ६.५ इन्च फोनमा दुईवटा रेअर क्यामरा छ । गेस्किनले दुई फोन साथमा राखेर देखाएका छन् । एप्पलले यो वर्ष अर्को फोन पनि ल्याउने तयारी गरेको बताइएको छ । त्यो फोन ५.८ इन्चको हुनेछ । तर त्यसको डमी मोडल भने गेस्किनले देखाएका छैनन् । आइफोन एक्सको स्क्रिन पनि ५.८ इन्चकै छ । यो डमी मोडलमा खासमा केही हुँदैन, यो मात्रै प्लाष्टिकको फोन हो । तर यसले एप्पलको आउँदो आइफोनका बारेमा केही कौतुहलता भने पक्कै कम गरेको छ । गेस्किले सन् २०१७ को मे मा ‘आइफोन एट’ भन्दै डमी मोडल सार्वजनिक गरेका थिए । त्यसको नाम भने फरक भयो, एप्पलले आइफोन एक्स नाममा नयाँ फोन ल्यायो । तर मोडल भने गेस्किनले महिना दिनअघि सार्वजनिक गरेको डमी मोडलसँग धेरैहदसम्म मिलेको थियो । -एजेन्सी

बस दुर्घटना हुँदा २० जना घाइते

हेटौँडा । नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ख ३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन्। घाइतेमध्ये ११को चुरेहिल अस्पताल र पाँचजनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चार घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी त्रिभुवन राजपथको हेटौँडा–भैँसे सडक खण्डको बागझोरामा सुक्खा पहिरो हटाई सोमबार बिहान १० बजेदेखि हेटौँडा–काठमाडौँको यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बागझोरा सडकमा सोमबार बिहान २ बजे सुक्खा पहिरो गई सडक अवरुद्ध भएको प्रजिअ चक्रबहादुर बुढाले बताए । रासस

२० प्रतिशत बाल श्रमिकप्रति नगरपालिकाको ध्यान गएन

बर्दिया । बार बर्दिया नगरपालिकाले नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरेपनि २० प्रतिशत वालश्रमीक अझै विद्यालय बाहिर छन् । ‘एक बच्चा भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने मूल नाराका साथ गत असार २८ गते चालू शैक्षिकशत्रमा नगरपालिकाभरिका सबै बालबालिका विद्यालयमा भर्ना गराएर उक्त नगरपालिकालाई नेपालकै पहिलो विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको घोषणा गरे पनि २० प्रतिशत बालबालिका अझै स्कूल बाहिर रहेर बालश्रम गर्दैछन् । भारतका ठूला शहरमा समेत पुगेर श्रम गर्ने बालबालिकाको तथ्याङ्क संकलन र तिनले निःशुल्क रुपमा पढ्न पाउनुपर्ने नीति बनाउनुपर्ने हो तर त्यसतर्फ राज्यको ध्यान नगएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए । रासस

‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजना लोकप्रिय हुँदै

वीरेन्द्र कर्ण, विरगञ्ज । प्रदेश नं २ को सरकारले बालिका तथा किशोरीलाई शिक्षामा पहुच बढाउन ल्याएको बेटी पढाऔँ, बेटी बचाऔँ योजना पर्सा तथा बारा जिल्लामा लोकप्रिय हुदै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ कार्यक्रमअन्तर्गत पर्सा जिल्लाको पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’ प्रभावकारीरुपमा अगाडि बढ्दै लोकप्रिय हुन थालेको जनप्रतिनिधिको भनाइ छ । पर्साले जिल्लामा विभिन्न स्थानीय तहमा यो योजना लागू भएपछि बालिका तथा किशोरीका अभिभावकले उत्साहपूर्वक सो योजनाअन्तर्गत छोरी जन्मिएपछि जन्म दर्ता गर्ने, विद्यालय पठाउनुको साथै दाइजो प्रथाजस्ता विकृति अन्त्य हुनमा बल पुग्ने र सो कार्यक्रम कोशेढुंगा सावित हुने जनप्रतिनिधिको भनाइ रहेको छ । गर्भमै छोरीलाई मार्ने सामाजिक विकृति अन्त्य हुने, सानैमा विवाह हुने, दाइजो प्रथाजस्ता कुरीतिलाई अन्त्य गर्नमा यो कार्यक्रमले सहयोग गर्ने भएकाले अन्य स्थानीय निकायले पनि यो कार्यक्रम लागू गर्दै गइरहेका छन् । पोखरीया नगरपालिकाले ल्याएको ‘बालिका स्वर्णिम योजना’अन्तर्गत नगरपालिका क्षेत्रभित्र छोरी जन्मिएमा ३५ दिनभित्र जन्मदर्ता गराएमा बालिकाका लागि २० वर्ष उमेरसम्ममा रु १० हजारको एकमुष्ठ बीमाको व्यवस्था गरेको छ भने २० वर्षपछि मात्र छोरीको विवाह गरेमात्र सो जम्मा भएको बीमा रकम दिने बाध्यात्मक व्यवस्था गरेपछि जन्मदर्ता गराउनेको संख्या बढ्दै गएको छ । हामीले यो योजना लागू गरेपछि जन्मदर्ता गराउनेको संख्या बढ्नुको साथै छोरीलाई पनि शिक्षा दिनुपर्छ भन्ने चेतनाको विकास हुनुको साथै दाइजो प्रथा उन्मूलन हुने विश्वास पोखरीया नगरपालिकाका उपप्रमुख सलमा खातुनले लिनुभएको छ । उहाँले यो योजना जिल्लाका अन्य स्थानीय निकायले पनि लागू गर्नुपर्नेमा जोड दिँदै राससलाई भन्नुभयो– यो योजनाका कारण बालिका, किशोरी र महिलामाथि हुने सबै खाले हिंसाको अन्त्य हुने विश्वास छ । यसैगरी, ‘बेटी पढाऔँ बेटी बचाऔँ’ योजनाअन्तर्गत बारा जिल्लाको प्रसौनी गाँउपालिकाले पनि छोरी जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरी प्रमाणपत्र लिने अभिभावकलाई रु १० हजारको दरले २० वर्षसम्म जन्मेको छोरीको नाममा बैंकमा रकम जम्मा गर्ने निर्णय गरेको अधिकारकर्मी श्यामबाबु यादवले बताउनुभयो । बालविकासको न्यूनीकरण, छोरीलाई उचित शिक्षा दिनमा यो कार्यक्रम प्रभावकारी हुने विश्वास जनप्रतिनिधिले लिएका छन् । नेपाल अधिराज्यको सविधानले पनि बालिका, किशोरी तथा महिला माथि हुने सबै थाले विभेदको अन्त्य गरी उनले पढ्न र बाँच्न पाउने अधिकारलाई सुरक्षित गरेकाले यो योजनाप्रति आकर्षण बढ्दै गएको छ । ‘बेटी पढाऔँ बेटी बचाऔँ’ भन्ने योजना व्यवहारमा नदेखिने र बजेट सिध्याउने प्रदेश सरकारको योजना हो भन्ने टिप्पणी गर्दै नेपाल पत्रकार महासंघ, प्रदेश नं २ का सभापति दीपेन्द्र चौहानले भने यो नाराले तराईमा छोरीप्रति देखिने दृष्टिकोणमा भने परिवर्तन हुन नसक्ने देखिन्छ भन्नुभयो । प्रदेश नं २ मा जरा गाडेर बसेको दाइजो प्रथा, बालविवाह तथा छोरीप्रतिको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनेमा विश्वस्त भएपछि पर्सा र बाराका अन्य स्थानीय निकायले पनि आउँदा दिनमा यस्ता कार्यक्रम लागू गर्दै जाने बताइएको छ । -रासस

महाकालीमा घाट बनाउन साढे ४ करोडको ठेक्का !

कञ्चनपुर, साउन १ । भीमदत्त नगरपालिका-१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । अन्त्येष्टि घाट बनाउनका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताउनुभयो । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै पटक छवटासम्म शव जलाउन सकिने गरी डिजाइन तयार गरिएको छ । घाट महाकाली नदीमा बन्न लागेको छलेनको पुलको पूर्व भागसँग जोडिएको क्षेत्र भुजेलामा नदी र छलेनको बाटोको बिचमा निर्माण हुने बोहराले बताउनुभयो । उहाँका अनुसार घाटमा वर्षायाममा पानी धेरै आउने भएकाले उक्त समयका लागि अग्लो स्थानमा जलाउने र हिउँदमा पानी कम हुने भएकाले सिँढीमार्फत तल गएर अलि गहिरो पानी भएको ठाउँमा जलाउन सकिने गरेर डिजाइन तयार पारिएकोले अब शव जलाउन तथा घाटको समस्या नहुने भएको छ । घाटको संरचना ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा रहने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि रु चार करोड ५० लाखको ठेक्का आह्वान गरेको थियो । तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । शाखाका इञ्जिनियर गोरखबहादुर सिंहले गुरुयोजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताउनुभयो । चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चारचार घर हुने गुरुयोजनामा उल्लेख गरिएको छ । यसैगरी, हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाललगायतका संरचना निर्माण गर्ने योजना छ । महाकाली परमधाम शान्तिघाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणका लागि ठेक्का सम्झौता गरिएपछि वर्षौंदेखिको सपना पूरा हुन लागेको बताउनुभयो । भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाउनुभएको थियो । घाट निर्माणका लागि ब्रह्मदेव, झोलुंगे पुल, ओदालीलगायतका अन्य स्थानलाई सम्भाव्य क्षेत्रका रुपमा हेरिएको थियो । घाट निर्माणको कार्यलाई नगरको गौरवको योजनाअन्तर्गत समेत राखिएको छ । -रासस

किसानलाई दिइने अनुदानमा त्रुटि भेटिए कारबाही : राज्यमन्त्री चौधरी

विराटनगर, असार ३२ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले किसानहरुलाइ दिइने अनुदान रकम वास्तविक किसानले नपाएको गुनासो आएको बताइन । सोमबार विराटनगर विमानस्थलमा कर्मचारीसँगको भेटमा मन्त्री चौधरीले भनिन्, ‘धेरै ठाउँबाट किसानहरुले गुनासो गरे पछि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति बनाई एक महिना भित्र प्रतिबेदन बुझाउन म्याद दिएको छ । छानबिनको क्रममा गल्ती भेटिए नछाड्ने कारबाही हुन्छ ।’ राम्रो काम गर्ने लाई पुरस्कार र नराम्रो गर्नेलाई दण्डित गर्ने उनको भनाइ छ । ‘म फेरि भन्छु जनतालाई छिटो शुलभ तरिकाले कसरी सेवा पाउँछन् त्यो गर्नुस,’ राज्यमन्त्री चौधरीले भनिन । कृषि, भूमि ,पशुपन्छी, सहकारी, खाद्य सुरक्षा, सम्बन्धी काम मन्त्रालयले छिटो र द्रुत गतिमा अगाडि बढाएको र यसलाई पछ्याउन कर्मचारीलाई निर्देशन दिइन ।