खोप लगाउने बालबालिकाको संख्या बढ्दै

ललितपुर, जेठ २२ । गोदावरी–११ स्थित बज्रबाराही सामुदायिक अस्पतालमा खोप लगाउन आउने बालबालिकाको संख्या बढ्दै गएको छ ।

अस्पतालले दिने सेवामध्ये खोपमा बालबालिकाको चाप राम्रो रहेको अस्पतालका कार्यकारी कार्यक्रम निर्देशक गोशराज श्रेष्ठले बताउनुभयो ।

चापागाउँ र त्यस आसपासका ठाउँमा बस्ती बढ्दै जाँदा र अस्पतालले गुणस्तर कायम गर्दा खोप लगाउने बालबालिकाको संख्या बढिरहेको हो ।

अहिले वार्षिक झण्डै रु एक ८०० जना बालबालिका अस्पतालमा खोप लगाउन आएका छन् ।

अस्पतालमा आउने अरु रोगका बिरामीको संख्या घटिरहँदा खोप लगाउन आउने केही बढिरहेका छन् । उहाँ भन्नुहुन्छ, “अस्पताल नजिकका मात्रै होइन टाढाबाट धाएरै आउने पनि धेरै छन् ।”

अस्पतालले प्रत्येक सोमबार खोप कार्यक्रम सञ्चालन गर्दै आएको श्रेष्ठ बताउनुहुन्छ । अरु कतिपय स्वास्थ्य केन्द्रले महिनामा एक पटक मात्रै खोप कार्यक्रम सञ्चालन गर्छन् ।

उहाँ भन्नुहुन्छ, “साता नै पिच्छे हुँदा पनि सेवाग्राही सेवा लिन आउने गरेका हुन् ।” विगतमा खोपसम्बन्धी उजुरी नभएकाले पनि यहाँ आउने बढिरहेको उहाँ बताउनुहुन्छ ।

अस्पतालले सन्तानलाई खोप लगाउन आउने अभिभावकलाई सन्तानको हेरचाह, जन्मान्तरलगायतका विषयमा समेत नियमित परामर्श दिँदै आएको छ । रासस

चार बालकको उद्धार गरी परिवारको जिम्मा

जाजरकोट, जेठ २२ । जिल्लाको नलगाड नगरपालिका– १ का चार बालबालिकालाई जाजरकोट सदरमुकामबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । भेरी नगरपालिका–४ मा प्रहरी देख्नासाथ लुक्न खोज्ने नलगाड–१ का कालीबहादुर विक, रामबहादुर विक, श्याम विक र ललित विकलाई नलगाड–१ मै लगेर परिवारको जिम्मा लगाइएको जाजरकोट प्रहरी प्रमुख रवीन्द्रकुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई भारत लैजानका लागि ल्याइएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट रु १५ हजार ८४० र तीन थान मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । सो सबै सामग्री अभिभावकको जिम्मा लगाइएको छ । चारै जना आफन्तसँग खबरै नगरी घरबाट भागेका थिए । यहाँका अधिकांश बालबालिकालाई यसरी नै फकाएर भारत लगी श्रमशोषण गर्ने कार्य बढेपछि प्रहरीले कडाइ गरेको छ । रासस

पहिरो जादा नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन, जेठ २२ । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चारकिलो भन्ने स्थानमा आज बिहान ४ः५५ बजे पहिरो खस्दा सडक एकतर्फ मात्र सञ्चालन भएको छ । राति परेको पानीका कारण यहाँ पहिरो खसेको हो । अहिले पनि पानी पर्ने क्रम चितवनमा रोकिएको छैन । चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अहिले पहिरो पन्छाउनका लागि स्काभेटर पठाइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा दुई दिन अघि मात्रै पहिरो खस्दा तीनघण्टा यातायात अवरुद्ध हुन पुगेको थियो । यहाँ पटकपटक पहिरो खस्ने गर्छ । अहिले रात्रि गाडीको चाप रहेकाले सो गाडी कटाएर पहिरो पन्छाइने पन्तले बताउनुभयो । नरायणगढ-मुग्लिन सडकखण्ड चौडा पार्ने काम अहिले अन्तिमतिर पुगे पनि भित्तो काटिएको क्षेत्रमा बेलाबेलामा पहिरो खस्ने गर्छ । रासस

वातावरण पत्रकारिता पुरस्कार शेर्पा र मण्डललाई

काठमाडौँ । यो वर्षको वातावरण पत्रकारिता पुरस्कार  ‘अन्नपूर्ण पोष्ट’ दैनिकका काठमाडौं संवादाता छेटु शेर्पा र ‘दि काठमाडौँ पोष्ट’ दैनिकका काठमाडौं संवाददाता चन्दनकुमार मण्डल लाई प्रदान गरिने भएको छ । विश्व वातावरण दिवसका अवसरमा नेपाल वातावरण पत्रकार समूहले यो पुरस्कार प्रदान गर्ने गरेको छ । समूहले सो पुरस्कार हरेक वर्ष प्रदान गर्दै आएको छ ।

कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट

कैलाली, जेठ २२ । कैलालीमा विद्युत् भुक्तानी ई–सेवाबाट गर्न सकिने व्यवस्था शुरु गरिएको छ । ई–सेवा धनगढीले सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाको धनगढी, टीकापुर, अत्तरिया, सुख्खडलगायत क्षेत्रका विद्युत् उपभोक्ताले विद्युत् महसुल ई–सेवाबाट बुझाउन सक्ने व्यवस्था गरेको धनगढी ई–सेवाका सञ्चालक कलम बमले जानकारी दिनुभयो । सम्मेलनमा नेपाल विद्युत् प्राधिकरण, धनगढी वितरण केन्द्रका प्रमुख धीरेन्द्रकुमार यादवले ई–सेवाबाट विद्युत् महशुल बुझाउँदा समयको बचत, अनावश्यक झण्झटलगायतबाट ग्राहकले छुटकारा पाउने विश्वास आफूले लिएको बताउनुभयो । उक्त सेवाबाट सहजैरुपमा विद्युत्को महशुल तिर्न सकिने भएकाले सेवाग्राहीले विद्युत् केन्द्रसम्म धाउनु नपर्ने प्राधिकरणले जनाएको छ । धनगढी वितरण केन्द्रअन्तर्गत ४३ हजार तथा अत्तरिया विद्युत् वितरण केन्द्रअन्तर्गत १० हजार गरी कूल ५३ हजार विद्युत् उपभोक्ताले उक्त सेवाबाट आफू अनुकूल जहाँसुकैबाट पनि विद्युत् महशुल तिर्न सक्ने व्यवस्था प्राधिकरणले गरेको छ । यसअघि प्रभु बैंक, एसबीआई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, महालक्ष्मी बैंकसहित आठवटा वित्तिय संघसंस्थाबाट विद्युत् महशुल तिर्न सकिने व्यवस्था रहेको प्रमुख यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । रासस

प्रदेश चारको नाम ‘गण्डकी’ राजधानी ‘पोखरा’

कास्की, जेठ २२ । अन्ततः प्रदेश नम्बर ४ को नाम के राख्ने भन्ने बहस सकिएको छ। लामो समयसम्म नाम के राख्ने भन्ने विषयमा अन्योलमा रहेको प्रदेश ४ लाई ‘गण्डकी प्रदेश’ कायम गर्न ४५ जना प्रदेशसभा सदस्यले सहमति जनाएका छन्। यो संख्या प्रदेशको नामांकनको लागि आवश्यक दुई तिहाई बहुमत भन्दा बढी हो। प्रदेश नम्बर ४ का कुल ६० (निर्वाचनको बेला) जना प्रदेशसभा सदस्य मध्ये ७५ प्रतिशत सदस्यहरुले गण्डकी प्रदेश नाम राख्नुपर्ने सुझाव दिएका हुन्। एकीकरण अघिको एमाले र दुईवटा प्रतिपक्षी दल नेपाली कांग्रेस तथा राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्यहरुले ‘गण्डकी प्रदेश’ नाम राख्न सहमति जनाएका हुन। सत्ताघटक अर्को दल साविकको माओवादी केन्द्रले भने लिखित सुझाव बुझाएन। नयाँ शक्ति पार्टी नेपालले भने ‘गण्डकी तमुवान’ ‘गण्डकी’ र ‘अन्नपूर्ण’ मध्ये कुनै नाम राख्नुपर्ने सुझाव दिएको थियो। यस्तै, प्रदेशको राजधानी पोखरा राख्न माओवादी केन्द्रबाहेकका सबै दलले सहमति सहितको सुझाव दिएका छन्। सोमबारको प्रदेशसभा बैठकमा समितिका ज्येष्ठ सभापति विन्दु कुमार थापाले संख्यात्मक प्राथमिकताको आधारमा क्रमशः गण्डकी, तमुवान मगरात, गोरखा र धौलागिरीलाई प्रदेश नाम राख्न सकिने सुझाव सहितको प्रतिवेदन प्रदेशसभा बैठकमा पेश गरे। आजको नागरिक दैनिकमा समाचार छ ।

भूकम्प प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट

काठमाडौं, जेठ २२ । भूकम्पबाट अति प्रभावित ४ जिल्लामा नेपाल टेलिकमले निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको छ । टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणसँग भएको समझौताअनुसार चार जिल्लाको ६ सय ७५ स्थानमा निःशुल्क ईन्टरनेट सेवा सुरु गरेको हो । सिन्धुलीपाल्चोक, काभ्रे, नुवाकोट र रसुवाका सार्वजनिक संस्था तथा महत्वपुर्ण स्थानमा यस्तो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ । कान्तिपुरमा समाचार छ ।

कञ्चनपुरमा काम नगर्नेलाई नै बढि ठेक्का !

कञ्चनपुर, जेठ २२ । गत वैशाखमै सक्नुपर्ने ९ वटा योजनाको निर्माण कार्य अझैसम्म सम्पन्न भएको छैन । जिल्लामा सञ्चालित सामुदायिक सिँचाइ आयोजनाअन्तर्गतका योजनाको निर्माण सम्पन्न नभएको हो । अझ रोचक त के छ भने ९ मध्ये ५ वटाको ठेक्का एउटै निर्माण कम्पनी बन्दन भगवती–महरा जेभी कञ्चनपुरले पाएको छ। जिल्ला प्रशासन कार्यालयले संकलन गरेको विवरणअनुसार सामुदायिक सिँचाइसँगै सडक र पुल निर्माण योजना पनि काम नगर्ने ठेकेदारले नै पाएको हो। एसएनआरडीपीअन्तर्गतको पुनर्वास नगरपालिकाको परासन–त्रिभुवनबस्ती र महाकाली नगरपालिकाको झोलुंगे–कुतियाकभर सडकखण्ड निर्माणको ठेक्का धनगढीको महालक्ष्मी एमके जेभी निर्माण कम्पनीले पाएको छ। पुनर्वासको सडक योजनाको समायवधि जेठ १७ मा सकिँदा पनि निर्माण प्रगति ८५ प्रतिशत मात्रै छ। झोलुंगे–कुतियाकभरको निर्माण प्रगति पनि १७ प्रतिशत मात्रै छ। ‘सबैभन्दा बढी लापरबाही यही योजनामा देखियो,’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले भने। खबर आजको कान्तिपुरमा छ ।

पाँच किलो अफिमसहित तीनजना पक्राउ

दाङ, जेठ २२ । अवैध लागूऔषध अफिमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रोल्पा पाछावाङ–७ घर भई हाल घोराही उपमहानगरपालिका–१२ बस्ने ३१ वर्षीय शक्तिराम वली, रुकुम भुमे गाउँपालिका–८ बस्ने २७ वर्षीय एलनकुमार रोकामगर र भुमे गाउँपालिका–६ बस्ने २८ वर्षीय देवबहादुर ओली रहेका छन् । उनीहरुको साथबाट पाँच केजी २०० ग्राम अफिम बरामद गरिएको पनि प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । उनीहरुलाई घोराही उपमहानगरपालिका–१५ मा अफिमको कारोबार भइरहेको भन्ने गोप्य सूचना पाएपछि प्रदेश नं ५ को प्रहरी कार्यालय, तुलसीपुर र जिल्ला प्रहरी कार्यालय, दाङबाट गएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाका बारेमा थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । रासस

सरकारी कर्मचारीलाई ईमेल अनिवार्य

काठमाडौं, जेठ २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीलाई सरकारी ईमेल अनिवार्य गर्ने उद्देश्यसहित निर्देशकको मस्यौदा तयार पारेको छ । निर्देशिकाको मस्यौदामा सबै सरकारी कर्मचारीलाई नियुक्ति दिँदा नै ईमेल ठेगाना दिने र अवकाश भएपछि ईमेललाई पनि अवकाशको सूचीमा राखिने उल्लेख छ । मस्यौदामाथि छलफल जारी रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए । विभिन्न मन्त्रालय र सरकारी कार्यालयसँग राय मागेका छौँ ढकालले भने, सबैको राय आएपछि मन्त्रिपरिषदमा लैजान्छौँ । कान्तिपुरमा खबर छ ।

अनुदानको चामलमा चरम अनियमितता, ३७ सय पर्नेलाई १५ हजार !

बझाङ, जेठ २२ । जिल्लाको दुर्गम साईपाल गाउँपालिकामा खाद्य संस्थाले चामललगायत खाद्यन्न विक्री वितरणमा अनियमितता गरेको स्थानीयले गुनासो गरेका छन् । सरकारबाट ढुवानी अनुदान लिएर भित्र्याईएको खाद्यान्न संस्थाले काँडा वितरण केन्द्रले स्थानीय व्यापारीलाई बेचेको उनीहरुको आरोप छ । हाम्रो लागि भनेर ल्याएको सबै चामल चैनपुरमै व्यापारीलाई बेच्ने गरेका छन् । चामल लिन धुलीबाट एक दिन हिँडेर काँडा वितरण केन्द्र पुगेकी केउडी बोहराले भनिन् चामलका लागि तीन दिनसम्म काँडामै बस्नुपर्यो । त्यस्तै, खाद्य संस्थानले वितरण गरेको चामल तथा पिठो मुल्य पनि तोकेभन्दा बढी असुल गरिएको स्थानीयले आरोप लगाएका छन् । संस्थानले पिठोमा ५ केजी २१०, अरुवा मसिनो चामल २५ केजीको प्रतिबोरा १ हजार ६ सय, बंगलादेशी उसिना चामल ४० केजीको प्रतिवोरा १ हजार ५१० मुल्य तोकेको थियो । आजको कान्तिपुरमा समाचार छ ।

५१ लाख नगद, तीन करोडको चेकसहित ‘हुन्डी कारोबारी’ पक्राउ

काठमाडौं, जेठ २२ । प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ । महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोवार गर्न सातजनालई पक्राउ गरी उनीहरुबाट सो रकम चेक बरामद गरेको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

२० लाख विद्यार्थीको पढाई विग्रियो

काठमाडौं, जेठ २२ । विद्यालय हिँडेका बालबालिका सोमबार अचानक फर्काईए । कोही बाटैबाट, कोहि स्कुल पुगेर । बेला बेला दुःख दिने शैक्षिक हडताल अचानक थाहा दिईयो, जसले लाखौँ बालबालिका प्रभावित बने । निजी विद्यालयले गरेको शुल्क बृद्धिलगायत मुद्धालाई लिएर साना आठ विद्यार्थी संगठनले निजीमा पठनपाठन रोकेका हुन् । यसले देशभरका ६ हजार विद्यालयका करिव २० लाख बालबालिकाको पढाई विग्रियो । धेरैजसोले अनावश्यक दुःख पाए । विद्यार्थी ओसार्ने गाडी चलेन, पुर्वसूचना नहुँदा पैदलै गएका विद्यार्थी पढ्न पाएनन्, घर फर्कन बाध्य भए । कान्तिपुरमा खबर छ ।

कहाँ पुग्यो कर्मचारी समायोजन पक्रिया ?

काठमाडौं, जेठ २२ । केन्द्रमा रहेका कर्मचारीलाई स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया कछुवाको गतिमा अगाडि बढेको छ। केन्द्रमा रहेका कर्मचारी अनेकन बहाना बनाएर कार्यक्षेत्रमा जान नमानेका कारण समायोजन प्रक्रिया सुस्त गतिमा अगाडि बढेको छ। लामो समयदेखि केन्द्रमा हालिमुहाली गरिरहेका कर्मचारीहरूलाई स्थानीय तहमा खटाउन निकै कसरत गरे पनि त्यसमा परिणाममुखी बनाउन नसकेको हो। तीन महिनायता सरकारले निकै कसरत गरेपछि केन्द्रबाट ४ सय ६१ जना मात्रै कर्मचारी स्थानीय तहमा खटिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। लालबाबु पण्डितले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हाल्नुभएयता सो संख्याका कर्मचारी स्थानीय निकायमा खटिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार सहसचिव ११ जना, उपसचिव ५७ जना, शाखा अधिकृत २ सय १० जना, नासु र खरदार गरी १ सय ७२ जना खटाइएको हो। स्वास्थ्य सेवामा समेत गरेर केन्द्र सरकारमा करिब १ लाख १७ हजार कर्मचारी रहेका छन्। त्यसमध्ये निजामती कर्मचारीको दरबन्दी करिब ८६ हजार छ। कार्यबोझ तथा सांगठनिक तथा व्यवस्थापन सर्वेक्षणका आधारमा केन्द्रलाई ३० हजारको हाराहारीमा कर्मचारी आवश्यक रहने मन्त्रालयले जनाएको छ। नेपाल साचारपत्रमा खबर छ ।

युवतीलाई भारत लैजाने तीन जना पक्राउ

कञ्चनपुर, जेठ २१ । कञ्चनपुरको महाकाली नगरपालिकाकी एक जना युवतीलाई प्रलोभनमा पारी भारततर्फ लैजाने एक भारतीयसहित तीन जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । युवतीलाई विभिन्न लालच तथा प्रभोलनमा पारी भारतको खटिमातर्फ लैजाने क्रममा भारतको उधमसिंहनगर खटिमा–६ बस्ने ४७ वर्षीय महेन्द्र पाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताउनुभयो । “भारतीयलाई सघाउने महाकाली नगरपालिकाका दुई जनालाई समेत पक्राउ गरेका छौँ” उहाँले भन्नुभयो । पक्राउ परेकालाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको उहाँको भनाइ रहेको छ । रासस

शिक्षक नै विद्यालय बन्द गरि यार्चागुम्बा टिप्न

रुकुम पूर्व, जेठ २१ । शिक्षक र विद्यार्थी यार्चागुम्बा टिप्न गएपछि जिल्लाको लेकाली भेगका विद्यालय बन्द भएका छन् । बन्द हुनेमा यार्चा पाइने वन क्षेत्र नजिकका विद्यालय छन् । यार्चा सिजन लागेसँगै पुथाउत्तरगंगा गाउँपालिकाका एक मावि र ६ आधारभूत विद्यालय गतसाता नै बन्द भएका हुन् । यहाँ पुथा हिमालय माविका अतिरिक्त पुसर, पेल्मा, गुइवाङ, तिञ्ज्याङ, हर्दिवाङ र रन्मा आधारभूत विद्यालय छन् । अघिल्ला सिजनमा जस्तै यसपालि पनि बर्खे बिदा कटौती गर्ने गरी शिक्षक र विद्यार्थी बुकीतिर लागेका हुन् । ‘गाउँका र केही बाहिरका शिक्षक बुकी पुग्नुभएको छ, विद्यार्थी भने लगभग सबैजसो बुकीतिरै छन्,’ स्थानीय कर्म घर्तीले भने । पुथा हिमालय माविका प्रधानाध्यापक हस्तिमान पुन पनि बुकीमै छन् । उनले यार्चा टिप्न सबै विद्यार्थी जाने भएकाले विद्यालय बन्द गरिएको बताए । ‘अभिभावकसँगै सबै विद्यार्थी बुकी उक्लिन्छन्, हामी शिक्षक मात्रै गएर भएन, त्यसैले हरेक सिजनजस्तै यसपालि पनि विद्यालय बन्द गरेका हौं,’ पुनले भने । कान्तिपुरमा समाचार छ ।