लुकाइएको अवस्थामा १९ किलो गाँजा बरामद
चितवन । भरतपुर महानगरपालिका वडा नं १० मा एक भारतीय गाडीबाट १९ किलो गाँजा बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालयले आज जारी गरेको विज्ञप्तिमा बिआर ०६ पी ०७३२ नं को भारतीय टाटा सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।
वेवारिसे अवस्थामा फेला परेको सो गाडी जाँच गर्दा ढोकाहरुमा फल्स बटम बनाई त्यस भित्र पत्रिका र प्लाष्टिकले बेरेर लुकाइ राखेको अवस्थामा १२ बण्डलमा जम्मा १९ किलो २०० ग्राम गाँजा फेला परेको विज्ञप्तिमा जनाइएको छ ।
गाँजा र गाडी बरामद गरिएको र संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
अब नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआइजी
काठमाडौं, जेठ २८ । सरकारले नेपाल प्रहरीमा तीन र सशस्त्रमा दुई एआईजी रहने व्यवस्था गरेको छ । यसअघि नेपाल प्रहरीमा १६ र सशस्त्रमा ९ एआईजी थिए । बैठकले नेपाल प्रहरीमा ३ हजार सय १ नयाँ दरबन्दी सिर्जना गर्ने स्वीकृति पनि दिएको छ । अहिले प्रहरीमा ७२ हजार ७ सय ४४ दरबन्दी छन् । स्वीकृत दरबन्दी थपिँदा प्रहरी सख्या ७५ हजार ८ सय ४५ पुग्नेछ । मन्त्रिपरिषदको आईतबार बसेको बैठकले पहरीमा प्रादेशिक तहमा जाँदा सख्या अपुग हुने भएपछि नयाँ दरबन्दीका लागि स्वीकृति दिएको हो । कान्तिपुरमा खबर छ ।
के राजपा सरकारमा आउला ?
काठमाडौं, जेठ २८ । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संविधान संशोधनको प्रतिबद्धतासहित राष्ट्रिय जनता पार्टीलाईसमेत सरकारमा सहभागी गराउने पहल थालेको छ । त्यसका लागि दुवै दलका नेताबीच अनौपचारिक छलफल सूरु भएको छ । ससद्मदमा विश्वासको मत दिएलगत्तै सघीय समाजवादी फोरम र राजपालाई सरकारमा सहभागी गराउने प्रयास सूरु भएको थियो । तर संविधान सशोधनमा कुरा नमिल्दा फोरम र राजपा झन्डै तीन महिना सरकारमा सहभागी नभई बसेका थिए । कान्तिपुरमा खबर छ ।
लगानी बोर्डकाे उपाध्यक्षमा अर्थमन्त्री
काठमाडौं, जेठ २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका उपाध्यक्षमा अर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्नुभएको छ । बोर्डका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले लगानी बोर्ड ऐन, २०६८ को दफा ३ (ख) बमोजिम अर्थमन्त्रीलाई उक्त पदमा यही जेठ २५ गते नियुक्त गर्नुभएको लगानी बोर्डको कार्यालयले आज जनाएको छ ।
जथाभावी वन फँडानी गर्दा पहिरोको जोखिम बढ्दै
ललितपुर । जथाभावी रुख काट्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ । दुर्गम जिल्लाका धेरै ठाउँमा पहिरोको जोखिम रहेको विभागका उपमहानिर्देशक प्रदीप थापाले बताउनुभयो । खुकुलो माटो भएका ठाउँमा बाटो खन्दा वर्षामा आउने पहिरोले स्थानीयवासी हैरान छन् । उहाँले भन्नुभयो, “प्राविधिक अध्ययनका आधारमा चट्टान कडा भएका ठाउँमा मात्रै बाटो खन्नुपर्छ ।” गलत ठाउँमा बाटो खन्दा बाटोमात्रै होइन सिङ्गो बस्ती नै पहिरोको जोखिममा परिरहेको छ । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि अधिकांशले सडक विस्तारलाई प्राथमिकतामा राखेका छन् । नयाँ सडक बनाउँदा प्राकृतिक प्रकोपको जोखिम नहुने गरेर योजना बनाउनुपर्नेमा उपमहानिर्देशक थापाले जोड दिनुभयो । पहिरोका कारण वर्षाको समयमा सडक बन्द हुने हिउँदमा मात्रै चलिरहेका छन् । कतिपय स्थानमा खेतीयोग्य माटो बगाएर लैजाँदा उत्पादन कम भएको छ । कुलो सिँचाइलगायतका संरचना पनि पहिरोका कारण मासिएका छन् । उहाँले भन्नुभयो, “अरु क्षति त छँदैछ सिङ्गो मानवबस्ती नै बगाउने जोखिम हुन्छ ।” पहिरोको जोखिम भएको भिरालो जग्गामा रुख बिरुवा रोप्नुपर्ने भए पनि पहिरोको जोखिम भएका ठाउँमा रुख बिरुवाको कमी छ । रासस
बल्ल बसपार्कले जग्गा पाउने भयो
उदयपुर । उदयपुर जिल्लाको पूर्वी व्यापारिक केन्द्रका रुपमा रहँदै आएको चौदण्डी गढी नगरपालिकास्थित बेल्टार बजारमा बसपार्कको नाममा जग्गा नभएका कारण यहाँ सञ्चालन हुने सवारी साधन अस्तव्यस्त थियो । विसं २०५४ देखि बेल्टार बजार क्षेत्रबाट अन्यत्र क्षेत्रसम्म आवतजावत गर्न औपचारिकरुपमा यातायातका साधन सञ्चालन भए पनि स्थायी बसपार्क नहुँदा बजारको जग्गामा नै अस्थायी बसपार्क सञ्चालन गर्दै आउनु परेको थियो । अहिले केही स्थानीयवासीले बसपार्कको नाममा जग्गा प्रदान गर्ने र नामसारीसमेत गरिदिने भएपछि अब स्थायी बसपार्क बन्ने चौदण्डी नगरपालिकाका प्रमुख खगेन्द्रकुमार राईले बताउनुभयो । शहरी डिभिजन कार्यालयले गतवर्ष नै बेल्टार बजारमा बसपार्क निर्माणका लागि नगरपालिकासहित मिलेर रु ४० लाख विनियोजन गरेको र यस वर्ष पनि रु २० लाख विनियोजन गरेकामा जग्गा नभएका कारण बसपार्क निर्माण हुन नसकेको उक्त कार्यालय इन्जिनियर ब्रह्मादेव चौधरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “विगतदेखि नै बसपार्क निर्माण गर्ने लक्ष्य भए पनि स्थायी जग्गा नहुँदा योजना असफल भएको थियो तर यसपटक जग्गादाता भेटिएका कारण अब बसपार्क निर्माण हुन्छ ।” विसं २०५४ मा नै बसपार्कका लागि तत्कालीन बेल्टार गाउँपालिका–६ का काशीनाथ र जनकप्रसाद सेँढाईले सात कट्ठा जग्गा बसपार्कका लागि प्रदान गर्ने विषयमा सहमति भएपनि कार्यान्वयन भएको थिएन अहिले भने सहमति भएकाले र नगरपालिकाले उहाँहरुलाई सम्मान गर्ने र बसपार्कको नाममा आएको जग्गामा बसपार्क निर्माण गर्ने तयारी भइरहेको नगरपालिकाका पदाधिकारीले बताए । स्थायी बसपार्क निर्माण पछि यहाँबाट सुनसरी, चतरा, गाईघाट, सिन्धुली हुँदै हेटौँडा भएर राजधानी काठमाडौँ जोड्ने वैकल्पिक राजमार्गमा पूर्वी क्षेत्रबाट सञ्चालन हुने यातायातका साधनलाई समेत पार्किङ गर्न सहज हुने यातायात व्यवसायी केशव मगरले बताउनुभयो । रासस
दूध ट्याङ्कर त्रिशूलीमा खस्यो
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलामा आज बिहान दूध बोक्ने ट्याङ्कर सडकबाट त्रिशूलीमा खस्दा एकजना घाइते भएका छन् । इच्छाकामना गाउँपालिका वडा नं ६, कालीखोलामा बिहान ६ बजे मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना ७ ख ४१५५ नंको दूध बोक्ने ट्याङ्कर त्रिशूलीमा खसेको हो । घाइते हुनेमा पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ बस्ने ३४ वर्षीय हरि सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइते सिलवालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने ट्याङ्कर निकाल्ने कार्य जारी रहेको छ । खसेको ट्याङ्कर खाली रहेको प्रहरीले जनाएको छ । रासस
ठेकेदारको चरम लापरबाही, करेन्ट लागेर दुई बिद्यार्थी गम्भीर घाइते
दोलखा, जेष्ठ २७ । दोलखाको जिरी नगरपालिका वडा नम्वर १ श्यामामा जलविद्युत आयोजनको प्रसारण लाइनबाट करेन्ट लागेर दुई विद्यार्थी गम्भीर घाइते भएका छन्। स्थानीय गर्जाङढुंगा माविमा अध्ययन गरि घर फर्किने क्रममा शुक्रबार जिरी नगरपालिका २ भष्मे निवासी निमावाङछु शेर्पाकी १६ वर्षीया छोरी दालमु शेर्पा र सोही स्थानका मंगले शर्पाका १३ वर्षीय छोरी विकु शेर्पा करेन्ट लागेर गम्भिर घाईते भएका हुन्। विद्यालय गएर घर फर्किदै गर्दा जिरी नगरपालिका वडा नम्वर १ र २ को सिमानामा पर्ने रावुटार सामुदायिक वन क्षेत्र नजिकै उनीहरुलाई करेन्ट लागेको स्थानीय बिशाल खड्काले जानकारी दिए । श्यामामा केही महिना अघि मात्रै निर्माण सम्पन्न भएको गर्जाङ भ्याली हाईड्रोपावरबाट उत्पादित विजुलीको प्रसारण लाईन बिच्छ्याउदा चरम लापरवाही भएकै कारण सो दुर्घटना भएको स्थानीयको भनाइ छ। घाइते विद्यार्थी दुबैको जिरी अस्पतालमा उपचार भैरहेको छ।
पत्रकार तथा लेखक मैनालीको ‘देखेको देश’ विमोचन
काठमाडौं, जेठ २७ । पत्रकार तथा लेखक मोहन मैनालीको ‘देखेको देश’ पुस्तकको विमोचन भएको छ । बिभिन्न ३६ वटा निबन्ध समेटिएको पुस्तकको शनिबार विमोचन गरिएको हो । पुस्तक विमोचन गर्दै लेखक तथा वनस्पति विज्ञ डा. तिर्थ बहादुर श्रेष्ठले देशका बारेमा थाहा नभएका कुराहरु जान्नका लागि पुस्तक उपयोगी रहने बताउनुभयो । विभिन्न ठूला विकासका आयोजना तथा निकुञ्ज विस्तारका क्रममा विस्थापनमा परेका परिवारका भोगाईलाई पुस्तकमा मर्मस्पर्सी रुपमा प्रस्तुत गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा पुरानो पदमपुरबाट विस्थापित भएर नयाँ पदमपुरमा राखिएका परिवारले पहिलेको ठाउँका नातेदार, आफन्तबाट टाढा हुँदा चन्द्र सूर्यको प्रकाश नफेरिए पनि बाँकी सबै फेरिएको कुरालाई भावनात्मक रुपमा उठान गर्दै सामाजिक परिवेश दर्शाएको छ । पुस्तकले समग्र सामाजिक परिवेश, शैक्षिक अवस्था, विदेशमा भासिएकाको कथाहरु पनि उठान गरेको छ । सपनामाा देखेको रेल्वे र विपनामा हराएको सडक शीर्षकमा नेपाललाई छिमेकी देशले सपना देखाएर कसरी नचाइरहेको छ भन्ने कुरा घतलाग्दो यथार्थको रुपमा छर्लङ्ग देखाइएको छ । तेह्रथुममा जन्मिएका मैनालीले पत्रकारीता गर्दा घुम्ने क्रममा देखेका र भोगेका कुरालाई लिपीबद्ध रुपमा पुस्तकमा प्रस्तुत गर्नुभएको छ । पहाड चिरेर बनाइएका बाटोले पारेको वातावरणीय प्रभाव तथा समसामयिक विषयवस्तुलाई पुस्तकमा रोचक रुपमा उठान गरिएको छ ।
बिप्लवका कार्यक्रता र प्रहरीविच झडप, प्रहरी जवान घाइते
चितवन, जेठ २७ । बिप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पक्राउ गर्ने क्रममा प्रतिरोध हुँदा एक प्रहरी जवान घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले शनिबार राति भरतपुर महानगरपालिका–९ मा बिसीलाई पक्राउ गर्न खोज्दा बिसी र उनका अंगरक्षकले इँट्टा र ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यका अनुसार प्रतिरोधका क्रममा ढुङ्गा लागेर प्रहरी जवान इसु मियाँ धोबी घाइते हुनुभएको हो । उहाँको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । धोबीको टाउकामा चोट लागेको आचार्यले बताउनुभयो । सो क्रममा बिसी भाग्न सफल भएको र उनका अंगरक्षक वीरबहादुर तामाङलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । थप अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन नसकिएको आचार्यले बताउनुभयो । प्रजिअ जितेन्द्र बस्नेतले बिसीका अंगरक्षकले इँट्टा प्रहार गरेपछि बिसी भाग्न सफल भएको र प्रहरी जवान घाइते भएको बताउनुभयो । रासस
पशुपतिमा पाँच हजार विरुवा रोपिने
काठमाडौ, जेठ २७ । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई हरियाली बनाउन वृक्षरोपण अभियान शुरुभएको छ । सो अभियानअन्तर्गत पाँच हजार विरुवा रोपिने बताइएको छ । अभियानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले शुभारम्भ गर्नुभयो । अभियान शुभारम्भसँगै मृगस्थली जंगल क्षेत्रमा वेलपत्र, लोठसल्लो, चिलाउने, लप्सी, पारिजातलगायत जातका २५० वृक्षरोपण गरिएको पशुपति विकास कोषका सदस्यसचिव डा. प्रवीण ढकालले जानकारी दिनुभयो । रोपिएका बिरुवा हुर्काउन पनि कोषले मानिस खटाउने भएको छ । एउटा बिरुवा हुर्काउन रु ११ हजार ११४ खर्च लाग्ने उहाँले बताउनुभयो । पशुपति क्षेत्रमा श्रद्धालु भक्तजनले जन्मदिन, वैवाहिक वर्षगाठलगायत शुभ अवसरमा वृक्षरोपण गरी हुर्काउन चाहेमा त्यो अवसर प्रदान गर्ने कोषले निर्णय गरेको छ । यसै हप्ता युरेशिया रेयुकाईले ३०० बिरुवा रोप्न स्वीकृति लिएको कोषले जनाएको छ । रासस
भारतीयसहित चार जनाविरुद्ध लागूऔषध मुद्दा
नवलपरासी, जेठ २७ । पश्चिम नवलपरासीमा लागूऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले मुद्दा दर्ता गरी थप कारबाही पक्रिया अघि बढाएको छ । गत जेठ २४ गते अवैध लागूऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा जिल्ला म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, जिल्ला नवलपरासी रामग्राम नपा–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन् । प्रहरीले सन्त्याल र परियारलाई लागुऔषधसहित रामग्राम नपा–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नपा–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनराजन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट १० लेखिएको पाँच पातामा प्रतिपत्ता ३० ट्याब्लेटको दरले १५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमले जनाएको छ । यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयित्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नपा–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो । प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १०२ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पूर्वले जनाएको छ । -रासस
भरुवा बन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित पक्राउ
म्याग्दी, २७ जेठ । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीबाट शनिबार भरुवा वन्दुक र दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । प्रहरी चौकी बाबियाचौरबाट खटिएको प्रहरी सहायक निरीक्षक सहितको टोलीले शंकास्पद व्यक्तिको घरमा चेकजाँच गर्ने क्रममा हिदीका ३५ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको हो । पुनको घरमा लुकाइराखेको बिना लाइसेन्सको अवैध एक नाले भरुवा बन्दुकसहित दुर्लभ जनावरको मासु फेला पारेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिनुभयो । पुनलाई भरुवा बन्दुक र वन्यजन्तुको मासुसहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । -रासस
प्लास्टिकका झोला प्रयोगमाथि प्रतिबन्ध कडाइका साथ लागू गरिने
काठमाडौं, जेठ २२ । प्लास्टिकका पातला झोलालाई प्रतिबन्ध गर्न तीन वर्षअघि सरकारले गरेको प्रयासलाई अब कडाइका साथ लागु गरिने सरकारी अधिकारीहरूले जनाएका छन्। त्यसका लागि विगतमा नियममा तोकिएको तौल भन्दा सानो अर्थात् ३० माइक्रोनभन्दा कम तौल भएका प्लास्टिकका झोला उत्पादन बन्द गरिने वातावरण विभागका महानिर्देशकले बताएका छन्। वातावरण प्रदूषणको मुख्य कारकमध्येको एक मानिएको प्लास्टिकको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्ने चुनौतीबारे विश्व वातावरण दिवसका अवसरमा बहसहरू भइरहेका छन्। सरकारले मङ्गलवारबाट तीन वर्षअघि घोषणा गरिए पनि कार्यान्वयन हुन नसकेको पातला प्लास्टिकको झोला माथिको प्रतिबन्ध कडाइका साथ लागु गर्ने वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले बताएका छन्। त्यसका लागि विगतमा राखिएको ४० माइक्रोनको प्लास्टिक झोलाको सट्टा ३० माइक्रोनको झोलामा मात्र त्यस्तो प्रतिबन्ध लगाइने गरी नियम परिमार्जन गरिएको उनले बताए। मंगलवार विश्व वातावरण दिवसकै दिन प्रधानमन्त्रीबाट त्यसको घोषणा हुने बताउँदै महानिर्देशक दवाडीले भने, ‘प्रधानमन्त्रीले विश्व वातावरण दिवस पारेर त्यसको घोषणा गरेपछि हामी सुरुमा उद्योगीहरूलाई प्लास्टिकका झोला उत्पादन नगर्न सहमत गराउँछौँ। त्यसपछि पनि उत्पादन गरेमा भने कारबाही गर्छौँ।’ तीन वर्षअघि काठमाडौंबाट सरकारले प्लास्टिक झोलामा प्रतिबन्ध लगाएपनि उद्योगीहरूले विकल्प दिन नसकेको भन्दै त्यसको विरोध गरेपछि प्रतिबन्ध कार्यान्वयन हुन सकेको थिएन। एउटै उपाय भनेको प्लास्टिकको फोहोर व्यवस्थापन र पुनर्प्रयोग हो। त्यसो भएमा दुई चार वर्षमा समस्या समाधान हुनेछ सन्तोषकुमार सेढाईँ , महासचिव, नेपाल प्लास्टिक उत्पादक संघ नेपालमा प्लास्टिक उद्योगमा करिब १५ अर्ब रुपैयाँको लगानी तथा २५ हजारको रोजगारी रहेको उद्योगीहरू बताउँछन्। उनीहरूले प्रतिबन्ध समाधानको उपाय हुन नसक्ने भन्दै प्लास्टिक पुनस् प्रयोग गर्ने विश्वव्यापी प्रचलन नेपालमा लागु गर्नु पर्ने बताएका छन्। नेपाल प्लास्टिक उत्पादक संघका महासचिव सन्तोषकुमार सेढाईँ भन्छन्, ‘एउटै उपाय भनेको प्लास्टिकको फोहोर व्यवस्थापन र पुनर्प्रयोग हो। त्यसो भएमा दुई चार वर्षमा समस्या समाधान हुनेछ।’ वातावरणवादीहरूले भने सरकारले प्लास्टिक फेरि प्रयोग गर्नका निम्ति उद्योगीहरूलाई नै लगानी गर्न दबाब दिन नसकेको भन्दै आलोचना गरेका छन्। साथै देशभरि छरिएका गाउँपालिका तथा नगरपालिकाहरूले पनि प्लास्टिक व्यवस्थापनको उपाय खोज्न चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त हुने गरेका छन्।बीबीसी
प्रि मनसुनी सक्रियः केही दिनभित्रै मनसुन भित्रने मौसमविदको दाबी
काठमाडौ, जेठ २२ । प्रि मनसुनी गतिविधि सक्रिय बनेका कारण देशका विभिन्न स्थानमा बदली र वर्षा भएको छ । उक्त प्रणालीको प्रभावले काठमाडौसहित देशका विभिन्न स्थानमा वर्षा भएको हो । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ४३ र ओखलढुंगामा २९ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा कम सिमरामा एक मिलिमिटर वर्षा भएको छ । मौसमविद्का अनुसारर केही दिनयता नेपालको मौसममा आएको फेरबदल पनि मनसुन शुरु हुनुपूर्वको अवस्था (मनसुन सिनारियो) हो । मनसुन शुरु हुने संघारमा रहेकाले प्रि मनसुनी वर्षा (स्थानीय मौसम चक्रको प्रभाव) भइरहेको छ । मनसुन पूर्वी नेपाल हुँदै नेपाल प्रवेश गर्छ । पूर्वबाट प्रवेश गरेको मनसुनले देशभर ढाक्छ र वर्षा हुन्छ । “ वातावरणीय परिवर्तनले मनसुनमा पनि धेरै फेवरेवल हुँदै गएको छ । पूर्वमा धेरै वर्षा हुनुपर्ने हुन्छ, चाँडै (दुई÷चार दिनभित्र) नेपालमा मनसुन भित्रने अनुमान गरिएको छ”, मौसमविद् पौडेलले भन्नुभयो । सामान्यतः मनसुन शुरु हुन अझै पाँच दिन बाँकी छ अर्थात् जुन १० देखि मनसुन शुरु हुन्छ तर हरेक वर्ष यसमा केही दिन फरक हुँदै आएको छ । पछिल्ला पाँच वर्षदेखि १० दिनसम्म मनसुन हेरफेर हुने गरेको छ । मनसुनका लागि यी मापदण्ड चाहिन्छ नेपालमा सामान्यतः मनसुन शुरु हुन निश्चित मौसमी मापदण्ड चाहिन्छ । मौसमविद्का अनुसार मनसुन हुनलाई तिब्बतको आकाशमाथि उच्चचापीय क्षेत्रको विकास हुनुपर्छ । भारतीय अकाशको माथिल्लो वायुमण्डलमा ‘ट्रपिकल स्टर्ली’ देखिनुपर्छ । त्यस्तै, बंगालको खाडीबाट जलवाष्पको प्रवेश नेपालमा हुनुपर्छ । उल्लिखित मापदण्ड नपुगेका कारण मनसुन पूर्ण सक्रिय बन्न सकेको छैन । माथिका मापदण्डसँगै दक्षिणी भारततिर पश्चिमी वायु शक्तिशाली बन्नुपर्ने र उच्च वायुमण्डलमा रहेको ‘जेट स्ट्रिम’ करीब ४० डिग्री उत्तरमा अवस्थित हुनुपर्छ । मौसमविद् पौडलका अनुसार मनसुन ठूलो क्षेत्रमा फैलिएर वर्षा हुन्छ तर अहिले ठूलो ठाउँ समेटेर वर्षा भएको छैन । सीमित ठाउँमा मात्रै वर्षा केन्द्रित छ । आज तराईका केही स्थानबाहेक देशका अधिकांश भेगमा बदली छ । अपराह्नतिर काठमाडौँसहित केही स्थानमा वर्षा हुने मौसम पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २९ र न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस पुगेको छ ।
वाताबरण दिवसमा वृक्षरोपण
इटहरी, जेठ २२ । ४८ औं विश्व वातावरण दिवसका अवसरमा आज सुनसरी जिल्लाका विभिन्न स्थानमा सरसफाइ एवं वातावरण संरक्षणसम्बन्धी सचेतना अभियानसँगै १२ स्थानीय तहले आआफ्नै क्षेत्रमा वृक्षरोपण एवं वातावरण संरक्षण सम्बन्धमा सचेतनमूलक कार्यक्रम सञ्चालन गरेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सुनसरीको योजनामुताबिक इटहरी उपमहानगरपालिका–१२ स्थित खनारको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरका डिल क्षेत्रमा करीब चार सय विभिन्न जातका बिरुवा रोपिएको छ । उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसमेत जनप्रतिनिधिसमेतको उल्लेखनीय सहभागिता थियो । त्यसैगरी उपमहानगरपालिका क्षेत्रमा प्लास्टिक झोला निषेध अभियान चलाइएको छ । यसै अवसरमा सशस्त्र प्रहरी, बराह बाहिनी मुख्यालय पकली सुनसरी परिसरमा विभिन्न जातका पाँच सय बिरुवा रोपिएको सिद्धकाली गणका सशस्त्र प्रहरी उपरीक्षक गणेशबहादुर थापाले जानकारी दिनुभयो । यस्तै धरान, इनरुवा, दुहबी, बराहक्षेत्रलगायत स्थानमा पनि बिरुवा रोपणका साथै सरसफाइ कार्यक्रम सञ्चालन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरी सुनसरीका डिभिजनल इञ्जिनीयर देवनाथ सिंहले जानकारी दिनुभयो । सोही सन्दर्भमा १९ औं राष्ट्रिय सरसफाइ दिवसको उद्घाटन गर्दै डिभिजनल इञ्जिनीयर सिंहले डिभिजन कार्यालय र त्यसअन्तर्गतका विभिन्न स्थानमा बिरुवा रोप्ने कार्यसमेत भएको बताउनुभयो ।

