वडाध्यक्ष नै बालक हत्याका मुख्य योजनाकार
रौतहट, असार ३ । बालक हत्याको आरोपमा कटहरिया नगरपालिका–९ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवसहित १२ जना पक्राउ परेका छन् ।
वडाध्यक्ष यादव बालक हत्याका मुख्य योजनाकारसमेत रहेको प्रहरीले बताएको छ । वडाध्यक्ष यादव र उनको समूहले डुमरिया टोल निवासी दिलीप साहका १२ वर्षीय छोरा युवराज साहको २६ जेठमा अपहरण गरी २८ जेठमा गोली हानी हत्या गरेको खुल्न आएको प्रहरीको भनाइ छ ।
अहिले यादवमाथि रौतहट प्रहरीले अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गरिएको छ । उनीसहित अन्य १६ जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटले अपहरण, हत्या तथा हात हतियार मुद्दा दर्ता गराएको हो ।
बालक हत्या प्रकरणमा संलग्न रहेको भन्दै पीडित पक्षले यादव दाजुभाइसहित १६ जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दर्ता गराएका थिए ।
अपहरणकारीले १ करोड रूपैयाँ फिरौती मागेको र त्यो नपाएपछि युवराजको कन्चटमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि मोबाइल सेट, दुईवटा सिमकार्ड, हत्यामा प्रयोग भएको हतियार एक थान र थ्रीनटथ्री गोली बरामद गरेको छ ।
अपहरणकारीले बालकलाई उनकै घरभन्दा २५ किलोमिटर टाढा गढीमाई नगरपालिका–५ स्थित मदनपुरको बागमती किनारमा लगेर गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्याको आरोपमा कटहरिया नगरपालिका–९ का वडाध्यक्ष यादवका छोरा १९ वर्षीय शक्ति राय यादव, २० वर्षीया प्रवीण राय यादव, २० वर्षीय सुनिल कुमार यादव र वृन्दावन नगरपालिका आकरपाथरका १८ वर्षीय विनोदकुमार पटेल र २० वर्षीया रविकुमार पटेललयायत १२ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
बाँकी चार जनाको भने तीव्र रूपमा खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक चतुुर्भुुज ओझाले जानकारी दिए ।
यसैबीच, बालक हत्यामा संलग्न रहेको आरोप लागेका होसनारायण यादव सम्पर्कविहीन भएका छन् । वडाध्यक्ष यादवकै भाइ रहेका होसनारायण प्रहरीसमेत खुल्न आएको छ ।
किटानीअनुसार फरार यादव बारा मुसहर्वा प्रहरी चौकीमा प्रहरी जवान दरबन्दीमा रहेको र उनलाई हाजिर गराउन इलाका प्रहरी कार्यालय गरुडाले बारा प्रहरी लाई पत्रसमेत लेखेको बुझिएको छ ।
पत्र लेखेको तीन दिन बित्दा पनि उनी हालसम्म सम्पर्कमा नआएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक ओझाले बताए । यता स्थानीय विद्यालयका विद्यार्थीहरू भने बालकका हत्यारालाई फाँसी दिनुपर्ने भन्दै दिनहुँ नाराजुलुस गरिरहेका छन् । राजधानीदैनिकका लागि
सवारी दुर्घटनाबाट ५ को मृत्यु
काठमाडौं, असार ३ । मुलुकभर सवारी दुर्घटनाबाट दैनिक ५ जनाको मृत्यु हुने गरेको एक तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालयअन्तर्गतको ट्राफिक निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७४-७५ वैशाख मसान्तसम्म २ हजार ९७ जनाको दुर्घटनामा मृत्यु भएको छ । ९ हजार ५० वटा दुर्घटनामध्ये ६ हजार ९ सय ९२ वटा चालकको लापरबाहीले भएको प्रहरी तथ्यांकमा छ । हालसम्मको तथ्यांक विश्लेषण गर्ने हो भने, अघिल्लो वर्षभन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या एक प्रतिशतले घटेको छ । तर, दुर्घटना हुने प्रवृत्तिमा फरक आएको देखिँदैन । कान्तिपुरमा खबर छ ।
एसईईको नतिजा असार १० भित्र
काठमाडौं, असार ३ । यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा असार १० गतेभित्र प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारी गरिरहेको छ । परीक्षा नियन्त्रक अम्बिका रेग्मीले यो वर्षको परीक्षाफल १० गतेभित्र गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो । यस बर्ष प्राविधिक धारको पनि एकै पटक नतिजा सार्वजनिक गर्ने तयारी पनिकाले जनाएको छ । प्राविधिक धार अन्तर्गत करिब ८ हजार विद्यार्थीले परीक्षा दिएका छन् । पनिकाले यो वर्ष आइभीआर, एसएमएस र वेवसाइटमार्फत परीक्षाफल हेर्ने व्यवस्था गरेको छ । सरकारले कक्षा १०को परीक्षा प्रदेश तहलाई संचालन गर्ने अधिकार दिएपछि यो परीक्षाफल केन्द्रबाट संचालन गर्ने अन्तिम हुनेछ । यो वर्षको परीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागि रहेका छन । परीक्षा चैत ८ गतेबाट संचालन भएको थियो ।
जिशिकाद्धारा मनपरी बजेट निकासा
काठमाडौं, असार ३ । तत्कालिन जिल्ला शिक्षा कार्यालय काठमाडौंलगायत ३२ जिल्ला शिक्षा कार्यालयले मनपरी बजेट निकासा गरेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवेदनमा ती जिल्ला शिक्षा कार्यालयले तलबभत्तामा पाउनेभन्दा २ करोड ५५ लाख ५१ हजार रुपैयाँ बढी निकासा गरेको पाइएको छ । काठमाडौं, बारासमेत ३१ जिल्ला शिक्षा कार्यालयले सेवानिवृत्त र बिदा बसेका शिक्षकका लागि तलबभत्ताबापत १ करोड ८६ लाख ८५ हजार निकासा दिएको देखिएको छ । नेपाल समाचारपत्रमा खबर छ ।
आज तपाइको दिन कस्तो रहला ? राशिफलले यस्तो भन्छ
वि.सं २०७५ साल असार ३ गते, आइतबार। इश्वी सन् २०१८ जुन १७ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, १६ः२४ बजे उप्रान्त पञ्चमी। मेष-चु, चे, चो, ला, लि, लु, ले, लो, अ परिस्थितिअनुसार चल्न नसक्ता अलि दुस्ख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। बृष-इ, उ, ए, ओ, बा, बि, बु, बे, बो जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। दाजुभाइमा असमझदारी बढ्न सक्छ। तापनि नयाँ काम प्रारम्भ गर्ने समय छ। व्यवसायमा राम्रै लाभ हुनेछ भने चिताएको काममा सफलता पाइनेछ। मिथुन-का, कि, कु, घ, ङ, छ, के, को, ह आवेशको निर्णयले समस्या निम्त्याउन सक्छ। बोली(व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले भने फाइदा दिलाउनेछ। तार्किक क्षमता बढ्नेछ भने कूटनीतिक प्रयत्नले लक्ष्यमा पुर्याउन सक्छ। कर्कट-हि, हु, हे, हो, डा, डि, डु, डे, डो तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। कन्या-टो, प, पि, पु, ष, ण, ठ, पे, पो व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। तुला-र, रि, रु, रे, रो, ता, ति, तु, ते अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। तापनि, मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। बृश्चिक-तो, ना, नि, नु, ने, नो, या, यि, यु काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। धनु-ये, यो, भ, भि, भु, ध, फा, ढ, भे आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। समस्या दर्साउँदा सहयोगीहरूको साथ जुट्नेछ। मकर-भो, ज, जि, खि, खु, खे, खो, गा, गि घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि विशेष ध्यान पुर्याउनुहोला। कुम्भ-गु, गे, गो, सा, सि, सु, से, सो, द ब्त्रगबचष्गकपरिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्च बढ्ने र आर्थिक क्रियाकलापमा बाधा पुग्ने देखिन्छ। मीन-दि, दु, थ, झ, ञ, दे, दो, च, चि स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने चिताएको काममा विलम्ब हुन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। -नेपालीपात्रो
संयुक्त बैठक भोलि
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठक यही असार ३ गते आइतबार अपराह्न ४ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गर्नुभएको छ । प्रधानमन्त्रीको सिफारिशमा नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम राष्ट्रपतिले संयुक्त बैठक आह्वान गर्नुभएको हो । रासस
जाजरकोटमा बालविवाह न्यूनीकरण वर्ष मनाइँदै
जाजरकोट । बिहे गर्ने उमेर नपुग्दै ७४ प्रतिशत बालविवाह हुने जाजरकोटलाई यो वर्ष बालविवाह न्यूनीकरण वर्षको रुपमा मनाइने भएको छ । सामाजिक दबाब बढाउन बालविवाह गर्ने र गराउनेलाई सामाजिक बहिष्कार समेत गरिने निर्णय गरिएको छ । चितारा युवा संरक्षक मञ्च नामक एक गैरसरकारी संस्थाले आफ्नो २१ आंै वार्षिकोत्सवको अवसरमा २०७५ साललाई बालविवाह न्यूनीकरण गर्ने वर्षको रुपमा मनाउने निर्णय गरेको हो । स्थानीय तहमा रहेका महिला विकास शाखा, विद्यालय र अन्य सरोकारवाला सबैलाई साथमा लिएर यो वर्ष बालविवाह न्यूनीकरण अभियानकै रुपमा लाग्ने संस्थाका अध्यक्ष रामजंग शाहले बताउनुभयो । उहाँले भन्नुभयो–“एकै पटक बालविवाह अन्त्य गर्न नसके पनि जनचेतनाका माध्यमबाट जिल्लाभर अभियान छाड्ने छांै र धेरै हदसम्म बालविवाह न्यूनीकरण हुनेछ ।” बालविवाह न्यूनीकरणका लागि संस्थाका कार्यसमिति सदस्य, साधारण सदस्य र कर्मचारीले सात बुँदे साझा प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् । आफ्नो घरपरिवारमा बालविवाह पूर्ण रुपमा निषेध गर्ने, बालविवाहको भोज, निम्ता, जन्ती र बाजा वहिष्कार गर्ने, बालविवाहलाई बढावा दिने तथा प्रोत्साहित गर्ने कुनै पनि काम नगर्ने, समुदायमा बालविवाह न्यूनीकरणका लागि पैरवी गर्ने, कार्यक्रम सञ्चालन गर्ने जस्ता प्रतिबद्धता गरिएको छ । कार्य योजनामा बालविवाह न्यूनीकरणका लागि विद्यालय अभियान, किशोरकिशोरी कार्यक्रम, आमसञ्चारका माध्यमबाट जनचेतना फैलाउने, बालविवाह गर्नेलाई सामाजिक वहिष्कार गर्ने जस्ता दबाबमूलक कार्यक्रम समेत अभियानमा समेटिने पाँच तारा युवा संरक्षक मञ्चकी बाल अधिकृत अञ्जु भट्टराईले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, जिल्ला प्रहरी प्रमुख रवीन्द्रबहादुर सिंह लगायतका सरोकारवालाले पनि बालविवाह न्यूनीकरणको अभियानमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । नायिका रेखा थापाले निर्माण गरिरहेको बालविवाहमा केन्द्रीत मालिका चलचित्रको समेत केही समय अघि जाजरकोटमै छायाङ्कन गरिएको थियो । आगामी लक्ष्मीपूजामा रिलिज हुने मालिकाले पनि बालविवाह न्यूनीकरणमा सघाउ पु¥याउने कार्यकारी निर्माता नरबहादुर कार्कीको दाबी छ । महिला तथा बालबालिका कार्यालय जाजरकोटका अनुसार १९ वर्ष नपुग्दै जाजरकोटमा ७४ प्रतिशतको विवाह हुने गरेको छ । रासस
यन्त्रमा च्यापिएर मृत्यु
लहान, असार २ । सिरहाको मिर्चैयास्थित चिप्स उद्योगको यन्त्रमा च्यापिएर गए राति एक कामदारको मृत्यु भएको छ । मिर्चैया नगरपालिका– ५ स्थित जयश्री बजरंग चिप्स उद्योगमा काम गर्ने क्रममा स्थानीयवासी ६० वर्षीय लक्ष्मण साफीको मृत्यु भएको र शव परीक्षणका लागि लहानस्थित रामप्रसादउमा स्मारक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस
कैलालीका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन
काठमाडौं, असार १ । प्रस्तावित पूर्व पश्चिम-रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको रेल विभागका अधिकारीहरूले बताएका छन्। बुटवलभन्दा पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहँदा कैलालीको शिवगंगा र चौमाला क्षेत्रको जमिन मुनि निकै पानी रहेकाले त्यसले ठूलो प्रविधिक चुनौती सृजना गर्न सक्ने बताइएको छ। पूर्व-पश्चिम रेलका लागि हाल २५ किलोमिटर क्षेत्रमा रेलको लाइन निर्माण गरिरहेको रेल विभागले बुटवलदेखि कन्चनपुरको गड्डाचौकीसम्मको झन्डै ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम गरिरहेको छ। त्यसका लागि रेखाङ्कन सकेर हाल माटो परीक्षण भइरहेको रेल विभागका अधिकारीको भनाइ छ। यसरी माटो परीक्षण गर्दै जाँदा कैलालीमा रेलमार्ग बनाउन कठिन हुने जमिन फेला परेको बिहीवारमात्रै उक्त क्षेत्रबाट काठमान्डू फर्किएका विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए। प्राविधिकहरूका अनुसार उक्त क्षेत्रमा विगतमा पूर्व पश्चिम सडक अन्तर्गत पुल बनाउँदा पनि समस्या उत्पन्न भएको थियो। तर रेलमार्गको कुनै पनि एउटा क्षेत्रमा समस्या देखिँदा त्यसको असर सबैतिर पर्ने भएकाले विभागका प्राविधिकहरुले अब विकल्पको खोजी गर्नु पर्ने बताएका छन्। त्यसका लागि केन्द्रीयस्तरमा विभिन्न निकायसँग छलफल गरेर समाधान निकालिने उपाध्यायले बताए। -बीबीसी
विश्वकप हेरेर फर्किदा पहिरोले बगाउँदा एकजना बेपत्ता
ताप्लेजुङ, असार १ । विश्कप हेरेर सदरमुकामबाट घर पर्किने क्रममा पहिरोले बगाउँदा एक जना वेपत्ता भएका छन् । बेपत्ता हुनेमा इलाम घर भइ ताप्लेजुङको पाथीभरमा मोटरसाइकिल वर्कशपमा काम गर्ने २६ वर्षका सनम राई रहेका छन् । तीन दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी गेनेन्द्र बहादुर बस्नेतले बताए । विश्कप हेरेर राती ११ बजे घर पर्किने बेला मोटरसाइकलसहित उनलाई पहिरोले बगाएको प्रहरीले जनाएको छ । मोटरसाईकल पहिरो गएको ठाउँभन्दा तल भेटिए पनि राई भने फेला नपरेका डिएसपी बस्नेतले जानकाी दिए ।
तीन वर्षमै विवाह !
रौतहट, असार १ । जिल्लाको चन्द्रपुर नगरपालिका–८ का अनिल मल्लिकलाई पत्नीको नाम थाहा छ तर चिन्दैनन् । ६ वर्षीय नाबालक अनिलको विवाह भएकै तीन वर्ष बित्यो । पत्नीको नाम पनि अभिभावकले घोकाएर स्मरण भएको हो । उनलाई पत्नी माइतमा छिन् भन्ने पनि अभिभावकले सिकाए । उनी भन्छन्, ‘मेरी पत्नी किरणदेवी हो, उनी माइतमा छिन् ।’ तीन वर्षको हुँदा अभिभावकले पथरा टोलकी किरणसँग उनको विवाह गरिदिएका हुन् । उनका बाबु बुधनले परम्परागत शैलीमा छोराको विवाह गरेको भनी दंग छन् । तर, नाबालकको विवाह किन गरिदिएको भन्ने प्रश्नमा रेडिमेड जवाफ छ- परम्परा ! गरुडा नगरपालिका–५ महमदपुरकी १० वर्षीया सञ्जुदेवीलाई पनि पतिको नाम मात्र थाहा छ । दुई वर्षअघि रुपौलिया गाउँमा विजय मल्लिकसँग उनको विवाह भएको थियो । त्यसपछि पतिको अनुहार नदेखेकी सञ्जु भन्छिन्,‘केटो कस्तो छ, के गर्छ ? केही थाहा छैन ।’ तराईको सीमान्तकृत समुदायमा पर्ने डोम जाति सीमित जिल्लामा छन् । परम्परागत रूपमा बाल विवाह गराउने यो जाति राज्यले दिएको नारा विवाहबारी २० वर्षपारि भन्नेसँग बेमतलवी छ, राजधानी दैनिकमा खबर छ ।
स्थानीय तह धमाधम उपसचिव तहका कर्मचारी फिर्ता गर्दै
काठमाडौ, असार १ । स्थानीय तहमा कर्मचारी अभाव भइरहेका बेला केही स्थानीय तहले केन्द्रबाट पठाइएका कर्मचारी धमाधम फिर्ता गर्न थालेका छन्। उपसचिव तहका कर्मचारी फिर्ता गरी ती स्थानीय तहले प्रशासकीय अधिकृतका रूपमा विद्यालय निरीक्षक र नायब सुब्बासरहका कर्मचारीलाई जिम्मेवारी दिन थालेका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनियमितता ढाक्न स्थानीय तहले कर्मचारी फिर्ता पठाएको आशंका गर्दै यसलाई गम्भीर रुपमा लिएको छ। रौतहटको राजपुर नगरपालिकाका मेयर मा।सकिल अख्तरले केन्द्रबाट पठाइएका प्रशासकीय अधिकृत गोपालमान श्रेष्ठ नगरपालिकामा आवश्यक नरहेको भन्दै मन्त्रालयमा निवेदन पठाएका छन्। यस्तै, मुगुको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले पनि मन्त्रालयबाट खटिएका उपसचिव पीताम्बर सारुलाई केन्द्रमै राख्न आग्रह गरेका छन्। उपचसचिव तहका कर्मचारी नगरपालिकामा आवश्यक नभएको उनले मन्त्रालयमा पठाएको निवेदनमा उल्लेख छ। उक्त नगरपालिकामा विद्यालय निरीक्षक (विनि) ललितजंग मल्लले निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिरहेका छन्। नगरपालिकामा कर्मचारी अभाव भएपछि मुगु जिल्ला प्रशासनले तत्काल काम चलाउन विनिलाई खटाएको हो। हुम्लाको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पनि केन्द्रबाट खटिएका प्रशासकीय अधिकृत विष्णुकुमार भट्टराईको काज फिर्ता गरी सहयोग गर्न उल्टै मन्त्रालयलाई आग्रह गरेका छन्। उक्त गाउँपालिकामा नायबसुब्बा खडानन्द चौलागाईं निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। रौतहट यमुनामाई गाउँपालिकाका अध्यक्ष चन्द्रिका मुखियाले पनि शाखा अधिकृत पुष्करचन्द्र घिमिरेलाई मन्त्रालयमै फिर्ता पठाएका छन्। अधिकृत घिमिरे गाउँपालिकालाई आवश्यक नभएको अध्यक्ष मुखियाले मन्त्रालयलाई लेखेको चिठीमा उल्लेख छ। गाउँपालिकामा नायबसुब्बा शिवपूजनप्रसाद यादव निमित्त प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्। मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहले कर्मचारी फिर्ता गरेको विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिएको बताए। उनले भने,‘यो गम्भीर विषय हो। उहाँहरूलाई मन्त्रालयले पठाएको कर्मचारी फिर्ता गर्ने अधिकार छैन।’ नागरिकमा खबर छ ।
फेरि दुई राप्रपाबीच एकीकरण प्रक्रिया सुरु
काठमाडौं, असार १ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच पार्टी एकीकरणको प्रक्रिया सुरु भएको छ । राप्रपाको पार्टी एकीकरणका लागि वार्ता गर्न गठित वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको समिति र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाबीच बिहीबार भएको भेटवार्तामा दुई पार्टीबीच एकता प्रक्रिया सुरु गर्ने सहमति बनेको हो । अध्यक्ष राणाको महाराजगन्जस्थित निजी निवासमा भएको वार्तामा पार्टी टुक्रिएकै बिन्दुबाट पुनः एकीकरणका लागि प्रक्रिया सुरु गर्न दुवै पक्ष सहमत भएको राप्रपा वरिष्ठ उपाध्यक्ष तामाङले जानकारी दिए । ‘हामी पार्टी एकीकरण गर्ने प्रस्ताव लिएर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति राणाको निवासमा पुगेका थियौँ,’ उनले नयाँ पत्रिकासँग भने,‘हामीले राखेको प्रस्ताव उहाँले सहर्ष स्विकार्दै पार्टी टुक्रिएकै बिन्दुबाट एकीकरणको प्रक्रिया सुरु गर्न आफू र आफ्नो पार्टी तयार रहेको बताउनुभयो ।’ एकीकरण कसरी गर्ने, पद बाँडफाँड, एकीकृत पार्टीको विधान कस्तो बनाउने भन्ने विषयमा दुई पार्टीको वार्ता समितिले छलफल गरी निष्कर्ष निकाल्ने तयारी छ । राप्रपा प्रजातान्त्रिकले पनि पार्टी एकीकरणका लागि वार्ता गर्न पार्टीका वरिष्ठ उपाध्यक्ष दीपक बोहरा संयोजक र उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा सदस्य रहेको समिति बनाएको छ । राप्रपाले तामाङको नेतृत्वमा उपाध्यक्ष टंक ढकाल, महामन्त्री राजेन्द्र लिङ्देन रहेको समिति बनाएको छ । तामाङले राणासँग भएको सहमतिअनुरूप दुई पार्टीका वार्ता समिति बसेर पार्टी एकीकरण गर्ने भन्ने विषयमा मार्गचित्र तय गर्ने बताए । नयाँ पत्रिकामा खबर छ ।
सुरुङ निर्माणमा अवरोध, दशैंमा नआउने भयो मेलम्ची
सिन्धुपाल्चोक, जेठ ३१ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको भन्दै सिन्धु अडिट मार्गमा सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् । स्थानीयहरूले विगतमा भएका विभिन्न सहमति अनुसार आयोजनाले एउटा पनि काम नगरेको भन्दै बुधबारबाट माग पूरा नहुन्जेलसम्मका लागि सिन्धु साइटको काम ठप्प पारेका हुन् । बुधबारदेखि सुरु भएको विरोध आफूहरुको माग पूरा नभएसम्म स्थगित नहुने स्थानीयको भनाई छ । परियोजनाले पटक–पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको उनीहरूको आरोप छ । सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानी भएकोमा अहिले खानेपानी लिन समेत करिब आधाघण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानीयले दुखेसो गरेका छन् । निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक–पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेकोले यसपटक पनि फेरि आन्दोलनमा उत्रन परेको प्रभावित स्थानीयको भनाई छ । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र यो पटक भने सम्झौता अनुसार काम नभएसम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारी तामाङले जानकारी दिए । योभन्दा अघि भएका सहमतिहरुमा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्यु हुनेहरुलाई उचित क्षतिपूर्ति दिनेलगायतको सहमति भए पनि अहिलेसम्म सहमति अनुसार कुनै काम नभएको थकनीका प्रभावित नेत्रबहादुर तामाङले गुनासो गरे । सुरुङ निमार्णले गर्दा हेलम्बुका विभिन्न स्थानका नागरिकरूमा पनि असर परेका छन् । खानेपानीको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने विभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राणीहरु समेत मर्ने गरेका छन् । सुरुङ निमार्ण कम्पनीले सम्झौता अनुसार काम नगरेको र यसले गर्दा करिब हेलम्बुका विभिन्न गाउँका ३५० भन्दा धेरै घरधूरीहरु प्रभावित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका वडा अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिएका छन् । यस अघि भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिष्टि (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । त्यही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्यूट एड्जुडिकेसन बोर्ड–डिएबी) ले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दुई सय १२ दिन अर्थात सात महिना म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप एक अर्ब तीन करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय भएको स्रोतको दाबी छ । तर ठेकेदार कम्पनी भने अदालत जाने तयारीमा रहेको पनि बताइएको छ । आउँदो दशैँमा काठमाडौंमा मेलम्चीको खानेपानी पुऱ्याउने भने पनि यस आयोजनाको काम हेर्दा यो वर्ष पनि खानेपानी काठमाडौं पुग्न नसक्ने देखिन्छ । निर्माण कम्पनीले पुरानै काम गर्ने शैलीका कारण समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको हो ।
सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी
जाजरकोट । यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र नौ वडाको १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ । केन्द्रीय योजनाअनुसार सो अबधिमा जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढिमे, खुर्पालगायत गाउँमात्र सडक पहुँचमा योभन्दा अगाडि रहेको थियो भने पछिल्लो दुई वर्षको अन्तरालमा उक्त गाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनुभयो । वडा नं १ मा रु २५ लाख बजेटमा छ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा नं २ मा ९७ लाखको लागतमा २५ किलोमिटरको डेब्रा वडा कार्यालय–तिमिल्धारा हुँदै हिले सडक र २० लाखको लागतमा गैरीखेत–डेब्रेडाँडा आठ किलोमिटर सडक विस्तार गरिएको छ । त्यस्तै वडा नं ३ मा ५० लाखको लागतमा सात किलोमिटरको टापुचौर–डाँडाभौता सडक, वडा नं ४ मा ६५ लाखको लागतमा १५ किलोमिटरको टापुचौर–तागाचौर हुँदै वडा केन्द्र दतिउर पुग्ने सडक र वडा नं ६ मा ६५ लाखको लागतमा १२ किलोमिटर साधिबिसाउन–गाउँपालिका केन्द्र थर्पु सडक निर्माण गरिएको छ । यसैगरी उक्त गाउँपालिकाले वडा नं ५ मा ४० लाखको लागतमा आठ किलोमिटर दम्दाला–बाटुले सडक, २८ लाखको लागतमा १० किलोमिटर साधिबिसाउन–जहरगाउँ सडक, वडा नं ७ मा ५० लाखको लागतमा पानीमूल–समाइला, २५ लाखको लागतमा छ किलोमिटरको समाकोट–गुमौरी सडक र वडा नं ८ तथा ९ मा ३२ लाखको लागतमा तीन किलोमिटरको पँधेरीखोला–पैंक सडक निर्माण गरिएको हो । ‘जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ । कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन् । सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थरलगायत खनिज र सयौँ प्रकारका जडीबुटीले धनी यो गाउँपालिका मानिन्छ । रासस
हातहतियारसहित दुई पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले हातहतियारसहित दुई जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले ठमेल, ज्याठालगायतका क्षेत्रमा हातहतियार देखाएर डर त्रास दिई रकम असुल्दै हिँडेका काभ्रेका २६ वर्षीय देवकुमार थापा र धादिङका २९ वर्षीय कमल गुरुङलाई गएराति ठमेलको ज्याठा गल्लीबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुसँग एक थान रिभल्वर र एक थान खुकुरी बरामद गरेको छ । पक्राउ उनीहरुलाई परिसरबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

