लागूऔषध विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
काठमाडौँ, ६ असार । सप्ताहव्यापी रुपमा विविध कार्यक्रमको आयोजना गरी लागूऔषध दुरुपयोग एवम् ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आजदेखि सुरु भएको छ ।
बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकारहरुसँगको साक्षात्कार कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले आजदेखि असार १२ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सप्ताहव्यापी रुपमा संघ, प्रदेश र स्थानीय तहमा यो दिवस मनाईने जानकारी दिनुभयो ।
लागू औषधको प्रयोग र ओसार पसार समग्र समाज र राष्ट्रका लागि चुनौति बन्दै गएकोले यस विरुद्ध सबैको साथ र सहयोग आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।
गृहसचिव राईले हाल वार्षिक ११ प्रतिशतका दरले लागुऔषधका प्रयोगकर्ता बढीरहेको विवरण पेश गर्दै यसलाई यो वर्ष पाँच देखि सात प्रतिशतमा झार्ने लक्ष्य सहित गृहमन्त्रालयले कार्ययोजना बनाएको बताउनुभयो ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीले कार्ययोजना सहित सचेतना अभियान सञ्चालन, लागू औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, निर्देशिका तर्जुमा तथा परिमार्जन सम्बन्धमा छलफल, अन्तरक्रिया, गाँजा÷अफिम फडानी, प्रभातफेरी र सभा लगायतका कार्यक्रम आयोजना गरीने जानकारी दिनुभयो ।
उहाँले नेपालमा हाल करिब एक लाख ५० हजार भन्दा बढी लागुओषध प्रयोगकर्ताहरु रहेको विवरण प्रस्तुत गर्दै यसको नियन्त्रका लागि कठोर रुपमा सरकार प्रस्तुत हुने तयारी गरीरहेको बताउनुभयो ।
कार्यक्रममा दिवसको अवसरमा असार १२ गते गृहमन्त्री रामबहादुर थापा‘बादल’को उपस्थितिमा काठमाडौँमा विषेस कार्यक्रमको आयोजना गरीने जानकारी दिईयो ।
लागु औषधको उत्पादन, ओसारपसरा, विmित्र वितरण तथा सेवनलाई प्रभावकारी रुपमा नियन्त्रणका लागि आवश्यक अध्ययन, अनुसन्धान, सर्वेक्षण तथा सो को आधारमा नीतिगत तथा कानुनी व्यवस्था परिमार्जन गरी कार्यान्वयन गर्न प्रतिवद्ध रहेको गृहमन्त्रालयले जनाएको छ ।
यस वर्षको राष्ट्रिय नारा ‘ स्वस्थ , सवल र समृद्ध नेपालको प्रतिवद्धता ः लागू औषध अपराध विरुद्धको ऐक्यवद्धता’ रहेको छ ।
रेडियो, एफएम र टेलिभिजन विधेयक पारित
विराटनगर, असार ५ । प्रदेश नं १ को प्रदेशसभा बैठकले रेडियो, एफएम र टेलिभिजन प्रसारणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरेको छ । विधेयक पारित भएपछि अब नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा संघीय इकाइबीचको सम्बन्ध वा विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पर्ने गरी कार्यक्रम प्रसारण गर्न रोक लगाइएको छ । विधेयकमा राज्यद्रोह, गाली बेइज्जती वा अदालतको अवहेलना हुने जस्ता कार्यक्रम प्रसारण गरे रु १० हजारदेखि एक लाखसम्म जरिवाना गर्ने प्रावधान राखिएको छ । पछिल्लो समय प्रेस स्वतन्त्रताका नाममा स्वच्छन्दता र अराजकता बढ्दै गएको सन्दर्भमा प्रदेश सरकारले सो विधेयक ल्याएको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । बैठकमा आजै आन्तरिक मामिलामन्त्री कार्कीले जिल्लासभाको काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक टेबुल गर्नुभएको छ ।
युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा युवक घाइते
काठमाडौं, असार ५ । राजधानीको लाजिम्पाटमा राष्ट्रसंघीय नियोग युनिसेफको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवक घाइते भएका छन् । मंगलबार अपरान्ह भएको दर्घटनामा काठमाडौंको चंगोल बस्ने १८ वर्षीय ट्रपिस नेपाल घाइते भएका हुन । नेपालको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको रहेको बताइएको छ । युनिसेफको ६६–०–००८२ नम्बरको कारले मोटरसाइकलाई ठक्कर दिँदा चालक नेपाल घाइते भएका थिए । दुर्घटनाबाट मोटरसाइकलको अगाडि पट्टीको भाग टुक्राटुक्रा भएको छ । कार चालक नेदरल्याण्डका नागरिक भएको प्रहरीको भनाइ छ । थप अनुसन्धान जारी रहेको बताइएको छ ।
डा. उपेन्द्रको निधन शोकमा विद्यालयमा पढाई वन्द
गोरखा, असार ५ । वरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको निधनको शोकमा गोरखा पालुङटार नगरपालिका–४ को अमरज्योति जनता माविमा मंगलबार विदा दिइएको छ । पित्तनलीको क्यान्सबारवाट पीडित ६५ वर्षीय देवकोटाको उपचारको क्रममा सोमबार बेलुका ५.३५ बजे राजधानीको बाँसबारीस्थित न्यूरो अस्प्तालमा निधन भएको थियो । देवकोटाको शोकमा एक मिनेट मौन धारण गरेर विद्यालयको पठन पाठन वन्द गरिएको प्रध्यानाध्यापक गोविन्द खनालले जानकारी दिए । सोही विद्यालयबाट २०२६ सालमा प्रवेशिका परीक्षा दिएका देबकोटा देशैभरबाट १० औं स्थानमा परेका थिए ।
डान्स पार्टीमा लडेकी पत्रकार राजबंशीको निधन
नेपालगञ्ज, असार ५ । नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मृतक पत्रकार सिंहको शव आजै परीक्षण गर्न भेरी अञ्चल अस्पताल पठाएको छ भने घटनाबारे अनुसन्धान पनि शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङले घटनाबारे अनुसन्धान भइरहेको र परीक्षणपछि पत्रकार राजवंशीको शव आफन्तलाई बुझाइने छ भन्नुभयो । स्थानीय खजुरा गाउँपालिका निवासी २४ वर्षीया पत्रकार राजवंशी नेपालगञ्जस्थित बागेश्वरी केबल टेलिभिजन र बागेश्वरी एफ एममा समाचार वाचन गर्नुहुन्थ्यो । केही महिनाअघि मात्र उहाँले सोही होटलमा कार्यरत सञ्जय श्रेष्ठसँग विवाह गर्नुभएको थियो ।
प्रेमिका र प्रेमीबीच यो रमाइलो चु्ट्किला
प्रेमीका – तिमी बिहेपछि चुरोट पिउन छोड्छौ ? प्रेमी– किन नछोड्नु अवश्य पनि छोड्छु । प्रेमीका– रक्सी र तास नि ! प्रेमी– त्यो पनि छोड्छु । प्रेमीका– बिहेअघि चाँहि के के छोड्ने विचार गरेको छौ नि ! प्रेमी– तिमीलाई ! प्रेमीका– तिमी नभएमा म बाँच्न सक्दिन तिमी मसंग कहिले बिहे गर्छौ ? प्रेमी– प्रिय म तिमीसंग अवश्य विहे गर्छु तर पहिले मलाई अफ्नो परिवारसंग सोध्नुपर्छ । प्रेमीका– के तिम्रो बुवा–आमाले मान्नु हुन्छ त ? प्रेमी– किन नमान्नु मेरो बुवा– आमाले मेरो निजी जिवनमा चासो गर्नुहुन्न । मलाई त मेरो श्रीमती र छोराको पो डर छ त !
वडाध्यक्षमाथि हातपात गर्नेविरुद्ध मुद्दा
सोलुखुम्बु, असार ५ । वडाध्यक्षमाथि हातपात गर्ने महिलाविरुद्ध सार्वजनिक मुद्दा दर्ता गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–९ का वडाध्यक्ष भुपालसिंह राईमाथि हातपात गरेको आरोपमा ३५ वर्षीया लेखापढी व्यवसायीसमेत रहनुभएकी निरकुमारी राईविरुद्ध मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । वडाध्यक्ष राईलाई सल्लेरीको एक होटलमा हातपात भएको किटानी जाहेरीको आधारमा उनलाई सोमबारनै पक्राउ गरी सार्वजनिक मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले जानकारी दिनुभयो । सेवाग्राहीको काम गर्ने सिलसिलामा सल्लेरी बजारमा वडाध्यक्ष राईलाई लेखापढी व्यवसायीसमेत रहेकी महिलाले बिनाकारण एक्कासि हातपात गरेको वडाध्यक्ष राईको भनाइ छ । उहाँले भन्नुभयो, “स्थानीय जनताको जग्गा नामसारीका लागि सिफारिस गर्दा सामान्य त्रुटि भएछ, सेवाग्राहीको फाइल मगाएर सच्याउने क्रममा आफूमाथि एक्कासि हातपात भयो ।” जग्गा नामसारीका लागि सहयोग गरिरहनुभएकी लेखापढी व्यवसायी निरकुमारीले अब सच्याउँदा आफूले काम गर्न नभ्याउने प्रतिक्रिया दिनुभयो । प्रत्यक्षदर्शी लालबहादुर बस्नेतले भन्नुभयो, “वडाध्यक्षज्यूले त समय मिलाएर काम गरिदिनु भन्दै हुनुहुन्थ्यो, एक्कासि आक्रमण भयो ।” बस्नेतले भन्नुभयो, “प्रकृति हेर्दा नियतवश जनप्रतिनिधिमाथि बिनाकारण आक्रमण भएको बुझिन्छ ।” “हामी वडाध्यक्षसँगै काठमाडौँबाट सोलुखुम्बु आएका हौँ, बाटोमा आउँदै गर्दा पटकपटक फोन आयो,” बस्नेतले भन्नुभयो, “उनको प्रस्तुति नियतवश जस्तै लाग्यो ।” यता गाउँपालिका अध्यक्ष असिम राईले जनप्रनितिधिमाथि सार्वजनिक स्थानमा भएको आक्रमणमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । सेवाग्राहीले केही प्रतिक्रिया नदिई लेखापढी व्यवसायीले जनप्रतिनिधिमाथि आक्रमण गर्नु निन्दनीय कार्य भएको भन्दै अध्यक्ष राईले यो विषय सबै जनप्रतिनिधिको लागि चुनौतीको विषय बनेको बताउनुभयो । यता निरकुमारी राईले भने आफूलाई गाली बेइज्जती गरेकाले एक झापड हानेको स्वीकार गरेको प्रहरीले जनाएको छ । रासस
व्यवस्थित शहर बनाउने नीतिसहित भीमदत्त नगरपालिकाले ल्यायो एक अर्ब बजेट
कञ्चनपुर, असार ५ । जिल्लाको भीमदत्त नगरपालिकाले नमूना सहर बनाउने नीति र कार्यक्रमसहित आगामी आव २०७५÷०७६ का लागि बजेट ल्याएको छ । भीमदत्त नगरपालिकाको तेस्रो नगर सभाबाट सोमबार रु एक अर्ब १० करोड ६४ लाखको बजेट पारित गरिएको हो । चालू आर्थिक वर्षका लागि गतवर्ष रु एक अर्ब ६४ लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा केही पुरानालाई निरन्तरता दिएर नयाँ नीति तथा कार्यक्रम समावेश गरिएका छन् । आगामी आवका लागि आन्तरिक आम्दानी रु १२ करोड २७ लाख प्रस्ताव गरिएको छ । वित्तीय समानीकरणबाट रु २५ करोड ५६ लाख, सशर्त अनुदान रु ३१ करोड ९५ लाख, राजश्व बाँडफाँट रु १४ करोड ३३ लाख, सामाजिक सुरक्षातर्फ रु १८ करोड, लागत सहभागितातर्फ रु एक करोड, क्षेत्रीय शहरी विकास आयोजना रु चार करोड ३५ लाख, सडक बोर्ड रु ७२ लाख र सीमाक्षेत्र विकास कार्यक्रमबाट रु ४५ लाख आम्दानी अनुमान गरिएको छ । आन्तरिक आम्दानीको रु छ करोड ४९ लाख साधारणतर्फ रु १८ लाख पूँजीगत, म्याचिङ फण्ड रु ७५ लाख, आय फिर्ता रु एक करोड २५ लाख र रु ५८ लाख विभिन्न कोषका लागि विनियोजन गरिएको छ । वित्तीय समानीकरणको बजेट वडा कार्यालयका लागि रु एक करोड ४८ लाख, नगरपालिका कार्यालयका लागि रु नौ करोड र पूँजीगतमा रु १४ करोड ५६ लाख विनियोजन गरिएको छ । राजश्व बाँडफाँडको अनुमानित आम्दानीलाई पूँजीगत खर्चमा विनियोजन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख सुशीलाचन्द सिंहले आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभयो । बजेटमा नगर सभासद्ले आफ्नो धारणा राखेपछि नगर सभाबाट पारित गरिएको भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख विष्टले स्थानीय सरकार सञ्चालन ऐन २०७४ का आधारमा स्थानीय स्रोतसाधनको प्रयोग र जनशक्ति परिचालनबाट नगरपालिकालाई प्रदेश नं ७ को नमूना र व्यवस्थित शहर बनाउने नीतिसहित अल्पकालीन र दीर्घकालीन योजनासहित आगामी वर्षको नीति तथा कार्यक्रम बजेट ल्याइएको बताउनुभयो । रासस
तस्करी नियन्त्रण गर्न सीमामा कडाइ
नवलपरासी, असार ५ । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो । पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ । पछिल्लो समय बढ्दै गएको तस्करीलाई रोक्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा गस्ती र चेकजाँच बढाएपछि तस्करी सामान समातिँदै गएको छ । सोही क्रममा करीब रु पाँच लाख बराबरको अवैध सामान बरामद गरी सशस्त्र प्रहरीले भैरहवा भन्सार कार्यालय पठाउने तयारी गरेको छ । सोमबार बरामद सो मूल्य बराबरकोे फेयर एण्ड लब्ली, मरिच तथा कपडालाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार पठाउने तयारी गरिएको विओपी सशस्त्र प्रहरी बल हरपुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश ढकालले बताउनुभयो । बरामद गरिएको सामानमा रु ५२ हजारको ४३१ पत्ता फेयर लब्ली, रु एक लाखको दुई बोरा मरिच, रु एक लाखको ५० रोल थान कपडा, रु एक लाख ५० हजारको १०२ पिस जयपुरी र १०८ पिस कठाइ साडी रहेका छन् । सडकजन्य अवरोध हटाउने अभियान यसैबीच, पश्चिम नवलपरासीको सुनबल नगरपालिकाले राजमार्ग आसपासका क्षेत्रमा रहँदै आएको विविध सडकजन्य अवरोध हटाउने अभियान चलाएको छ । सरसफाइ अभियानअन्तर्गत पूर्व–पश्चिम राजमार्गको ८२ फिट क्षेत्रभित्र सम्म व्यापक सरसफाइ अभियान सञ्चालन गरी सबैखाले अवरोधलाई हटाई अभियान चलाइएको हो । सुनबल, वडा नं १२ रामनगरदेखि वडा नं ७ ज्यामिरेसम्मको राजमार्ग रहेको क्षेत्रसम्मका सबैखाले अवरोधलाई हटाई स्वच्छ नगर निर्माणको अभियान चलाएको सुनबल नगरपालिका नगर प्रमुख भीमबहादुर थापाले बताउनुभयो । विशेष गरी सुनबल बजार क्षेत्र, बनकट्टी बजार क्षेत्र र रामनगर बजार क्षेत्रमा अव्यवस्थित तवरले भण्डारण गरिएका निर्माण सामग्री, सवारीसाधन पार्किङ, पार्किङ गरिएका पुराना थोत्रा सवारीसाधन हटाउन थालिएको छ । सडक सुरक्षामा खतरापूर्ण र नगरको शोभा बिगार्ने सामग्री अटेर गरी नहटाइए प्रहरी बजार व्यवस्थापन समितिले आफैँ हटाई दिने र त्यसको कुनै क्षतिपूर्ति प्राप्त नहुने कानूनी व्यवस्था रहेको समेत नगरपालिकाले जानकारी दिएको छ । रासस
डा. देवकोटाको निधनबाट प्रधानमन्त्री स्तब्ध
काठमाडौै, असार ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधनको खबरले आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँले हिजो साँझ ट्वीट गर्दै नेपालको स्वास्थ्य विज्ञान क्षेत्रमा डा. देवकोटाले पु¥याउनुभएको योगदानलाई राष्ट्रले सदा स्मरण गरिरहने उल्लेख गर्नुभएको छ । यस दुःखद् घडीमा दिवंगत डा देवकोटाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकुल परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।
एआईजीको बढुवा किन रोकियो ?
काठमाडौं, असार ५ । गृह मन्त्रालयले नेपाल प्रहरीमा वरिष्ठ डीआईजीहरुलाई अवकास दिने मनसायले अतिरिक्त महानिरीक्षक (एआईजी) को बढुवा रोकेको छ । एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआईजीसम्म रिक्त सबै पदमा बढुवा भएपनि सेवा प्रवेश र वरियताका आधारमा अगाडी रहेका ६ जना डीआईजीलाई अवकास दिएर मात्रै एआईजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको नियत देखिएको हो । बढुवाका लागि पुष्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रक शाह, शरद चन्द, ठुले राई, धिरु बस्नयात, मनोज न्यौपाने, सुरेशविक्रम शाहलगायत डीआईजी प्रतिस्पर्धामा छन् । कारोवार दैनिकमा खबर छ ।
मन्त्री यादवको निर्देशन अवज्ञा, किसान सिंहदरबार धाइरहन बाध्य
काठमाडौं, असार ५ । गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए । उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए । मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन् । मन्त्री यादवको निर्देशन बेकामे भएको छ । उखु बेचेको सात अर्ब रुपैयाँ रकम चिनी उद्योगीबाट भुक्तानी दिलइदिने व्यवस्था मिलाउन विभिन्न जिल्लाका किसान सिंहदरबार धाइरहेका छन् । महोत्तरी, धनुषा, सर्लाही, रौतहट, बारा, नवलपरासीलगायतका जिल्लाका किसानले रकम नपाएका हुन् । नागरिक दैनिकमा खबर छ ।
सरकार सहभागीबारे राजपामा छलफल सुरु
काठमाडौ, असार ५ । राष्ट्रिय जनता पार्टी (राजपा) भित्र सरकारमा सहभागी हुने नहुनेबारे छलफल सुरु भएको छ । राजपाको सोमबार सुरु राजनीतिक समिति बैठकमा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य राजेन्द्र महतोले यसबारे प्रस्ट धारणा दिन सदस्यहरूलाई आग्रह गरेका छन् । ‘सरकारले हामीलाई सामेल हुन बारम्बार भनिरहेको छ,’ ठाकुरले बैठकमा भने, ‘एउटा राजनीतिक दल सरकारमा नजाने भन्ने त हुँदैन तर गएदेखि किन र के सर्तमा जाने भन्ने प्रश्न उठ्छ । त्यसैले यसबारे साथीहरूको धारणा बाहिर आओस् ।’ त्यसलगत्तै महतोले संविधान संशोधनको विषयमा सरकारको धारणा, थुनामा परेका कार्यकर्ताको मुद्दा फिर्ता र सांसद रेशम चौधरीको शपथग्रहण गराउनुपर्ने माग पूरा नभएसम्म सरकारमा जान नहुने धारणा राखे । बैठकमा ठाकुर र महतोले मात्रै बोलेका थिए । ठाकुरले पार्टीको विधान बनाउने, महाधिवेशन गर्ने र पार्टीको वैधानिकता बचाउने सन्दर्भमा पनि समितिका सदस्यको धारणा मागेका थिए । ६ वटा दलको एकीकरणपछि गत वर्ष असार ३० गते गठन भएको राजपाले निर्वाचन आयोगसमक्ष एक वर्षभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चुन्ने वाचा गरेको थियो । तर तोकिएको समयमा निर्वाचन हुन नसकेपछि आयोगले राजपालाई गत साता पत्र लेख्दै एक महिनाभित्र महाधिवेशन गरेको जानकारी दिन भनेको थियो । यसरी आफ्नो वैधानिकतामै प्रश्न उठेपछि त्यसबारे छलफल गर्न राजनीतिक समिति बैठक बसेको हो । ‘हामीले एक महिनाभन्दा कम समयमा महाधिवेशन गर्न सक्ने अवस्था छैन,’ महतोले बैठकमा भनेका थिए, ‘त्यसै हुनाले निर्वाचन आयोगलाई पत्र लेखेर थप ६ महिनाभित्र महाधिवेशन गर्ने समय माग्ने एक मात्रै विकल्प छ । होइन भने पार्टी बचाउन सकिँदैन ।’ महतोले निर्वाचन भएको यतिका समयसम्म संसदीय दलको नेता चुन्न नसक्नुले पार्टीको अकर्मण्यता सिद्ध भएको भन्दै त्यसलाई चिर्न शीघ्र कसै न कसैलाई नेता चुन्नुपर्ने बताए । कान्तिपुरमा खबर छ ।
विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी तीव्र
काठमाडौं, असार ४ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मनसुनको सम्भावित जोखिम न्यूनीकरण गर्न सरकारका सरोकारवाला मन्त्रालय, प्रदेशस्तरका मन्त्रालय र स्थानीय सरकार आपसमा समन्वय गरी विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐनको दफा ३ बमोजिम प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्री, प्रदेशका मुख्यमन्त्रीसहित आज सिंहदरबारमा बसेको बैठकलेसरोकार भएका सबै मन्त्रालयले समयमा आवश्यक पर्ने अत्यावश्यक उपभोग्य वस्तु, उपकरण, औजार, डुङ्गा, औषधिलगायत पर्याप्त व्यवस्थासहित विपद्को पूर्वतयारी तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको हो । बैठकले बाढीपहिरो, आगलागी, भूकम्प, महामारीजस्ता विपद्का घटना र सोबाट हुने क्षतिका सम्बन्धमा जनचेतना फैलाउनाका साथै सम्भावित जोखिम न्यूनीकरणका लागि सबै मन्त्रालय, प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति तथा सुरक्षा निकाय सबैले समन्वय गरी आआफ्नो कार्यलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सबै जिल्ला विपद् व्यवस्थापन समितिले आआफ्ना जिल्लामा रहेका स्थानीय विपद् व्यवस्थापन समितिलाई समन्वय गरी विपद्पूर्व, विपद् र विपद्पछि स्वतः परिचालन हुन अनुरोध गर्ने र सो कार्यका लागि नेपाल रेडक्रसलगायत मानवीय सहायतामा काम गर्ने गैरसरकारी संस्थाले आवश्यक सहयोग पु¥याउने निर्णय गरेको छ । नेपाली सेनाले विपद्मा हुने जनधनको क्षति ध्यानमा राखी तत्काल परिचालन हुन सक्ने गरी प्रदेश नं १ मा इटहरी, प्रदेश नं ४ पोखरा र कर्णाली प्रदेशको सुर्खेतमा हेलिकप्टरसहितको खोज उद्धार टोली तयारी अवस्थामा राख्ने निर्णय आजको बैठकले गरेको छ । परिषद्को बैठकले मनसुनमा हुन सक्ने सम्भावित सडक अवरोधलाई तत्काल समाधान गर्न हेभी इक्युपमेन्टसहितको आवश्यक जनशक्ति रणनीतिक स्थानमा राख्न आवश्यक व्यवस्था भौतिक योजना तथा निर्माण मन्त्रालय र अन्य सम्बद्ध निकायले मिलाउने निर्णय गरेको छ । बैठकले विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति, २०७५ र विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना (२०१८–२०३०) लाई परिमार्जनसहित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ५ को (क) बमोजिम स्वीकृति गरेको छ । जल तथा मौसम विज्ञान विभागले जल तथा वर्षा मापन केन्द्रमा रहेका उपकरणलाई चालू अवस्थामा राख्ने, पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन उक्त विभागबाट प्राप्त हुने सूचनालाई मोबाइल सेवा प्रदायक नेपाल टेलिकमलगायत अन्य सेवा प्रदायक र सञ्चारमाध्यममार्फत जनसमक्ष पु¥याउने व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने जिम्मा बैठकले दिएको छ । यसैगरी प्रदेश, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सबै प्रकृतिका विपद् पूर्वतयारीका लागि आश्यक सामग्री तथा औजार खरिद गरी विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र सोका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ । प्रदेशका मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेशस्तरीय विपद् व्यवस्थापन समितिलाई शीघ्र पूर्णता दिई क्रियाशील बनाइने, प्रदेशस्तरमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति गठन गरिने तथा स्थानीय निकायका प्रमुखको संयोजकत्वमा स्थानीयस्तरमा विपद् व्यवस्थापन समिति गठन गरी ती समितिलाई क्षमता, स्रोतसाधन र अधिकारसहित सक्रिय बनाइने निर्णय बैठकले गरेको छ । सरकारी निकाय, राजनीतिक दल एवं सोसँग सम्बन्धित संगठन, गैरसरकारी संघसंस्था एवं निजी क्षेत्र र नागरिकको समेत सहभागिता एवं सहकार्यमा विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णयसमेत बैठकले गरेको छ । विकासका लागि अवरोध भएका र प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेका मानव बसोवास एवम् बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई प्राथमिकतापूर्वक अगाडि बढाइने निर्णय बैठकले गरेको छ ।
सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा
सुजुकीका चार पाङ्ग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक विक्रेता तथा सीजी होल्डिंगको अटोमोटिभ विभाग सीजी मोटोकर्पले बजारमा आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ । यस मोडेलको अनावरण संयुक्तरुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र लोकप्रिय राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनद्वारा गरिएको थियो । यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एलइडी प्रोजेक्टर हेडल्याम्प, कट टु–टोन अलोय व्हील तथा अर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहितएक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ताप्रविधिले उच्चस्तरीय पर्फमेन्स यात्रु, पैदल यात्री एवं बालबच्चाको सुरक्षामा केन्द्रित डुवल एयरब्याग, इबिडिसँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्टिभ कन्ट्रोल टेक्नोलोजी प्रविधिसँगै ल्याइएको हो । सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटफर्ममा निर्मित नयाँ स्विफ्टको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फमेन्स सहित बजारमा ल्याइएको छ । स्विफ्टको यस नयाँ मोडेल प्रस्तुत गर्दै सीजी मोटोकोर्पका कार्यकारी निर्देशक करण चौधरीले भन्नुभयो– ‘यस नयाँ स्विफ्ट यसको आकर्षक रुप तथा उत्कृष्ट पर्फमेन्सको लागि रुचाइएको छ । यस नयाँ संस्करणसँगै, यसका फिचरहरु एक नयाँ शिखरमा पुगेका छन् । २००५ मायसको सुरुवातसँगै स्विफ्ट राष्ट्रकै पहिलो रोजाइको सवारी बन्नपुगेको छ । मजबुती, उत्कृष्ट पर्फमेन्स तथा आधुनिक सुरक्षा प्रविधियुक्त यस नयाँ प्रस्तुती सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याट फर्ममा निर्मित छ । नयाँ फिचरहरुले भरिपूर्ण यस सवारीले उपभोक्तालाई निश्चितरुपमा उत्साहित गर्ने छ । ” “म विश्वस्त छु, यस नयाँ स्विफ्टसँगै हामी हाम्रा उपभोक्ताहरुका भावनालाई बुझेर उहाँहरुको अपेक्षाअनुसारको सवारी प्रदान गर्न सफल रहने छौं’ चौधरीले भने । उपभोक्ताहरुले यस नयाँ स्विफ्टको सर्वोत्कृष्ट फ्युल इफिसेन्सीको प्रशंसा गर्नेछन् । यस मोडेलले पेट्रोलमा २२.० किमि–लिटर प्रदान गर्दछ । २८ प्रतिशत धेरै लगेज स्पेसको सुविधा प्रदान गर्ने यस सवारीको ४० मिमि धेरै चौडा र २० मिमिलामा व्हील बेस रहेको छ । यस मोडेलको विकासमा रु.७०० करोडभन्दा धेरै लागत देखिएको छ । यस सवारीको प्रारम्भिक अफरसहित मूल्य रु २८,९९,००० तोकिएको छ ।
थाल ठटाउँदै रामेछापका व्यवसायी सडकमा
रामेछाप, असार ३ । रामेछापका व्यवसायी र सर्वसाधारणले रित्ता थाल ठटाउँदै आइतबार मन्थली बजारमा सरकारको विरोधमा प्रदर्शन गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि बीपी राजमार्गमा ठूला सवारी संचालनमा सरकारले रोक लगाएको छ । खाद्यान्न ओसारपसार गर्ने मालबाहक गाडी सञ्चालनमा प्रतिबन्ध लगाएपछि १२ दिनदेखि रामेछापमा खाद्यान्न लगाएतका सामाग्री ढुवानी हुन सकेको छैन । वर्षायामलाई ध्यानमा राखि व्यवसायीले यसअघि भण्डारण गरेको सामाग्री सकिएका छन् । तराईबाट पहाड जोड्ने एक मात्र राजमार्गमा सवारी सञ्चालन रोकेपछि व्यवसायीले गोदाममा सामाग्री थप गर्न सकेका छैनन् । मौज्दात गरेका सामाग्री सकिएको भन्दै जिल्लाका व्यवसायीहरुले आइतबार खान पाउने अधिकारको सुनिश्चिताको माग गर्दै रित्ता थाल ठटाएर प्रदर्शन गरेका हुन् । बजार बन्द गरी प्रदर्शनमा निस्कीएको व्यवसायी र सर्वसाधारणले मन्थली बजार परिक्रमा गरेका थिए । स्थानीय देवकोटा चोकमा भएको कोण सभामा व्यवसायीका अगुवाहरुले सर्वोच्चले आदेश नसच्चीए रामेछापबासी भोकभोकै मर्नुपर्ने बताए । जिल्लामा आवश्यक पर्ने करीब ७० प्रतिशत खाद्यान्न बीपी राजमार्ग हँदै भित्रिने गरेकोमा हाल उक्त मार्ग ठप्प हुँदा त्यसको असर जिल्लामा देखापरेको व्यवसायीहरुको भनाई छ ।

