अब डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई ५० प्रतिशतसम्म भत्ता

काठमाडौ, चैत २ । सरकारले डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई ५० प्रतिशतसम्म भत्ता दिने भएको छ ।

स्वास्थ्य सेवालाई अझ बढी प्रभावकारी, गुणस्तरीय एवं पहुँचयोग्य बनाउन स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीहरुको मनोबल बढाउन प्रोत्साहन भत्ता दिने व्यवस्था गरेको हो।

मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले ‘स्वास्थ्य मन्त्रालय मातहतका कर्मचारीको प्रोत्साहन भत्ता सम्बन्धी कार्यविधि २०७३’ पास गरिसकेको छ । उक्त कार्यविधिमा स्वास्थ्यका कर्मचारीले आठ वटा सूचकका आधारमा सुरु तलबको ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउनेछन् ।

कार्यविधि अनुसार स्वास्थ्यका कर्मचारीलाई सूचकका आधारमा ५ देखि २५ नम्बरसम्म प्रदान गरिनेछ । उक्त आधारमा कर्मचारीले प्राप्त गरेको अंकभारका आधारमा भत्ता प्रदान गरिने व्यवस्था छ ।

कार्यविधिमा कर्मचारी भनेर स्वास्थ्य सेवामा आबद्ध चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवाका अन्य कर्मचारी भनेर परिभाषित गरिएको छ । यस्तै, स्वास्थ्य संस्था भनेर मन्त्रालय माताहतका केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र अन्तरङ्ग सेवा सञ्चालन हुने स्वास्थ्यचौकी रहेका छन् ।

यस्ता छन् अण्डा खाँदा हुने फाइदाहरु

फागुन २८ । अण्डा हामीले धेरैले प्राय खाने कुरामा पर्छ । तर अण्डा खाए केकति फाइदा हुन्छ भन्नेबारे भने कमैलाई थाहा होला । यस्ता छन् अण्डा खाँदा हुने फाइदाहरु – अण्डामा भिटामिन ए, डी, बी १२ सँगै रिबाफ्लेविन, फस्फोरस, फोलेटलगायत तत्व पाइन्छन् । यी तत्वले शरीरलाई बलियो राख्ने, दिमाग तेजिलो बनाउने र आँखाको ज्योति बढाउने गर्छ । – शरीरको वजन घटाउने सोचिरहनुभएको छ भने अण्डा तपाईंका लागि उपयोगी हुन सक्छ । एउटा अण्डामा ७० क्यालोरी र छ ग्राम प्रोटिन हुन्छ । त्यही भएर अण्डालाई कम क्यालोरी भएको खानाका रूपमा चिनिन्छ । भोक लागेको बेला अण्डा खानुभयो भने यसले शरीरमा क्यालोरीको इन्टेक उल्लेख्य मात्रामा नबढाई तपाईंको भोक शान्त गराउँछ र शरीरलाई मोटाउन दिँदैन । – अण्डाको सेतो भागमा अल्ब्युमिन नामक प्रोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरलाई ऊर्जावान राख्न मद्दत पु¥याउँछ । त्यही भएर ब्रेकफास्टमा अण्डा लिने गर्नुभयो भने दिनभरि तपाईंलाई काम गर्ने ऊर्जा प्राप्त भइरहन्छ । – अण्डामा क्याल्सियम, भिटामिन डी आदि पाइन्छन्, जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छन् । – बिहान उठेपछि अल्छी महसुस गर्नुभयो भने अण्डा खाने गर्नुस् । यसले ‘इनर्जी बुस्टर’को काम गर्छ र तपाईंलाई जाँगरिलो बनाउँछ । – अण्डाको पहेँलो भागमा पाइने बायोटिन नामक तत्वले कपाल र छालालाई बलियो र चम्किलो बनाउन मद्दत पु¥याउँछ । खानुको साथै अण्डाको पहेँलो भागलाई कपालमा लगाउने गर्नाले कपाल नरम र चम्किलो बन्छ ।

‘नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने रोगबाट’

काठमाडौं, फागुन २७ । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ । खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको संख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने र ४० प्रतिशतको मृत्यु सरुवा रोगका कारण हुने गरेको छ । सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि सरकारले ८२ वर्षअघि नै सरुवा रोग केन्द्रको स्थापना पनि गरिसकेको छ भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसमा काम गरेको छ । तर, पछिल्लो समय एकाएक बढेको नसर्ने रोगको नियन्त्रणका लागि भने अझै चुनौति थपिएको छ । सरकारले १२ प्रकारका कडा रोग लागेका बिरामीलाई रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने मिर्गौलाको निःशुल्क डायलासिस गरेको छ । वैशाखबाट मिर्गौलाको प्रत्यारोपण पनि निःशुल्क गरिने स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ । १५ वर्षमुनि र ७० वर्षभन्दा माथिका बालबालिका र वृद्धवृद्धालाई मुटुको उपचार निःशुल्क छ भने यसै वर्षदेखि बाथ–मुटुरोगीको पनि भल्व शल्यक्रियालगायत फागुन १५ गतेबाट उपचारसमेत निःशुल्क गरिसकेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा। ऋषिकुमार काफ्लेले असन्तुलित खाना, जङकफुड सेवन गर्ने, पर्याप्त पानी नपिउने, धूमपान र मद्यपान गर्ने र शारीरिक व्यायाम गर्दै नगर्ने कारण नसर्ने रोगको जोखिम बढाएको बताए । क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, हृदयघात, मिर्गौला फेलजस्ता नसर्ने रोगको परीक्षण र उपचारमा जानका लागि स्वास्थ्य मन्त्रालयले ‘पेन प्याकेज’ कार्यक्रमअन्तर्गत् देशभरका एक हजार स्वास्थ्य चौकीबाट यसै वर्षबाट सेवा दिने तयारी गरेको छ । स्वास्थ्यमन्त्री थापाकाअनुसार त्यसका लागि परीक्षण उपकरण खरिद गर्ने, जनशक्तिलाई तालिम दिनेलगायतका काम सुरु भइसकेको छ । यो सेवालाई आगामी वर्ष सबै स्वास्थ्यचौकीमा विस्तार गर्ने मन्त्रालयको योजना छ । काठमाडौंमा १० सहरी हेल्थ प्रमोसन सेन्टर खोल्न नीतिगत निर्णय गरी तयारीका लागि स्थानसमेत टुंगो लगाइ काम अगाडि बढाइसकेको छ । रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तमकार्य भएकाले जीवनशैली स्वास्थ राख्नुपर्ने चिकित्सको सुझाव छ ।

सफा पानीले जाेगाउन सक्छ मिर्गौलालाई

काठमाडौँ, फागुन २५ । सफा पानीको पर्याप्त मात्रामा पिउनाले मिर्गौला रोगबाट बच्न सकिन्छ । अधिकांश मानिसको मिर्गौला विग्रिनुमा पानी कम पिउने कारण नै हुन्छ । पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्षदिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेका छन् । खाडीमुलुकमा पुगेपछि त्यहाँ हुने जलवियोजनका कारण मिर्गौलामा समस्या देखिएको विभिन्न अनुसन्धानले देखाएको छ । मानिसहरु लामो समयसम्म काम गर्ने आवश्यक मात्रामा पानी नपिउने र शरीरको थकाइ दुखाइबाट छुटकारा पाउन पेनकिलर (नदुख्ने औषधि) खाने र अत्याधिक मासु सेवन गर्ने गरेकाले धेरैको मिर्गौलामा समस्या देखिएको राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा ऋषिराम काफ्ले बताउँछन् । शरीरमा जम्मा हुने दूषित पदार्थ छानेर बाहिर निकाल्नु मिर्गौलाको मुख्य काम हो। यसबाहेक मिर्गौलाले हर्मोन पैदा गर्छ । रगत बन्नका लागि आवश्यक हर्मोन पनि यसले बनाउँछ । शरीरको आन्तरिक वातावरण मिलाउने काम मिर्गौला र फोक्सोको हो । हामीले खाएको खानाबाट आवश्यक पोषण लिने र नचाहिने तत्व फाल्ने काम मिर्गौलाको हो । तर पर्याप्त पानी पिउँदा मिर्गौलाले काम गर्न छोडेकाले नेपाल फर्कनुपर्ने अवस्था बढ्न थालेको हो । पानी मात्र होइन खानामा आएको परिवर्तनले मोटोपनले पनि मिर्गौला खराबीको जोखिम बढाएको छ । मोटोपनले पनि मिर्गौला खराब गर्ने भएकाले खानपान र जीवनशैलीमा ध्यान दिनुपर्ने सम्बद्ध चिकित्सकको भनाइ छ । अनियन्त्रित खानपान र व्यायामको कमीका कारण मोटोपन बढ्दै गएको हो। त्यसरी मोटोपन हुनु मिर्गौलामा समस्या हुने सङ्केत बन्ने सम्भावना रहन्छ । त्रिवि शिक्षण अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा दिव्यसिंह ठकुरी मधुमेह, र उच्च रक्तचापका बिरामीमा पनि मिर्गौलामा समस्या बढी देखिने बताउँछिन् । यस्ता कारणले मात्र पनि मिर्गौलामा खराबी नदेखिने भएकाले बेलाबेलामा पिसाब र रगत जाँच गरी मिर्गौैलाको अवस्थाबारे थाहा पाइ राख्नुपर्नेमा उनको राय छ ।

सर्वसाधारणलाई इन्फुलएन्जाबाट सर्तक रहन अपिल

तनहुँ, फागुन २५ । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले इन्फुल्एन्जाबाट सर्तक रहन सर्वसाधारणलाई अपिल गरेको छ । जलवायु परिवर्तनका समयमा इन्फुलएन्जाको सम्भावना बढी हुने हुँदा जिल्ला स्वास्थ्य कार्यालय तनहुँले सो अपिल गरेको हो । स्वास्थ्य कार्यालयले पत्रपकार सम्मेलन आयोजना गरी सो अपिल गरेको हो । यतिखेर बर्डफ्लु र स्वाइर्नफ्लु सर्ने सम्भावना रहेकाले ती रोगबाट बच्न सबै सजग हुनुपर्छ जिल्ला जनस्वास्थ्य अधिकृत गौरव ढकालले पत्रकार सम्मेलनमा भने । त्यस्तै पत्रकार सम्मेलनमा डा पवनजङ्ग रायमाझीले समेत इन्फुलएन्जाबाट सर्तक रहनुपर्नेमा जोड दिए ।

पोलियो थोपा नखुवाउने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गर्ने, १८ जना स्वास्थ्यकर्मी निलम्बित

काठमाडौं, फागुन २२ । सरकारको पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको भएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको भन्दै गृह मन्त्रालयले पोलियो थोपा कार्यक्रममा अवरोध पु¥याउनेलाई पक्राउ गर्न आदेश दिएको हो । सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर त्यस्ता अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले आदेश दिएको छ । सरकारले उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । यस्ता छन् निलम्बितहरुको नामावली १. राजकुमार थापा को.चे.अ.पाँचौ जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर २. सुरेन्द्रराज जोशी सि.अ.हे.ब.छैटौ बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु ३.विष्णुबहादुर क्षेत्री सि.अ.हे.ब.छैटौ मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु ४.विरेन्द्र कुमार मिश्र सि.अ.हे.ब.छैटौ बेदौली स्वास्थ्य चौकी कपिलवस्तु ५.पृथ्वीचन्द्र भगत सि.अ.हे.ब.छैटौ महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी ६.महेश पोखरेल सि.अ.हे.ब.छैटौ मधेशा स्वास्थ्य चौकी, सुनसरी ७.अनिल कुमार पाण्डेय सि.अ.हे.ब.छैटौ सिर्सिया स्वास्थ्य चौकी, पर्सा ८.राजेशप्रसाद रौनियार सि.अ.हे.ब.छैटौ सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा ९.शेषराज दाहाल सि.अ.हे.ब.छैटौ सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर १०.देवनारायण साहु सि.अ.हे.ब.छैटौ बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी ११.छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी १२.नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी १३.टोपबहादुर थापा सि.अ.हे.ब. धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ १४.बासुदेब पोखरेल सि.अ.हे.ब. देबस्थल स्वास्थ्य चौकी, सल्यान १५ रमेश कार्की सि.अ.हे.ब.छैटौ बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग १६ डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा १७ सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, धनुषा १८ संजयकुमार काफ्ले सि.अ.हे.ब.छैटौ स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

स्वास्थ्यकर्मीका कारण चार जिल्लामा पोलियो खोप कार्यक्रम अवरोध

काठमाडौँ, फागुन २१ । आज र भोलि हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ स्वास्थ्यकर्मीको अवरोधका कारण चार जिल्लामा सञ्चालन हुन सकेन । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी र कैलाली आज पोलियो खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो । सरकारले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो खोप कार्यक्रम गर्ने तय गरेको थियो । ती जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम छ । कपिलवस्तु, काठमाडौँ, ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम भएको स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । धनुषामा भने साँझ ५ बजेपछि मात्र खोप कार्यक्रम सञ्चालन भएको बताइएको छ । उनले कार्यक्रम सुरु नभएका र सुरु भएर पनि अवरोध भएका जिल्लामा २२ र २३ गतेसम्म बालबालिकालाई पोलियो खोप लगाउने विश्वास व्यक्त गरे । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि कार्यक्रम सुरु भएका केही जिल्लामा धेरै गाविसमा भने अवरोध कायम रहेको छ । धेरै जिल्लामा निकै ढिला गरी सुरु भएकाले आज कति बालबालिकालाई पोलियो खोप दिइयो भन्ने यकिन तथ्याङ्क नआएको अधिकृत श्रेष्ठले बताए ।

दलितबस्तीमा फैलिएको झाडापखालाबाट ५८ बिरामी, विरामी ओसार्न एम्बुलेनसको अभाव

धादिङ, फागुन २० । धादिङको ज्याम्रङ्गस्थित दलित वस्तीमा झाडापखालाले महामारीको रुप लिएको छ । वस्तीमा विषाक्त खाना र दूषित पानी पिउनुपर्ने बाध्यका कारण सो बस्तीमा झाडापखाला फैलिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । केही दिनअघि विवाहभाेज खाएकाहरू पनि विरामी भएका छन् भने अन्य भने विवाह भाेजमा सामेल नभएकाहरू पनि विरामी परेका हुन् । पानीको चरम अभावका कारण एक हप्ताअघि मात्रै बस्तीमा एक दर्जन प्लास्टिक ड्रमका काला ड्रम राखेर खानेपानी संकलन र वितरण गरिएकोमा हाल सोही प्रदुषित पानी कारण ज्याम्रुङ्ग–७ को कुमाईगाउँ दलितबस्ती दलित बस्तीमा झाडावान्ता र पखालाको प्रकोप फैलिएको हो । एकै परिवारका १८ जना बिरामी भएपछि सदरमुकामस्थित जिल्ला अस्पतालमा पुर्‍याएइको छ भने थप ४० जना बस्तीमै छटपटाइरहेका छन् । एक्कासी फैलिएको झाडापखालाको प्रकोपका कारण विरामी ओसार्न एम्बुलेन्सको समेत समस्या भएको विरामीका आफन्तजनले बताएका छन् । हाल विरामीको जिल्ला अस्पतालमा उपचार भईरहेको छ । भूकम्पमा काम गर्न आएको संस्थाले स्थानीय झाक्रेखोलाको मुहानबाट पानी ल्याएर गत हप्तामात्रै १ हजार लिटर क्षमताका १२ वटा काला ड्रमहरु बस्तीका विभिन्न स्थानमा राखिदिएको थियो । त्यसपछि मंगलबारबाट बस्तीमा झाडापखालाको महामारी फैलिएको हो । केहीलाई बस्तीमै उपचार गर्न स्वास्थ्यकर्मीको टोली पठाइएको र स्थानीयवासीको दाबी जे भए पनि विषाक्त खानाका असरहरु देखा परेको प्रजिअ उमेश ढकालले बताएका छन् ।

बाबुले रोग लुकाएका कारण पाँच बालबालिका जन्मँदै एचआइभी संक्रमित

रोल्पा, फागुन १९ । आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । हातमुख जोड्नका लागि दैनकी गुजारा चलाउनका लागि यहाँका मानिसहरु छिमेकी मुलुक भारत जाने क्रम रोकिएको छैन । भारतका विभिन्न ठाउँहरुमा ज्याला मजदुरी गर्ने अनि घर फर्किएर रोग लुकाउने गर्नाले यहाँका पाँच नानीहरुमा जन्मदै एचआईभी एड्स सक्रमित भएका छन् । प्रवासी बाबु अनि घरधन्दामा सीमित आमाबाट जन्मेका ती निर्दोष पाँच बालबालिकाले अहिले दयनिय जीवन जिउँदै आएका छन् । समाजमा रोगबारे थाहा होला भन्ने डर, रोगले च्याप्दै गएपछि काम गर्न नसकिने अवस्था, निरन्तर औषधीको प्रयोग गर्न पर्याप्त रुपैयाँ नहुनु यस्तै–यस्तै पीडामा एचआइभी एड्स सङ्क्रमित बालबालिकाहरु बाँचिरहेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिएकी छिन् । वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका अध्यक्ष विकले बताइन् । यसरी एचआइभी एड्स सङ्क्रमित हुने बालबालिकामा पूर्वि रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छिन् । वैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुबा एचआइभी एड्स सङ्क्रमित भएर करिब १५ वर्ष पहिले स्वदेश फर्किएका थिए । रोग लुकाएका कारण श्रीमतीलाई पनि एचआईडी एड्स सङ्क्रमित भइन् । सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी पनि जन्मँदै एड्स सङ्क्रमित भएर जन्मेकी हुन् । हाल आसमतीका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छिन् । स्थानीय गाउको स्कुलमा उनी कक्षा ३ मा पढ्छिन् । यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदीबहिनी एड्स सङ्क्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि सङ्क्रमित बाबुआमाबाट जन्मेका हुँदा जन्मँदै एड्स सङ्क्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुबाले घरमा आएका बेला श्रीमतीलाई आफू सङ्क्रमित भएको कुरा लुकाएपछि श्रीमती पनि एड्स सङ्क्रमित भएकी थिइन् । उनीहरुबाट जन्मेका दुई छोरी पनि एड्स सङ्क्रमित भएर बाँच्न बाध्य भएका छन् । गाउँकै विद्यालयमा ३ र ४ कक्षामा पढ्ने ती बालिकाहरु एड्स सङ्क्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । त्यस्तै दक्षिण रोल्पाकी रामप्यारी शीतल (नामपरिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित भएर जीवन जिउँदै आएकी छिन् । हाल उनी १८ वर्ष पुगिसकेकी छिन् भने उनले गत वर्ष एसएलसी परीक्षासमेत उत्तीर्ण गरिसकेकी छिन् । गाडी चलाउन उनका बुबा पनि १६÷१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुृगेका थिए । आफू एचआइभी एड्स सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिँदा घरमा फर्केका बेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मँदै एड्स सङ्क्रमित भइन रामप्यारी । उत्तर पूर्वि रोल्पाका १७ वर्षीय अशेष राहत (नाम परिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित बाबुआमाबाट जन्मेका कारण सङ्क्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसँग राख्ने आश्वासन दिएर भारतको चण्डीगढ पुगेका उनका बुबा भारतमा ज्याला मजदुरी गर्थे । सङ्क्रमित भएर स्वदेश फर्किए तर आफू सङ्क्रमित भएको कुरा कसैलाई भनेनन् । अन्ततः श्रीमान् श्रीमती दुवैमा एचआइभी एड्सले आक्रमण ग¥यो । दुवैजना लगातार बिरामी पर्न थालेपछि चेकजाँचका क्रममा श्रीमान्/ श्रीमती र छोरामा समेत एचआइभी एड्स सङ्क्रमण देखियो । हाल परिवारका तीनैजनाले निरन्तर औषधि सेवन गरिरहेका छन् । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी पाँच निर्दोश बालबालिकाको उज्ज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा हालसम्म एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । समाजले एचआइभी एड्स सङ्क्रमितलाई नबुझेका कारण केही सङ्क्रमित जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् ।

राजधानीमा ‘स्वाइन फ्लु’का बिरामी भेटिए, यस्ताे छ बच्ने उपाय

काठमाडौं, फागुन १९ । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाइन फ्लु विरामी भेटिएका छन् । ज्वरो आएपछि उपचार गराउन आएका एक व्यक्तिमा स्वाइन फ्लुको लक्षण देखा परेको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकैअगाडि सो रोगको भाइरस देखिएको डा. पुनले बताए । उनले भने–‘दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।’ खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । स्वाइन फ्लु सरुवा रोग भएकाले यो एकअर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए । पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।

सुशील कोइराला क्यान्सर अस्पताल स्थापना गर्ने सरकारको निर्णय

काठमाडौँ, फागुन १७। सरकारले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने निर्णय गरेकाे छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य क्षेत्रको व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि विश्व बैंकको रु १५ अर्ब ९३ करोड ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले जानकारी दिए । त्यस्तै बाँकेमा बैठकले बाँकेमा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ स्थापना गर्ने र विद्यमान बजेटको सीमाभित्र रहेर विभिन्न कार्यक्रममा आवश्यक पर्ने रकम पठाउने निर्णय गरेको मन्त्री पाण्डेले जानकारी दिए । सरकारले वन क्षेत्रको सुरक्षा गर्न नेपाली सेनाका सात सय जनशक्ति कामकाजमा खटाउने र सरकार तथा निजी क्षेत्रको सहभागितामा पूर्वाधार विकास बैंक स्थापना गर्ने निर्णय गरेको छ ।  

आयू बढाउन खानुस् यी फलफूल–तरकारी

फागुन १५ । हरेक दिन नयाँ तथा ताजा फलफूल– तरकारी खाएमा आयू बढ्ने एक अध्ययनले देखाएको छ । इम्पीरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरुले २० मानिसमा गरेको अध्ययनपछि यो निचोड निकालेका हुन् । हरेक वर्ष ७८ लाख मानिसहरु खानाको सन्तुलन नमिलाउनाका कारण मृत्यु हुने अध्ययनले देखाएको छ । त्यस्ता ताजा फलफूल तथा तरकारीहरु जसको प्रयोगले हृदयरोगमा कमी आउन सक्छ । एक पटकमा ८० ग्राम केरा, एउटा नास्पाती, मटर, पालकको तीन चम्चा बराबरको फल, तरकारी या दिनभरमा १० पटकसम्ममा खाने गरेमा मानिसको आयु बढ्ने बताइएको छ । हरियो तरकारी पालक, पहेलो खुर्साली, फूलगोभीलगायतका तरकारीहरु खानाले क्यान्सर हुनबाट बचाउन सक्छ । त्नाशपाती, खट्टे फल, सलाद, हरियो पत्तेदार तरकारी, काउली खानेहरुको हृदय रोग तथा दिलको ढड्कनको खतरा पनि कम हुने असामयिक मृत्यु हुने खतरा घट्ने इंटरनेशनल जर्नल अफ एपिडेमियोलॉजीमा प्रकाशित छ । जो दिनभरीमा कुनै फल या तरकारीहरु खाँदैनन तिनीहरुलाई बढी ह्रदय रोग, क्यान्सर, अकालमा मृत्य हुने खतरा बढी हुन्छ । फलफूल या रेसादार तरकारी खानेहरुमा कोलस्ट्रोल लेबलमा हुने र ब्लड प्रेसर पनि कम हुने अनुसन्धानमा संलग्न डाक्टरहरुले बताएका छन् । त्यस्ता फलफूल तथा तरकारीहरुले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई शक्तिसाली बनाउने र रक्त धमनिया पनि राम्रो बताउने बताइएको छ ।

जेष्ठ नागरिकहरूको निःशुल्क स्वस्थ्य परिक्षण

लमजुङ, फागुन १५ । लमजुङको राइनास नगरपालिका अन्र्तगत हर्राबोटमा रहेको सर्बोदय सेवाआश्रममा जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । पाचौँ स्वास्थ्य सेवा दिबसको अवसर पारेर आइतबार जिल्ला स्तरीय कार्यक्रम समितीको आयोजनामा सो शिविर संचालन गरिएको हो । जिल्ला सामुदायिक अस्पताल बेशीसहरको प्राविधिक सहयोगमाल संचालित सो शिविरमा आश्रममा रहेका १४ जना वृद्ध–वृद्धाहरुको स्वास्थय परिक्षण गरिएको लमजुडका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादक्त चापागाईले जानकारी दिए । आश्रममा रहेका सबै बृद्धबृद्धाको स्वास्थ्य परिक्षण गरी, निशुल्क औषधी वितरण गरीएको थियो । शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालका डा. धिरज महराले सेवा दिएका थिए । सबैभन्दा जेष्ठ बृद्धा ८५ बर्षिय ताराकुमारी पाण्डे रहेकी छिन् ।

अस्पतालको फोहोर व्यवस्थापन गर्न माग

धरान फाल्गुन १३ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निस्कने फोहोर मैलाले विरामीलाई असर गरेको भन्दै त्यहाँका त्यहाँका चिकित्सकहरुले फोहोरमैला व्यवस्थापन गराउनका लागि माग गरेका छन् । अस्पतालबाट निस्कने फोहोरले क्यान्सरको जोखिम बढाएको भन्दै तत्काल फोहोर व्यबस्थापन गर्नुपर्ने माग चिकित्सकहरुले माग गरेका हुन् । अस्पतालबाट निस्कने फोहोरलाई प्रतिष्ठानले आफ्नै स्वामित्वमा रहेको नजिकैको जंगलमा व्यवस्थापन गर्दै आएको छ । चिकित्सक बस्ने आवास नजिकै शल्यक्रिया गर्दा प्रयोग भएका निडिल, सिरिन्ज, गजपिसहरु जलाउदा त्यसको धुँवाले असर गर्नुका साथै जंगलमै पनि पटक पटक आगोलागी भएको डा. रोशन कलवारले बताए । प्रतिष्ठानभित्र विरामीको शल्यक्रिया गर्दा दैनिक सरदर ५० देखि ६० किलो संक्रमणजन्य फोहोर निस्कने गरेको छ ।

अस्पतालले स्तरीय सेवा दिनुपर्छ : मन्त्री थापा

काठमाडौं, फागुन १३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पतालको लगानीमामात्र ध्यान नदिइ अस्पतालले दिने सेवा र सुविधासमेत गुणस्तरीय र भरपर्दो हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको सोह्रखुट्टेस्थित पर्यटक लक्षित २५ शैय्याको ‘एरा हेल्थ सेन्टर’को उद्घाटन गर्दै स्वास्थ्यमन्त्री थापाले सरकारले तोकेको मापदन्ड पुर्‍याएर सन्चालनमा आएको सो अस्पतालले स्वदेशी तथा विदेशी पर्यटकको गुणस्तरीय स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । अस्पतालका अध्यक्ष डा. गिर्वाणराज तिमिल्सिनाले कुनैपनि विदेशी नेपाल आउँदाको समय बिरामी परे उपचार गर्न पाएनौं भन्ने गुनासो नहोस् भन्ने उद्देश्यले सो अस्पताल सन्चालनमा ल्याएको बताए । मुलुकमा विदेशी नागरिकका लागिमात्र भनेर खोलिएका अस्पताल नगन्य भएका अवस्थामा यस अस्पतालले पर्यटकको स्वास्थ्य उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सो अस्पतालका निर्देशक भानु ढकालले बताए ।  

भोको पेटमा लिचि खानु खतरनाक, बिहारमा १ सय २२ को मृत्यु भएको खुलासा

पटना, फागुन १३ । भोको पेटमा लिचि खाँदा ठूलो जोखिम हुने अध्ययनमा पत्ता लागेको छ । बिहारको मुजफ्फरपुरमा विगत दुई दशकमा सयौं बालबालिकाको मृत्यु खाली पेटमा लिची खाएको कारण भएको पुष्टि भएपछि यो तथ्य थहा भएको हो । स्थानीय जनतामाझ ‘चमकी’ को बिरामीका नामले प्रख्यात यो रोग हरेक वर्ष मईमा देखिने गर्छ । हरेक वर्ष दर्जनौं बालबालिका यसको चपेटामा पर्छन् । सन् २०१४ मा मात्रै ३ सय ९० जना बालबालिका यसको शिकार भएका थिए । अस्पतालमा भर्ती भएका यीमध्ये १ सय २२ जनाको मृत्यु भएको थियो । भारत र अमेरिकाका बैज्ञानिकहरुले संयुक्त अध्ययन गरेपछि खाली पेट निकै बढी लिची खाएका कारण यो बिरामी भएको पुष्टि गरेका हुन । तीन वर्षसम्म चलेको यो अध्ययनको निश्कर्ष लेन्सेट ग्लोबल नामक विज्ञान पत्रिकामा प्रकाशित छ । वैज्ञानिकहरुका अनुसार, लिचिमा हाइपोग्लिसीन ए र मिथाइलेन्साइक्लोप्रोपाइल्गिसीन नामको विषालु तत्व धधध।भखभचभकतमबष्लष्प।अयm हुने गर्दछ । अस्पतालमा भर्ना भएका अधिकांश बालबालिकाको रगत र पिसाबको जाँचबाट उनीहरुमा यी तत्वहरुको मात्रा निकै बढी भएको देखिएको थियो । यी मध्ये अधिकांशले साँझ खाना खाएका थिएनन र बिहान धेरै बढी लिची खाएका थिए । बालबालिकामा कुपोषण भएको खण्डमा या यसअघि कुनै बिरामी भएको अवस्थामा झन बढी समस्या देखिने पनि अध्ययनमा थाहा भएको छ । लिचि निकै हुने मुजफ्फरपुरमा बालबालिकाहरु दिउँसो प्रायःजसो लिचिको बगैंचामा बिताउने अभिभावकहरुले बताए ।