स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार

काठमाडौं, फागुन १२ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ ।

अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप एक लाख रुपैयाँ प्रदान गर्ने गर्दछ ।

व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री कुमार खड्काले निःशुल्क गर्न लागेको जानकारी दिँदै यसका लागि मन्त्रालयलाई कति आर्थिक व्ययभार पर्छ भन्ने हिसाब गर्न लागिएको बताए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा महिलाको स्तन र पाठेघरका गरी वर्षेनि चार हजार नयाँ रोगी थपिने गर्छन् । मन्त्रालयले पाठेघर क्यान्सर रोगको पहिचानका लागि सबै महिलाको पाठेघर बायप्सी परीक्षण गर्ने व्यवस्था मिलाउन लागेको छ ।

मन्त्री खड्काले भने, ‘महिला अनमीमार्फत पहिलो चरणमा सबै महिलाको पाठेघरको बायप्सी परीक्षण गरी क्यान्सरका सिन्ड्रम देखिए नदेखिने व्यवस्था मिलाउन लागेका छौँ, यो कार्य तुरुन्त सुरु हुन्छ ।’

यसका लागि मन्त्रालयले अर्थमन्त्रालयसित थप बजेट मागसमेत गरेको छ । उनले मन्त्रालयको योजनालाई सहयोग गर्न अमेरिका चीन, युन वुमन, अस्ट्रेलिया, डेनमार्कका नेपालस्थित राजदूतसित छलफल गरेको जानकारीसमेत बैठकमा दिए ।

हाल मन्त्रालयको महिला, ज्येष्ठ नागरिक तथा बालबालिका र समाजकल्याणका लागि दुई अर्ब ४२ करोड रुपैयाँ बजेट रहेको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको बैठकले स्वास्थ्य मन्त्रालय र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयलाई महिलालाई हुने स्तन र पाठेघर क्यान्सरको निःशुल्क उपचार गर्न निर्देशनसमेत दिएको थियो । सुरुको पहिलो तहमा ती स्थानमा क्यान्सरको लक्षण देखिएमा पूर्ण उपचार हुन सक्ने व्यवस्था नेपालमा नै रहेको छ ।

स्वास्थ्यकर्मीहरुले लगाए जनस्वास्थ्य कार्यालयमा ताला

बारा, फागुन ५ । स्वास्थ्यकर्मीहरुको विभिन्न संघ संगठनहरुले जिल्ला जनस्वास्थ्य कार्यालय बारामा तालाबन्दी गरेका छन् । स्वास्थ्य सेवा ऐन नौ ‘ख’ बम्मोजिम कर्मचारीको व्यवस्थापन र दरबन्दी चार्ट संशोधनको माग गर्दै उनीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष राम एकबाल जयसवाल, मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादव, नेपाल स्वास्थ्य प्राविधिक संघ बाराका अध्यक्ष सुरेश प्रसाद साह, नेपाल स्वासथ्यकर्मी संघ बाराका अध्यक्ष हरिओम प्रसाद, स्वास्थ्यकर्मी युनियन बाराका अध्यक्ष कुरान अलि ठकुराइको नेतृत्वमा स्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य कार्यालयमा तालाबन्दी गरेका हुन् । आफूहरुको माग पूरा नभए भोलि शुक्रबारदेखि ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीहरुमा समेत तालाबन्दी गरिने मधेसी स्वास्थ्यकर्मी फोरम बाराका अध्यक्ष शीवशंकर प्रसाद यादवले बताए । यसैबिच कलैयामा बिहीबार आयोजना गरिएको स्वास्थ्यकर्मीहरुको भेलाले राम एकबाल जयसवालको संयोजकत्वमा आन्दोलन परिचालन समिति पनि गठन गरेको छ । समितिको प्रवक्ताको जिम्मेवारी शीवशंकर यादव र व्यवस्थापनको जिम्मेवारी कुरान अली ठकुराइलाई दिइएको छ । आन्दोलनका क्रममा आकस्मिक उपचार सेवा, एचआइभी, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, आमा सुरक्षा कार्यक्रम र विपन्न नागरिकको सिफारिस जस्ता सेवालाई कुनै अवरोध नगरिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

खाडीमा यी कारणले विग्रिन्छन् नेपाली श्रमिकको मिर्गौला

काठमाडौं, फागुन ५ । दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी भन्छन्ः —खाडी मुलुकमा पिउने पानीको अभाव छ, तर परिश्रम कडा गर्नुपर्छ । कडा परिश्रम गर्दा शरीरबाट पानी बढी बाहिरिने तर आवश्यक पानी शरीरले नपाउने हुँदा मिर्गौला फेल हुने गरेको छ । यी देशमा हरियो सागसब्जीभन्दा माछामासु तुलनात्मक रूपमा सस्तो हुने भएकाले नेपाली श्रमिकहरू खानामा माछामासुकै प्रयोग अत्यधिक गर्छन् र मिर्गौलामा समस्या हुने गर्छ । —खानपानमा ब्यालेन्स नभएर समस्या भइरहेको अवस्थामा धूम्रपान बढी गर्ने व्यक्तिलाई मिर्गौलारोगको खतरा बढी हुन्छ । मिर्गौलारोग लागिसकेपछि यसको उपचार महँगो भएकाले विदेशमै रहे पनि समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्छ । —खाडी मुलुकमा काम गर्ने व्यक्तिले मिर्गौला स्वस्थ राख्न दिनमा कम्तीमा तीन लिटर पानी पिउनैपर्छ । शरीरले थप पानीको आवश्यकता महसुस गरे पूर्ति पर्याप्त गर्नुपर्छ । त्यसैगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको मिर्गौला बिग्रिने सम्भावना बढी भएकाले सन्तुलित राख्नुपर्छ । —मोटोपनले पनि मिर्गौलामा समस्या ल्याउन सक्छ । काम गर्ने, तालिका नमिलाई टन्न खाने र सुत्ने बानीले मोटोपन निम्त्याउन सक्छ । त्यसैले विदेशमै भए पनि पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान या बेलुका कम्तीमा ३०–४५ मिनेट हिँडडुल अनिवार्य गर्नुपर्छ । —मिर्गौलारोगको उपचार सम्भव नभए अर्को विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपणपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिस खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने छैन । त्यसैले रोग लागेर उपचार गर्नेभन्दा समयमै ख्याल पु¥याउनु बुद्धिमानी मानिन्छ । —नेपालमा कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गरिएको छ । त्यसमा पनि आधाभन्दा बढी मानिस अत्यधिक श्रम गर्ने तर स्वास्थ्यप्रति ध्यान नदिएकै कारण मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएका छन् । नयाँ पत्रिका दैनिक वाट 

गर्भवती भएपछि छाला चाउरियाे ? अपनाऊनुस् यी उपायहरु

महिलाहरु गर्भवती भएपछि छालामा निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए, च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म रहन सक्छ । यसले महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्तो समस्याबाट छुटकरा पाउन निम्न उपायहरु अपनाउन सकिन्छ । चिनी २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाई घोल्ने । त्यस मिश्रणलाई छालामा भएको दागमा लेप्ने र १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने । १० मिनेटपछि त्यसलाई पखाल्ने । यो विधि १ महिनासम्म नियमित अपनाउनाले च्यात्तिएको छालाको दाग बिस्तारै हराउँदै जान्छ। आलु आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ। यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकासका साथै छालाको दागधब्बालाई निको पार्ने काम पनि गर्छ। त्यसैले आलुलाई काटेर मोटो चिरा बनाउने र त्यसलाई दागमा दल्ने । केहि मिनेटपछि आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउनुहोस्। सुपारी सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ। यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ। त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाउनुहोस्। ढाडिएको सुपारीलाई खस्रो सतहमा राखेर घोट्नुहोस् र त्यसको बाक्लो पेस्ट बनाउने । त्यो पेस्टलाई शरीरको कुनै पनि अङ्गमा भएको घाउचोटको दाग, च्यात्तिको छालाको दाग, पोलेको घाउको दाग लगायत अन्य खतमा लेप्न सकिन्छ । राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ । खत नहराउञ्जेलसम्म यो विधि अपनाउनु पर्छ ।   अण्डाको सेतो भाग उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ। यसमा भएको प्रोटिन र अमिनो एसिडले वृद्धि हुन छाडेको कोषलाई सक्रिय बनाउँदछ र छाला पुर्रिँदै जान्छ। घिउकुमारी घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो। यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ। त्यसैले सकिन्छ भने दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । यसले रक्तचाप नियन्त्रण गर्नुको साथै अम्लपीत्त, पत्थरी, बाथ लगायत अन्य घातक रोगबाट छुट्कारा प्रदान गर्न सक्छ। त्यसलगायत च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०र१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नुहोस्।

राजधानीका दुई औषधि पसलमा ताला

काठमाडौँ, फागुन ३। शङ्खमुलमा रहेको देउती फार्मेसी र लाइफलाइन मेडिकल नियम विपरीत सञ्चालन भएको पाएपछि दुवै औषधि पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा दर्ता नगरी मेडिकल ल्याब सञ्चालन गरेको, बिल नभएको पाएपछि लाइफलाइन मेडिकललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । त्यसैगरी शङ्खमुलस्थित देउती फार्मेसीलाई पनि फार्मेसीमा मात्र दर्ता गरी ल्याबसमेत सञ्चालन गदैए आएको पाएपछि हाललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा र औषधि व्यवस्था विभागमा सम्पर्क गर्न निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए । दुवै औषधि पसलबाट मूल्य उल्लेख नभएको औषधिको नमुना सङ्कलन गरिएको, गोदाममा रहेको सामानमा अधिकतम् मूल्य उल्लेख नभएको पाइएकाले सामानको कागजातसहित पेस गर्नसमेत निर्देशन दिइएको छ । अनुगमन संयोजक कमला गिरी भारतीको संयोजकत्वमा आज गरिएको बजार अनुगमनका क्रममा विनायक खाद्य स्टोरबाट ४६ बोतल, विष्ठा छे स्टोरबाट १० बोतल, छाया स्टोरबाट १२ बोतल, आशिका खाद्य स्टोर सूर्यविनायकबाट म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।

स्वास्थ्य परिक्षण खारेजीको माग

काठमाडौँ, फागुन ३। वैदेशिक रोजगार स्वास्थ्य व्यवसायी सङ्घर्ष समितिले बायोमेट्रिक प्राणालीका नाममा सर्वसाधारणमाथि ठगी भइरहेको भन्दै त्यस्तो खाले स्वास्थ्य परीक्षण प्रक्रिया खारेज गर्न माग गरेको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले एक साताभित्र गाम्का नेपाल र बायोमेट्रिकले गरिरहेको स्वास्थ्य परीक्षण खारेज गर्न आग्रह गरेको हो । समितिका संयोजक सीताराम रेग्मीले आधुनिक प्रविधिको नाममा बायोमेट्रिक प्रणालीमा गाम्का नेपाल नामक संस्थाको एकाधिकार कायम गरी कामदारलाई रु दुई हजार ९०० मा हुँदै आएको स्वास्थ्य परीक्षण अहिले १४ हजार लिने गरेकाले सो कार्यलाई रोक्न सरकारसँग माग गरे । साई पोलिक्लिनिकका सञ्चालक एवम् व्यवसायी कला दाहालले बायोमेट्रिक प्रणाली स्वास्थ्यसँग सम्बन्धित नरहेकाले त्यसको विकल्प खोजी त्यस क्षेत्रमा भइरहेको ठगी अविलम्ब रोक्नुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारको विषयमा सरकारले फ्रि–भिसा र फ्रि–टिकटको अवधारणा ल्याएपनि व्यवसायीले रु एक लाखदेखि रु चार लाखसम्म लुटिरहेको जानकारी दिए । नेपाल मेडिकल महासङ्घका महासचिव जीवन बयलकोटीले गाम्का नेपालले सरकारको आँखामा छारो हालेर सोझा कामदारलाई ठगी गरिरहँदा पनि श्रम मन्त्रालयले केही गर्न नसकेकाले त्यस्तो भ्रष्टाचार रोक्न सरकारले छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए ।

सित्तैमा बाथ मुटुरोगको शल्यक्रिया

काठमाडौँ, फागुन १। सहिद गङ्गालाल हृदय केन्द्रमा बाराका १५ वर्षीय बाथ मुटुरोगी आर्यन अन्सारीको निःशुल्क शल्यक्रिया गरियो । उनको शल्यक्रियामार्फत मुटुको भल्ब फेरिएको छ । सरकारले आजैबाट १५ वर्षभन्दा माथि ७५ वर्षमुनिका बाथ मुटुरोगीको उपचार, शल्यक्रिया, औषधिलगायतका सेवा निःशुल्क गर्ने व्यवस्था गरेको थियो । सो व्यवस्थाबमोजिम अन्सारीले शल्यक्रियालगायतका उपचार निःशुल्क पाएका हुन् । स्वास्थ्य मन्त्री गगनकुमार थापाले गत माघ १५ गते सहिद गङ्गालाल हृदय केन्द्रको वार्षिकोत्सवमा बाथ मुटुरोगीको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेका थिए । हालसम्म अस्पतालमा एक जनाको मात्रै निःशुल्क सल्यक्रिया गरिएको अस्पतालका प्रशासन प्रमुख दिपेन्द्र खड्काले बताए । नेपालमा मुटु रोगको समस्या बढ्दै गएपछि सरकारले मुटुका अन्य रोगको उपचार निःशुल्क गरेअनुरुप बाथ मुटुरोगीको पनि उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँगै, मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्ज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पनि सो रोगको उपचार सेवा निःशुल्क पाइनेगरी तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ । सरकारले यसअघि नै मुटुरोगीका लागि रु एक लाख उपचारका लागि आर्थिक सहयोग, १५ वर्षमुनिका बालबालिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकको मुटुको सम्पूर्ण उपचार पनि निःशुल्क रुपमा गर्दै आएको छ ।  

पानी अभावले दुर्गन्धित अस्पताल

सल्यान, माघ २९। चौबिसै घन्टा पानीको आवश्यक हुने सल्यान जिल्ला अस्पतालमा पानीको अभाव भएपछि त्यहाँकाे अवस्था निकै नै कष्टकर बनेकाे छ । पानी अभावका कारण दैनिक हुने सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए । अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको उनले बताए । शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलको जिकिर छ । उनले भने, “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ ।” अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ ।  

‘५८ प्रतिशत महिला अझै असुरक्षित गर्भपतन गराउँछन्’

काठमाडौँ, माघ २८ । गर्भपतनले कानुनी मान्यता पाएको १७ वर्ष बितिसक्दा पनि अझै ५८ प्रतिशत महिलाले अझै असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम नलिएका व्यक्तिबाट गराइने गर्भपतनलाई असुरक्षित गर्भपतनका रुपमा लिइन्छ । नेपालमा सन् २०१४ मा करिब तीन लाख २३ हजार गर्भपतन भएकामा ४२ प्रतिशतले मात्र स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट गर्भपतन सेवा लिएको एक अध्ययनले देखाएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) र अमेरिकास्थित गुडमाकर इन्स्टिच्युटद्वारा संयुक्तरुपमा सम्पन्न ‘नेपालमा अनिच्छित गर्भ र गर्भपतन’सम्बन्धी आज सार्वजनिक प्रतिवेदनमा सुरक्षित गर्भपतन सेवाभन्दा असुरक्षित सेवा लिनेको सङ्ख्या बढी भेटिएको हो । नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरे तापनि सन् २००४ देखि मात्र गर्भपतन सेवा सुरु भएको थियो । हालसम्म स्वास्थ्य मन्त्रालयबाट स्वीकृति वा तालिम लिएका व्यक्तिबाट करिब आठ लाख ५० हजार महिलाले गर्भपतन सेवा उपभोग गरेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१४ मा करिब १० लाख ४८ हजार प्रजनन उमेर समूह (१५ देखि १९ वर्ष) महिला गर्भवती भएका थिए । तीमध्ये करिब तीन लाख २३ हजार महिलाले मात्र गर्भपतन सेवा लिएका अध्ययनबाट देखिएको छ । हिमाल, पहाड, मधेस सबै क्षेत्रमा प्रतिनिधित्व हुने गरी २७ जिल्लाका ३ सय ८६ स्वास्थ्य संस्थामा सो अध्ययन सम्पन्न गरिएको थियो । सबैभन्दा कम अनिच्छित गर्भपतन सेवा सुदूरपश्चिमाञ्चल विकास क्षेत्र र सबैभन्दा वढी मध्यमाञ्चल विकास क्षेत्रमा सेवा लिएका अध्ययनको नतिजामा देखिएको छ । अध्ययनमा प्रमुख अध्येता डा महेश पुरीले थोरै बच्चाको चाहना राख्नु, शिक्षाको स्तर माथि हुनु, विवाह उमेर बढी हुनुजस्ता कारण मध्यमाञ्चल विकास क्षेत्रमा अनिच्छित गर्भपतन सेवा लिनेको सङ्ख्या बढी रहेको जानकारी दिएका छन् । महिलाको मञ्जुरीमा १२ हप्तासम्म गर्भ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको १८ हप्तासम्मको गर्भ तथा गर्भपतन नगराएमा महिलाको जीवन खतरामा पर्न गएमा गर्भपतन गर्न पाइने प्रावधान कानुनमा रहेको छ ।

एचआइभी संक्रमितलाई प्रयोग गरेको सुई स्वस्थ्य व्यक्तिलाई लगाइदिँदा …

माघ २८ । चीनको एक अस्पतालका कर्मचारीहरुले एचआइभी र एड्स संक्रमित व्यक्तिहरुलाई लगाइएको सुईको प्रयोग पुनः स्वस्थ व्यक्तिलाई पनि लगाइदिएका छन् । चीनको ह्याङजोहु जेइजाङ अस्पतालका कर्मचारीले एचआइभीरएड्स लागेका व्यक्तिको प्रयोगमा ल्याइएको सिरिन्ज स्वस्थ्य व्यक्तिलाई लगाएको आरोपमा पाँचजनालाई निलम्बन गरिएको हो । यसरी संक्रमित सिरिन्जको प्रयोग स्वस्थ व्यक्तिमा प्रयोग गर्दा अन्यलाई समेत एचआईभी एड्स लागेको छ । चीनमा एचआइभी संक्रमितका कारण स्वस्थ्य मानिसमा यो रोग सरेको भने यो पहिलो घटना होइन । यसअघि, सन् १९९० मा चीनको हुनान प्रान्तको एक गाउँका एचआइभी पीडितले रक्तदान गर्दा ५० भन्दा बढी मानिस एचआइभी संक्रमित भएका थिए । एचआइभी सरेका बिरामीको निःशुल्क उपचार गर्ने सो अस्पतालले जनाएको छ । पीडितका परिवारले भने अस्पतालको लापरबाहीका कारण यस्तो घटना भएको भन्दै विरोध गरेका छन् ।

यस्तो छ गगन थापासँग कालीकोटवासीको माग

काठमाडौँ, माघ २४। कालीकोट जिल्ला अस्पताललाई ५० श्यया बनाउन माग गर्दै कालीकोटवासीले स्वास्थ्यमन्त्री गगनकुमार थापासँग माग गरेका छन् । नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस कालीकोटका नेता भूपेन्द्रजङ्ग शाहीको नेतृत्वमा गएको टोलीले स्वास्थ्यमन्त्रीलाई एक ज्ञापनपत्र बुझाउँदै सो माग राखेका हुन् । शाहीले कालीकोटमा विशेषज्ञ डाक्टर नहुँदा अकालमा धेरै मानिसले ज्यान गुमाउनुपरेको जनाउँदै जिल्लामा ५० श्ययाको अस्पताल माग गरिएको बताए । उनले भने, ‘कालीकोटवासी स्वास्थ्योपचारका लागि नेपालगन्ज, काठमाडौँलगायत सहर पुग्नुपरेको र गरिबले स्वास्थ्य उपचार नपाएर मर्नुपरेको छ ।” ज्ञापनपत्र बुझ्दै स्वास्थ्यमन्त्री थापाले कालीकोट जिल्ला अस्पताललाई चाँडै ५० श्ययाको अस्पताल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रासस

स्वास्थ्य शिविरबाट एक दिनमा दुई हजार बढीको परिक्षण

कैलाली, २३ माघ । नेपाली सेनाले कैलालीको टीकापुरमा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढीले सेवा लिएका छन् । जिल्ला प्रशासन कार्यालयको सहकार्य आज संचालन गरेको सो निःशुल्क स्वास्थ्य शिविरमा सेनाको विशेषज्ञ डाक्टरसहितको ५० जनाको मोबाइल हस्पिटलको टोली रहेका थिए । उक्त टोलीले स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । शिविरमा कैलाली जिल्ला प्रशासन कार्यालयले निःशुल्क औषधिको व्यवस्था गरेको थियो । स्वास्थ्य शिविरबाट प्रदान गरिएको सेवाका बारेमा रक्षामन्त्री बालकृष्ण खाँण, नेपाली सेनाका बलाध्यक्ष रथी पूर्णचन्द्र थापालगायतले जानकारी लिएका थिए ।

क्यान्सरका कारण हरेक वर्ष नेपालमा १५ हजार मानिसको मृत्यु

ललितपुर, माघ २२ । सन् २०२५ सम्म विश्वभरि एक करोड ९३ लाख क्यान्सरका बिरामी हुनसक्ने एक तथ्याङ्कले देखाएको छ । उक्त बिरामीका सङ्ख्यामध्ये प्रत्येक वर्ष ५६ प्रतिशतका दरले मृत्यु हुनेसमेत विभिन्न अध्ययन अनुसन्धानबाट देखिएका छन् । विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ । नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा। सुदीप श्रेष्ठले बताए । उनका अनुसार हाल यहाँ ५० हजारको सङ्ख्यामा क्यान्सरका रोगी रहेका छन् । विकसित देशमा भन्दा विकासोन्मुख मुलुकमा क्यान्सरका बिरामी बढ्दोक्रममा छ, डा। श्रेष्ठले भने(खासगरी गरिबीले ग्रस्तभएका देशमा यो रोगको प्रभाव बढी देखिने गरेको छ । सूर्तिजन्य बस्तुको सेवनले क्यान्सरका बिरामी दिनानुदिन बढ्दै गएको उनले बताए । यसबाहेक पोलेको मासु खानाले पनि क्यान्सर लाग्ने गरेको बताइएको छ । शारीरिक व्यायामको कमी, अधिक मात्रामा मासु तथा नुन खानु, बासी खानाको प्रयोग, वंशाणुगत, सूर्यको किरणबाट समेत क्यान्सर हुने गरेको डा। श्रेष्ठको भनाइ छ । नाक, कान, घाँटी, फोक्सो, आमाशय, ठूलो आन्द्रा, महिलाको स्तन तथा पाठेघरमा बढी क्यान्सर हुने गरेको जनाएको छ । क्यान्सर बिरामीको उपचार महङ्गो हुने भएकाले यसलाई सरल र सहज बनाउन व्यक्तिको बिमा भए सकारात्मक हुने उनले बताए । क्यान्सर उपचारका लागि केमोथेरापी, रेडियोथेरापी तथा विभिन्न औषधिको प्रयोग गरिने गरेको भक्तपुर क्यान्सर अस्पतालका प्रमुख लोकेन्द्रकुमार श्रेष्ठले बताए । अस्पतालले क्यान्सरका बिरामीलाई गुणस्तरीय सेवा प्रदान गरिँदै आएको छ, उनले भने(महिला भन्दा पुरुषमा क्यान्सर बढी देखिएको छ । दैनिक रुपमा सेवन गर्ने खानपानमा उचित ध्यान दिनसके क्यान्सर बिरामीको सङ्ख्या न्यून हुनसक्ने डा। श्रेष्ठको भनाइ छ । ‘रासायनिक समिश्रणलाई तयार पारेर बनाइएको औषधिलाई बिरामीको मुख तथा नसामार्फत क्यान्सरको कोषिका नष्ट गर्ने वा रोगबाट उत्पन्न पीडालाई कम गर्ने उपचार प्रविधि नै केमोथेरापी हो(’उनले भने । रेडियसन अनकोलोजी अन्तर्गत टेलिथेरापी, ब्राची थेरापी र सिमुल्याटर उपचार प्रविधि रहेको पनि डा। श्रेष्ठले बताए । क्यान्सर रोगी न्यून गराउन गाउँरगाउँमा जनचेतना फैलाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख झलक शर्मा पौडेलले भने( बिरामीको उपचार सुलभ बनाउन राज्यको तर्फबाट आवश्यक सहयोग भइरहेको छ । क्यान्सर दिवसमा मात्र सिमित नभएर यो रोग विरुद्ध अन्य समयमा पनि सर्वसाधारणमा जनचेतना फैलाउन सके सकारात्मक सन्देश जाने उनले बताए । क्यान्सर विरुद्ध तयार पारिएको “हामीले गर्न सक्छौं, मैले गर्न सक्छु” भन्ने नाराका साथ क्यान्सर दिवस मनाउँदै गर्दा यसले कति सार्थक रुप लिन सकिएला त्यो भने हेर्न बाँकी नै छ । अङ्ग्रेजी वर्षको फेबु्रअरी महिनाको ४ तारिखका दिन विश्व क्यान्सर दिवस मनाउँदै आएको छ । यो दिवस सन् २००८ देखि मनाउन थालिएको हो ।

तीन सय ६३ जनाकाे निःशुल्क गर्भपतन

झापा, माघ २१ । सरकारले सुरक्षित गर्भपतनका लागि औषधि निःशुल्क गरेसँगै झापामा ३६३ जनाले निःशुल्क गर्भपतन सेवा लिएका छन् । आर्थिक वर्ष २०७३÷७४ को छ महिनाको अवधिमा झापाका ११ वटा सूचीकृत स्वास्थ्य संस्थाबाट उनीहरुले गर्भपतन सेवा लिएका हुन् । नौ हप्ता (६३ दिन) को गर्भपतन गराउने औषधि ‘मेटाबोन’ गत असोजदेखि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सो अवधिमा धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्रबाट ७८ जना, शनिअर्जुनबाट २८ जना, सुरुङ्गा स्वास्थ्य चौकीबाट ६८ जना, बनियानीबाट १६, शिवगञ्जबाट ३५, शान्तिनगरबाट १८ जना, चन्द्रगढीबाट २०, अनारमनिबाट ५१, तोपगाछीबाट १० र गौरादहबाट ३१ जनाले गर्भपतन सेवा लिएका हुन् । साउन र भदौ महिनामा ती संस्थाबाट रु ५०० तिरेर महिलाले सेवा लिए पनि असोजयता सेवा निःशुल्क गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स अनिता ओलीले जानकारी दिएकी छिन् । सूचीकृत ती संस्थालाई प्रतिव्यक्ति रु ८०० सरकारले नै दिने उनले बताइन् । त्यस्तै, सोही अवधिमा मेडिकल र सर्जिकल दुवै माध्यमबाट मेरी स्टोप सेन्टर बिर्तामोडबाट ५५३ जनाले गर्भपतन सेवा लिएका छन् । त्यस्तै, परिवार नियोजन सङ्घ झापाले पनि ३३८ जनालाई गर्भपतन सेवा प्रदान गरेको छ । सम्बन्धित महिलाको मन्जुरीबिना वा अन्य कुनै कारणबाट गर्भ रहन गएमा १२ हप्तासम्मको गर्भ स्वेच्छिक रुपमा तुहाउन सक्ने अधिकार २०६० को स्वास्थ्य नीतिले सम्बन्धित महिलालाई दिएको छ । चिकित्सकको परामर्शमा नौ हप्तासम्मको गर्भ औषधिको माध्यमबाट तुहाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

रोटरीले दियो मनिहर्सलाई ९ करोड बराबरको स्क्यानर

माघ २० । रोटरी क्लब अफ राजधानीले मनिहर्स डाइग्नोस्टिक सेन्टरलाई नौ करोड बराबरको अत्याधुनिक जीएसआई सीटी स्क्यान मेसिन प्रदान गरेको छ । क्लब र मन्हिर्ष डाइग्नोस्टिक सेन्टरको पहलमा अत्याधुनिक स्क्यानर भित्र्याएको जनाइएको छ । विहीबार राजधानीमा एक कार्यक्रमबीच स्वास्थ्यमन्त्री गगनकुमार थापाले स्क्यानरको उद्घाटन गरेका हुन् । रोटरी फाउन्डेसनकोसमेत सहयोग रहेको क्लबले जनाएको छ । अमेरिकामा निर्मित यस अत्याधुनिक सीटी स्क्यानर ९ लाख डलर अर्थात् ९ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको रहेको छ । यो स्क्यानरपछि नेपालमै मुटुसम्बन्धी रोगको उपचारमा थप सहजता आउने विश्वास व्यक्त गरिएको छ । यस प्रविधिले सुक्ष्मरुपमा मुटु र रक्तनलीलाई प्रस्ट देखाउने, बिरामीमा हुनसक्ने मुटुरोगको उत्कृष्टताका साथ निदान गर्नसक्ने जनाइएको छ ।

यसरी लाग्यो औषधि व्यवसायीलाई चुनाव

विर्तामोड, माघ १५ । नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै त्यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले औषधि व्यवसायीको हकहितका लागि आफू्ले उम्मेद्वारी दिन लागेको बताएका छन् । बराल विर्तामोडका ओसिएन फर्माका सञ्चालक हुन् । सङ्घको अधिवेशनले १७ सदस्यीय नयाँ अञ्चल समिति चयन गर्नेछ । नयाँ समितिको कार्यकाल तीन वर्षको हुनेछ । मेची अञ्चलभर चारसय ५० औषधि व्यवसायी रहेका छन् । त्यसमध्ये चारसय २२ जना सङ्घमा आवद्ध रहेको जनाइएको छ ।