जाडोबाट बच्नका लागि यस्ता छन् केही घरेलु उपायहरु

माघ १३ । जाडोमा आफ्नो स्वास्थ्यलाई अलि बढी नै ध्यान दिनुपर्ने हुन्छ । किनभने चिसोका कारण मानिहरुलाई रुघाखोकी तथा ज्वरोले समेत अत्याधिक सताउने गर्दछ । जसका कारण एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने अवस्था पनि आउन सक्छ ।

तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको हेरचाहका लागि केही घरेलु उपायहरु यसप्रकार छन् :

१. अदुवाको टुक्राको रस २० मिलिदेखि ३० मिलिसम्म दिनमा तीन पटक लिनाले चिसोबाट बच्न सकिन्छ ।

२. दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघि सेवन गर्ने ।

३. एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक खाने ।

४. बेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउने ।

५. कालो मरिच डढाएर धुवा सुँघ्नाले बन्द नाक खुल्छ ।

६. अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।

७. एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

‘आमा छोरी एकैसाथ सुत्केरी हुन्छन्’

रोल्पा, पुस २८ । अझै पनि कतिपय दम्पतीहरु परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् । लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उनका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसके । तीन सन्तानको सानैमा मृत्यु भएको भएपनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिइन् । उनका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उनीहरुबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन । “आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिइन् । त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उहाँका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसकेकी छिन् । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उनीहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान (नातिनातिनी) जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी भएकी छिन् । यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उनीहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाइन् तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरी जन्मियो । महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भएपनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् । करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आएका छन् । लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उहाँका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भएपनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उनीहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिइन् । उनका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दैआएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०/७१ मा ४७ प्रतिशत, २०७१/७२ मा ३९ प्रतिशत र २०७२/७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पुर्याउने सरकारको लक्ष्य रहेपनि हाल सम्म यो सङ्ख्या आधी मात्रै पुगेको छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउछन् । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् ।

बीच बाटोमै हराउँछन् ग्रामीण क्षेत्रमा जाने औषधि

नृपेन्द्रबहादुर मल्ल मुगु, पुस २६। जिल्ला जनस्वास्थ्य कार्यालयबाट जिल्लाका ग्रामीण भेगहरुमा पठाइएको औषधी बीच बाटोबाटै हरानाउने गर्दछन् । सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराउने ती औषधीहरुलाई विचौलियाहरुले बीचबाटोमै गायव बनाउने गरेको पाइएको छ । सरकारले सर्वसाधारणका लागि ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्र ५८ प्रकारका र स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भएतापनि ती औषधीहरु बीचबाटोमै गायव हुन्छन् । सर्वसाधारणसम्म ती औषधीहरु पुग्दैनन् । कार्यालयले वार्षिक रुपमा रु १८ देखि २५ लाखसम्मको औषधि उपलब्ध गराउने गरेको र स्वास्थ्य सेवा विभाग मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोर नेपालगन्जबाट पनि उत्तिकै औषधि जिल्लाका लागि आउने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा सधैँभरि औषधि अभाव हुने गरेको छ । सम्बन्धित कार्यालयको मागका आधारमा औषधि पठाउने गरेकाले हरेक वर्ष कति परिमाणको औषधि जिल्लामा पठाएको यकिन भन्न नसकिने नेपालगन्जस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय मेडिकल स्टोरका प्रमुख डिल्ली पोखरेलले बताए । केही समय अगाडि औषधिको अभाव देखिए पनि अहिले सार्वजनिक खरिद ऐनमा संशोधन भएपछि औषधि उपलब्ध गराउन सहज भएको उल्लेख गरे । यता जिल्लाका २४ वटा स्वास्थ्य चौकी, चार वटा एकाइ तथा एउटा प्राथमिक स्वास्थ्य चौकीमा सधैँभरि औषधि अभाव भइरहेको गुनासो आउने गरेको छ तर ती औषधि कहाँ गयो भन्ने कुरा पत्ता लगाउन निकै कठिनाइ भएको कार्यालय प्रमुख डा. सरोज अधिकारीले जानकारी दिए । जिल्लाबाट ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाका लागि औषधि पठाइरहेको भएतापनि गाउँमा औषधि अभाव भएको र औषधि नपुगेको भन्ने गुनासो आउने गरेको डा.अधिकारी बताउँछन् । जिल्लाबाट पठाएको औषधि कहाँ जान्छ भन्ने कुरा रहस्यमय बन्ने गरेको छ यसप्रति हामी गम्भीर भएर लागेका छौँ – उनले भने । जिल्लाको पश्चिम क्षेत्रमा रहेका खत्याड भेगका सात वटा गाविसका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव रहेको कोटडाँडा गाविस रिखियाँ गाउँका रतनबहादुर शाहीको भनाइ छ । सात वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेको यस क्षेत्रका स्वास्थ्य संस्थामा सिटामोलसमेत नपाइने अवस्था रहेको उनको गुनासो छ । त्यस्तै जिल्लाको पूर्वी भेगमा पर्ने करान क्षेत्रका पाँच वटा गाविसमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी दुई तीन महिनाको एकपटक गाउँमा पुग्ने र त्यतिबेला लिएको औषधि सबै घरधुरीमा दामासायीको दरले एकै दिनमा बाँडेर फर्किने गरेको स्थानीयवासीको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयबाट सम्बन्धित स्वास्थ्य संस्थाका कार्यालय सहयोगीले औषधि बुझेर लिए पनि बीच बाटोमा नै औषधि हराउने गरेको मुगु गाविसका छोर्तेन लामाले बताए । उनले जिल्लाबाट औषधि पठाउने स्वास्थ्य संस्थामा नपुग्ने कारण कार्यालय सहयोगीले औषधिको गह्रौँ भारी नबोक्न बठ्याइ गरेको हुनसक्ने आशङ्का गरे । केही दिनअघि उत्तरी सोरु भेगका बासिन्दा गाउँमा औषधि नपुगेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयमा ध्यानाकर्षण गराउन आएका थिए । गाउँमा स्वास्थ्य चौकी छ, स्वास्थ्यकर्मी र औषधि हुँदैन हामीले सधैँ सिटामोल किन्न पनि निजी मेडिकलमा जानुपर्ने बाध्यता छ, जिमा गाविस सोरुकोट गाउँका तीर्थ मल्लले गुनासो गरे । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाको मागका आधारमा नियमित रुपमा कार्यालयबाट औषधि पठाउने गरेको जिल्ला जनस्वास्थ्य कार्यालयको औषधि भण्डार शाखा प्रमुख प्रेमबहादुर रावतको भनाइ छ ।

चिकित्सकले अब निजी क्लिनिकमा काम गर्न नपाउने

चितवन, पुस २२। अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अब निजी अस्पतालमा काम गर्न नपाउने भएका छन् । अस्तव्यस्त अस्पताललाई सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको यो व्यवस्था अघि सारेको हो । अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए । मन्त्रिपरिषद्ले हिजो मात्रै रिक्त छ जना सदस्य मनोनयन गरेपछि क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पाएको छ । क्यान्सर अस्पतालका चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पतालको सेवा खस्किएको आरोप लाग्ने गरेको छ । यसअघि अस्पतालको अनुमति लिएर काम गर्न पाउने व्यवस्था गरिएको थियो । मानवीय जनशक्तिको कारण सेवा प्रभावित भएको भन्दै अनुमति लिएकाको पनि तुरुन्त खारेज गर्न मन्त्रालयले निर्देशन दिएको छ । निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी भएको छ । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले समितिको स्वीकृति लिएर निजी क्लिनिकमा काम गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनको पालना गर्दै निजी क्लिनिकमा काम गर्न दिएको अनुमति खारेज गरेर यो व्यवस्थाको अन्त्य गर्ने अध्यक्ष न्यौपानेले बताए । कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ । एकजना वरिष्ठ चिकित्सकले १९÷२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन । अस्पतालको नाम देखाएर बिरामी निजी क्लिनिकमा तान्ने गरेको आरोपसमेत क्यान्सर अस्पतालका चिकित्सकमाथि लाग्ने गरेको छ ।

हिजाेकाे मदिराले ह्याङ बनाएकाे छ ? ह्याङ हटाउन यसो गर्नुपर्छ

पुस २१ । साँझको रमझमलाई मदिराको चुस्कीले झनै उत्साहित बनाईदिएको हुन्छ । मदिरा पिउन सुरु गरेपछि साथीभाईसँगको त्यो रमाइलो क्षणमा कति थपिन्छ थाहा नै हुँदैन । ओभरडोज भएपछि भोलिपल्ट बल्ला पछुताउछन् मान्छेहरु । ओभरडोजले भोलिपल्टसम्म ह्याङओभर बनाउँछ । ह्याङओभरले नियमित काममा समेत प्रभावित पार्दछ । त्यसैले ह्याङओभर हटाउन निम्न उपायहरु अपनाउनु पर्छ । – ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा निकै कम हुन्छ । त्यसैले यस्तो बेलामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । सकभर नरिवलको पानी पिउनाले यसमा भएको चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुनाले ह्याङ भएको शरीरलाई राहत दिन्छ । – ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ । – ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ । – ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ । – कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ । – कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन । – अण्डा खानुपर्छ । अण्डामा हुने एमिनो एसिडले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

ब्लड प्रेसर लो छ ? यसो गर्नुस्

एजेन्सी । उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने समस्या हुनसक्छ । ब्लड प्रेसर लो आफैमा रोग होइन, तर यसले रोगले भन्दा कमी चाहिँ सताउँदैन । ब्लड प्रेसर लो भएका विरामीहरुले निम्न कुरामा ध्यान दिए त्यसबाट छुटकरा पाउन सकिन्छ । – मदिरा सेवन गर्ने वानी छ भने त्यसलाई आजैबाट हटाउनु पर्छ । मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ । हरेक १० ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ । तर न्यून रक्तचाप छ भन्दैमा मदिरा पिउने वानी भने बसाल्नु हुँदैन । अत्यधिक अल्कोहलको मात्राले डिहाइडे«सन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ । – प्रर्याप्त मात्रामा पानी पिउनुपर्छ । यसो गर्नालेउ रक्त प्रबाह सशक्त र तीब्र हुन्छ । शरीरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ । – प्रेसर लो भयो भन्दैमा एक्कासी नूनको मात्रा बढाउने काम गर्नु हुँदैन । नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ । अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ । चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ । –  आकस्मिक शारिरिक गतिविधिहरुबारे सचेत रहनु पर्छ । जस्तो आँखा धमिलो देखिनु र टाउको हल्का दुख्नु न्युन रक्तचापका लक्षणहरु भएकोले शरिरको पोजिसन परिवर्तन गर्दा विशेष सावधानी अपनाउनुपछै । बेडबाट उठ्दा वा बसिरहेको कुनै स्थानबाट उठ्दा यस्तो ख्याल गर्नुपर्छ । – उच्च कार्बोहाइड्रेडयुक्त खानाको मात्रा कम प्रयोग गर्नुपर्छ । कार्बोहाइडे«डयुक्त खानेकुरा घटाउँदा सिस्टोलिक ब्लड प्रेसर घट्ने र खाना खाएपछि हुने हाइपरटेन्सन (पोस्टपेन्डियल) घट्छ । – बारम्बार खाना खानुहोस् । यसले हाइपरटेन्सन वा आँखा धमिलो हुने समस्यालाई हटाउँछ । त्यसैले एकै पटक धेरै खाना खानुभन्दा बारम्बार अर्थात हरेक दुई घण्टामा खाना खानुपर्छ । – चिकित्सकको सुझाबमा स्टकिङ लगाउँदा पनि न्यून रक्तचापको समस्याबाट बच्न सकिन्छ ।

सर्वोच्चको आदेशः नेपालमा कोखको व्यापार गर्न पाईन्न

काठमाडौं, पुस १ । सर्वोच्च अदालतले महिलाको कोखको व्यापारिक प्रयोग गर्न नमिल्ने निष्कर्ष सहित ‘ व्यवसायिक सट्टा आमा’ अर्थात् कर्मसियल सरोगेसीलाई पूर्ण प्रतिबन्ध लगाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । त्यसैगरी कुनैपनि विदेशी नागरिकलाई नेपालमा सरोगेसी सेवा उपलब्ध नगराउने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ । नेपालका केही अस्पतालहरुले गैरकानूनी रुपमा सरोगेसी सेवा शुरु गरेकोवारे विवाद बढ्दै गएपछि अधिवक्ता पुष्पराज पाण्डेले सर्वोच्च अदालतमा मुद्दा दिएका थिए । त्यसैको फैसला गर्दै सर्वोच्च अदालतले व्यवसायिक रुपमा सरोगेसी सेवा सञ्चालन गर्न नपाउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो । प्रजनन क्षमता नभएका र सन्तान सुख प्राप्त गर्न नसक्ने दम्पतीका लागि भने ‘परोपकारी सट्टा आमा’सेवा सञ्चालनको बाटो भने सर्वोच्च अदालतले खोलिदिएको छ । त्यसका लागि सरकारले कानूनी व्यवस्था गर्नुपर्नेछ । सर्वोच्च अदालतका प्रधानन्यायाधिश सुशिला कार्की र न्यायाधिश गोविन्द कुमार उपाध्यायले सरोगेसी मुद्दाका सन्दर्भमा १५ बुँदे आदेश जारी गरेका छन् । निर्देशनमा मेडिकल बोर्डको सिफारिसमा मात्रै परोपकारी सरोगेसी सेवा उपलब्ध गराउन, परोपकारी सरोगेट आमाले कुनै आर्थिक लाभ नपाउने व्यवस्था सुनिश्चित गर्न, सरकारी निकायको सिफारिसमा मात्रै सेवा दिने लगायतका व्यवस्था गर्न आदेश दिएको हो । यो आदेशसँगै सरकारी अनुमतीविना सरोगेसी सेवा दिएका ग्राण्डी, ग्राण्डी सिटी, ओम, भेनस लगायतका अस्पतालले अवैध रुपमा सरोगेसी सेवा दिएका थिए । सर्वोच्च अदालतको आदेशसँगै नेपालमा व्यवसायिक सरोगेसी सेवा अवैध भएको छ ।

सुरक्षित गर्भपतन सेवा सुरु

रोल्पा, मंसिर २६ । दुई स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सुरु गरिएको छ । हाल जिल्ला अस्पताल लिवाङ र प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा सो सेवा सुरु गरिएको जिल्ला जनस्वास्थ्य प्रमुख डा भवानी शर्माले जानकारी दिए । बाह्र हप्तासम्मको अनिच्छित गर्भलाई मान्यता प्राप्त स्वास्थ्य संस्थामार्फत गर्भपतन गर्न पाउने कानुनी प्रावधान छ । सेवाका लागि सरकारले प्रतिव्यक्ति रु ८०० अनुदान दिएको छ । ‘उक्त रकम अपुग हुने देखिएका कारण थप रकमका लागि स्वास्थ्य सेवा विभागमा माग गरेका छौँ’ डा शर्माले भने । गत शुक्रबारदेखि सुरु गरिएको सो सेवालाई जिल्लाका अन्य क्षेत्रमा समेत विस्तार गरिने बताइएको छ । सुलिचौरमा समेत सेवा विस्तारका लागि स्वास्थ्यकर्मीलाई तालिम लिन पठाइएको जनाइएको छ ।

मुटु रोगीका लागि निःशुल्क स्वास्थ्य शिविर

सिन्धुपाल्चोक, मंसिर २४ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृत्वमा सिन्धुपाल्चोकमा मुटु रोगसम्बन्धी विरामीहरुका लागि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वदेशी तथा विदेशी चिकित्सकहरुको सो टोलीले यहाँका मुटु रोगीहरुलाई निःशुल्क चेकजाँच तथा उपचार समेत गरेका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) ले सिन्धुपाल्चोकको चौतारामा गरेको मुटुरोगसम्बन्धी एक दिने स्वास्थ्य शिविरमा चिकित्सकहरुको टोलीले मुटु रोगीहरुको उपचार गरेको हो । स्वास्थ्य शिविरमा करिब तीन सयजना बिरामीको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको छ । स्वास्थ्य शिविर सञ्चालनका लागि मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज र नेपाल रोटरी योनेयामा स्कलर्स अलमनाईको समेत सहयोग रहेको थियो ।

चौध सयभन्दा बढीमा डेङ्गुु संक्रमण

काठमाडौं, मंसिर २२ । साउन महिनापछि गत अघिल्लो वर्षको भन्दा यो वर्षमा डे‌गुको संक्रमणका कारण ३० वटा जिल्लाहरुमा एक हजार ४७३ जना बिरामी भएका छन् । अघिल्ला वर्षमा भन्दा यो वर्ष डे‌गु रोगको सङ्क्रमणका कारण ३० जिल्लाका एक हजार ४७३ जना बिरामी भएका छन् । गत वर्षभन्दा यो वर्ष एक हजार ३३९ ले धेरै हो । सफा पानीमा बस्ने एडिज नामक लामखट्टेबाट सर्ने डे‌गु गतवर्ष ३१ जिल्लाका १३४ जनामा भेटिएको थियो भने २०७१/०७२ मा ३०२ र २०७०/०७१ मा ७८५ जना पुगेका थिए । अघिल्लो वर्षमा भन्दा यसवर्ष डे‌गुको सङ्क्रमण बढी फैलिएको देखिए पनि अहिले नियन्त्रणमा आइसकेको बताइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत साउनदेखि १९ मङ्सिरसम्म निकालेको प्रतिवेदनअनुसार सबैभन्दा बढी बिरामी चितवनमा ६७५ जना भेटिएका छन् । त्यसपछि झापामा ३९४ र रुपन्देहीमा १४८ जना बिरामी भएका थिए । डे‌गु काठमाडौँ, ललितपुरसहित मकवानपुर, बाँके, बर्दिया, सुर्खेत, कैलाली, मोरङ, दाङ, सर्लाही, पर्सा, नवलपरासी, धादिङ, कपिलवस्तु, बारा, कञ्चनपुर, महोत्तरी, काभ्रे, सप्तरी, कास्की, स्याङ्जा, बागलुङ, कालीकोट, रुकुम, सुनसरी, प्युठान, बैतडीसहितका पहाडी जिल्लामा पनि देखिएको महाशाखाले जनाएको छ । महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलले यो वर्ष वर्षा लम्बिएका कारण लामखुट्टे वृद्धि हुँदा बिरामी पनि बढेको बताए । उनले भने– ‘एक पटकमा एक पोथी लामखुट्टेले १५० देखि ३०० सम्म फुल पार्ने गर्छ । डे‌गुसम्बन्धी जनचेतना कार्यक्रम पनि अघिल्ला वर्षमा भन्दा बढी गरेकाले अस्पतालसम्म पुग्ने बिरामीको सङ्ख्या बढेको उनको भनाइ छ । गतवर्ष दाङ र चितवनमा यो रोगबाट दुई जनाको र यो वर्ष चितवनमा एक जनाको मृत्यु भएको उहाँले जानकारी दिए। महाशाखाले सङ्क्रमण फैलिएपछि चितवनको रत्ननगर क्षेत्रमा क्लिन एन्ड डिस्ट्रोइ अभियान नै चलाएको थियो । सो क्रममा ८५१ घरधुरीमा डेङ्गुको सङ्क्रमण नियन्त्रणमा लिइएको थियो । सबैभन्दा बढी गाडीका टायर राखिएका ठाउँमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्ने गरेको पाइएको निरीक्षक प्याकुरेलले बताए । सरकारले डेङ्गु सङ्क्रमण फैलिएपछि दुई हजार ५९५ डेङ्गु परीक्षण कीट खरिद गरेको थियो । तीमध्ये अहिलेसम्म दुई हजार २५० कीट प्रयोग भएको पनि महाशाखाले जनाएको छ ।

भोजपुर जिल्ला पूर्ण खोपयुक्त घोषणा हुँदै

भोजपुर,  मङ्सिर  २२। जिल्ला खोप समन्वय समितिको बैठकले आगामी पुस २२ गते भोजपुरलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको छ । जिल्ला खोप समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी सीता परियारको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको सभाहलमा बसेको बैठकले जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि जिल्ला विकास समिति भोजपुरका कार्यक्रम अधिकृत सुरेन्द्र राईको संयोजकत्वमा सात सदस्यीय उपसमितिसमेत गठन गरेको छ । उपसमितिको सदस्यमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष डम्बर श्रेष्ठ, गैरसरकारी संस्था महासङ्घका अध्यक्ष बलराम राई, नेपाल पत्रकार महासङ्घबाट रासस भोजपुर संवाददाता सरिता राई, सु–आहाराका जिल्ला संयोजक गोविन्द सेढाईं, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र नगरपालिकाका कार्यकारी प्रमुख रहेका छन्  । बैठकले स्वास्थ्यमन्त्री गगन थापालाई कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्नेसमेत निर्णय गरेको छ । रासस  

डा. केसीले अनसन तोड्ने, सरकारी टोलीसँग वार्ता मिल्यो

काठमाडौं, मंसिर १८ । २१ दिनदेखि आन्दोलनरत प्राध्यापक डा. गाविन्द केसीले् अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोली र केसी समर्थक टोलीबीच शनिबार भएको वार्ता सहमतिमा टुङ्गिएपछि उनले अहिले केहीवेरमा जुस पिएर अनसन तोड्न लागेका हुन् । चिकित्सा क्षेत्रमा रहेका विकृति र विसङ्गति अन्त्यको माग गर्दै उनी दशौ चरणको अनसन बसेका थिए । त्रिभुवन विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)को डिनमा केशब प्रसाद सिंहलाई नियुक्त गरेपछि उनले वरिष्ठताका आधारमा डिन नियुक्त हुनुपर्ने  लगायत दश बुँदे माग राखेर कात्तिक २८ गतेदेखि अामरण अनसन बसेका थिए । शनिबार त्रिभुवन विश्वविद्यालयले  आइओएमको डिनमा प्राध्यापक डा. जगदीश प्रसाद अग्रवाललाई नियुक्त गरेकाे थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल निवास बालुवाटारमा बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको बैठकले अग्रवाललाई डिन नियुक्त गर्ने निर्णय गरेको थियो ।  डा. गोविन्द केसीको माग बमोजिम त्रिविले शनिबारदेखि लागू हुने गरी अग्रवालाई डिन नियुक्त गरेको थियो। वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन संवेदनशील बन्दै गएपछि त्रिविले  उनको माग सम्बोधनका लागि डिन नियुक्त गरेको हो । शुक्रबार डा. केसीको अनसन तोडाउन सरकारी वार्ता पक्षले राखेको प्रस्तावमा भनेका थिए –‘सबभन्दा पहिला रिक्त डिनमा तुरुन्तै पदपूर्ति हुनुपर्यो, वरिष्ठ मध्येबाट डिन नियुक्त गर्नुपर्छ, आइओएम डिनजस्तो पद एक दिन पनि रिक्त राख्दा त्यसैबाट चलखेल हुनसक्छ ‘एक दिन पनि यो पद रिक्त राखेर म अनसन तोड्दिनँ,’ । शुक्रबार अाइअोएमको डिन केपी सिंहले पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि त्रिविका उपकुलपति तीर्थ खनियाँले पनि राजीनामा दिनुपर्ने माग नछोडेपछि डा.केसीले अनसन जारी राखेका थिए ।  

डा. केसीले आज अनसन तोड्ने, यसरी मिल्यो कुरा !

काठमाडौं १६ मंसिर । स्वास्थ्य क्षेत्रमा रहेको विकृति अन्त्यको माग गर्दै १९ दिनदेखि आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीले विहिबार अनसन तोड्ने भएका छन् । आमरण अनसनरत डा. केसीको माग सम्बोधनमा सरकारले डिन नियुक्तीमा नयाँ मापदण्ड बनाउने र सोहीअनुसार आगामी निर्णयहरु हुनेभएपछि अनसन तोड्न सहमत भएका हुन् । तर डा. केसीको मुख्य माग त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्ती माग गर्दै उनी कात्तिक २९ गतेदेखि आमरण अनसनमा छन् । उनको माग सम्बोधनमा सरकारले नयाँ मापदण्ड बनाउन सहमत भएपछि उनको अनसन तोडिन लागेको हो । सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग २४ घण्टाभित्र सम्बोधन नभए देशभरका सेवा ठप्प पार्ने चेतावनी दिएको छ । अनसनको १८ औं दिनसम्म पनि समस्या समाधान नभएको भन्दै गोदानले हिजो बिज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो । तर सरकारले डा. खनियाँ र सिंहलाई तत्काल पदबाट भने नहटाउने भएको छ । त्रिवि उपकुलपति र डिन नियुक्तिको लागि नयाँ मापदण्ड बनाएर विवाद नआउनेगरि प्रतिस्पर्धामा नियुक्ती गर्नेमा सहमति बनेको शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले दाबी गरे । उनले भने– आज हुने वार्तामा डा. केसीसँग सहमति हुने र आजै केसीले आमरण अनसन तोड्नुहुनेछ,’ एक रेडियो अन्तर्वार्तामा श्रेष्ठले भने ।